Saturday, March 29, 2014

आफै मरेको सपना

कहिलेकाहीँ 
देखिँदो रहेछ
आफै मरेको सपना
आफ्नै लासको अघि उभिएर
आफै रोएको सपना
आफ्नै मलामी बनेर फेरी
आफै हिँडिरहेको सपना । ।

बल्छी थापेर समयहरुले
छिनछिनमा अल्झाको बेला
मान्छे हुन नसकेर मान्छेहरु
बीचैमा बिलाएको बेला
अनि हिँडेका, दौडेका बटुवाहरुले
बाटो भुलेको बेला
आफ्नै अठोटसँग हारेर आफै
घुँडा टेकेको बेला
देखिँदोरहेछ
हो, देखिँदोरहेछ कहिलेकाहीँ
आफ्नै चित्ताको छेवैमा बसेर
आफै मुर्छा परेको सपना
आफ्नै मृत्युको शोकमा आफै
भक्कानिएको सपना । ।

बाकटे हानेर आँशुको आहालमा
कहाँ पुग्ला र मान्छे
काखीमा च्यापेर पुरानो तस्बीर
कसलाई पाउला र मान्छे
झझल्को बनेर पुरानो अतीत
जब बल्झन्छ एकतमासले
संग्रहालयमा यादहरु
जब बढ्दछ एकतमासले
देखिँदोरहेछ
हो, देखिँदोरहेछ
आफ्नै क्रियापुत्रीहरुलाई रुँग्न
आफै बसेको सपना
कुन्नी के बनेर आफैले
आफैलाई तर्साएको सपना । ।

कोही बाँचेर पनि मर्छन्
कोही मरेर पनि बाँच्छन्
जब जीवन जस्तो लाग्दैन जीवन
जब आफै जस्तो लाग्दैन आफु
रुँदा रहेछन् 'आँशुहरु' पनि
थाक्दा रहेछन् 'थकाइहरु' पनि
अनि देखिँदोरहेछ कहिलेकाहीँ
आफ्नै किरियाको पहेँलो टीका
आफैले लाएको सपना
टपरी स्याहारेर आफ्नै काट्टो
आफैले हसुरेको सपना । ।

देखिँदो रहेछ,
हो, देखिँदोरहेछ कहिलेकाहीँ
आफै मरिरहेको छेउमा
आफै बाँचिरहेको सपना
अनि, आफै बाँचिरहेको छेउमा
आफै मरिरहेको सपना । ।



Tuesday, March 25, 2014

वहकिने मन 96: वर्ष 2 अंक 42 (2070-12-10)

बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-10/24-03-2014)
Time : 9.15pm Every Monday       

  
Host :  Mahabir Bishwakarma         

Phone-977-01-5260646 

 
Facebook : Bahakine Man

FM: CIN Network 

वहकिने मनको आजको श्रृंखलामा श्रोताका मुक्तकहरु वाचन गरिएको छ । 

Listen and Download

                              Download : Click Here to Download

Saturday, March 22, 2014

मुक्तक

उमेर दिनदिनै ढलिराकै छ ।
आज पनि समयले छलिराकै छ । ।
सोध्नेहरुलाई खै के सुनाउँ नयाँ ?
जसोतसो जीन्दगी यो, चलिराकै छ । । ।

२१ मार्चमा ब्यानर आतंक

...महावीर विश्वकर्मा

प्रसङ्ग २१ मार्चको । अर्थात २०७० चैत्र ७ गते शुक्रबारको । यो दिनलाई नेपालका दलित अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय जातीभेद एवम् रंगभेद उन्मुलन दिवसको रुपमा मनाउँदै आईरहेका छन् ।

अब यो वर्ष नेपालमा चाहीँ  के भयो त भन्ने चर्चा गरौँ । नेपालमा भन्दा पनि राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले संयुक्त रुपमा काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा के भयो भन्ने विषयमा केन्द्रित हुँदैछु म ।

विहान साढे १० बजे भृकुटीमण्डपबाट र्याली शुरु हुने भनिएपनि तोकिएको समयमा सो स्थान सुनसान नै थियो । ११ बज्न केही मिनेट बाँकी हुँदा दलित एन.जि.ओ.का प्रतिनिधिहरु आ-आफ्ना ब्यानर सहित आउने क्रम शुरु भयो । केहीले त आउने बित्तिकै छेउका रुखमा ब्यानर टाँग्न पनि शुरु गरे । सायद आफ्नो सहभागिताको उद्घोष थियो त्यो । आहा ! कति राम्रो उपाय । कस्तो रचनात्मक प्रचार शैली । गेटकै अघिल्तिर ब्यानर टाँगिदियो, सबैले देखिहाल्छन्, संस्थाको प्रचार पनि मज्जैले हुने । कस्तो गज्जबको काइदा ।

केहीबेरमा र्यालीमा सहभागी हुन आउनेहरुको संख्या बढ्दै गएसँगै देखिन थाल्यो अर्को एउटा दृश्य । आ—आफ्ना संस्थाको ब्यानर समातेर फोटो खिचाउनेहरुको भ्याइ नभ्याइ । कसैलाई फोटो खिचाउन लगाउने, ‘खै कस्तो आएछ ?’ भनेर फोटो हेर्ने, अनि फेरी ‘अब यसरी खिचिदिनुन’ भन्दै क्यामेरा थमाउने । निक्कैबेर देख्न पाइयो यो दृश्य ।

केहीबेरमा ब्याण्ड बाजाको एक समूह आईपुग्यो । म अवाक् भएँ । अघिल्लो वर्षहरुमा त ¥यालीमा नाराबाजी पो हुन्थ्यो । तर यसपाली त ब्याण्ड बाजाको समूह आएर बाजा बजाउन थाले । सबैलाई हाईसन्चो । चर्को घाममा चिच्याइ चिच्याइ नाराबाजी गर्नु जो परेन । हुन त हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड त थिए नै । तर त्यो कुन चाहीँ बटुवाले पढ्यो होला र ।

र्याली  शुरु हुनै लाग्दा फेरी देखियो अर्को दृश्य, सकेसम्म अगाडी नै आफ्नो संस्थाको ब्यानर लिएर उभिने दृश्य । त्यहाँ पनि दौडधुप भो एकछिन् । र्यालीमा दलित एन.जि.ओ.का मान्छेहरु मात्रै थिएनन् । त्यहाँ त्यस्ता संस्थाभन्दा बाहिरका दलित समुदायका व्यक्तिहरु अझ धेरै थिए ।

विद्यार्थी, पेशाकर्मी, सर्वसाधारण झन् धेरै थिए त्यहाँ । तर उनीहरुसँग आफ्नो संस्था थिएन । त्यसैले ब्यानर पनि थिएन । अनि आफ्नो ब्यानर नभएपछि त अरुकै ब्यानर पछि बस्नुपर्ने भइगो । ज—जसको ब्यानर पछि त्यस्ता बिना ब्यानरका सहभागीहरु थपिए, ती संस्थाहरुलाई त बोनस् नै पर्यो । अरुले देख्दा “फलानो संस्थाले त कति धेरै मान्छे ल्याएछ” भन्ने हुने । आहा ! क्या मज्जा ।

ती एन.जि.ओ.भन्दा बाहिरबाट आउनेहरु पनि तिनीहरुकै ब्यानर पछि बसेर उनीहरुको नामको सहभागी संख्या बढाइदिनुपर्ने ? यस्तो पनि हुन्छ ?

त्यो र्याली जब त्रिपुरेश्वर पुग्यो अनि ‘वल्र्ड ट्रेड सेन्टर’को लिफ्ट चढेर पाँचौँ तल्लामा पुगेर एउटा ठुलो हलभित्र कोचियो । त्यहाँ झन थपियो अर्को रमाइलो दृश्य । सकेसम्म आफ्नो संस्थाको ब्यानर सबैले देख्ने गरि अगाडीपट्टी नै भित्तामा टाँग्न लुछाचुँडी गर्नेहरुको भिड ।
हरे ! यो ब्यानर आतंक ।

अझ कुनै-कुनै एन.जि.ओ.ले त त्यहीँ माइनट तयार गरेर सहभागीलाई भटाभट नामथर, ठेगाना लेख्न लगाएर हस्ताक्षर गराउँदै हिँडेको पनि देखियो । सायद “हामीले आयोजना गरेको कार्यक्रममा यति धेरै मान्छे आए” भनेर रिपोर्ट तयार गर्नु थियो होला उनीहरुलाई ।

यति लेखिरहँदा म सोँच्दैछु की केही महानुभावहरु यो लेख पढेर मुर्मिरहनुभएको होला । त्यस्तो हुन पनि सक्छ र नहुन पनि । म कसैलाई वेइज्जत गर्नका लागि यो लेखिरहेको छैन । यदि त्यसो हुन्थ्यो भने त, र्याली शुरु हुनु अघि रुखमा ब्यानर टाँगेर राखेका दृश्यहरु, आफ्नो संस्थाको ब्यानर समातेर फोटो खिचाउन हानथाप गरेका दृश्यहरु अनि सभास्थलमा अगाडीपट्टी आफ्नो ब्यानर टाँग्न हत्तारिएका दृश्यहरु पनि सार्वजनिक गर्थेँ हुँला म । तर त्यसो गरिनँ मैले । ती त म सँग नै सुरक्षित छन् । अनि कार्यक्रम स्थलमा आफ्नो संस्थाको माइनुट जस्तो बनाएर सहभागीहरुलाई हस्ताक्षर गराउँदै हिँड्ने संस्थाको नामै समेत लेखिदिन्थेँ हुँला । तर त्यसो पनि गरिनँ मैले । 

मैले त्यसो किन पनि गरिनँ भने, दलित आन्दोलनमा हावी केही अनुपयुक्त प्रवृत्तिलाई हटाऔँ भन्ने मात्रै हो मेरो ध्येय । कुनै संस्था वा व्यक्तिलाई बदनाम गराउने नियत बिल्कुल होईन मेरो । किनकी मलाई राम्ररी थाहा छ, केही त्रुटीहरु बेलाबखत हुने गरेका भएपनि दलित आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन यहाँका हरेक एन.जि.ओ.ले कुनै न कुनै रुपको भूमिका निर्वाह गरेकै छन् ।

तर अर्को तितो सत्य के पनि हो भने, यी एन.जि.ओ.हरुलाई हरियो डलरको खेती गरेको आरोप पनि सँधै लागिरहेकै छ । त्यही कार्यक्रममा पनि प्रमुख अतिथि रहनुभएका उद्योगमन्त्री कर्णबहादुर थापाले हरियो डलरले दलित प्रतिनिधित्वको कुरालाई गलत ढंगले व्याख्या गरिरहेको आरोप लगाइदिनुभयो । उहाँको आरोपको खण्डन गर्ने सामथ्र्य कुनै दलित एन.जि.ओ.सञ्चालकहरुसँग भएन । हो, यस्तै आरोपबाट मुक्त भएको दिन आओस् भन्ने मात्रै हो मेरो कामना ।

बरु हामीले यस्ता संयुक्त कार्यक्रममा हरेक संस्थाको ब्यानर सहभागी नगराएर एउटा मात्रै ब्यानर बनाए हुँदैन र ? सबै आयोजक संस्थाको नाम सोही ब्यानरमा लेखिदिने नी । सहभागी सबै जना एउटै ब्यानरको पछाडी बस्छन् । ब्यानर विहिनहरुलाई अरुको ब्यानरमा ओत लाग्नु पनि परेन । अनि यो “ब्यानर आतंक”को समाधान पनि हुने भो ।

“न रहे बाँस, न बजे बाँसुरी ।” कि कसो ?

Thursday, March 20, 2014

त्यो अन्तिम घण्टी

.......महावीर विश्वकर्मा

फेसबुकमा मलाई एउटा भूमिगत साथीको प्रश्न : तपाईँले सँधै वहकिने मनमा तिमी भनेर सम्बोधन गर्ने पात्र को हो ?
लौ कस्तो फसाद ! कस्तो बिलखवन्द । सँसारमा यति जटिल प्रश्न पनि हुँदा रहेछन् ।

यो प्रश्नले मलाई केही नोष्टाल्जिक बनाइदियो । कलेजका पुराना दिनहरुमा एक्कासी फर्काइदियो । मेरा कलेजका समकालीन कुनै पनि साथीहरुलाई मैले कहिल्यै थाहा नदिएको कुरा हो यो, जुन आज म लेखिरहेछु । शब्दहरुमा पोखिनुको मज्जा जो बेग्लै छ । सायद त्यसैले पनि असरल्ल पोखिन खोजिरहेको छु म । अनि फेरी म त शब्दहरुसँग प्रित गाँस्न खोज्ने मान्छे । सायद त्यसैले पनि लेख्दैछु ।

त्यतिबेला म सायद ११ कक्षामा पढ्थेँ । विहानी कक्षामा । विद्यार्थी थोरै भएकोले हाम्रो अन्तिम घण्टीमा दिवा कक्षाका विद्यार्थीहरु पनि मिसिन्थे, अर्थशास्त्र पढ्न । एउटै घण्टीमा दुवै कक्षाको काम तमाम हुन्थ्यो ।

त्यो अन्तिम घण्टीको पर्खाइ मलाई यसकारण पनि हुन्थ्यो की, त्यसमा दिवा कक्षाको ‘उनी’ पनि मिसिन्थिन् । त्यो अन्तिम घण्टी, म अलि व्यस्त पनि हुन्थेँ । अरु घण्टीमा नोट सार्ने काम मात्रै हुन्थ्यो । तर त्यो घण्टीमा छिटो छिटो नोट सारेर खुसुक्क उनलाई हेर्नु पनि पथ्र्यो मैले ।

सरले लेखाउने नोटको हरेक वाक्यमा पूर्णविराम दिएपछि मात्रै त्यसले पूर्णता पाउँथ्यो । तर म भने एकपटक सुटुक्क उनलाई हेरेपछि मात्रै त्यो वाक्यले पूर्णता पाएको महसुस गर्थेँ । कलमले कापीमा पूर्णविराम दिन खोज्दा नखोज्दै मेरो आँखा, विपरीत लाईनको त्यही अघिल्लो वेन्चमा पुग्थ्यो, जहाँ उनी अझै नोटमा पूर्णविराम दिन व्यस्त हुन्थिन् ।

उनले ढिलो सारेको होईन, बरु मैले चाहीँ छिटो सारेको हुन्थेँ । मलाई त वाक्य पूरा गरेर उनलाई हेर्नु थियो, जुन दौडधुप उनलाई थिएन । मलाई कहिल्यै पनि लागेन की, ‘उनले पनि मलाई वास्ता गर्छिन ।’ अहँ लागेन त्यस्तो । एक त म त्यस्तो आकर्षक पनि थिइनँ, जसलाई कुनै युवतीले वास्ता गरुन् । अर्को, मैले त्यसरी फलो गरेको उनलाई पत्तो पनि थिएन ।

म छेउका साथीहरुको आँखा छल्दै अलि अघिल्लो बेन्चमा बसेकी उनलाई छिन्छिन् मै हेरिरहन्थेँ । तर एउटै बेन्चमा बस्ने मेरा साथीहरुले त्यो कुरा कहिल्यै थाहा पाएनन् । सायद म आफै होशियार थिएँ, उनीहरुले थाहा नपाउन् भनेर । जुन कुरामा म सफल नै भएँ ।

उनी साधारण थिइन्, तै पनि विशेष लाग्थिन् मलाई । उनको मुहारमा म त्यो गाम्भीर्यता पाउँथे, जुन अक्सर नारीहरुमा म खोजिरहेको हुन्थेँ । यतिबेला यो लेखिरहँदा पनि उनको त्यही आकृति झल्किरहेछ म भित्र । म सम्झिरहेछु उनलाई । सायद बाडुल्की पो लागिरहेको छ की उनीलाई ।

मलाई ती दिनहरु निक्कै नै रमाइला लाग्थे । एकोहोरो पछि लाग्नुमा जो मज्जा छ, त्यो सायदै दोहोरो प्रेममा होला । कहिलेकाहीँ त उनले अरुलाई हेर्दा पनि आफैलाई हेरे झैँ ठानेर बेफ्वाँकमा खुशी हुन्थेँ म । त्यो ताल न बेतालको खुशी धेरै टिक्थेन । जब म भन्दा पछिको साथीले मेरो छेवैबाट उनलाई ‘हाई !’ भनेर चिच्याउँथ्यो, अनि लज्जावती झार जस्तै खुम्चिन्थेँ म । प्लाष्टिकमा आगो लगाए जस्तै चुमुर्किन्थेँ ।

फेरी पनि अन्तिम घण्टीमा उनलाई हेर्न कहाँ छाड्थेँ र म । हेरिरहन्थेँ सँधै । त्यो एकोहोरो हेराहेरको श्रृंखला निक्कै समय चल्यो । तर त्यसमा अरु नयाँपन भने केही थपिएन । सँधै पुरानै खाले एकोहोरो हेराहेर मात्रै । तै पनि हरेक दिन नयाँ जस्तो लाग्थ्यो मलाई ।

म त स्कुले बेलैदेखी गम्भीर स्वभावको मान्छे । अझ भनौँ, कवि हृदयको मान्छे । अलि पछि एउटा कविता लेखेँ मैले । उनकै बारेमा । अनि बडो हिम्मत जुटाएर उनलाई दिएँ पनि, “मैले तिम्रो बारेमा लेखेको कविता” भनेर । मलाई त्यो कविता अहिले याद त छैन । किनकी त्यसको खेस्रा नै जिम्मा लगाएको थिएँ मैले उनीलाई ।

मलाई अझै पनि लाज लाग्छ, त्यतिबेलाको त्यो दृश्य सम्झिएर । त्यो अन्तिम घण्टी सकिएपछि प्राय सबै बाहिरिए । उनी चाहीँ अरु घण्टी पनि पढ्ने भएकोले त्यहीँ बसिन्, साथीहरुसँगै । म झोलामा नोट कपी राख्ने बाहानामा साथीहरुभन्दा जानीजानी ढिलो भइदिएँ, बाहिर निस्किन ।

अनि बढ्न थाल्यो मेरो मुटुको धडकन । सायद १ मिनेटमा १०० चोटीभन्दा पनि बढी धड्कियो होला त्यो । म एकै सासमा उनको अगाडी पुगेँ । छेउमा दुई साथी, बीचमा उनी । उठेर बसेकी थिइन्, बेन्चमा अडेस लगाएर । “मैले तिम्रो बारेमा लेखेको कविता” अगाडी नोट कपीबाट च्यातिएको एउटा पाना तेसार्दै मैले भनेँ । उनले त्यो समातिन्, तर निक्कै अफ्ठ्यारो महसुस गरिन् । दिक्क माने झैँ गरिन् । उनको अनुहार बिग्रिएकोबाट पत्तो पाएँ मैले ।

मेरा कान ताता भए । गर्मी भए झैँ लाग्यो । सानो छँदा ढाडमा घमौरा चर्किए झैँ चिरिक चिरिक भयो । उनका दुई साथीहरु अवाक् भएर हेरिरहे । शहरको  बीचमा खुट्टा चिप्लिएर पछारिँदा सबै हाँसिदिए जस्तै लज्जित भएँ म । अनि एकोहोरो भुँइतिर मात्रै हेरेर कुलेलम ठोकेँ ।

त्यो कविताको प्रतिक्रिया मैले कहिल्यै पाईनँ । बरु त्यसपछि उनको अघिल्तिर पर्ने दुस्साहस नै गरिनँ मैले । त्यो भन्दा पछि हाम्रो बोली कहिले नि मिसिएन जस्तो लाग्छ मलाई । हुन त त्यो भन्दा अघि पनि कहिले पो बोलचाल गरेका थियौँ र हामीले ।

त्यो प्रेम नै थियो की अरु केही । अझसम्म प्रष्ट हुन सकेको छैन म । बरु मैले कतै उनको मनमा ठेस् त पुर्याइनँ ? भन्ने चाहीँ लागिरह्यो । सम्झिएको बेला अझै लागिरहन्छ पनि ।

खोजेपछि भेट्टाइन्छ भनेझैँ मैले पनि भेट्टाएँ एउटा सत्य, उनको बारेमा । उनी अरु नै कसैसँग प्रेम गर्छिन रे भन्ने सत्य । कुनै कुनै सत्यहरुले यति धेरै पोल्दा रहेछन् भन्ने त्यति नै बेला जानेँ मैले ।

त्यो अवस्थाबाट खै कसरी हो, बाहिरिएँ म । त्यसको प्रभाव त्यति गहिरो पनि परेन मलाई । यात्रामा कहीँ अल्झिन खोज्यो मन, फेरी अल्झिन पाएन । वस् त्यति हो । यसै टुङ्गियो, एउटा नलेखिएको अध्याय । अझ भनौँ, लेखिन नपाएको अध्याय ।

त्यसपछि पनि कतिलाई समर्पण गरेर कविता लेखेँ मैले, गजल लेखेँ, मुक्तक लेखेँ । तर त्यसपछि चाहीँ कसैलाई पनि भनिनँ, “मैले तिम्रो बारेमा लेखेको” भनेर ।

हुनसक्छ, 'वहकिने मन' पनि त्यस्तै श्रृंखलाको एउटा अंश हो । हुनसक्छ त्यस्तो । अनि त्यस्तो नहुन पनि सक्छ । अहिले यत्ति भन्छु, वहकिने मनमा सम्बोधित हुने 'तिमी' मात्र उनी चाहीँ होईन । म कसम खाएर भन्छु, अहँ हुँदै होईन । किनकी त्यो घटनालाई त्यति गम्भीर ढङ्गले लिइनँ मैले । तर पछिसम्म पनि कहिलेकाहीँ उनीलाई देख्दा कस्तो कस्तो भने हुन्थ्यो मनमा ।

उसो भए वहकिने मनमा सम्बोधित हुने त्यो “तिमी” पात्र को हो त ?

यो प्रश्नको जवाफ चाहीँ सायद दिन सक्दिनँ म । अहिले दिन सक्दिनँ की कहिल्यै दिन सक्दिनँ, अहँ त्यो पनि थाहा छैन मलाई ।




Tuesday, March 18, 2014

वहकिने मन 95: वर्ष 2 अंक 41 (2070-12-03)

बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-03/17-03-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-5260646

Facebook : Bahakine Man

From : CIN Network 

''व्यक्तिको मृत्युले प्रेममा कस्तो प्रभाव पार्छ ???''

गीतकार एवम् गजलकार डा.कृष्णहरि बरालज्यूको विचारसहितको वहकिने मन ।

Listen and Download
                              Download : Click Here to Download

Monday, March 10, 2014

वहकिने मन 94: वर्ष 2 अंक 40 (2070-11-26) साहित्यकार तथा संस्कृती बिद तुलसि दिवश सँगको अन्तवार्ता विशेष

बहकिने मन BAHAKINE MAN
DATE : (2070-11-26/10-03-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 


साहित्यकार तथा संस्कृती बिद तुलसि दिवश सँगको अन्तवार्ता विशेष
Listen and Download 
                              Download : Click Here to Download

Tuesday, March 4, 2014

वहकिने मन 93: वर्ष 2 अंक 39 (2070-11-19) : Download

बहकिने मन BAHAKINE MAN
DATE :(2070-11-19/03-03-2014)  
Time : 9.15pm Every Monday          
Host :  Mahabir Biswakarma          
Phone-977-01-550982 / 5551161  
Facebook : Bahakine Man 
FM: CIN Network 


''जीवनमा विवाहले कस्तो अर्थ राख्छ ?'' भन्ने विषयमा कवयत्री हरिमाया भेटवालको विचार सहितको वहकिने मन । 

Listen and Download
                              Download : Click Here to Download

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget