Tuesday, April 1, 2014

वहकिने मन (२०७० असोज २१)

मलाई कसैसँग पनि आश लाग्दैन ।
किनकी मान्छेहरुको विश्वास लाग्दैन । ।
विश्वास गरेपछि न हो घात हुने पनि
पहिलो भेटमा कोही पनि बदमास लाग्दैन । । ।

((((((((((((((यो माया पनि नाटक, यो दिल पनि नाटक))))))))))))))))

हिजोआज हरेक चिज केही नमिले जस्तो मात्रै लाग्न थालेको छ । वरिपरिको सँसार नै अडमिल्दो जस्तै लाग्छ अचेल । अरु त अरु माया गर्नेहरु पनि मनभित्र स्वार्थको बारुद बोकेर बाहिर परेवा उडाउँदै हिँडेको जस्तो लाग्छ । 

फेरी पनि तिनीहरुको बनावटी आवरणमा दुनियाँ नै झुक्किए जस्तो मात्रै लाग्छ । हुनसक्छ मैले भोगेको समय र अहिले चलिरहेको समयमा भयङ्कर भिन्नता होलान् । सायद त्यसैले पनि मायाको शैली र स्वरुपहरु पनि परिवर्तन भएका हुन सक्छन् । 

जसरी वुद्ध भारतमा जन्मिएको भनेर कसैले हल्ला फैलाउँदा सारा नेपालीको मन दुख्यो त्यसरी नै मायामा आएको केही विकृत तरङ्गले मेरो पनि मन दुखाउन थालेको छ । कारण म, मायालाई पनि माया गर्ने मान्छे । मायाको सग्लो स्वरुपमा कसैले भाला नहानोस् भनेर सँधै कामना गरिरहने मान्छे ।

फेरीपनि अचेल म यस्ता मान्छेहरु पनि देखिरहेछुु, जो माया जस्तै लाग्ने मायाको नाटक मन्चन गरिरहेछन् । अभिनयमा पारङ्गतहरुले मायामा पनि त्यो कलाको प्रयोग गरेको हो की, अचेल अभिनय बिनाको माया सम्भव नभएको हो, मैले भेउ पाउन सकिरहेको छैन । अनि यसो पनि हुनसक्छ की, अहिलेको युग अनुकुल परिवर्तन हुन म आफै पनि सकिनँ हुँला । सँधै उही पुरानै शैलीको मायाको परिभाषाभित्र हराएँ हुँला म ।

समय चलिरहन्छ सँधै, अघि बढिरहन्छ । हातको घडी रोकियो भन्दैमा समय कहाँ अडिएर बस्छ र । सबै भन्छन्, समय परिवर्तनशील छ । 

समय मात्रै परिवर्तनशील छैन की यसका प्रभावहरु पनि परिवर्तनशील छन् । प्रभावहरुमा पनि विविधता मापन गर्न सकिन्छ । आँकलन गर्न सकिन्छ । हिजो जे थियो आज ठ्याक्कै त्यस्तै छैन र यही गतिलाई आधार मानेर हामी भन्न सक्छौँ की, भोली यस्तै रहँदैन पनि ।

साहित्यकार कृष्ण धरावासीले भनेजस्तै जीन्दगी आफै एउटा ठुलो प्रश्न चिन्ह हो । जहिले पनि आफ्नै अघि छाताको डन्डी झैँ तुर्लुङ्ग उभिरहन्छ । हामी धेरैपटक जीन्दगीले उब्जाएको प्रश्नहरुको जवाफ खोतल्न तल्लीन भइरहेका हुन्छौँ । 

तर जीन्दगीलाई नै प्रश्न ठानेर जीन्दगी खोतल्न भने अग्रसर भइरहेका हुँदैनौँ । सायद अनभिज्ञ छौँ हामी आफ्नै जीन्दगीदेखी । अनि अल्मलिएका छौँ हामी, यसकै दोबाटो चौबाटोहरुमा । हामीलाई त समयले निरन्तर चिलिरहेछ, अरिङ्गाल ले चिलेजस्तो । हामी त्यसको पिडा खपेरै बसिरहेका छौँ तर पनि प्रतिकारको सामथ्र्य भने बिल्कुल छैन हामीसँग ।

मान्छेको स्वभाव पनि बडो अचम्मको छ । कपास झैँ नरम सम्बन्ध पनि बिस्तारै बिझाउन थाल्दोरहेछ मान्छेलाई । दिनदिनै एउटै तरकारी खाँदा स्वादिलो मान्न कन्जुस गर्ने स्वादे जिब्रो जस्तो, मानवीय व्यवहार पनि क्रमिक रुपमा बदलिन थाल्दोरहेछ । 

अनि हामी, आफ्ना यस्तै परिवर्तित व्यवहारको दास भएर बाँचिरहेका हुँदा रहेछौँ । परिणामतः हाम्रा व्यवहारहरु बिझाउन पुग्दा रहेछन् ।

धर्ती हराएपछि आकाश हराएपछि ।
जून लाग्ला फेरी भन्ने विश्वास हराएपछि । ।
खै कसोगरि ओत लाग्न पाइएला र
बस्तीबाटै मायाको बास हराएपछि । ।

((((((((((((((केलाई मिलन भन्नु अब, केलाई विछोड भन्नु))))))))))))))))))))))

दशैँको मुखमा बजारमा कालोबजारी र कृत्रिम अभाव बढेजस्तै अचेल मायामा पनि अनेकन चलखेलहरु हुन थालेका छन् भन्ने सुन्छु । सुन्छु मात्रै किन भन्ने, देखेको पनि छु कत्तिको त । मलाई लाग्छ मायाका मुल्य र मान्यताहरु पनि क्रमश विघटन हुने तयारीमा छन् । 

हिजोका स्थापित विचारधाराहरु आज बिस्तारै स्खलित हुँदैछन् । त्यसो त विगत हुबहु वर्तमानमा सान्दर्भिक हुन सक्दैन भन्ने तर्क पनि आउला । हिजोलाई साभार गरेर आजको मिति झुण्डाउँदैमा त्यो समय सापेक्ष हुन सक्दैन पनि भन्लान् मान्छेहरु । 

आखिर केही हदसम्म त्यो हो पनि । तर कतिपय कुराहरु भने हामीले जबरजस्ती स्थापित गर्न त खोजिरहेका छैनौँ ? यो हो आजको अहम प्रश्न चाहीँ ।

मायाका विकृत रुपहरु हिजोआज झनै उदाङ्गिएका छन् । अनि तथाकथित माया गरिटोपल्ने हरु चाहीँ बेसरम, बेप्रवाह माया निर्देशक सिद्दान्त प्रतिपादन गर्नमा नै तल्लीन देखिन्छन्, राजनीतिक दलहरुले चुनावी प्रचारका लागि घोषणा पत्र तयार गर्न लागिपरे जस्तो । 

भन्नेहरु त भन्छन् माया सहमति हो । फेरी पनि छ्यासछ्यास्ती बागी उम्मेदवारहरु खडा भएको देख्दा मलाई यो सहमति भन्ने कुरा नै कुन चरीको नाम रै छ जस्तो झैँ लाग्छ कहिलेकाहीँ त । 

यो मायाको नियम पनि कस्तो कस्तो, आफुले मन पराएको मान्छेले अर्कैसँग प्रेम गर्दो रहेछ भन्ने जानीसक्दा पनि अझै पछि लाग्न मन लागिरहने । टाढिन त फिटिक्कै मन नमान्ने । सास रहुञ्जेलको आश भनेको सायद यही पो हो की ।

कहिलेकाहीँ बिना कारण पनि मनमा एकखाले नरमाइलोपन पैदा हुन्छ । खै किन हो किन, कारण खोजेर पनि भेट्टाइँदैन । तर मनमा भने अनौठो खालको हुटहुटी चलिरहन्छ मात्रै । सबै भएर पनि केही नभए जस्तो । अनि सबै भएर पनि कोही नभए जस्तो ।

हो, त्यतिबेला आफ्नै मन बुझाउनलाई पनि अरु नै कसैको आवश्यकता पर्दोरहेछ हामीलाई । मनभित्र एक्लोपनको सालिक बोकेर हाँस्न वाध्य भइरहेका हामी, कति कति बेला ती नै सालिकहरुले पनि जिस्काए झैँ लाग्दोरहेछ । बीच सडकमा लमतन्न उभिएका सालिकहरु पनि कहिले काहीँ त बाटोमा अवरोध बने जस्तो महसुस हुँदो रहेछ मान्छेलाई । 

हतियारहरु भेटिन्छन्, हत्याराहरु भेटिन्छन् ।
अनि बजारमा छ्याप्छ्याप्ती ज्यानमाराहरु भेटिन्छन् । ।
जीन्दगी बाँचेर हेर्नु मात्रै पर्छ
केही दुस्मनहरु भेटिन्छन्, केही प्याराहरु भेटिन्छन् । । ।

(((((((((((((((((केलाई बन्धन भन्नु अब, केलाई साइनो भन्नु))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget