Showing posts with label Photo. Show all posts
Showing posts with label Photo. Show all posts

Tuesday, April 1, 2014

वहकिने मन (२०७० असोज ७)

नाम छैन, जात छैन, थर छैन पिरतीको ।
अरु पनि के के छैन, घर छैन पिरतीको । ।
व्यर्थै किन चिन्ता गर्छौ, भोली कस्ले देखेको छ
जे पनि त हुनसक्छ भर छैन पिरतीको । । ।

(((((((((((((((((तिमी कस्को हुने होला, म नि कस्को हुने होला)))))))))))))))))))))))
खै थाहा छैन भोली के कस्तो हुने हो । कस्ले देखेको छ र, भोली । म त वर्तमानसँग मात्रै परिचित छु । र छु परिचित, वर्तमानमा मैले तिमीलाई गर्ने मायाको परिमाण बारे पनि । 

त्यसो त मायाको परिमाण हुँदैन होला । जोख्न र नाप्न सकिँदैन होला यसलाई । उसोभए भुलवश भएको आफ्नो कमजोरी सच्याउँछु म । 

र सच्याएर फेरी भन्छु, म तिमीलाई औधी माया गर्छु, मलाई यत्ति थाहा छ । त्यो औधी भनेको चाहीँ कत्ति हो नि ? भनेर नसोध्नु । किनकी बिना तयारी परीक्षा हलमा प्रवेश गरेको परिक्षार्थी जस्तै छु म, जवाफहरुको खडेरीमा ।

मलाई थाहा छैन लैला मजनुको प्रेम कस्तो थियो, न त रोमियो जुलियटको प्रेम बारे नै ज्ञान छ मलाई । त्यसैले पनि म मेरो प्रेमलाई उनीहरुसँग तुलना गर्न सक्दिनँ, त्यसो त तुलना गर्न चाहन्नँ पनि । बस् मलाई यत्ति थाहा छ, म तिमीलाई माया गर्छु ।

तिमी साथमा हुँदा समय बितेको पत्तो पाउँदिन म । जब तिमी छुट्टिएर जान्छौ अनि अर्को भेट कहिले होला भन्ने चिन्ताले पिरोल्छ मलाई । अचेल त झन् एकैछिन् तिम्रो मिसकल नआउँदा मनमा एकतमासको हुटहुटी चल्न थाल्छ । झन् मोबाइल पनि अफ भइदिनुपर्छ, अनि त के चाहियो र । नानाथरिका तर्कनाहरु ठेलमठेल गरेर मनभित्र ओइरिन्छन्, दशैँ नजिकिँदै गर्दा बजारमा मान्छेहरुको भिड बढेजस्तो । 

हो त्यतिबेला मोबाइलको इनबक्समा गएर तिमीले पठाएकी म्यासेजहरु एक एक अक्षर ध्यान दिएर पढ्छु । बडो आनन्द आउँछ । म्यासेजका शब्दहरु छेउमा बसेर तिमी आफैले मलाई भनेझैँ लाग्छ, कम्ता खुशी लाग्दैन त्यतिबेला । तिमी मेरी हौ र सँधै हुनेछौ भन्ने सोँचिरहेको हुन्छु त्यो बखत । यो मन भन्ने चिज पनि कस्तो हुन्छ भने, सानो कुराले पनि करोडौँको खुशी दिलाउँछ ।

मेरा साथीहरु तिम्रो प्रशंसा गर्छन । तिम्रो रुप, तिम्रो आनीबानी, तिम्रो बोली सब्बै सब्बैको खुब्बै प्रशंसा गर्छन । म छेउमा बसेर एकतमासले सुनिरहन्छु, मन गद्गद् भएर आउँछ, एकखाले खुशीले कता हो कता उडाइदिन्छ मलाई । म पनि उडिरहन्छु चरा जस्तै अनि उडिरहन चाहन्छु सँधै सँधै ।

याद छ, तिमीले एकदिन भनेकी थियौ मलाई, घरमा केही मिठो कुरा पाक्यो भने तिम्रो याद आउँछ भनेर । सँगै बसेर एकअर्कालाई खुवाउन पाइदिए नी हुन्थ्यो भनेर । म यतिबेला लजाई लजाई भन्दैछु, अचेल मलाई पनि त्यस्तै हुन्छ । अस्ति आमाले घरमा सेल पकाउनुभाथ्यो, त्यतिबेला यस्तै सोँचेको थिएँ मैले । तिमीलाई सुनाउँछु भनेर त्यति नै बेला फोन पनि गरेथेँ तर भन्नै लाज लाग्यो । खै किन हो यत्ति धेरै माया लागेको तिम्रो, मलाई नै थाहा छैन ।

थाहा छ, हिजो राती कस्तो नराम्रो सपना देखेँ नी मैले । तिम्रो त अर्कैसँग विहे हुँदो रै छ । अनि म चाहीँ जग्गेको अलि पर खर्सेटोको बोटमा छेल परेर रुँदैरुँदै तिमीलाई हेरिरहँदा रै छु । जब तिमीलाई त्यही बेहुला बनेको मान्छेले लिएर जान लाग्यो अनि त म चिच्याएर रुँदा रै छु । यत्ति नै बेला झल्याँस्स ब्यूँझिएँ म । सपना रै छ भन्ने थाहा पाएँ, यत्ति खुशी भएँ की के भन्ने ।

त्यही सपना देखेपछि मन ठेगानमा छैन मेरो, मनभरि चिन्ताले अड्डा जमाएको छ । खै किन हो, कतै त्यो सपना सुल्टो नै त हुँदैन भन्ने डर मात्रै लागिरहन्छ । अचेल त झन् तिमीलाई नभेटेको पनि कत्ति दिन भइसक्यो । त्यसैले पनि हो की के के कुराहरु मनमा खेलिरहन्छन् ।

जब समयप्रति आश लागेर आउँछ ।
सँगै हुन्छौँ हामी भन्ने विश्वास लागेर आउँछ ।
सपनाहरु पनि जब रुवाएर जान्छन्
छुट्छ की त जोडी ढुकुर त्रास लागेर आउँछ । । ।

((((((((((((((((((((जोडी सुगा मैना जस्तै, लाग्छ छुट्ने छैन जस्तै)))))))))))))))))))))))))

खै थाहा छैन, तिमी कसको हुने हो, अनि म नि कसको हुने हो । तिमी कसको घरमा भित्रिन पुग्ने हो, अनि मैले पनि कसलाई घरमा भित्रयाउन ल्याउने हो । केही थाहा छैन । 

तर एउटा कुरा के चाहीँ थाहा छ भने, समयले तिमी अर्कैको घरमा भित्रेलाउ अनि मैले अर्कैलाई घरमा भित्राउँला तर पनि हाम्रो मनमा भने अरु कोही भित्रिन सक्ला जस्तो मलाई लाग्दैन । मनको सँघारसम्म त आईपुग्ला कोही तर हामीले एकअर्कालाई जुन स्थानमा राखेका छौँ सायद त्यही स्थानमा चाहीँ अर्को नयाँ मान्छेले ठाउँ पाउँदैन होला । त्यस्तै लाग्छ मलाई ।

देखेको हुँदैन लेखेको चाहिन्छ भन्थे बुढापाकाले । हाम्रो भाग्यमा लेखेको पनि छ की छैन कुन्नी । हामी भने यसरी एकअर्का बिना बाँच्नै सक्दैनौँ की भन्ने भइसक्यो । यो माया भन्ने चिज पनि कस्तो हुने है । आफ्नोभन्दा धेरै, अर्काको माया लाग्ने । 

गुगलको खोजले देखाउँछ मायाको एक अर्ब ३५ करोड नतिजा । हजारौँ पेजले दिएका छन्, मायाको परिभाषा । यहाँ कत्ति किताबहरु छापिए, कति चलचित्रहरु बनाइए, कति कविताहरु लेखिए, अनि कति गीतहरु गाइए, मायाको बारेमा । 

यदि माया भन्ने विषय नै हुन्थेन भने हामीले गाउने गीतहरु पनि कति नै हुन्थे होला र । फेरी पनि यो माया भन्ने चिजै कस्तो कस्तो, भेउ पाउनै नसकिने ।
इतिहासको एक घडीमा शारजहाँले मुमताजको मायामा ताजमहल बनाए । 

त्यही ताजमहलमा मायालुको अनुहार अनुभुत गरेर जीवन बिताउने अनगिन्ती शारजहाँहरु अहिले खडा छन् । तर म भने कहिलेकाहीँ सोँच्छु, युद्धमा आफैले मारेको एक सेनाकी श्रीमती मुमताजलाई जबर्जस्ती स्वास्नी बनाएका हुन् शारजहाँले । त्यस्तो पनि प्रेम हुन्छ र ??? त्यसअघि पनि त शारजहाँका अरुपनि श्रीमतीहरु थिए । 

अनि अचम्मको कुरा मुमताजको मृत्यु भइसकेपछि उन्की वहिनीसँग पनि त विहे गरेकै हुन् नी शारजहाँले । यत्ति कुरा थाहा पाउँदा पाउँदै एउटा ताजमहलमा पैसा लगानी गरेको भरमा म कसरी शारजहाँलाई उत्कृष्ट प्रेमी ठहर गर्न सक्छु र । अहँ कदापी सक्दिनँ । मेरो मन कसैगरि पनि मान्दैन ।

हो म यस्तो चर्चामा आएको तर भित्र अर्र्कै रहस्य लुकेको जस्तो प्रेम गरिरहेको छैन तिमीसँग । र त्यस्तो गर्ने पनि छैन कदापी । जीन्दगी हो, यसै भन्न सकिन्न । हामीले हिँड्दै गरेको बाटो पनि कुनै दोबाटो चौबाटोहरुमा पुगेर अलग्गिन पनि सक्छ । 

तर पनि विश्वास गर्नु मेरो मनभित्र तिमी जहाँ बसेकी छ्यौ नी, त्यो ठाउँ तिम्रो लागि सँधै सुरक्षित हुनेछ । त्यहाँ तिमी नहोलिउ त्यो बेग्लै कुरो, तिम्रा यादहरु हुन्छन् नी । तिनीहरुलाई पनि असाध्यै जतनसँग सम्हालेर राख्नेछु म ।

के गर्ने जीन्दगी अनिश्चित जो छ । कालिगढले रिट्ठाको फिँजमा टल्काएको गहना जस्तो टर्लक्क कहाँ टल्किन्छ र जीन्दगी ।

छुटेपछि हामी पनि रुने त होला नी ।
जानीजानी सँधै टाढा हुने त होला नी । ।
यस्तो माया लुकाएर बाँच्नुपर्दा के हुने हो
मनको तस्बीर एकान्तमा छुने त होला नी । । ।



((((((((((((((((हेर्दै रुन्छौँ हातको धर्का, कता घुम्ला भाग्य चर्खा)))))))))))))))))))))

Wednesday, May 1, 2013

Blog Author


    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget