Showing posts with label Script of bahakine man. Show all posts
Showing posts with label Script of bahakine man. Show all posts

Tuesday, December 16, 2014

वहकिने मन (२०७१ मंसिर २९) Script


यो एक्लो यात्राको भर नहुने भो ।
आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो । ।
थकाई लाग्दा, सुस्ताउँदा, मनको मान्छे खोज्छ यो मन
अब फकिर भई हिँड्ने रहर नहुने भो । । ।

((((((((((((((((((((बाटो हिँड्ने बटुवालाई : शिव परियार)))))))))))))))))

मैले यहाँसम्मको जीन्दगी एक्लै बाँची हेरेँ । लामा लामा बाटाहरु एक्लै हिँडी हेरेँ । अनेकौँ अनकन्टार कोप्चेरोहरुबाट एक्लै एक्लै पारी पुगेको अनुभव सँगाली हेरेँ । यहाँसम्मको यात्रामा मैले बाटाहरुमा अनेकौँ मान्छेहरु भेटेँ । कति भेटिएर छुटिगए, कति छुटिएर भेटिएनन् । परिणामत : जीन्दगी शेष रहित भाग भइदियो, जसको अभ्यास हामी ४—५ कक्षातिर गथ्यौँ । आउनेहरु उसैगरि गइरहेको हेरिरहँदा मलाई लाग्यो, ती सबै सबै बाटो कटाउने मेसो मात्रै त रहेछन् । केही छिन बोली मिसाए जस्तो, केही दिन मन बिसाए जस्तो । सायद रीत नै रहेछ क्यारे जीन्दगीको, दोबाटोमा भेटिएकाहरु चौबाटोमा छुटिजाने ।

खोल्साहरु गाभिएर बनेको खोलो पुच्छार तिर पुगेर सुके जस्तै जीन्दगीमा पनि केही सम्बन्धहरु आफै सुकिजाँदा रहेछन् । अनि कुखुरी काँ भने शुरु भएको लोक कविता, खोइ खोलो सुक्यो भनेर, अन्त्य भए जस्तो । कुन्नी कहाँ कहाँबाट यात्रामा सामेल हुन आईपुगेका थे, केही मान्छेहरु । मैले राम्ररी भेउ नै पाइनँ । केही मान्छेहरु त आएको जस्तो मात्रै लाग्दा लाग्दै, फर्किएर पर पुगिसकेका हुन्थे । उनीहरुसँग न बात मारियो, न त चिनारी नै साँटियो । हावाको झोका जस्तै गरि आए, अनि गए पनि उसैगरि । मैले त्यही हावाको झोकामा मनको चङ्गा उडाउने चेष्टा गर्नु उपयुक्त ठानिनँ ।

यसै यसै गरि अघि बढेछ जीन्दगीको यात्रा । हत्तारिँदा हत्तारिँदै जीन्दगीको भाग दौड, चोर पुलिस खेले जस्तै भइदिएछ सँधै । म जुन खुशीहरु पाउन खोज्छु, ती खुशीहरु सँधै मबाट भागिरहे मात्रै । हिँड्दा हिँड्दै भौतारिरहँदा, घिस्रिँदा घिस्रिँदै थाकिरहँदा यतिबेला भने म यस्तो थुम्कोमा आईपुगेँ की, यहाँबाट मुन्तिर टाउको फर्काएर आफु यसअघि हिँडेका बाटोहरु पनि हेरिरहेछु, अनि अब पुग्नुपर्ने टाकुरो पनि । जीन्दगीको यो थुम्कोसम्मको यात्रा जति कष्टप्रद रह्यो, त्यो भन्दा पनि अगाडी टाकुरोसम्मको बाटो झनै जटिल लागिरहेछ मलाई ।

मैले धेरै धर्मग्रन्थहरु पल्टाएर हेरेँ, ती सबै सबैले एउटै कुरामा जोड दिइरहे की, मान्छे एक्लै बाँच्नु सहज छैन । कोही न कोही जीवन साथी त हुनैपर्छ, जसले जीवनभर साथ देओस् । प्राय मान्छे जुनसुकै कुराहरुको पनि आफु अनुुकुल अर्थ लगाइदिँदो रहेछ । हुनसक्छ मैले पनि त्यसै गरेँ । मैले जीन्दगीसँग धेरैपटक एकोहोरो साउती मारेको छु । र अब तिमीसँगको सहयात्राले जीन्दगी नामको शब्दमा आवाज भर्न चाहन्छु म । अझ सजिलोसँग भन्दा, तिम्रो स्वीकृतिमा जीन्दगीको यो यात्रा सँगै अघि बढाउन चाहन्छु म ।

यी ढुङ्गा यी माटो, हामी पनि बाँची हेरौँ ।
सँगै हिँड्न मिल्ने बाटो, हामी पनि बाँची हेरौँ । ।
एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रैछ
जीन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ । । ।

(((((((((((((((((((((सँगै सँगै घाम तापौँ जुठेल्नोमा विहान खस्दा)))))))))))))))))))

प्रेमले प्रेम बाहेक केही माग्दैन भने पनि समय क्रमसँगै त्यसले अरु पनि थुप्रै थुप्रै कुराहरुको माग गर्दो रहेछ । आखिर जीन्दगी भनेकै सम्झौताको अर्को एक अध्याय न हो । जति जति जीन्दगीका पानाहरु पल्टिँदै जान्छन्, उती उती नयाँ नयाँ जटिलताहरु देखिँदै जान्छन् । अनि ती नै जटिलताहरुको हल गर्दागर्दै जीन्दगीको डाँडाँ माथीको घाम भइसक्दो रहेछ ।

जीवन साथी भनेको जवानीको आवश्यकता र बुढेसकालको अनिवार्यता हो भनेर, खै कुन्नी कहाँ पढेँ मैले । यो वाक्य मनमा यसरी बिझ्यो की, जीन्दगी बाँच्ने मेरो धारणालाई यसले एकैपटक १८० डिग्रीको फन्कोमा घुमाइदियो । अनि त वल्लो छेउको म, एक्कासी पल्लो छेउमा पो पुगेँ । तब न शुरु भयो, सपना देख्ने मेरो सिलसिला । जब सपना देख्न थालिन्छ नि, तब पो मज्जा आउँदो रहेछ, जीन्दगी बाँच्न । सपना विहिन मान्छे त, बीच सडकमा उभ्याइएको सालिक जस्तो मात्रै पो हुँदोरहेछ । हेर्दा मान्छे जस्तै तर सजीवताको अंश बिल्कुल शुन्य ।

हुन त कहिलेकाहीँ सालिक पनि मान्छे जस्तै लागिदिन्छ । विजयकुमार को खुशी पुस्तकमा एक ठाउँ लेखिए अनुसार, पति स्वरसम्राट नारायण गोपाल बितेको केही समयपछि पत्नी पेमलालाई, विजयकुमारले सोधेका थिए रे, भाउजु दाईको सालिक भएको चोकबाट हिँडिरहँदा तपाईँलाई कस्तो लाग्छ ?  अनि पेमलाले भन्नुभएको थियो रे, “थाहा छ, त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, उ होइन । तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ ।” उहाँले भने जस्तै अनेक तर्कनाहरुले कहिले काहीँ सालिकहरुमा पनि सजिवताको महसुस गराइदिन्छन्, तर पनि सत्य कहाँ त्यस्तो छ र ।

मैले अचेल सिकेको छु, सपनाको बस्ती बसाल्न । जब रहरका झुप्रोहरु एकपछि अर्को गर्दै उभिन थाल्छन् नी, तब सपनाको बस्ती आफै बस्दो रहेछ । म जब जब तिमीसँग बिताएका भोलीका दिनहरुको कल्पनामा हराउँछु, तबतब बेग्लै उन्मादले मन भरिएर आउँछ । एउटा सम्बन्धको धर्सा कोर्नुले पनि कति फरक पारिदिन्छ जीन्दगीमा । हामीले कोर्ने सम्बन्धको धर्साले पनि यो एकलकाटे जीन्दगीलाई टपक्क टिपेर अर्कै जीन्दगीको पोल्टोमा खुसुक्क हालिदिन्छ भन्नेमा म पूर्ण आशावादी छु ।

सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन ।
भएपनि यतिबेला दोकान भित्र सामान छैन । ।
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कस्ले देखेको छ
कहाँ पुगि मरिने हो, जीन्दगीको ठेगान छैन । । ।

(((((((((((((((((((((अम्खोरामा पानी सारी झर्के थालमा भात खाउँला)))))))))))))))))))

Tuesday, November 4, 2014

वहकिने मन २०७१ कार्तिक १७)


यो शरीर पनि त, एकदिन जलेर जान्छ ।
जसरी उज्यालो दिन, रातमा ढलेर जान्छ । ।
त्यो एकदिन कुरेर, किन बस्नु र मैले
जब प्रेमले आफ्नो रुप बदलेर जान्छ । । ।

((((((((((((((((((म मर्न जाँदैछु तिम्रो नै नाउँमा : प्रकाश तिमल्सिना)))))))))))

फूल फूल्छ र झरेर जान्छ । हिमाल पग्लिन्छ र नदी बन्दै बगेर जान्छ । अनि मान्छे जन्मन्छ र मरेर जान्छ । यही हो नियम, सृष्टिको । आउनेहरु जान्छन् तर जानेहरु आउँदैनन् । यही हो, जीन्दगीको नियम पनि ।

जीन्दगीमा धेरै कुराहरु शुरु हुन्छ । यात्रा शुरु हुन्छ, पढाई शुरु हुन्छ, काम शुरु हुन्छ, सम्बन्ध शुरु हुन्छ । अनि शुरु हुन्छ, अरु पनि के—के, के—के । सब्बैभन्दा घतलाग्दो कुरा त, जीन्दगी पनि शुरु हुन्छ, कहीँबाट, कतैबाट । शुरु, सँधै शुरु मात्रै भएर बस्दैन । त्यो बिस्तारै मध्य हुन्छ, अनि अन्त्य पनि । शुरु भयो भन्नुको अर्थ एकदिन अन्त्य हुनेछ भन्ने पनि हो ।

जसरी पात पलायो भन्नुको अर्थ एकदिन झरेर जान्छ भन्ने पनि हो, कोही जन्मियो भन्नुको अर्थ एकदिन त्यो मरेर जान्छ भन्ने पनि हो, ठीक त्यसरी नै, जीन्दगी शुरु भयो भन्नुको अर्थ एकदिन त्यो टुङ्गिन्छ भन्ने पनि हो । यो सत्य भुलेरै बाँचिरहन्छ मान्छे । कोही भुलेर बाँचिरहन्छन्, कोही भुले जसरी बाँचिरहन्छन् । तर यो सत्यले भने पाईला पाईलामा छायाँ बनेर पछ्याइरहेको हुन्छ मान्छेलाई । जीन्दगीको समापन समारोह, उद्घाटन भन्दा बिल्कुल फरक हुन्छ । जब झ्याप्प निभ्छ, जीन्दगीको दियो । तब सबै अन्धकार लाग्छ ।

मलाई थाहा छ, जीवनको स्वभाविक अन्त्य भन्दा आकस्मिक अन्त्य निक्कै नै पिडादायी बनिदिन्छ, आफन्तहरुका लागि पनि, सुन्नेहरुका लागि पनि । अझ माया गर्नेहरुका लागि त झनै छाती मै तिर हाने जस्तो भइदिन्छ । मर्ने त मरेर जान्छन्, तर उसको याद मनमा गाँठो पारेर बस्नेहरुको जीन्दगी कहिल्यै निको हुँदैन । मनमा लागेको त्यो खत, हरबखत बल्झिरहन्छ मात्रै । यी सबै सबै बुझेर पनि म अलग्गिँदैछु, मेरा लागि प्रेम निख्रिएको यो बिरानो सँसारबाट । जताततै तिम्रा यादहरु मात्रै आउने यो दुनियाँमा म अब एकैछिन पनि थामिन चाहन्नँ । अहँ कत्तिपनि चाहन्नँ अब यहाँ थामिन । मलाई जानु छ टाढा, तिम्रो जीन्दगीबाट टाढा...तिम्रा यादहरुबाट टाढा ।

जीन्दगी अप्रत्याशित घटनाहरुको योग नै होला सायद । अनि हामी चाहीँ ति नै अप्रत्याशित घटनाहरुको अनेकन पात्रहरु । जीन्दगीले यो मोडमा पनि ल्याइपु¥याउला..अहँ सोँचेकै थिइनँ मैले त्यस्तो । बरु सोँचेको थिएँ, अरु अरु थुप्रै कुराहरु । सजाएको थिएँ, अरु अरु थुप्रै सपनाहरु ।

हामी सानो छँदा हजुरआमाले सुनाउने कथामा, एकादेशको राजकुमारीले प्रेम गर्न थालेपछि त्यही राज्यमा घोँडाको स्याहार गरेर बस्ने केटोले अनेकन सपना देखे जस्तै मैले पनि देखेँ, बग्रेल्ती सपना । दुई जना भागेर टाढाको गाउँमा जाने अनि सानो सँसार रचेर बस्ने सपना । तर हजुरआमाले सुनाउने कथामा एकदिन राजकुमारीलाई अर्को देशको राजकुमारसँग विहे गरेर पठाइदिएपछि भिरबाट फाल हानेर जीवन त्याग्ने त्यो केटोकै जस्तो त भइदियो मेरो जीन्दगी पनि ।

जे नहुनुथ्यो भइसक्यो, हाँसेर बाँच्नु अब ।
नयाँ घरमा नयाँ नाता, गाँसेर बाँच्नु अब । ।
यो छातीमा तिम्रो मात्रै तस्बीर राख्छु भन्थ्यौ
अब त्यहाँ अर्कैै तस्बीर, टाँसेर बाँच्नु अब । । ।

(((((((((((((((((((जुनी काट्ने अर्कै रोज्यौ, भैगो मलाई बिर्सिदिनु))))))))))))))))

हो, जाँदैछु म, धेरै टाढा जाँदैछु । अब कहिले नी तिमीलाई सताउन नआउने गरि जाँदैछु । कहिले तिमीलाई घुक्र्याउन नफर्किने गरि जाँदैछु । म गएको झट्ट सुन्दा केही चिसो पस्ला तिम्रो मनमा, हिजो आफैले गरेको माया सम्झेर । एकैछिन त भाउन्न छुटला पनि, त्यतिबेला मैले गरेको निसन्देह प्रेम याद आएर । फेरी बिस्तारै सम्हालिएलाउ तिमी । क्रमशः सामान्य भइजाला सबै । किनकी, तिमीसँग त सिङ्गो सँसार छ बाँच्नलाई । अनेकन वाहानाहरु छन् बाँच्नलाई । तिम्रा आफन्तहरु धेरै छन्, तिमीलाई आफ्नो भन्नेहरु धेरै छन् ।

सँसार साँघुरो त मेरो पो भइदियो । बाँच्ने वाहानाहरु त मेरो पो सकिगए । बगरमा असरल्ल फिँजारिएको ढुङ्गो झैँ भएँ म त, न कोही मेरो भयो, न म कसैको भएँ । नदी बनेर आएकी थियौ तिमी, केही समय आफुसँगै लुकाएर राख्यौ अनि फेरी छाल बनेर पाखैमा हुत्याइदियौ मलाई । अनि मेरो नियति फेरी फर्किएर आयो, बगरको ढुङ्गो, बगरै बनेर ।

समय निक्कै नै कम छ म सँग । हिजो समय टन्नै हुँदा के गरेर बिताइयो थाहा छैन । आज समय नै नहुँदा, यति थोरै समयलाई के—के मा खर्च गरौँ भन्ने पनि थाहा छैन । साँच्चै भन्नुपर्दा थाहै नभइकन बितेछ जीन्दगी । जब जीन्दगी थोरै मात्रै बाँकी छ भन्ने लाग्छ नी, तब गर्न बाँकी धेरै धेरै कुराहरु हुँदा रहेछन् । यो पनि अधुरै रह्यो, त्यो पनि अधुरै रह्यो भने जस्तो लागिरहँदोरहेछ मनमा ।

केही सुन्नु थियो तिम्रो, केही सुनाउनु थियो तिमीलाई । त्यतिविध्न माया गर्ने मान्छे, एक्कासी किन फेरिएकी हौली भनेर सुन्नुथियो । तिमीलाई आज पनि उस्तै माया गर्छु भनेर सुनाउनु थियो । विश्वास लाग्थेन होला तिमीलाई तर पनि सुनाउनु थियो मैले । मेरा ईच्छा ती नै त थिए । त्यो भन्दा बढी त के नै पो थियो र तर यी सबैका लागि समय नै कहाँ रह्यो र म सँग । यहीँसम्मको लागि रै छ क्यारे, मेरो जीन्दगीको अध्याय ।

म गइसकेपछि चोक चोकमा अनगिन्ती कुराहरु काटिएलान् । मान्छेहरु भन्लान् की, कायर रै छ, जीन्दगी देखी काँपेर गयो । आखिर कसलाई के थाहा, मेरो व्यथा । तिमीलाई सम्झिएर रुँदा रुँदा थाकेपछि फेरी रोइरहेर कति दिन काटेको कस्लाई के थाहा । सबैले बन डढेको पो देख्छन् त, मन डढेको त कस्ले पो देख्छ र । ती फजुल हल्ला चलाउनेहरुको मुख थुन्न सकिन्नँ तर सक्यौ भने, मलाई अन्तिम उपहार स्वरुप तिम्रा दुई थोपा आँशु मनैदेखी चुहाइदिनु मलाई । याद राखे, ती आँशु साँच्चिकै मनैदेखीको होस्, साँच्चिकै मेरै मान्छेको होस् ।

कतै टा..ढा.. पुग्न, म लम्किरहेको हुनेछु ।
अञ्जुली आँशुले भरेर, छम्किरहेको हुनेछु । ।
कुनै दिन याद आए मा...थी... आकाशमा हेर्नु
ताराहरुको भिडमा म चम्किरहेको हुनेछु । । ।  

(((((((पत्थर जस्तो मुटु तिम्रो, एकैछिनलाई पग्लिदिनु)))))))))))))

Tuesday, October 28, 2014

वहकिने मन 127 (२०७१ कार्तिक १०)


हाँसो पनि किनबेच हुन्छ, अजीवको छ दुनियाँ यो ।
बजार भाउ आफै चुन्छ, अजीवको छ दुनियाँ यो । ।
घरतिर कुनै भिक्षु आउँदै गर्या देख्यो भने,
परैबाट दैलो थुन्छ, अजीवको छ, दुनियाँ यो । । ।

(((((((((((((((((मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो, स्वर : शिव परियार )))))))))))

युग फेरियो, मान्छे फेरिए । समय बदलियो, मान्छे बदलिए । तर यही समयसँगै अघि बढिरहेको एउटा मान्छे म भने यो दुनियाँभन्दा सँधै फरक भएर बाँच्न चाहिरहेँ । अरु हिँडेको बाटो पछ्याउनु भन्दा आफ्नै बाटो बनाउन चाहिरहेँ । आफ्नो जीन्दगीको रथ आफ्नै तरिकाले हाँक्न चाहिरहेँ । आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ । मैले वरिपरिका जति पनि मान्छेहरु देखेँ, ती कसैले पनि आफ्नो जीन्दगी आफ्नै रुची अनुसार बाँचेको देखिनँ । कसैले आमा बुबाको रुची अनुसार बाँचेको देखेँ, कसैले छोराछोरीको रुची अनुसार बाँचेको देखेँ । कसैले श्रीमान श्रीमतीको रुची अनुसार अनि कसैले प्रेमी प्रेमिकाको रुची अनुसार बाँचेको देखेँ ।

मैले बुवाआमाले भने जसरी नै बाँच्नुपर्छ, मैले छोराछोरीले चाहेको मात्रै गर्नुपर्छ, मेरो जीवन साथीको इच्छा अनुसार म चल्नुपर्छ, उसको खुशीको लागि पनि मैले उसको रुची अनुसार अघि बढ्नैपर्छ....यस्तै भन्दाभन्दै धेरैले आफ्नो जीन्दगी अरुको ईशारामा बाँचिरहेको देखेँ मैले । अनि मलाई ती सबैको जीन्दगी बेतुकको लाग्यो । बेफ्वाँकको लाग्यो । यो शरीर कति दिन यो दुनियाँमा थामिन्छ भन्ने थाहा छैन । फेरी यति अमूल्य समय आफ्नो लागि चाहीँ खै त ? यही प्रश्नले हरबखत लघारिरह्यो मलाई । अनि आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ मैले । यहीकारण त म बिल्कुल फरक भएँ यो दुनियाँभन्दा । अपवाद भएँ, यहाँका मान्छेहरुभन्दा ।

सबै तरकारी मिसाउन मिल्ने आलुमा सिस्नु चाहीँ मिसाएर पकाउन नमिले जस्तै भइरहेँ म । मलाई थाहा छैन, म लगभग धेरैसँग मिलिदिने आलु भएँ की, कसैसँग नमिल्ने सिस्नु भएँ । अहँ थाहा छैन मलाई । त्यसो त मैले त्यो थाहा पाउने प्रयत्न पनि गरिनँ भन्दा हुन्छ । किनभने त्यो मेरो चासोको कुरा नै थिएन । म त बस्, आफ्नो जीन्दगी आफ्नै ढङ्गले बाँच्न चाहन्थेँ मात्रै । तर सायद निक्कै नै अडमिल्दो भएँ म यो समाजभन्दा । यहाँका मान्छेहरुभन्दा । त्यसैले त मेरा भावनाहरु यहाँ कसैले बुझेनन् । तँ कति खुशी छस् ? भनेर मलाई कसैले सोधेनन । सोधे त, कति कमाउँछस् तैँले ? भनेर सोधे । के के जोडिस् त सम्पत्ति ? भनेर सोधे । मलाई थाहा छ, यो दुनियाँ जति नै अभ्यास गरे पनि मेरो खुशीको मूल्य निर्धारण गर्न सक्दैन । तर उ सोध्न चाहीँ सोधिरहन्छ जीन्दगी कै नापतौल गर्ने उसका बकम्फुसे प्रश्नहरु ?

मलाई हिसाब किताबको जीन्दगी चाहिँदैन ।
साँच्चै पश्चातापको जीन्दगी चाहिँदैन । ।
चरा जस्तै गरि उडिरहन पाउँ
डेबिट क्रेडिट, वासलातको जीन्दगी चाहिँदैन । । ।

(((((((((((((((((((भावनालाई चाहनालाई किन हो तराजुमा जोखिन्छ)))))))))))))

जीन्दगी खरिद विक्रीको नियमभन्दा, नाफा नोक्सानको नियम भन्दा धेरै पर भइदिए हुन्थ्यो जस्तो लाग्छ । फाइदा बेफाइदाको जोड घटाउ भन्दा कोशौँ टाढा रहिदिएहुन्थ्यो जस्तो लाग्छ । म सँग तिमीलाई म माया गर्छु भन्नेले, मलाई पनि तिमीले माया गर्नुपर्छ भनेर शर्त अघि नसारोस् भन्ने लाग्छ । म त्यस्ता सम्बन्धहरुमा गाँसिन चाहन्छु, जसले बेफिकर, बेप्रवाह एकोहोरोपन देखाइरहोस् मात्रै । बदलामा सो सरह वा सो भन्दा बढीको प्रतिफलको आशा नगरोस् । यस्तै चाहन्छु म । तर मेरा चाहनाहरु बालुवामा पानी हाले जसरी बेअर्थको भइदिन्छ ।  

समग्रमा म त्यस्तो जीन्दगी चाहन्छु, जुन नदी जस्तै बगिरहोस् समुन्द्र भेट्नका लागि, ताल बनेर एकैठाउँमा जम्मा नभइदियोस्, लेउ लाग्ने गरि । त्यस्तै जीन्दगी चाहन्छु म । तर बिडम्बना म त त्यस्तो अजीव खालको किताब भएछु, जसलाई सबैले सजिलै पढेपनि बुझ्न भने कसैले नसक्दा रहेछन् ।

साँच्चै भन्नुपर्दा, यो साँसारिक दुनियाँभन्दा अलि प...र..को दुनियाँमा आफैलाई लैजान चाहिरहेँ मैले । अरुहरुले बाँचिरहेको साँघुरो जीन्दगीभन्दा अलि फराकिलो जीन्दगी बाँच्न चाहेँ । तर यो दुनियाँले भने सँधै साँसारिक लगाम लगाउन खोजिरह्यो मात्रै । अंकुश लगाउन खोजिरह्यो मात्रै ।

मैले यस्ता धेरै मान्छेहरु देखेको छु, जो धान्याचल महायज्ञमा थुप्रै पैसा दिन्छु भन्ने घोषणा गरेर दुनियाँको अगाडी फूल माला पहिरिँदै ईज्जत बढाउँछन् अनि पछि पैसा दिने भाका सार्दा सार्दै आफै बेपत्ता भइदिन्छन् ।
अनि यस्ता धेरै मान्छेहरु देखेको छु, जो राती अँध्यारोमा त्यही ठाउँमा शौच गरिदिन्छन्, जहाँ उनीहरु दिनमा भने गर्न सक्दैनन् । फोहोर हुन्छ भन्ने चिन्ताले हैन, मान्छेले देख्यो भने ईज्जत जाने डरले मात्रै उनीहरु दिउँसो त्यहाँ शौच गर्दैनन् । वातावरण फोहोर हुने चिन्ता हुँदो हो त राती किन शौच गर्थे त्यहाँ । अरुलाई देखाउनका लागि कति धेरै सभ्य बनिटोपल्छ मान्छे ।

यो यस्तै यस्तै मान्छेहरुले एकअर्काको खराबीलाई तैँ चुप मै चुप भन्दै बस्ती बसाएको दुनियाँ न हो । कसको पोल कसले खोल्ने । उनीहरु त सबै एउटा दौडमा छन्, जीन्दगीको । यहाँका मान्छेहरुको हानथाप, लुछाचुँडी त्यही दौडको नियम उल्लंघन न हो । त्यो भन्दा फरक अरु त के नै पो हो र ।

म यी र यस्ताखाले जीन्दगी भन्दा अलग रहन चाहन्छु, जुन न म अरुलाई बुझाउन सक्छु, न त उनीहरु नै बुझिदिन्छन् । यो टोपी टाल्दा टाल्दै बित्ने जीन्दगी भन्दा अर्कैखाले जीन्दगी बाँच्न चाहन्छु म ।

सबैभन्दा ठुलो धन हराएपछि ।
मान्छेको के अर्थ मन हराएपछि । ।
फरक भइदियोस् जीवन, औषतभन्दा धेरै
बाँच्नुको सार हुन्न, जीवन हराएपछि । । ।

((((((((((((((((((((मनैबाट मानिसले मानवता नै मेटेछ))))))))))))))))))))))

Tuesday, August 5, 2014

वहकिने मन (२०७१ श्रावण १९)



एउटा चिठी हेरेँ आज अनि रोएँ धेरै । 
याद आयो, एल्बम झिकेँ, तस्बीर छोएँ धेरै । । 
चिठी बनी तिमी बोल्यौ, उस्तै माया गर्दै 
बरबर्ती आँशुले ती अक्षर धोएँ धेरै । । ।

((((((((((((कहीँ फूल छ, कहीँ पत्थर))))))))))))))))))))

जीन्दगी भनेकै यादहरुको भारी बोकेर लरखराउँदै लरखराउँदै हिँड्ने एउटा अभ्यास न हो । बाँकी अरु के नै हो र ?  जीन्दगी यस्तो होस् भन्यो, उस्तो होस् भन्यो, यसो ग¥यो, उसो ग¥यो । अन्ततः सबै प्रयासहरु निरर्थक भइदिन्छन् । पाखामा आउँछु भनेर कुवाबाट मच्चिएर उफ्रिने भ्यागुतो फेरी कुवामै पछारिए जस्तो मात्रै भइरहँदोरहेछ जीन्दगीमा कहिलेकाहीँ । 

मैले पढेको छु, बिजुली बत्तीको आविष्कारक थोमस अल्बा एडिसन, रेबिज विरुद्धको सुई बनाउने लुइ पास्चर, अमेरिका पत्ता लगाउने कोलम्बस्, तर यो प्रेम भन्ने चिज शुरु गर्ने चाहीँ को होला ? खै कसले शुरु गर्यो प्रेम गर्न । सबैभन्दा पहिले यो सँसारमा प्रेम कसले कसलाई ग¥यो होला । जुन आज झाँगिएर यसरी फैलिएको छ । 
प्रेम यस्तो चिज हो, जुन गर्छु भनेर हुँदैन । तर गर्न मन चाहीँ लागिरहन्छ फेरी । सानोमा पनि कोही राम्री देख्ने बित्तिकै मन कस्तो कस्तो भएर आउँथ्यो । घरको टि.भि.मा हिरोले हिरोइनलाई पहिलोपटक देखेर हेरेको हे¥यै हुने बित्तिकै आफै मिठो धुन बज्न थाल्थ्यो । अनि एकैछिनमा त्यो हिरो गीत गाइरहेको हुन्थ्यो । तर मैले त जतिलाई देखेर हेरेको हे¥यै भएपनि कहिल्यै कतैबाट धुन बजेन । सायद त्यसैले गीत पनि गाइएन । टि.भि.मा देखिने दृश्यलाई नै प्रेम भनेर बुझेको मेरो मनले त्यस्तो दृश्य हुबहु जीन्दगीमा त्यतिबेला फेला पारेन । र त प्रेम पनि भएन भनौँ ।  

तर समय सँधै एकनास कहाँ हुँदो रहेछ र । बिस्तारै मन फेरिँदो रहेछ । सोँचाईहरु बदलिन थाल्दा रहेछन् । हिजो गाउँमा बरफ बेच्न ल्याउँदा हामी गाउँभरिका भुराहरु त्यसैको पछिपछि दगु¥थ्यौँ । एक रुपैयाँको ४ वटा बरफ आउँथ्यो, तर त्यो बरफ किन्ने पैसा कहाँ पाउनु । अनि मनमनै सोँच्थेँ, भोली पैसा कमाएपछि कति धेरै बरफ किनेर खान्छु भनेर । आज त्यो बरफ किन्न पुग्ने पैसा गोजीमा हुन्छ तर हिजो जस्तै बरफ खान मन लाग्दैन आज । म यो सब किन भनिरहेको छु भने, मन भन्ने चिज समय सँगै परिवर्तन भइदिँदोरहेछ । हिजोको आफु र आजको आफु बीचमा पनि फरक छुट्याउँदा कति धेरै बुँदाहरु सजिलै भेट्टाइँदो रहेछ । हिजो जे सबैभन्दा ठुलो लाग्थ्यो आज त्यस्तो नलाग्दो रहेछ । आज अरु नै चिजमा मन बस्न पुग्दोरहेछ । तर मैले बुझ्नै नसकेको कुरा चाहीँ, हिजो जो मान्छेलाई मनमा राखिएको थियो नी, उ छुटेर गएपछि यतिवर्ष पछि पनि आज किन उसैको याद आइरहन्छ होला ? किन उसलाई उसैगरि माया गर्न मन लागिरहन्छ होला ? मन अन्तै फर्काउँ भनेपनि किन आफैलाई झुक्याएर उसैतिर गइहाल्छ होला ? किन हुन्छ होला यस्तो ? मैले कहिल्यै भेउ पाउनै सकिनँ । 

केही कुराहरु छन् लुकेर बसेका । 
वर्षौँदेखी मन दुखेर बसेका । । 
तिमी यी आँखामा कत्ला परेको देख्छौ
यी त आँशुहरु हुन्, सुकेर बसेका । । ।

(((((((((((((((((((चुपचाप छु, मौन छु, मनले हेर्छु, आँखाले बोल्छु)))))))))))))))))))))))


हो, मेरो पनि कोही थियो, कुनै एक जमानामा । मलाई यसो भन्नुमा कुनै आपत्ति छैन, की म पनि कसैसँग प्रेम गर्थेँ । अहँ कुनै आपत्ति छैन । यहाँ प्रेम नगर्ने त को नै पो छन् र । हरेकसँग आ आफ्नै विगत हुन्छ । आ आफ्नै भोगाई हुन्छ । भोगाईहरुले जीन्दगीप्रतिको दृष्टिकोण बदलिदिन्छन् । त्यतिबेला सबै दार्शनिकहरुको विचारभन्दा फरक लाग्छ आफुले भोग्दै गरेको जीवन ।  

अल्बर्ट आइन्स्टाइनले कुनै समय भनेका थिए, जीन्दगी भनेको साईकल चलाउनु जस्तै हो, यदि सन्तुलन राख्न सकियो भने धेरै अघिसम्म जान सकिन्छ नत्र छिन मै पल्टिदिन्छ । पहिलोपटक पढ्दैमा मलाई निक्कै घत परेको थियो, उनको यो विचार । मैले सोँचेँ, जीवन सन्तुलन राख्नका लागि प्रेमको भूमिका कस्तो हुन्छ होला ? अझ प्रेमले जीवनलाई कसरी सन्तुलन राख्न सक्छ होला ? यस्तै यस्तै सोँचेँ मैले । तर नातीकाजीको शब्दमा तारादेवीले गाउनुभए जस्तै भयो, जीवन त । 
सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन । 
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । । 
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । । । 

जब हात समाएर सँगै हिँडेको मान्छे पलभरमै छुट्टिएर जान्छ नी, तब जीन्दगीदेखी नै दिक्क लागेर आउँदो रहेछ । सबै भएर पनि कोही नभए जस्तो लाग्दोरहेछ । कुनै कुनै बेला त म बाँच्नुको अर्थ नै के छ र भन्ने जस्तो अनावश्यक कुरा पनि आउँदो रहेछ मनभित्र । 

म सानो छँदा यस्तै वर्षाको बेला काकाहरु गोठमा तास खेलेको हेर्न जान्थेँ, उहाँहरु गोलखाडी खेलिरहनुहुन्थ्यो । एक्का सबभन्दा ठुलो भन्ने मैले बुझेको थिएँ । उसले सबैलाई जित्छ भन्ने मैले सिकिसकेको थिएँ । हुकुमको एक्का आफुलाई आउँदा काका एकलठ दाँत खिसिक्क देखाएर हाँस्थे, सासै गन्हाउने गरि । तर मलाई भने त्यो एक्का फिटिक्कै मन पर्थेन । किनकी त्यहाँ हेर्दै डरलाग्दो बाघको चित्र हुन्थ्यो । मलाई त बरु पानको एक्का चाहीँ निक्कै मनपथ्र्यो, स्कुलमा साथीहरुले एक अर्काको कापीमा फलानो प्लस फलानो लेख्दा पानको चित्र बनाएको मैले देखेको थिएँ । त्यसैले पनि पान भनेको चाहीँ प्रेम हो भन्ने थाहा थियो । एकदिन तासको खालमा काकाले हानि पठाएको पानको एक्कालाई मोक्तान बा ले तुरुप लगाएर खाइदिए । मलाई नरमाइलो लाग्यो । सोँचेँ, यो प्रेम निख्रिनेहरुले कति सजिलै प्रेमको मुना निमोठ्न सक्दा रहेछन् । अनि प्रेम गर्नेहरुलाई कहिलेकाहीँ परिस्थितिले नै कमजोर बनाउँदो रहेछ ।

विगतको वैशाखी हालेर वर्तमानको पाईला चालिरहेका हुन्छौँ हामी अधिकांश मान्छे । पाईला चाल्छौँ पनि यसरी की, त्यो विगत बल्झिदिए पूरै वर्तमान ध्वस्त हुने गरि । मैले फेसबुकमै पढेको हो, एकदिन सुनले फलामलाई सोधेछ, पिट्न त मलाई पनि फलामले नै पिट्छ । तर तिमी चाहीँ किन म भन्दा बढी चिच्याउँछौ ? तब फलामले जवाफ दिएछ, अर्काले दिएको चोट भन्दा आफ्नैले दिएको चोट सहन गाह्रो हुन्छ नी त । कस्तो मन छुने जवाफ । सायद यस्तै भइदियो मेरो जीन्दगीमा पनि । जसलाई आफ्नो सम्झिएँ, पछि उसैले ....... । खैर छाडौँ यो कुरा । 

अरजापेको जीवन, अरजापेरै चल्छ । 
ऋण माथी ऋण झन् खापेरै चल्छ । ।
मान्छेहरु सोध्छन्, किन एक्लै हिँड्छस् ? 
म भन्छु, जीन्दगी त, याद छापेरै चल्छ । । ।

(((((((((((((((हुँदैन भन्थे पानी, जलेर कहिले खरानी))))))))))))))))))))))))))

Tuesday, May 13, 2014

''वहकिने मन'' अन्तिम श्रृंखलाको स्क्रिप्ट (२०७१ वैशाख २९)



....महावीर विश्वकर्मा

एक्लै हिँड्ने यात्रामा बानी भएपछि ।
सम्झिनलाई एउटा मिठो कहानी भएपछि । ।
साँच्चै कति प्रिय होला, त्यो लामो यात्रा
मुटुभित्र उसको याद निशानी भएपछि । । ।

१. ((((((((((((((((((यात्रा रहेछ जीन्दगी एक्लै म हिँडिदिन्छु))))))))))))))))))))

यात्रा रहेछ जीन्दगी एक्लै म हिँडिदिन्छु । म हिँडे पनि एक्लै । हिँडिरहेछु पनि एक्लै । एक्लै एक्लै हिँड्दै गर्दा अनेकन आरोह अवरोहहरु आए जीन्दगीमा । जीन्दगीको यति लामो यात्रामा कहिले मुर्छा परि परि हाँसेको पनि याद छ मलाई, अनि कहिले छाती पिटिपिटि रोएको पनि । जीन्दगीलाई निचोडमा लिँदा हाँस्नु भन्दा रुनु चाहीँ बढी प¥यो की भन्ने पनि लाग्छ कहिलेकाहीँ ।

जीन्दगी हिँडनका लागि मात्रै चाहीँ होईन होला तर हिँड्न चाहीँ हिँडिरहनुपर्छ जीन्दगीमा । त्यसरी हिँड्न आफै सिकिँदो रहेछ पनि, अरुहरु हिँडेको देखेर । मैले पनि हिँडे, जीन्दगीको केही यात्रा । यो यात्रामा केही मान्छेहरु जोडिन आईपुगे, छुट्टिए पनि उसैगरि । सम्हालेर मनभित्र राखिरहँदा पनि छुट्टिएर गए । भेटिनेहरु क्रमशः छुट्टिँदै गए, तर छुट्टिनेहरु कहिल्यै भेटिएनन् । 

मैले यसैलाई जीन्दगीको उतार चढाव सम्झिएर ग्रहण गरिरहेँ । यस्तै यात्राबीच जन्मियो एउटा रेडियो कार्यक्रम वहकिने मन । जुन मसँगै अघि बढिरह्यो । अरुहरुले जस्तो छोडेर गएन यसले मलाई । म सँगै हिँडिरह्यो, जसरी हिँडिरहन्छ एउटा भर्खरैको चल्लो आफ्नो माउसँग । मैले पनि त्यही माउले चल्लोलाई सुरक्षा दिए जस्तै आफुसँगै च्यापिरहेँ यसलार्य ।

म सम्झिरहेछु, वि.सं. २०६९ साल जेठ गतेको सोमबार । त्यतिबेला बुटवलको रेडियो जागरणमा मात्रै बजेको यो कार्यक्रम, अहिले देशभरिका ९० भन्दा बढी रेडियोबाट एकैसाथ प्रसारण हुन्छ । म त सोमबार एक साँझ आईपुग्छु सि.आइ.एन., अनि कार्यक्रम सञ्चालन गरेर फर्किहाल्छु पनि । तर तपाईँ भने रेकर्ड गरेर हप्ता भरि नै सुनिरहनुहुन्छ यसलाई । 

धेरै साथीको मेमोरि कार्ड वहकिने मनले मात्रै भरिएको सुनेको छु मैले । कतै टाढाको यात्रामा जाँदा वहकिने मन सुन्दै अघि बढेको थाहा पाएको छु । धेरै साथीहरुले वहकिने मन कै कारण मुक्तक लेख्न थालेको पनि जानकारी पाएको छु । अनि केहीले प्रेम सम्बन्ध र जीन्दगीको जटिल परिस्थितिमा सम्हालिने उर्जा वहकिने मनले दियो मलाई भनेको पनि सुनेको छु । विदेशमा हुने साथीहरु यो कार्यक्रम डाउनलोड गरेर सुन्न कति हत्तारिनुहुन्छ भन्ने पनि अनुभव गरेको छु मैले । 

केही हप्ता अगाडी वहकिने मनले १०० औं श्रृंखला पूरा ग¥यो । त्यतिबेला धेरैले सयौँ मात्रै होईन हजारौँ, श्रृंखला पूरा गरोस् भनेर शुभकामना दिनुभयो । कार्यक्रमको फेसबुक पेज www.facebook.com/bahakineman लाई ५० हजारभन्दा धेरै साथीले लाईक गरिदिनुभयो । त्यतिबेला पनि ५० हजार मात्रै होईन, ५० लाख भन्दा बढीको लाईक पाओस् कार्यक्रमको फेसबुक पेजले भनेर तपाईँले आशिष दिनुभयो । आजको श्रृंखलाबाट कार्यक्रमले २ वर्ष पूरा गर्दैछ । सायद तपाईँलाई भन्न मन लागेको होला, वहकिने मनले २ वर्ष मात्रै होईन २० औँ वर्ष, ४० औँ वर्ष पूरा गरोस् भनेर । 

तर मलाई माफ गर्नोस् तपाईँको त्यो शुभकामना लिनसक्ने अवस्थामा छैन म । मन त मलाई पनि थियो, यो २ वर्ष पूरा गरेको अवसरमा धेरै खुशी हुने, खुशीसाथ तपाईँको शुभकामना ग्रहण गर्ने । तर कहिलेकाहीँ खुशीहरु पनि बिजुली चम्किए जसरी आउँदा रहेछन्, क्षणमै हराउने गरि । सन्तानको मृत शरीरमा आगो झोस्न ठिङ्ग उभिएको लाचार पिता जस्तै भएको छु म यतिबेला । अब मैले गर्ने घोषणाले सायद मन थाम्नै गाह्रो पर्ला तपाईँलाई । फेरी पनि मैले भन्ने पर्छ, यो वहकिने मनको  अन्तिम श्रृंखला हो । अर्को हप्ताबाट वहकिने मन प्रसारण हुँदैन ।

२. (((((((((((((((((((((((((((((((((((यसपाली म गएँ भने आउँछु की आउँदिन)))))))))))))))

थाहा छैन भोली के हुन्छ, कसले देखेको छ र भविष्य । र पनि भोलीको आशा लिएर बाँच्नु त पर्छ नै । त्यस्तै आशा लिएर अघि बढिरहेको मैले, फेरी पनि झनै बलियोसँग त्यही आशा लिएर अगाडी बढ्नुछ । वहकिने मन एउटा यस्तो रेडियो कार्यक्रम बन्यो, जसमा सुन्नेहरुले आफ्नो जीन्दगी भेट्टाउनुभयो । आफ्नै प्रेम भेट्टाउनु भो । अनि यो कार्यक्रम मेरो भन्दा तपाईँको बढी भयो । 

जसका कारण आफ्नो सन्तानलाई कसैले म्वाईँ खाँदा खुशी हुने अभिभावक जस्तै खुशी भएँ म । फुरुङ्ग भएँ । किनकी यो कार्यक्रम मेरो सन्तान नै हो । त्यति धेरै प्रिय लाग्छ मलाई । हुन त आफ्नो सन्तानको माया कति लाग्छ भन्ने त मलाई अनुभव छैन । आमा बुवा बनिसकेका विवाहित जोडीहरुलाई नै थाहा होला त्यो त । म त अल्लारे मान्छे, एक्लै डुली हिँड्ने बटुवा । फिरन्ते पनि भन्न सक्नुहुन्छ तपाईँ । तर पनि वहकिने मनप्रतिको मेरो माया पनि उनीहरुले आफ्नो सन्तानलाई गर्नें जस्तै त होला नी भन्ने मेरो आँकलन हो ।

सानो छँदा आमासँग पछि लागेर मामाघर जान पाउँदा जति खुशी हुन्थेँ म, त्यति नै खुशी लाग्थ्यो मलाई हरेक सोमबार वहकिने मन चलाउन आईरहँदा । तर खुशीहरु स्थायी हुँदा रहेनछन् । तिनीहरु त आएको थाहै नदिई गइजाँदा रहेछन् ।

मैले कति धेरै सपना देखेको थिएँ तपाईँसँग । यही वर्ष वहकिने मन नामको एउटा पुस्तक निकाल्नेछु, अनि यसै कार्यक्रम मार्फत तपाईँलाई सुनाउनेछु भन्ने सोँचेको थिएँ । तर सोँचे जस्तो कहाँ हुँदोरहेछ र जीवन । 

३. ((((((((((((((((सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन ))))))))))))

आज कै दिन वहकिने मनले २ वर्ष पूरा गरेको छ । अनि आजकै दिनबाट छुट्टिनु छ तपाईँसँग । कस्तो नमिठो समय हो यो । समय यति नमिठो पनि हुन्छ भन्ने मैले सोँचेको पनि थिइनँ । नसोँचेकै कुरा आज भोगिरहेछु । भोग्दैछु पनि यसरी कि, बडो पिडा भइरहेको छ । बाहिर भएको गर्मी भन्दा मन भित्रको औडाहा बढी छ । कतिपय सत्यहरु यसरी भत्भती पोल्ने गरि आउँदा रहेछन् ।

म यतिबेला मेरो अवस्थाबारे बताइरहेछु । र सँगै सोँचिरहेछु पनि, तपाईँको अवस्था चाहीँ कस्तो होला भनेर । अबदेखी वहकिने मन सुन्न नपाइने भो भन्ने कुराले तपाईँलाई कताकता मन खल्लो भएको जस्तो भएको छ की छैन होला भनेर । मलाई जहाँसम्म लाग्छ तपाईँलाई पनि पिडा पक्कै भएको छ । तपाईँ कहाँ हुनुहुन्छ अनि म कहाँ । तर आजको दिन एउटै समयमा एउटै खाले पिडा भोगिरहेका छौँ हामी । थाहा छैन, यो पिडाले कति दिन लघारिरहनेछ हामीलाई । आखिर मन एउटै खालको त हो, तपाईँको पनि अनि मेरो पनि । यो मन भन्ने जिनिस किन यति धेरै कोमल बनिदिन्छ होला । यति धेरै संवेदनशील बनिदिन्छ होला ? किन होला ? प्रेम र जीवन सम्बन्धमा यति धेरै श्रृंखलाहरु सञ्चालन गरेर पनि यो प्रश्नको जवाफ चाहीँ मैले भेट्टाउनै सकिनँ । सायद सक्दिनँ पनि ।

आज वहकिने मनको अन्तिम श्रृंखला । अबदेखी कार्यक्रमको रेकर्ड सुनेर नै मन वहकाउनुपर्नेछ तपाईँले । म सँधै तपाईँलाई सम्झाइ टोपल्थेँ । प्रेम सम्बन्ध छुट्टिँदा, यसो भनेर आफुलाई सम्हाल्नुपर्छ, यसरी मन बुझाउनुपर्छ भन्थेँ । तर भन्नु जत्तिकै सजिलो कहाँ हुँदोरहेछ र प्रयोग गर्ने कुरो । यतिबेला आफै सम्हालिनुपर्ने अवस्थामा छु म । तपाईँसँग छुट्टिनुपर्दा, वहकिने मनको नियमित श्रृंखला अब अगाडी बढ्दैन है भनेर, तपाईँलाई सुनाउन परिरहँदा कति धेरै पिडा भएको छ मलाई । आखिर मन मसँग पनि त रहेछ, तपाईँको जस्तै । केही मान्छेहरु अझै पनि भन्छन् मलाई, तँ सँग ढुङ्गाको मन छ भनेर । तर त्यस्तो होईन रहेछ भन्ने लाग्दैछ यतिबेला ।

जति नै बुज्रुक बनि टोपले पनि यो मन यतिबेला बच्चा जस्तै भएको छ । ग्वाँ ग्वाँ रोइदिन पाए पनि हुने भने जस्तै लागेको छ । तर मैले त सम्झाउनु पर्ने पो छ तपाईँलाई । आफै रोएर अर्कोलाई नरोउ भन्न कसरी सकुँला र म । मलाई लाग्छ, सँसारको सबैभन्दा जटिल काम त्यही हो, जतिबेला आफै रोएर अरुलाई नरुनु भन्दै सम्झाउनुपर्छ । हो, यतिबेला त्यही जटिल काम गरिरहेछु म ।

४. ((((((((((((((((((((आँखा छोपी नरोउ भनी भन्नु पर्या छ))))))))))))))))))))))

तपाईँलाई सम्झाउनु पनि परेको छ । अनि आफै सम्हालिनु पनि परेको छ । समय यति क्रुर पनि बन्न सक्दोरहेछ है । मान्छे जन्मिए पछि एकदिन मर्छ भन्ने जान्दा जान्दै पनि हाँसेरै बाँचिरहेको हुन्छ । सायद त्यो सत्य भुलेर हाँस्छ होला मान्छे । हामी पनि अघिल्लो श्रृंखलासम्म वहकिने मनबाट एकदिन छुट्टिनुपर्छ भन्ने भुलेर हाँसिरह्यौँ । तर छुट्नु त छँदै थियो एकदिन् । त्यो एकदिन, आजै आयो, त्यति न हो । बाँकी नयाँ त के नै पो भयो र ।

जीन्दगी एउटा यात्रा हो भन्छन् सबै, मलाई पनि त्यस्तै लाग्छ । त्यस्तो यात्रा जहाँ हरेक किसिमका आरोह अवरोहहरु आउने गर्छन ।
कहिले पसिना पुछ्दै हिँडिन्छ । 
कहिले झरीमा रुझ्दै हिँडिन्छ । ।
हिँड्नु त नियम हो, नत्र उछिन्छ कसैले
तर कहिलेकाहीँ भने मन दुख्दै हिँडिन्छ । । ।

हो, त्यस्तै मन दुखाएर हिँड्नुछ मैले अब, यो भन्दा अगाडीको बाटो । मन दुखाउँदै हिँडिएको त्यो बाटो, कति बिझाउने हो, त्यो त थाहा छैन । तर हिँड्नु चाहीँ पर्छ मैले । हिँडिरहनुपर्छ ।

आज वहकिने मनको अन्तिम श्रृंखला । अबदेखी कार्यक्रमको रेकर्ड सुनेर नै मन वहकाउनुपर्नेछ तपाईँले । आजको दुई वर्ष अघि पनि म यसरी नै भौतारिएर हिँड्दै थिएँ । एक्लै—एक्लै । काठमाण्डौंका गल्लीहरुमा । त्यति नै बेला हो, मेरो आत्मीय मित्र भोजराज विश्वकर्माले वहकिने मन को मेरो सोँच सि.आइ.एन.बाट अघि बढाउन जुक्ति दिएको । त्यो जुक्ति नै मेरो जीन्दगीको एउटा मोड थियो । जुन मोडले तपाईँको मनमा ठाउँ दिलायो मलाई । नत्र त तपाईँलाई के वास्ता, को हो महावीर विश्वकर्मा भन्ने । यो शहरमा हज्जारौँ हज्जार मान्छेहरु दैनिक भौतारिरहन्छन्, त्यही भिडको एक न थिएँ म । 

त्यसो त भोलीबाट फेरी भौतारिने त्यो यात्रा शुरु हुँदैछ । तर यो २ वर्षे यात्राले केही परिचय भने थपिदिएको छ मलाई । केही सजिलो बनाइदिएको छ, यो काठमाण्डौं शहर हिजो जत्तिकै नौलो छैन मेरो लागि । धन्यवाद भोजराज जीलाई । यो गुन म कहिल्यै पनि तिर्न सक्दिनँ हुँला । अनि वहकिने मन प्रसारण गर्नका लागि चाँजोपाँजो मिलाइदिनुहुने रेडियो जागरण बुटवलका स्टेशन म्यानेजर शिवजी गायक दाई र सि.आइ.एन.का सोहम सुवेदी ज्यूप्रति सँधै ऋणी रहिरहनेछु । मनैदेखीको आभार उहाँहरुप्रति ।

म त एउटा बटुवा न थिएँ । एक्लै हिँडिरहेको बटुवा । हिँड्दै गर्दा कहिलेकाहीँ निक्कै थाकिँदोरहेछ, अनि सुस्ताउन मन लाग्दो रहेछ चौतारीमा । मात्र केही क्षण । किनकी सुस्ताएर मात्रै कहाँ हुन्छ र बटुवाले, अगाडी बढ्नु पनि त पर्छ नि । सुस्ताउन पाइयो भन्दैमा चौतारीलाई नै घर सम्झिने भुल गर्नु हुँदैन बटुवाले । मैले बुझेको त्यति हो । 

बटुवासँग त सँधै एउटा वाध्यता रहन्छ । निरन्तर अघि जानुपर्ने वाध्यता । खै पुग्नुपर्ने कहाँ हो, त्यो त थाहा छैन । र पनि हिँडिरहन्छ बटुवा एउटा सुनौलो भविष्यको आशामा । बिडम्बना के भइदिँदोरहेछ भने, दुई शब्द मिठो बोलिदिने बटुवासँग मन साँट्न पुग्दा रहेछन् गाउँलेहरु । जसको कुनै अर्थ नै रहँदैन । कारण, उ त थकान मेटिने बित्तिकै उठाउँछ आफ्नो झोली अनि फेरी लम्किन्छ अनिश्चित गन्तब्यमा । म त्यो बटुवा भएँ अनि तपाईँ गाउँले । म पनि उठाउँदैछु मेरो झोली, अनि लम्कनु छ मलाई एउटा अनिश्चित गन्तब्यमा । थाहा छैन अबको बाटोले कहाँ पु¥याउँछ मलाई । अनि कुन चाहीँ बाटो हिँड्छु म, त्यो पनि थाहा छैन । 

एक्लै एक्लै डुलीहिँड्ने एउटा फिरन्ते जीन्दगी अब कसरी अघि बढ्छ त्यो अहिल्यै भन्न सक्दिनँ म । तर झण्डै २ वर्ष तपाईँसँग नजिकिए पछि आज यसर्थमा खुशी लागेको छ की, हिजो मैले बोक्ने एउटा झोलामा मेरो वहकिने मनको खरखजाना थियो आज त्यही झोलामा तपाईँको माया पनि हाल्न पाएको छु । अब उठानुछ यो झोला अनि फेरी शुरु गर्नुछ एउटा फिरन्ते जीन्दगी ।

५. (((((((((((((विदा हुने भइगयो बेला, फेरी भेट होला की नहोला)))))))))))))))))))

आज वहकिने मनको अन्तिम श्रृंखला । अबदेखी कार्यक्रमको रेकर्ड सुनेर नै मन वहकाउनुपर्नेछ तपाईँले ।
जीन्दगीमा केही यस्ता मोडहरु आउँछन्, जसले जीन्दगीलाई नै मोडिदिन्छ । त्यस्तै एउटा मोडमा भेट्ने अवसर मिल्यो तपाईँसँग । हिजो यो काठमाण्डौं शहरमा आईपुग्दा म आफै पनि कसैलाई चिन्दिनथेँ, तर वहकिने मनको यो यात्राले आज मैले चिन्ने भन्दा मलाई चिन्ने साथीहरु धेरै पाएको छु । मैले घमण्ड गरेको होईन, तपाईँको मायाप्रति गर्व गरेको हो । यो २ वर्षे यात्राले मलाई दिएको उपहार हो यो । निक्कै नै जतन सँग सम्हालेर राख्नेछु यो उपहार, मनको कुनामा ।

हरेक मान्छे आफैमा एउटा कलाकार हो, जो जीन्दगीको रंगमञ्चमा नयाँ नयाँ नाटक मञ्चन गर्नमा तल्लीन रहन्छ सँधै । यसर्थमा म पनि त्यस्तै एउटा कलाकार हुँ । जीन्दगी चाहीँ रंगमञ्च जस्तै हो, जहाँ आ—आफ्नो भूमिका निभाउँछन् पात्रहरु । सकेसम्म जीवन्त तुल्याउँछन् आफ्नो भूमिकालाई । थोरै हाँस्छन्, धेरै हँसाउँछन् । अनि स्वयम भने एकान्त खोज्दै भक्कानिएर रुन्छन् । कारण पात्रहरु पनि त ,

निर्देशित हुन्छन् कतैबाट ।
नियन्त्रित हुन्छन् कतैबाट । ।
अरुहरुकै ईशारा मानिरहनुपर्दा
दुखित हुन्छन् कतैबाट । । ।

खेल्दाखेल्दै कथामा सकिँदो रहेछ नाटक । अनि खस्दो रहेछ पर्दा । हराउन पुगिँदोरहेछ अन्धकारमा । नाटक खेलियो भन्दैमा भूमिका भित्र हराएर जीन्दगी बिताउनु हुँदैन कलाकारले । मैले जानेको त्यति हो ।

कलाकारसँग त सँधै एउटा विवशता रहन्छ, अर्को नाटकको खोजीमा भौतारिनुपर्ने विवशता । खै भूमिका कस्तो पाउने हो, त्यो त थाहा छैन । र पनि भौतारिरहन्छ एउटा मनछुने भूमिका पाउने आशमा । बिडम्बना के भइदिँदोरहेछ भने केही समय राम्रो अभिनय गर्ने कलाकारसँग मन वहकाउन पुग्दा रहेछन् दर्शकहरु, जसको कुनै अर्थ रहँदैन । कारण उ त पर्दा खस्ने बित्तिकै फर्किन्छ आफ्नो दुनियाँमा । उठाउँछ नियतिको झोली, अनि फेरी हराउँछ भिडहरुमा ।

त्यस्तै कलाकार भइदिएँ म पनि । भएँ भन्नुभन्दा पनि समयले त्यस्तै बनाइदियो । यहाँ पनि सकिएको छ एउटा कथा । अब म पनि निक्लनु छ अर्को भूमिका पाउने आशामा । थाहा छैन, कुन भूमिकाले कहाँ पर्खिएर बसिरहेको छ मलाई । केही समय तपाईँलाई वहकाउन आईपुगेँ म । अब फेरी फर्किनु छ मलाई मेरै दुनियाँमा । खै कुन्नी तपाईँलाई कति वहकाउन सकेँ । छुट्टिएपछि पनि तपाईँलाई याद आइरहने मान्छे बन्न सकेँ की सकिनँ भन्ने नै हो मेरो चिन्ताको विषय । किनकी जो छुट्टिएपछि पनि याद आउँछ नी, हो त्यो मान्छे चाहीँ वास्तवमै मनभित्र बसेको हुन्छ रे ।
आफ्नै ओँठबाट हाँसो जफत भएको छ ।
र त हृदयमा अर्को खत भएको छ । ।
साँच्चै जीन्दगीभर एक्लै हुँदोरहेछ मान्छे
ढिलै भएपनि सत्य अवगत भएको छ । । ।

६. (((((((((((((((टेक्ने पनि छैन बरै समाउने नी छैन, कतै यसको अर्को नाम जीन्दगी त होईन)))))))))))))))))))

म त बटुवा न हुँ । हिँडिरहन्छु एक्लै । बोक्छु एउटा झोला, त्यहीँ भित्र हुन्छ वहकिने मनको खिरचीमिरती । अनि हिँड्छु लुरुलुरु । हिँड्दै गर्दा सि.आई.एन.को चौतारीमा सुसाएँ केही समय । धन्यवाद सि.आइ.एन.परिवारलाई, यो शितल छाहारीको लागि । 

काठमाण्डौं नचिनेको एउटा बटुवालाई ट्याक्कै २ वर्ष आफ्नो छाहारीमा सुस्ताउन दिएर निक्कै ठुलो गुन लगाएको छ सि.आइ.एन.ले । तर म त बटुवा न परेँ, बटुवा सँधै एकैठाउँमा बसेर त कहाँ हुन्छ र । घुम्दाघुम्दै भेटिएको ठाउँ हो यो, अब छुटिन्छ पनि त्यसैगरि । अब उठ्नु छ यहाँबाट मैले । बोक्नुछ, आफ्नो पोको पुन्तुरो । अनि फेरी हिँड्नुछ, कहाँ हो कहाँको यात्रामा ।

तर म सँधै सम्झिरहनेछु, सि.आइ.एन.लाई । सि.आइ.एन.भवनको चौथो तल्लामा बसेर कार्यक्रम सञ्चालन गरेको यो २ वर्षलाई । ती श्रृंखलाहरुमा बन्द कोठा भित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन सिसा पारी बस्ने उषा केसी.जी, भोजराज विश्वकर्मा जी, एकराज भण्डारी जी, र राकेश भाईलाई । 

सँधै सोमबार साँझमा म आईपुग्दा हार्दिकताका साथ गेटमै स्वागत गर्ने घनश्यामदाईलाई, माथि उक्लिँदा समााचार कक्षमा व्यस्त भइरहँदा पनि मिठो मुस्कानका साथ आत्मीयता प्रदर्शन गरिदिनुहुने प्रतीक तामाङ, लिलध्वज चन्द, लक्ष्मी बस्नेत, सविता विश्वकर्मा, राजेश सहनी सबैलाई सम्झिरहनेछु सँधै ।

धन्यवाद वहकिने मन प्रसारण गरिदिनुहुने सबै रेडियोहरुलाई । सबै रेडियोका प्राविधिक साथीहरु, रेडियो जागरण वुटवलका स्टेशन म्यानेजर शिवजी गायक, सि.आइ.एन.का संयोजक सोहम सुवेदी, कार्यक्रम ब्लगमा राखिदिने रामशरण श्रेष्ठ, मोहन विहानी, किरण ढकाल, हङकङमा एच के नेपाली अनलाइन रेडियोमार्फत वहकिने मन प्रसारण गर्नुहुने देवराज राई, वहकिने मनको जिंगल निर्माण सँगै लेख्ने सुरेश सेन्चुरी घमाल, गाउने कुमार गुरुङ्ग र रजनी रिमाल, सबैलाई सम्झिरहनेछु सँधै । 

र सबैभन्दा बढी सम्झिरहनेछु तपाईँलाई जसले यति धेरै माया गरिदिनुभयो वहकिने मनलाई, अनि यो कार्यक्रमको रेकर्ड अरु साथीहरुको मोबाइलमा पनि हालिदिने तपाईँलाई ।

कार्यक्रम प्रसारण हुनुमात्रै ठुलो कुरा होईन, त्यसले श्रोताको मनमा पाउने स्थान चाहीँ ठुलो कुरो हो, भन्ने मेरो मान्यतालाई धेरै अर्थमा साकार बनायो यो कार्यक्रमले । मेरो ८ वर्षे रेडियो यात्राको सबैभन्दा ठुलो उपलब्धी हो वहकिने मन । वहकिने मन आजबाट रोकिनेछ । तर हामी बीच बितेका यी समय भने सँधै सम्झिरहनेछु म ।

७. (((((((((((((((((((((भेट्नु छुटनु त के हो र, सँसारको रीत न हो)))))))))))))))))))

यतिबेला सम्झिरहेछु, तुलसी दिवसज्यूको कविताको एक अंश,
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ । ।

यहाँबाट मोडिँदैछ मैले हिँड्दै गरेको बाटो । अनि अब मैले पनि त्यो बाटो सँगै मोडिनुपर्नेछ । हेरौँ, यो मोडिएको बाटोले कहाँ लगेर जोडाउँछ मलाई । मैले धेरै पहिला कार्यक्रममा पनि भनेथेँ, “पूर्णतया भरिनका लागि पूर्णतया रित्तिनु आवश्यक छ” भनेर । थाहा छैन म त्यसरी नै पूर्णतया भरिन सक्छु की सक्दिनँ । अहँ थाहा छैन । तर यत्ति भने निश्चित भयो की, पूर्णतया रित्तिँदै भने छु म । 

फेरी शुन्यबाट शुरु गर्नुछ एउटा यात्रा । र मलाई विश्वास छ, त्यो यात्रा शुन्यमा अंक थप्दै अघि बढ्नेछ । किनकी म त धेरैपटक शुन्यमा झरेर पनि फेरी अगाडी बढेको मान्छे । म जबजब कतै ठेस पाउँछु नी, हो त्यतिबेला सोँच्छु, भोली सफल हुँदा सुनाउनका लागि अर्को एउटा उदाहरण थपियो जीन्दगीमा भनेर । यसलाई पनि त्यसरी नै लिएको छु मैले । मलाई राम्ररी थाहा छ, जुध्नेले सँधै हार्दैन, एकदिन झुक्याएर पनि जित्छ, हार्दाहार्दैको अनुभवले जिताउँछ उसलाई । फेरी पनि यतिबेला मन विचलित भएको भने साँचो हो ।

जहाँ प्रस्तोताले कलात्मक ढङ्गमा भोगाई मिसाउन जान्छन् त्यो रेडियो कार्यक्रम स्वतः जीवन्त बनिदिँदो रहेछ । मैले वहकिने मनको १०२ वटा श्रृंखला सञ्चालन गरेर सिकेको कुरा । सायद त्यस्तै जीवन्त भइदियो वहकिने मन पनि । यसो मैले भन्दा बढी तपाईँले नै भन्नुहुन्छ ।  

मैले केही अघि भेटेको थिएँ, बाँदरको चटक देखाउँदै हिँड्ने एकजना दाई । मान्छेहरुको भिड जम्मा गरेर बाँदर नचाउँदै केही आम्दानी गरिरहेको देखेथेँ । अहिले यसो सोँच्दैछु, यो वहकिने मन पनि त्यस्तै भयो मेरो लागि । यो कार्यक्रम चलाए बापत कति पैसा पाउँछ महावीरले ? भन्ने पनि लाग्यो होला कतिलाई । आज अन्तिम श्रृंखला भएकोले त्यो पनि भन्दैछु म । कतैबाट पैसा लिएर मैले वहकिने मन चलाएको होईन ।  विशुद्ध आफ्नो सौखको लागि मात्रै चलाएको हुँ । हुन त यो सब बताउनु को के अर्थ ? भन्ने पनि लाग्ला कतिलाई । 

तर आज अन्तिम श्रृंखला भएकोले भन्न मन लागेका सबैकुरा भन्दैछु तपाईँलाई । आफ्नो सौखको खातिर चलाएको यो कार्यक्रमले नाम भने मनग्गे कमाइदियो मलाई । दुरदराजको गाउँदेखी विदेशमा रहेका नेपालीसम्म चिनाइदियो यसले ।

जसरी मैले भेटेको ती दाईसँग एउटा बाँदर बाहेक केही थिएन । त्यसरी नै म सँग पनि यही वहकिने मन वाहेक केही छैन । त्यसैले यही लिएर हिँडिरहेछु म, र सायद जीन्दगीभर हिँडिरहन्छु पनि यसैगरि ।

जसरी एक ठाउँमा केहीबेर बाँदरको नाच देखाइसकेपछि त्यहाँबाट अघि बढ्छन् ती दाई, त्यसरी नै म पनि यहाँबाट अघि बढ्नुपर्ने भएको छ अब । अब अर्को गाउँमा, अर्कै गाउँलेहरुसँग । तर जसरी त्यो बाँदरको नाच मन पर्नेहरु अर्को गाउँसम्म पछि लाग्छन्, त्यसैगरि तपाईँ पनि आउन भने सक्नुहुन्छ, पछि पछि । धेरै निराश नहुनोस् साथी, मैले यसो भन्नुको अर्थ के हो भने, म फेरी पनि वहकिने मन लिएर आउनेछु चाँडै । मैले बिसाउने चौतारी फरक होला, अर्थात वहकिने मन प्रसारण हुने ठाउँ फरक होला । तर वहकिने मन बिल्कुल यस्तै हुनेछ ।

विदाई हुनु भनेको विलय हुनु होईन । बरु झनै सशक्त तवरले स्थापित हुनु हो । मेरो त विगतले पनि त्यही पुष्टि गर्छ । म जहाँ जहाँ विदाई भएँ, पछि झनै सशक्तसँग स्थापित हुँदै अघि बढेँ, काममा पनि जीन्दगीमा पनि ।
केही हप्ताहरु बित्लान् छट्पटीमा, तपाईँको पनि र मेरो पनि । तर आउन चाहीँ आउनेछु म फेरी । नत्र यतिबेला तपाईँले मनमनै खसाएको आँशुहरुको पाप लाग्नेछ मलाई । त्यसैले पनि फेरी आउनैपर्छ मैले । र आउनेछु पनि, मलाई विश्वास गर्नु ।
पर्खेर बस्नु, फर्केर आउनेछु ।

यस्तो लाग्दैछ सम्बन्ध दुर हुँदैछ ।
सँगै बस्ने सपना चकनाचुर हुँदैछ । ।
तपाईँ भन्नुहोला विश्वास टुटाइस् तैँले
माफ गर्नोस् महावीर मजबुर हुँदैछ । । ।

हवस्, आएको थियो, गयो भन्दिनु, नमस्कार ।

८. (((((((भोली उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होईन केही थाहा छैन))))))




    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget