Showing posts with label Gazal. Show all posts
Showing posts with label Gazal. Show all posts

Tuesday, June 27, 2017

गजल


झिसमिसेमै दैलोनेर अखबारहरु आउँछन् ।
विज्ञापनको ओत लाग्दै समाचारहरु आउँछन् । ।
***********
जो वर्षौँदेखी थिचियो र अब बोल्छु भन्छ
शान्ति खल्बलियो भन्ने विचारहरु आउँछन् । ।
***********
कुनै नयाँ दिन त तिमीलाई भुल्छु भनेकै हुँ
फर्की फर्की फेरी ति नै बारहरु आउँछन् ।
***********
झण्डा बोक्न गाको छोरो फर्किएन भने
अनि बल्ल यो छाप्रोमा सरकारहरु आउँछन् ।
************
ढुक्क हुनोस् तपाईँ अझै मर्नुभाको छैन
ज्युँदोलाई नै पटक पटक प्रहारहरु आउँछन् ।

-महावीर विश्वकर्मा
2074-03-13




Monday, March 6, 2017

गजल

समयले गोप्य सुत्र बताएको छ ।
र त मलाई उल्टो बग्न लगाएको छ । ।
प्रतिष्पर्धा गर्छु, म आफैसँग मात्रै
मान्छेहरु भन्लान्, यो निदाएको छ । ।
सम्झिरहुँ लाग्ने, केही सम्झनाहरु छन्
जस्ले अझै तिमीलाई सम्झाएको छ । ।
म बाटो भएर, बसेछु की सायद
सँधै कोही गएको छ, कोही आएको छ । ।
उस्ले सन्तान हुर्काए जस्तै, म सपना हुकाईरा'छु
जीन्दगीले केही यस्तै सिकाएको छ । ।

Wednesday, February 17, 2016

गजल


मलाई कसैले भगवान भन्थ्यो ।
अङ्गालो स्वर्गै समान भन्थ्यो । ।

बाडुल्की लागेन भने कुनै दिन
लाग्दैछ गाउँघर सुनसान भन्थ्यो । ।

म छिल्लिएर मातिन्थेँ जब
बचाईराख्नु ईमान भन्थ्यो । ।

म चाहीँ सँगै हिँड्ने भन्थेँ
जीन्दगीको के ठेगान भन्थ्यो । ।

जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । ।


...महावीर विश्वकर्मा

Monday, May 20, 2013

गजल

मलाई सम्म र भिर उस्तै उस्तै लाग्छ ।
हिँड्नैपर्ने तक्दीर उस्तै उस्तै लाग्छ । ।

म सोँच्छु एउटा, भइदिन्छ अर्कै
जीन्दगी अनि जन्जीर उस्तै उस्तै लाग्छ ।

सम्झिए मात्रै पनि आँखा रसाइहाल्ने
तिमी र तिम्रो तस्बीर उस्तै उस्तै लाग्छ । ।

तिमी नपिउ भन्थ्यौ, उ चाहीँ थप भन्छ
भट्टी साहुनीको जिकिर उस्तै उस्तै लाग्छ । ।

अचेल बजारमा हल्ला चल्या छ रे
देवदास र महावीर उस्तै उस्तै लाग्छ । । ।

गजल


म सोँचिरहेछु पाप लाग्नेछ तिमीलाई ।
मेरा आँशुहरुको श्राप लाग्नेछ तिमीलाई । ।

समय सँधै एकनाश कहाँ रहन्छ र
कुनैदिन त पक्कै विलाप लाग्नेछ तिमीलाई । ।

मैले देखेका सपना निमोठेर गा’छ्यौ
एकदिन हत्याराको छाप लाग्नेछ तिमीलाई । ।

पाप धुरीबाट कराउँछ भन्छन्
नसोँच्नु सँधै फलिफाप लाग्नेछ तिमीलाई । ।

भेटियौ भने कतै, अवश्य निखन्नेछु
मलाई रुवाएको हिसाब लाग्नेछ तिमीलाई । ।

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget