Tuesday, October 28, 2014

वहकिने मन 127 (२०७१ कार्तिक १०)


हाँसो पनि किनबेच हुन्छ, अजीवको छ दुनियाँ यो ।
बजार भाउ आफै चुन्छ, अजीवको छ दुनियाँ यो । ।
घरतिर कुनै भिक्षु आउँदै गर्या देख्यो भने,
परैबाट दैलो थुन्छ, अजीवको छ, दुनियाँ यो । । ।

(((((((((((((((((मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो, स्वर : शिव परियार )))))))))))

युग फेरियो, मान्छे फेरिए । समय बदलियो, मान्छे बदलिए । तर यही समयसँगै अघि बढिरहेको एउटा मान्छे म भने यो दुनियाँभन्दा सँधै फरक भएर बाँच्न चाहिरहेँ । अरु हिँडेको बाटो पछ्याउनु भन्दा आफ्नै बाटो बनाउन चाहिरहेँ । आफ्नो जीन्दगीको रथ आफ्नै तरिकाले हाँक्न चाहिरहेँ । आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ । मैले वरिपरिका जति पनि मान्छेहरु देखेँ, ती कसैले पनि आफ्नो जीन्दगी आफ्नै रुची अनुसार बाँचेको देखिनँ । कसैले आमा बुबाको रुची अनुसार बाँचेको देखेँ, कसैले छोराछोरीको रुची अनुसार बाँचेको देखेँ । कसैले श्रीमान श्रीमतीको रुची अनुसार अनि कसैले प्रेमी प्रेमिकाको रुची अनुसार बाँचेको देखेँ ।

मैले बुवाआमाले भने जसरी नै बाँच्नुपर्छ, मैले छोराछोरीले चाहेको मात्रै गर्नुपर्छ, मेरो जीवन साथीको इच्छा अनुसार म चल्नुपर्छ, उसको खुशीको लागि पनि मैले उसको रुची अनुसार अघि बढ्नैपर्छ....यस्तै भन्दाभन्दै धेरैले आफ्नो जीन्दगी अरुको ईशारामा बाँचिरहेको देखेँ मैले । अनि मलाई ती सबैको जीन्दगी बेतुकको लाग्यो । बेफ्वाँकको लाग्यो । यो शरीर कति दिन यो दुनियाँमा थामिन्छ भन्ने थाहा छैन । फेरी यति अमूल्य समय आफ्नो लागि चाहीँ खै त ? यही प्रश्नले हरबखत लघारिरह्यो मलाई । अनि आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ मैले । यहीकारण त म बिल्कुल फरक भएँ यो दुनियाँभन्दा । अपवाद भएँ, यहाँका मान्छेहरुभन्दा ।

सबै तरकारी मिसाउन मिल्ने आलुमा सिस्नु चाहीँ मिसाएर पकाउन नमिले जस्तै भइरहेँ म । मलाई थाहा छैन, म लगभग धेरैसँग मिलिदिने आलु भएँ की, कसैसँग नमिल्ने सिस्नु भएँ । अहँ थाहा छैन मलाई । त्यसो त मैले त्यो थाहा पाउने प्रयत्न पनि गरिनँ भन्दा हुन्छ । किनभने त्यो मेरो चासोको कुरा नै थिएन । म त बस्, आफ्नो जीन्दगी आफ्नै ढङ्गले बाँच्न चाहन्थेँ मात्रै । तर सायद निक्कै नै अडमिल्दो भएँ म यो समाजभन्दा । यहाँका मान्छेहरुभन्दा । त्यसैले त मेरा भावनाहरु यहाँ कसैले बुझेनन् । तँ कति खुशी छस् ? भनेर मलाई कसैले सोधेनन । सोधे त, कति कमाउँछस् तैँले ? भनेर सोधे । के के जोडिस् त सम्पत्ति ? भनेर सोधे । मलाई थाहा छ, यो दुनियाँ जति नै अभ्यास गरे पनि मेरो खुशीको मूल्य निर्धारण गर्न सक्दैन । तर उ सोध्न चाहीँ सोधिरहन्छ जीन्दगी कै नापतौल गर्ने उसका बकम्फुसे प्रश्नहरु ?

मलाई हिसाब किताबको जीन्दगी चाहिँदैन ।
साँच्चै पश्चातापको जीन्दगी चाहिँदैन । ।
चरा जस्तै गरि उडिरहन पाउँ
डेबिट क्रेडिट, वासलातको जीन्दगी चाहिँदैन । । ।

(((((((((((((((((((भावनालाई चाहनालाई किन हो तराजुमा जोखिन्छ)))))))))))))

जीन्दगी खरिद विक्रीको नियमभन्दा, नाफा नोक्सानको नियम भन्दा धेरै पर भइदिए हुन्थ्यो जस्तो लाग्छ । फाइदा बेफाइदाको जोड घटाउ भन्दा कोशौँ टाढा रहिदिएहुन्थ्यो जस्तो लाग्छ । म सँग तिमीलाई म माया गर्छु भन्नेले, मलाई पनि तिमीले माया गर्नुपर्छ भनेर शर्त अघि नसारोस् भन्ने लाग्छ । म त्यस्ता सम्बन्धहरुमा गाँसिन चाहन्छु, जसले बेफिकर, बेप्रवाह एकोहोरोपन देखाइरहोस् मात्रै । बदलामा सो सरह वा सो भन्दा बढीको प्रतिफलको आशा नगरोस् । यस्तै चाहन्छु म । तर मेरा चाहनाहरु बालुवामा पानी हाले जसरी बेअर्थको भइदिन्छ ।  

समग्रमा म त्यस्तो जीन्दगी चाहन्छु, जुन नदी जस्तै बगिरहोस् समुन्द्र भेट्नका लागि, ताल बनेर एकैठाउँमा जम्मा नभइदियोस्, लेउ लाग्ने गरि । त्यस्तै जीन्दगी चाहन्छु म । तर बिडम्बना म त त्यस्तो अजीव खालको किताब भएछु, जसलाई सबैले सजिलै पढेपनि बुझ्न भने कसैले नसक्दा रहेछन् ।

साँच्चै भन्नुपर्दा, यो साँसारिक दुनियाँभन्दा अलि प...र..को दुनियाँमा आफैलाई लैजान चाहिरहेँ मैले । अरुहरुले बाँचिरहेको साँघुरो जीन्दगीभन्दा अलि फराकिलो जीन्दगी बाँच्न चाहेँ । तर यो दुनियाँले भने सँधै साँसारिक लगाम लगाउन खोजिरह्यो मात्रै । अंकुश लगाउन खोजिरह्यो मात्रै ।

मैले यस्ता धेरै मान्छेहरु देखेको छु, जो धान्याचल महायज्ञमा थुप्रै पैसा दिन्छु भन्ने घोषणा गरेर दुनियाँको अगाडी फूल माला पहिरिँदै ईज्जत बढाउँछन् अनि पछि पैसा दिने भाका सार्दा सार्दै आफै बेपत्ता भइदिन्छन् ।
अनि यस्ता धेरै मान्छेहरु देखेको छु, जो राती अँध्यारोमा त्यही ठाउँमा शौच गरिदिन्छन्, जहाँ उनीहरु दिनमा भने गर्न सक्दैनन् । फोहोर हुन्छ भन्ने चिन्ताले हैन, मान्छेले देख्यो भने ईज्जत जाने डरले मात्रै उनीहरु दिउँसो त्यहाँ शौच गर्दैनन् । वातावरण फोहोर हुने चिन्ता हुँदो हो त राती किन शौच गर्थे त्यहाँ । अरुलाई देखाउनका लागि कति धेरै सभ्य बनिटोपल्छ मान्छे ।

यो यस्तै यस्तै मान्छेहरुले एकअर्काको खराबीलाई तैँ चुप मै चुप भन्दै बस्ती बसाएको दुनियाँ न हो । कसको पोल कसले खोल्ने । उनीहरु त सबै एउटा दौडमा छन्, जीन्दगीको । यहाँका मान्छेहरुको हानथाप, लुछाचुँडी त्यही दौडको नियम उल्लंघन न हो । त्यो भन्दा फरक अरु त के नै पो हो र ।

म यी र यस्ताखाले जीन्दगी भन्दा अलग रहन चाहन्छु, जुन न म अरुलाई बुझाउन सक्छु, न त उनीहरु नै बुझिदिन्छन् । यो टोपी टाल्दा टाल्दै बित्ने जीन्दगी भन्दा अर्कैखाले जीन्दगी बाँच्न चाहन्छु म ।

सबैभन्दा ठुलो धन हराएपछि ।
मान्छेको के अर्थ मन हराएपछि । ।
फरक भइदियोस् जीवन, औषतभन्दा धेरै
बाँच्नुको सार हुन्न, जीवन हराएपछि । । ।

((((((((((((((((((((मनैबाट मानिसले मानवता नै मेटेछ))))))))))))))))))))))

...............

मेरो पछिपछि चल्ने हुरीले, मेरा हरेक पाईलाहरुको डोप क्रमशः मेटाइदिन्छ । मेरो अघि अघि चर्किने घामको रापले, मेरा प्रत्येक पसिनाहरुको चिसो क्रमश सुकाइदिन्छ । 

आफु हिँडिरहेको बाटो कहाँसम्म पुग्ने हो भन्ने पनि थाहा छैन । छेउछाउको अरु बाटोबाट हिडौँ भने, त्यो कहाँ पुगेर टुगिंने हो भन्ने पनि थाहा छैन । कस्तो फसाद । कस्तो वाहियात जीन्दगी । 

खैर, जे सुकै भनौँ, आखिर हिँड्नु त पर्छ नै फेरी । त्यसैले त हिँडिरहेछु म । नत्र, मेरो हिँडाईहरुको अर्थ नै के पो छ र । मैले फेरी अर्को नयाँ पाईला उचाल्नुको औचित्य नै के पो छ र । 'जीन्दगी यात्रा हो' भन्ने त सानैदेखी पढेको हो, सुनेको हो । तर खै, कस्तो हो यो यात्रा ? अझै बुझ्न सकिएन । हेरौँ कहिले बुझिन्छ ।

बहकिने मन-१२७ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE :(2071-07-10/27-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



कहिलेकाहीँ हामीलाई किन आफुलाई कसैले नबुझे जस्तो लाग्छ ? 

बहकिने मन EPISODE 127 श्रृंखला । 
Listen and Download
                               Download : Click Here to Download 

Wednesday, October 22, 2014

मुक्तक

औँला भाँचेर दिन, गनेर बाँचेको छु । 
तिमीलाई भेट्नेछु एकदिन, भनेर बाँचेको छु । ।
अचेल साँच्चै मैले, बुझ्नै सकेको छैन
न सद्दे, न पागल, बनेर बाँचेको छु । । ।

Tuesday, October 21, 2014

बहकिने मन-१२६ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-07-03/20-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



नमस्कार,

आज मिति 2071 कार्तिक 03 तदनुसार 20-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 126 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download
                                    Download : Click Here to Download

Tuesday, October 14, 2014

बहकिने मन-१२५ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-06-27/13-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


''एकपटक प्रेम सम्बन्ध टुङ्गिएको कतिपय व्यक्ति फेरी त्यस्तै सम्बन्ध शुरु गर्न किन चाहँदैनन् ?'' 

 EPISODE 125 

Listen and Download
                                  Download : Click Here to Download

Monday, October 13, 2014

वहकिने मन-१२४ औँ श्रृंखला

बहकिने मन BAHAKINE MAN 
DATE : (2071-06-20/06-10-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 




नमस्कार, आज मिति 2071 असोज 20 तदनुसार 06-October 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 124 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download
                                     Download : Click Here to Download

Thursday, October 9, 2014

परिचय Vs पैसा

....महावीर विश्वकर्मा

Money is not everything. यो वाक्यसँग निक्कै पहिला ठोक्किन पुगेँ म । स्कुले जीवनमै । मलाई कसैले यस्तो सुनायो की म आफैले कतै पढेँ, अहँ याद भएन । बरु यसको भाव राम्ररी नबुझे पनि यसको प्रभाव भने नजानिँदो पाराले पर्यो । अनि त मैले पनि यसै यसै यही वाक्य सुनाउन थालेँ अरुलाई, Money is not everything.

कक्षा ७ मा पढ्दाको कुरा । मेरो एकदमै मिल्ने साथी थियो, इन्द्रे । इन्द्रबहादुर राई । हाम्रो गाउँबाट २ किलोमिटर पर थियो हामीले पढ्ने स्कुल । वुद्धशान्ति मा.वि.(अहिले उ.मा.वि.) । त्यतिबेला हामी हिँडेरै स्कुल जान्थ्यौँ । बाटामा कुरा गर्दै जाँदा इन्द्रे विदेश गएर पैसा कमाउने कुरा गथ्र्यो । (उसको दाईहरु विदेश गएको प्रभाव थियो सायद) ।

म चाहीँ बडो आदर्शवादी पारामा “यहीँ बसेर देशको सेवा गर्नुपर्छ” भन्थेँ । देशको सेवा भनेको के हो रामजाने, तर भन्न चाहीँ म त्यही भन्थेँ । तिनताकाका चलचित्रमा हिरोले देशभक्तिको डायलग बोलेको प्रभाव थियो सायद म भित्र । इन्द्रे १२ कक्षा पास भएपछि विदेशियो । घर बनायो, धुमधामका साथ विहे गर्यो, गाडी किन्यो, चितवन र काठमाण्डौंका नाम चलेको ठाउँमा  जग्गा जोड्यो ।

म चाहीँ पढाई अघि बढाउँदै रेडियो यात्रा शुरु गरेँ । झण्डै ९ वर्ष भएछ यो यात्रामा अघि बढेको । अहिलेसम्मको उपलब्धी भन्ने की के, म विगत २ वर्षदेखी सामुदायिक सूचना नेटवर्क (सि.आइ.एन.) मार्फत एउटा कार्यक्रम सञ्चालन गर्छु, ‘वहकिने मन’ । प्रेम विषयमा आधारित यो कार्यक्रम देशका ९० भन्दा बढी रेडियोले एकैसाथ प्रसारण गर्छन ।

उ पैसा कमाउँछु भन्थ्यो, कमायो पनि । मैले देशको सेवा गर्नुपर्छ भन्थेँ, त्यसो गर्नु त परको कुरा आजसम्म ठोस रुपमा बुझेको पनि छैन, 'देशको सेवा भनेको के हो ?' देशको सेवा के हो के हो, आफ्नै रफ्तारमा अघि बढिरह्यो जीन्दगीको यात्रा ।

गुलजारको शब्दमा किशोर कुमारले स्वर दिएको यो गीत जस्तै भयो मेरो यात्रा,
ओ माझी रे,
अपना किनारा, नदियाँ की धारा है....

मेरो गाउँका दौँतरीहरु सबैले विहे गरिसके । अधिकांश त बुवा-आमा पनि बनिसके । कलेजमा हामी केही साथीहरुको एउटा ग्रुप थियो । त्यो ग्रुपका पनि म बाहेक सबैले घरजम बसाइसके । अचेल उनीहरु फेसबुकमा नानीबाबुका फोटो अपलोड गर्छन । म चाहीँ फोटो लाईक गर्छु अनि “समयले हामीलाई पनि बुढो बनाइसकेछ है” भन्दै कमेन्ट गर्छु ।

“हैन, विहे गर्ने हैन भन्या ?” काठमाण्डौँबाट कहिलेकाहीँ गाउँ जाँदा मैले अक्सर सामना गर्ने एउटा परिचित प्रश्न हो यो । मलाई अहिलेसम्म क-कसले यो प्रश्न सोधे भन्ने हेक्का नै छैन । ज-जसले सोधे, ती सबैलाई अनेक जवाफ दिएर सहजै उम्किन्थेँ म ।

पछिल्लो समय अर्को अपरिचित प्रश्न पनि परिचित हुन आईपुगेको छ म सँग । “पैसा कति कमाउँछस् त ?” भन्ने प्रश्न । यो प्रश्नबाट उम्किन त्यति सजिलो हुँदैन मलाई, जति अघिल्लो प्रश्नबाट हुन्छ ।

सँगैको साथीहरुले मलाई “कहिले विहे गर्ने हो ?” भनेर सोध्दा म सबैलाई एउटै रेडिमेट जवाफ दिन्छु, “यही प्रश्न तिम्रो नानीबाबुले जहिले मलाई सोध्छन् त्यतिबेला जवाफ दिन्छु ।” यसरी कति सजिलै उम्किदिन्छु म ।

मन्जितले ३ वर्ष अघि विहे गर्यो । त्यो मेरो एकदमै मिल्ने साथी । फेसबुकमा त्यसको विहेको फोटोमा मैले शुभकामना दिएको थिएँ । निशा भाउजुले कमेन्टमै सोध्नुभयो, “अनि बाबु, तपाईँ चाहीँ कहिले बिहे गर्ने त ?”
“पहिला तपाईँहरुको पहिलो सन्तान हेर्न पाउँ अनि बल्ल सोँच्छु” मैले यसै भनेथेँ ।

भतिज जन्मिएको १० महिना भयो । यसपाली दशैँमा घर जाँदा मैले भतिजलाई काखमा लिएँ । सँगै फोटो खिचेँ । नाक समातेर “ला..ला..ला..ला..” गर्दै जिस्क्याएँ । निधारमा निधार ठोकाएर भतिजलाई हसाएँ । उसले पनि बडो आत्मीयताले मेरो काखैमा ‘सु’ गरिदियो ।

“बच्चाले जसलाई बढी माया गर्छन् उनीहरुको काखमा सु गरिदिन्छन् रे” भाउजुले भन्नुभयो ।

बाबुसँग खेल्दा खुशी भएको मलाई भाउजुको कुराले झनै खुशी बनायो ।

“अनि बाबु चाहीँ कहिले बिहे गर्ने त ?” भाउजुले सोधिहाल्नु भो ।

लौ ! कस्तो फसाद । सजिलो प्रश्नको निक्कै गाह्रो जवाफ । के भन्ने के, कस्तो बिलखबन्दमा परेँ म ।

त्यति नै बेला उहाँले नै थपिहाल्नु भो, “मलाई अस्ति नै के भन्नुभाथ्यो भन्ने याद छ नी ?”

मैले सम्झिएँ, “पहिला तपाईँहरुको पहिलो सन्तान हेर्न पाउँ अनि बल्ल सोँच्छु” । यही त भनेको थिएँ मैले । सम्झिएपछि म केही बोलिनँ । बोल्नलाई केही कुरा आफुसँग भए पो बोल्नु । हाँसिदिएँ मात्रै । यो हाँसो भन्ने चिज पनि बडो अजीबको हुन्छ । निक्कै सकस पर्ने यस्तै बेलामा सेफ ल्याण्डिङ्गको काम गरिदिन्छ यसले । फिस्स हाँसिदियो भइहाल्छ, जवाफ नै दिन पर्दैन । क्या मज्जा ।  घर आएपछि सोचेँ, “समय कति छिट्टै दौडिएछ । मैले पत्तै पाइनँ ।”

दशैँमा घरमा जमघट हुँदा प्रसङ्गवश कमाइको कुरा उप्कियो । जब म भन्दा ९-१० वर्ष कान्छो भतिजले सुनचाँदीको कालीगढ पेशाबाट मासिक ३० हजारभन्दा बढी कमाउने कुरा सुनायो र सँगै बजारमा जग्गा पनि किनिसकेको कुरा सुनायो, अनि मैले आफ्नो तलब सम्झिएँ । आफैलाई लाज लागेर आयो ।

मामाले टीका लगाइदिएपछि कुरामा कुरा निस्किँदा जब “भान्जा, तिम्रो तलब २५/३० हजार त हुन्छ होला नी ?” भनेर सोध्दा जवाफ दिन नसकेर फुत्त बाहिर निस्किनुपर्यो  र २ चोटी त्यही प्रश्न मामाले दोहोर्याउँदा पनि बाहिर नसुने झैँ गरि चुपचाप बस्नुपर्यो त्यतिबेला आफु हिँडिरहेको बाटो निक्कै नमज्जा लाग्यो मलाई । पुग्नुपर्ने कहाँ हो भन्ने पनि थाहा नभएको यो रेडियो यात्रा झनै खल्लो-खल्लो लाग्यो ।

निक्कै दिनसम्म पनि पैसाको ह्याङओभरले दिमागमा हानिरहँदा सडक छेउमै भेटिए, साथी रमेश । कलेजको अति नै मिल्ने साथी । १ छोरा र १ छोरीको बाउ बनिसके उनी । २-३ पटक विदेशिएर अहिले घरमा छन्, अर्को मुलुकको लागि प्रयासरत छन् । दशैँको बेला उनले एकजनालाई भेटेछन्, जसले मेरो खुबै प्रशंसा गर्नुभएछ ।

“अरुको अगाडी महावीर मेरो साथी भन्न पनि गर्व लाग्छ यार । हामीले पैसा कमायौँ होला तर तिमीले नाम कमायौ । साथीहरुमध्ये तिम्रो प्रगति देखेर औधी खुशी लाग्छ” सडक छेउमा रोकिराखेको ठेलाबाट कुल्फी किनेर खुवाउँदै रमेशले यस्तो सुनाए मलाई । उनको कुरालाई पनि मनमा लिएँ ।

यी केही यस्ता घटना हुन् जसले यो पालीको मेरो दशैँमा मलाई केही सिक्न सघायो ।

सँगैका साथीहरुले पैसा पनि कमाए अनि विहे गरेर घरजम पनि बसाए । उनीहरुको घर, जग्गा, महङ्गा बाइक देखेर मलाई कहिले पनि ती कुराहरुप्रतिको मोह भएन । न त उनीहरुका नानीबाबु आफुले लिँदा मेरो पनि यस्तै सँसार भइदिए.......भन्ने रहर नै लाग्यो ।

साँच्चै भन्नुपर्दा, जीन्दगीको यहाँसम्मको यात्रामा मैले कहिल्यै पनि पैसा र विवाहलाई प्राथमिकता दिइनँ । विवाहको कुरा उप्किने क्षणलाई मैले बेवास्ता गरिदिएँ । पैसा कमाउने क्षण त मेरो यहाँसम्मको यात्रामा आउँदै आएन ।

मेरो मान्यतामा विवाह र पैसा यस्ता कुराहरु भइदिए की , “यी २ कुरा भए नि ठीकै छ नभए नि फरक पर्दैन” भन्ने सोँचेर अघि बढिरहेँ म । तर यसपालीको दशैँले पैसाको महत्व भने केही बताएर गएको छ मलाई । कम नै सही, यसको ओझले घोच्न चाहीँ घोचेको छ ।

Money is not everything भन्ने वाक्य मात्रै कण्ठ गरेको मलाई Money is something  भन्ने पाठ पनि बडो मज्जाले पढाएर गएको छ । यो पाठले चाँडै नै पासपोर्ट बनाउन दबाब नदेओस् मलाई, अहिलेलाई यत्ति मात्रै कामना । किनकी म अझै थाकेको छैन । स्वदेशमै संघर्ष गरेर स्थापित हुन निक्कै कठिन छ भन्ने थाहा छ, तरपनि थाकेको भने छैन म ।



    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget