Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

Thursday, October 9, 2014

परिचय Vs पैसा

....महावीर विश्वकर्मा

Money is not everything. यो वाक्यसँग निक्कै पहिला ठोक्किन पुगेँ म । स्कुले जीवनमै । मलाई कसैले यस्तो सुनायो की म आफैले कतै पढेँ, अहँ याद भएन । बरु यसको भाव राम्ररी नबुझे पनि यसको प्रभाव भने नजानिँदो पाराले पर्यो । अनि त मैले पनि यसै यसै यही वाक्य सुनाउन थालेँ अरुलाई, Money is not everything.

कक्षा ७ मा पढ्दाको कुरा । मेरो एकदमै मिल्ने साथी थियो, इन्द्रे । इन्द्रबहादुर राई । हाम्रो गाउँबाट २ किलोमिटर पर थियो हामीले पढ्ने स्कुल । वुद्धशान्ति मा.वि.(अहिले उ.मा.वि.) । त्यतिबेला हामी हिँडेरै स्कुल जान्थ्यौँ । बाटामा कुरा गर्दै जाँदा इन्द्रे विदेश गएर पैसा कमाउने कुरा गथ्र्यो । (उसको दाईहरु विदेश गएको प्रभाव थियो सायद) ।

म चाहीँ बडो आदर्शवादी पारामा “यहीँ बसेर देशको सेवा गर्नुपर्छ” भन्थेँ । देशको सेवा भनेको के हो रामजाने, तर भन्न चाहीँ म त्यही भन्थेँ । तिनताकाका चलचित्रमा हिरोले देशभक्तिको डायलग बोलेको प्रभाव थियो सायद म भित्र । इन्द्रे १२ कक्षा पास भएपछि विदेशियो । घर बनायो, धुमधामका साथ विहे गर्यो, गाडी किन्यो, चितवन र काठमाण्डौंका नाम चलेको ठाउँमा  जग्गा जोड्यो ।

म चाहीँ पढाई अघि बढाउँदै रेडियो यात्रा शुरु गरेँ । झण्डै ९ वर्ष भएछ यो यात्रामा अघि बढेको । अहिलेसम्मको उपलब्धी भन्ने की के, म विगत २ वर्षदेखी सामुदायिक सूचना नेटवर्क (सि.आइ.एन.) मार्फत एउटा कार्यक्रम सञ्चालन गर्छु, ‘वहकिने मन’ । प्रेम विषयमा आधारित यो कार्यक्रम देशका ९० भन्दा बढी रेडियोले एकैसाथ प्रसारण गर्छन ।

उ पैसा कमाउँछु भन्थ्यो, कमायो पनि । मैले देशको सेवा गर्नुपर्छ भन्थेँ, त्यसो गर्नु त परको कुरा आजसम्म ठोस रुपमा बुझेको पनि छैन, 'देशको सेवा भनेको के हो ?' देशको सेवा के हो के हो, आफ्नै रफ्तारमा अघि बढिरह्यो जीन्दगीको यात्रा ।

गुलजारको शब्दमा किशोर कुमारले स्वर दिएको यो गीत जस्तै भयो मेरो यात्रा,
ओ माझी रे,
अपना किनारा, नदियाँ की धारा है....

मेरो गाउँका दौँतरीहरु सबैले विहे गरिसके । अधिकांश त बुवा-आमा पनि बनिसके । कलेजमा हामी केही साथीहरुको एउटा ग्रुप थियो । त्यो ग्रुपका पनि म बाहेक सबैले घरजम बसाइसके । अचेल उनीहरु फेसबुकमा नानीबाबुका फोटो अपलोड गर्छन । म चाहीँ फोटो लाईक गर्छु अनि “समयले हामीलाई पनि बुढो बनाइसकेछ है” भन्दै कमेन्ट गर्छु ।

“हैन, विहे गर्ने हैन भन्या ?” काठमाण्डौँबाट कहिलेकाहीँ गाउँ जाँदा मैले अक्सर सामना गर्ने एउटा परिचित प्रश्न हो यो । मलाई अहिलेसम्म क-कसले यो प्रश्न सोधे भन्ने हेक्का नै छैन । ज-जसले सोधे, ती सबैलाई अनेक जवाफ दिएर सहजै उम्किन्थेँ म ।

पछिल्लो समय अर्को अपरिचित प्रश्न पनि परिचित हुन आईपुगेको छ म सँग । “पैसा कति कमाउँछस् त ?” भन्ने प्रश्न । यो प्रश्नबाट उम्किन त्यति सजिलो हुँदैन मलाई, जति अघिल्लो प्रश्नबाट हुन्छ ।

सँगैको साथीहरुले मलाई “कहिले विहे गर्ने हो ?” भनेर सोध्दा म सबैलाई एउटै रेडिमेट जवाफ दिन्छु, “यही प्रश्न तिम्रो नानीबाबुले जहिले मलाई सोध्छन् त्यतिबेला जवाफ दिन्छु ।” यसरी कति सजिलै उम्किदिन्छु म ।

मन्जितले ३ वर्ष अघि विहे गर्यो । त्यो मेरो एकदमै मिल्ने साथी । फेसबुकमा त्यसको विहेको फोटोमा मैले शुभकामना दिएको थिएँ । निशा भाउजुले कमेन्टमै सोध्नुभयो, “अनि बाबु, तपाईँ चाहीँ कहिले बिहे गर्ने त ?”
“पहिला तपाईँहरुको पहिलो सन्तान हेर्न पाउँ अनि बल्ल सोँच्छु” मैले यसै भनेथेँ ।

भतिज जन्मिएको १० महिना भयो । यसपाली दशैँमा घर जाँदा मैले भतिजलाई काखमा लिएँ । सँगै फोटो खिचेँ । नाक समातेर “ला..ला..ला..ला..” गर्दै जिस्क्याएँ । निधारमा निधार ठोकाएर भतिजलाई हसाएँ । उसले पनि बडो आत्मीयताले मेरो काखैमा ‘सु’ गरिदियो ।

“बच्चाले जसलाई बढी माया गर्छन् उनीहरुको काखमा सु गरिदिन्छन् रे” भाउजुले भन्नुभयो ।

बाबुसँग खेल्दा खुशी भएको मलाई भाउजुको कुराले झनै खुशी बनायो ।

“अनि बाबु चाहीँ कहिले बिहे गर्ने त ?” भाउजुले सोधिहाल्नु भो ।

लौ ! कस्तो फसाद । सजिलो प्रश्नको निक्कै गाह्रो जवाफ । के भन्ने के, कस्तो बिलखबन्दमा परेँ म ।

त्यति नै बेला उहाँले नै थपिहाल्नु भो, “मलाई अस्ति नै के भन्नुभाथ्यो भन्ने याद छ नी ?”

मैले सम्झिएँ, “पहिला तपाईँहरुको पहिलो सन्तान हेर्न पाउँ अनि बल्ल सोँच्छु” । यही त भनेको थिएँ मैले । सम्झिएपछि म केही बोलिनँ । बोल्नलाई केही कुरा आफुसँग भए पो बोल्नु । हाँसिदिएँ मात्रै । यो हाँसो भन्ने चिज पनि बडो अजीबको हुन्छ । निक्कै सकस पर्ने यस्तै बेलामा सेफ ल्याण्डिङ्गको काम गरिदिन्छ यसले । फिस्स हाँसिदियो भइहाल्छ, जवाफ नै दिन पर्दैन । क्या मज्जा ।  घर आएपछि सोचेँ, “समय कति छिट्टै दौडिएछ । मैले पत्तै पाइनँ ।”

दशैँमा घरमा जमघट हुँदा प्रसङ्गवश कमाइको कुरा उप्कियो । जब म भन्दा ९-१० वर्ष कान्छो भतिजले सुनचाँदीको कालीगढ पेशाबाट मासिक ३० हजारभन्दा बढी कमाउने कुरा सुनायो र सँगै बजारमा जग्गा पनि किनिसकेको कुरा सुनायो, अनि मैले आफ्नो तलब सम्झिएँ । आफैलाई लाज लागेर आयो ।

मामाले टीका लगाइदिएपछि कुरामा कुरा निस्किँदा जब “भान्जा, तिम्रो तलब २५/३० हजार त हुन्छ होला नी ?” भनेर सोध्दा जवाफ दिन नसकेर फुत्त बाहिर निस्किनुपर्यो  र २ चोटी त्यही प्रश्न मामाले दोहोर्याउँदा पनि बाहिर नसुने झैँ गरि चुपचाप बस्नुपर्यो त्यतिबेला आफु हिँडिरहेको बाटो निक्कै नमज्जा लाग्यो मलाई । पुग्नुपर्ने कहाँ हो भन्ने पनि थाहा नभएको यो रेडियो यात्रा झनै खल्लो-खल्लो लाग्यो ।

निक्कै दिनसम्म पनि पैसाको ह्याङओभरले दिमागमा हानिरहँदा सडक छेउमै भेटिए, साथी रमेश । कलेजको अति नै मिल्ने साथी । १ छोरा र १ छोरीको बाउ बनिसके उनी । २-३ पटक विदेशिएर अहिले घरमा छन्, अर्को मुलुकको लागि प्रयासरत छन् । दशैँको बेला उनले एकजनालाई भेटेछन्, जसले मेरो खुबै प्रशंसा गर्नुभएछ ।

“अरुको अगाडी महावीर मेरो साथी भन्न पनि गर्व लाग्छ यार । हामीले पैसा कमायौँ होला तर तिमीले नाम कमायौ । साथीहरुमध्ये तिम्रो प्रगति देखेर औधी खुशी लाग्छ” सडक छेउमा रोकिराखेको ठेलाबाट कुल्फी किनेर खुवाउँदै रमेशले यस्तो सुनाए मलाई । उनको कुरालाई पनि मनमा लिएँ ।

यी केही यस्ता घटना हुन् जसले यो पालीको मेरो दशैँमा मलाई केही सिक्न सघायो ।

सँगैका साथीहरुले पैसा पनि कमाए अनि विहे गरेर घरजम पनि बसाए । उनीहरुको घर, जग्गा, महङ्गा बाइक देखेर मलाई कहिले पनि ती कुराहरुप्रतिको मोह भएन । न त उनीहरुका नानीबाबु आफुले लिँदा मेरो पनि यस्तै सँसार भइदिए.......भन्ने रहर नै लाग्यो ।

साँच्चै भन्नुपर्दा, जीन्दगीको यहाँसम्मको यात्रामा मैले कहिल्यै पनि पैसा र विवाहलाई प्राथमिकता दिइनँ । विवाहको कुरा उप्किने क्षणलाई मैले बेवास्ता गरिदिएँ । पैसा कमाउने क्षण त मेरो यहाँसम्मको यात्रामा आउँदै आएन ।

मेरो मान्यतामा विवाह र पैसा यस्ता कुराहरु भइदिए की , “यी २ कुरा भए नि ठीकै छ नभए नि फरक पर्दैन” भन्ने सोँचेर अघि बढिरहेँ म । तर यसपालीको दशैँले पैसाको महत्व भने केही बताएर गएको छ मलाई । कम नै सही, यसको ओझले घोच्न चाहीँ घोचेको छ ।

Money is not everything भन्ने वाक्य मात्रै कण्ठ गरेको मलाई Money is something  भन्ने पाठ पनि बडो मज्जाले पढाएर गएको छ । यो पाठले चाँडै नै पासपोर्ट बनाउन दबाब नदेओस् मलाई, अहिलेलाई यत्ति मात्रै कामना । किनकी म अझै थाकेको छैन । स्वदेशमै संघर्ष गरेर स्थापित हुन निक्कै कठिन छ भन्ने थाहा छ, तरपनि थाकेको भने छैन म ।



Thursday, March 20, 2014

त्यो अन्तिम घण्टी

.......महावीर विश्वकर्मा

फेसबुकमा मलाई एउटा भूमिगत साथीको प्रश्न : तपाईँले सँधै वहकिने मनमा तिमी भनेर सम्बोधन गर्ने पात्र को हो ?
लौ कस्तो फसाद ! कस्तो बिलखवन्द । सँसारमा यति जटिल प्रश्न पनि हुँदा रहेछन् ।

यो प्रश्नले मलाई केही नोष्टाल्जिक बनाइदियो । कलेजका पुराना दिनहरुमा एक्कासी फर्काइदियो । मेरा कलेजका समकालीन कुनै पनि साथीहरुलाई मैले कहिल्यै थाहा नदिएको कुरा हो यो, जुन आज म लेखिरहेछु । शब्दहरुमा पोखिनुको मज्जा जो बेग्लै छ । सायद त्यसैले पनि असरल्ल पोखिन खोजिरहेको छु म । अनि फेरी म त शब्दहरुसँग प्रित गाँस्न खोज्ने मान्छे । सायद त्यसैले पनि लेख्दैछु ।

त्यतिबेला म सायद ११ कक्षामा पढ्थेँ । विहानी कक्षामा । विद्यार्थी थोरै भएकोले हाम्रो अन्तिम घण्टीमा दिवा कक्षाका विद्यार्थीहरु पनि मिसिन्थे, अर्थशास्त्र पढ्न । एउटै घण्टीमा दुवै कक्षाको काम तमाम हुन्थ्यो ।

त्यो अन्तिम घण्टीको पर्खाइ मलाई यसकारण पनि हुन्थ्यो की, त्यसमा दिवा कक्षाको ‘उनी’ पनि मिसिन्थिन् । त्यो अन्तिम घण्टी, म अलि व्यस्त पनि हुन्थेँ । अरु घण्टीमा नोट सार्ने काम मात्रै हुन्थ्यो । तर त्यो घण्टीमा छिटो छिटो नोट सारेर खुसुक्क उनलाई हेर्नु पनि पथ्र्यो मैले ।

सरले लेखाउने नोटको हरेक वाक्यमा पूर्णविराम दिएपछि मात्रै त्यसले पूर्णता पाउँथ्यो । तर म भने एकपटक सुटुक्क उनलाई हेरेपछि मात्रै त्यो वाक्यले पूर्णता पाएको महसुस गर्थेँ । कलमले कापीमा पूर्णविराम दिन खोज्दा नखोज्दै मेरो आँखा, विपरीत लाईनको त्यही अघिल्लो वेन्चमा पुग्थ्यो, जहाँ उनी अझै नोटमा पूर्णविराम दिन व्यस्त हुन्थिन् ।

उनले ढिलो सारेको होईन, बरु मैले चाहीँ छिटो सारेको हुन्थेँ । मलाई त वाक्य पूरा गरेर उनलाई हेर्नु थियो, जुन दौडधुप उनलाई थिएन । मलाई कहिल्यै पनि लागेन की, ‘उनले पनि मलाई वास्ता गर्छिन ।’ अहँ लागेन त्यस्तो । एक त म त्यस्तो आकर्षक पनि थिइनँ, जसलाई कुनै युवतीले वास्ता गरुन् । अर्को, मैले त्यसरी फलो गरेको उनलाई पत्तो पनि थिएन ।

म छेउका साथीहरुको आँखा छल्दै अलि अघिल्लो बेन्चमा बसेकी उनलाई छिन्छिन् मै हेरिरहन्थेँ । तर एउटै बेन्चमा बस्ने मेरा साथीहरुले त्यो कुरा कहिल्यै थाहा पाएनन् । सायद म आफै होशियार थिएँ, उनीहरुले थाहा नपाउन् भनेर । जुन कुरामा म सफल नै भएँ ।

उनी साधारण थिइन्, तै पनि विशेष लाग्थिन् मलाई । उनको मुहारमा म त्यो गाम्भीर्यता पाउँथे, जुन अक्सर नारीहरुमा म खोजिरहेको हुन्थेँ । यतिबेला यो लेखिरहँदा पनि उनको त्यही आकृति झल्किरहेछ म भित्र । म सम्झिरहेछु उनलाई । सायद बाडुल्की पो लागिरहेको छ की उनीलाई ।

मलाई ती दिनहरु निक्कै नै रमाइला लाग्थे । एकोहोरो पछि लाग्नुमा जो मज्जा छ, त्यो सायदै दोहोरो प्रेममा होला । कहिलेकाहीँ त उनले अरुलाई हेर्दा पनि आफैलाई हेरे झैँ ठानेर बेफ्वाँकमा खुशी हुन्थेँ म । त्यो ताल न बेतालको खुशी धेरै टिक्थेन । जब म भन्दा पछिको साथीले मेरो छेवैबाट उनलाई ‘हाई !’ भनेर चिच्याउँथ्यो, अनि लज्जावती झार जस्तै खुम्चिन्थेँ म । प्लाष्टिकमा आगो लगाए जस्तै चुमुर्किन्थेँ ।

फेरी पनि अन्तिम घण्टीमा उनलाई हेर्न कहाँ छाड्थेँ र म । हेरिरहन्थेँ सँधै । त्यो एकोहोरो हेराहेरको श्रृंखला निक्कै समय चल्यो । तर त्यसमा अरु नयाँपन भने केही थपिएन । सँधै पुरानै खाले एकोहोरो हेराहेर मात्रै । तै पनि हरेक दिन नयाँ जस्तो लाग्थ्यो मलाई ।

म त स्कुले बेलैदेखी गम्भीर स्वभावको मान्छे । अझ भनौँ, कवि हृदयको मान्छे । अलि पछि एउटा कविता लेखेँ मैले । उनकै बारेमा । अनि बडो हिम्मत जुटाएर उनलाई दिएँ पनि, “मैले तिम्रो बारेमा लेखेको कविता” भनेर । मलाई त्यो कविता अहिले याद त छैन । किनकी त्यसको खेस्रा नै जिम्मा लगाएको थिएँ मैले उनीलाई ।

मलाई अझै पनि लाज लाग्छ, त्यतिबेलाको त्यो दृश्य सम्झिएर । त्यो अन्तिम घण्टी सकिएपछि प्राय सबै बाहिरिए । उनी चाहीँ अरु घण्टी पनि पढ्ने भएकोले त्यहीँ बसिन्, साथीहरुसँगै । म झोलामा नोट कपी राख्ने बाहानामा साथीहरुभन्दा जानीजानी ढिलो भइदिएँ, बाहिर निस्किन ।

अनि बढ्न थाल्यो मेरो मुटुको धडकन । सायद १ मिनेटमा १०० चोटीभन्दा पनि बढी धड्कियो होला त्यो । म एकै सासमा उनको अगाडी पुगेँ । छेउमा दुई साथी, बीचमा उनी । उठेर बसेकी थिइन्, बेन्चमा अडेस लगाएर । “मैले तिम्रो बारेमा लेखेको कविता” अगाडी नोट कपीबाट च्यातिएको एउटा पाना तेसार्दै मैले भनेँ । उनले त्यो समातिन्, तर निक्कै अफ्ठ्यारो महसुस गरिन् । दिक्क माने झैँ गरिन् । उनको अनुहार बिग्रिएकोबाट पत्तो पाएँ मैले ।

मेरा कान ताता भए । गर्मी भए झैँ लाग्यो । सानो छँदा ढाडमा घमौरा चर्किए झैँ चिरिक चिरिक भयो । उनका दुई साथीहरु अवाक् भएर हेरिरहे । शहरको  बीचमा खुट्टा चिप्लिएर पछारिँदा सबै हाँसिदिए जस्तै लज्जित भएँ म । अनि एकोहोरो भुँइतिर मात्रै हेरेर कुलेलम ठोकेँ ।

त्यो कविताको प्रतिक्रिया मैले कहिल्यै पाईनँ । बरु त्यसपछि उनको अघिल्तिर पर्ने दुस्साहस नै गरिनँ मैले । त्यो भन्दा पछि हाम्रो बोली कहिले नि मिसिएन जस्तो लाग्छ मलाई । हुन त त्यो भन्दा अघि पनि कहिले पो बोलचाल गरेका थियौँ र हामीले ।

त्यो प्रेम नै थियो की अरु केही । अझसम्म प्रष्ट हुन सकेको छैन म । बरु मैले कतै उनको मनमा ठेस् त पुर्याइनँ ? भन्ने चाहीँ लागिरह्यो । सम्झिएको बेला अझै लागिरहन्छ पनि ।

खोजेपछि भेट्टाइन्छ भनेझैँ मैले पनि भेट्टाएँ एउटा सत्य, उनको बारेमा । उनी अरु नै कसैसँग प्रेम गर्छिन रे भन्ने सत्य । कुनै कुनै सत्यहरुले यति धेरै पोल्दा रहेछन् भन्ने त्यति नै बेला जानेँ मैले ।

त्यो अवस्थाबाट खै कसरी हो, बाहिरिएँ म । त्यसको प्रभाव त्यति गहिरो पनि परेन मलाई । यात्रामा कहीँ अल्झिन खोज्यो मन, फेरी अल्झिन पाएन । वस् त्यति हो । यसै टुङ्गियो, एउटा नलेखिएको अध्याय । अझ भनौँ, लेखिन नपाएको अध्याय ।

त्यसपछि पनि कतिलाई समर्पण गरेर कविता लेखेँ मैले, गजल लेखेँ, मुक्तक लेखेँ । तर त्यसपछि चाहीँ कसैलाई पनि भनिनँ, “मैले तिम्रो बारेमा लेखेको” भनेर ।

हुनसक्छ, 'वहकिने मन' पनि त्यस्तै श्रृंखलाको एउटा अंश हो । हुनसक्छ त्यस्तो । अनि त्यस्तो नहुन पनि सक्छ । अहिले यत्ति भन्छु, वहकिने मनमा सम्बोधित हुने 'तिमी' मात्र उनी चाहीँ होईन । म कसम खाएर भन्छु, अहँ हुँदै होईन । किनकी त्यो घटनालाई त्यति गम्भीर ढङ्गले लिइनँ मैले । तर पछिसम्म पनि कहिलेकाहीँ उनीलाई देख्दा कस्तो कस्तो भने हुन्थ्यो मनमा ।

उसो भए वहकिने मनमा सम्बोधित हुने त्यो “तिमी” पात्र को हो त ?

यो प्रश्नको जवाफ चाहीँ सायद दिन सक्दिनँ म । अहिले दिन सक्दिनँ की कहिल्यै दिन सक्दिनँ, अहँ त्यो पनि थाहा छैन मलाई ।




    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget