Wednesday, September 25, 2013

वहकिने मनको शुरुवाती अंश (२०७० असोज ७)




नाम छैन, जात छैन, थर छैन पिरतीको । 
अरु पनि के के छैन, घर छैन पिरतीको । ।
व्यर्थै किन चिन्ता गर्छौ, भोली कस्ले देखेको छ
जे पनि त हुनसक्छ भर छैन पिरतीको । । ।

(((((((((((((((((
तिमी कस्को हुने होला, म नि कस्को हुने होला
स्वर ः अन्जु पन्त र स्वरुप आचार्य
)))))))))))))))))))))))
खै थाहा छैन भोली के कस्तो हुने हो । कस्ले देखेको छ र, भोली । म त वर्तमानसँग मात्रै परिचित छु । र छु परिचित, वर्तमानमा मैले तिमीलाई गर्ने मायाको परिमाण बारे पनि ।

त्यसो त मायाको परिमाण हुँदैन होला । जोख्न र नाप्न सकिँदैन होला यसलाई । उसोभए भुलवश भएको आफ्नो कमजोरी सच्याउँछु म । र सच्याएर फेरी भन्छु, म तिमीलाई औधी माया गर्छु, मलाई यत्ति थाहा छ । त्यो औधी भनेको चाहीँ कत्ति हो नि ? भनेर नसोध्नु । किनकी बिना तयारी परीक्षा हलमा प्रवेश गरेको परिक्षार्थी जस्तै छु म, जवाफहरुको खडेरीमा । 

मलाई थाहा छैन लैला मजनुको प्रेम कस्तो थियो, न त रोमियो जुलियटको प्रेम बारे नै ज्ञान छ मलाई । त्यसैले पनि म मेरो प्रेमलाई उनीहरुसँग तुलना गर्न सक्दिनँ, त्यसो त तुलना गर्न चाहन्नँ पनि । बस् मलाई यत्ति थाहा छ, म तिमीलाई माया गर्छु । 

तिमी साथमा हुँदा समय बितेको पत्तो पाउँदिन म । जब तिमी छुट्टिएर जान्छौ अनि अर्को भेट कहिले होला भन्ने चिन्ताले पिरोल्छ मलाई । अचेल त झन् एकैछिन् तिम्रो मिसकल नआउँदा मनमा एकतमासको हुटहुटी चल्न थाल्छ । झन् मोबाइल पनि अफ भइदिनुपर्छ, अनि त के चाहियो र । नानाथरिका तर्कनाहरु ठेलमठेल गरेर मनभित्र ओइरिन्छन्, दशैँ नजिकिँदै गर्दा बजारमा मान्छेहरुको भिड बढेजस्तो । हो त्यतिबेला मोबाइलको इनबक्समा गएर तिमीले पठाएकी म्यासेजहरु एक एक अक्षर ध्यान दिएर पढ्छु । बडो आनन्द आउँछ । म्यासेजका शब्दहरु छेउमा बसेर तिमी आफैले मलाई भनेझैँ लाग्छ, कम्ता खुशी लाग्दैन त्यतिबेला । तिमी मेरी हौ र सँधै हुनेछौ भन्ने सोँचिरहेको हुन्छु त्यो बखत । यो मन भन्ने चिज पनि कस्तो हुन्छ भने, सानो कुराले पनि करोडौँको खुशी दिलाउँछ । 

मेरा साथीहरु तिम्रो प्रशंसा गर्छन । तिम्रो रुप, तिम्रो आनीबानी, तिम्रो बोली सब्बै सब्बैको खुब्बै प्रशंसा गर्छन । म छेउमा बसेर एकतमासले सुनिरहन्छु, मन गद्गद् भएर आउँछ, एकखाले खुशीले कता हो कता उडाइदिन्छ मलाई । म पनि उडिरहन्छु चरा जस्तै अनि उडिरहन चाहन्छु सँधै सँधै । 

याद छ, तिमीले एकदिन भनेकी थियौ मलाई, घरमा केही मिठो कुरा पाक्यो भने तिम्रो याद आउँछ भनेर । सँगै बसेर एकअर्कालाई खुवाउन पाइदिए नी हुन्थ्यो भनेर । म यतिबेला लजाई लजाई भन्दैछु, अचेल मलाई पनि त्यस्तै हुन्छ । अस्ति आमाले घरमा सेल पकाउनुभाथ्यो, त्यतिबेला यस्तै सोँचेको थिएँ मैले । तिमीलाई सुनाउँछु भनेर त्यति नै बेला फोन पनि गरेथेँ तर भन्नै लाज लाग्यो । खै किन हो यत्ति धेरै माया लागेको तिम्रो, मलाई नै थाहा छैन । 

थाहा छ, हिजो राती कस्तो नराम्रो सपना देखेँ नी मैले । तिम्रो त अर्कैसँग विहे हुँदो रै छ । अनि म चाहीँ जग्गेको अलि पर खर्सेटोको बोटमा छेल परेर रुँदैरुँदै तिमीलाई हेरिरहँदा रै छु । जब तिमीलाई त्यही बेहुला बनेको मान्छेले लिएर जान लाग्यो अनि त म चिच्याएर रुँदा रै छु । यत्ति नै बेला झल्याँस्स ब्यूँझिएँ म । सपना रै छ भन्ने थाहा पाएँ, यत्ति खुशी भएँ की के भन्ने । 

त्यही सपना देखेपछि मन ठेगानमा छैन मेरो, मनभरि चिन्ताले अड्डा जमाएको छ । खै किन हो, कतै त्यो सपना सुल्टो नै त हुँदैन भन्ने डर मात्रै लागिरहन्छ । अचेल त झन् तिमीलाई नभेटेको पनि कत्ति दिन भइसक्यो । त्यसैले पनि हो की के के कुराहरु मनमा खेलिरहन्छन् । 

जब समयप्रति आश लागेर आउँछ । 
सँगै हुन्छौँ हामी भन्ने विश्वास लागेर आउँछ । 
सपनाहरु पनि जब रुवाएर जान्छन्
छुट्छ की त जोडी ढुकुर त्रास लागेर आउँछ । । । 

((((((((((((((((((((जोडी सुगा मैना जस्तै, लाग्छ छुट्ने छैन जस्तै)))))))))))))))))))))))))

खै थाहा छैन, तिमी कसको हुने हो, अनि म नि कसको हुने हो । तिमी कसको घरमा भित्रिन पुग्ने हो, अनि मैले पनि कसलाई घरमा भित्रयाउन ल्याउने हो । केही थाहा छैन । तर एउटा कुरा के चाहीँ थाहा छ भने, समयले तिमी अर्कैको घरमा भित्रेलाउ अनि मैले अर्कैलाई घरमा भित्राउँला तर पनि हाम्रो मनमा भने अरु कोही भित्रिन सक्ला जस्तो मलाई लाग्दैन । मनको सँघारसम्म त आईपुग्ला कोही तर हामीले एकअर्कालाई जुन स्थानमा राखेका छौँ सायद त्यही स्थानमा चाहीँ अर्को नयाँ मान्छेले ठाउँ पाउँदैन होला । त्यस्तै लाग्छ मलाई । 

देखेको हुँदैन लेखेको चाहिन्छ भन्थे बुढापाकाले । हाम्रो भाग्यमा लेखेको पनि छ की छैन कुन्नी । हामी भने यसरी एकअर्का बिना बाँच्नै सक्दैनौँ की भन्ने भइसक्यो । यो माया भन्ने चिज पनि कस्तो हुने है । आफ्नोभन्दा धेरै, अर्काको माया लाग्ने । 

गुगलको खोजले देखाउँछ मायाको एक अर्ब ३५ करोड नतिजा । हजारौँ पेजले दिएका छन्, मायाको परिभाषा । यहाँ कत्ति किताबहरु छापिए, कति चलचित्रहरु बनाइए, कति कविताहरु लेखिए, अनि कति गीतहरु गाइए, मायाको बारेमा । यदि माया भन्ने विषय नै हुन्थेन भने हामीले गाउने गीतहरु पनि कति नै हुन्थे होला र । फेरी पनि यो माया भन्ने चिजै कस्तो कस्तो, भेउ पाउनै नसकिने । 

इतिहासको एक घडीमा शारजहाँले मुमताजको मायामा ताजमहल बनाए । त्यही ताजमहलमा मायालुको अनुहार अनुभुत गरेर जीवन बिताउने अनगिन्ती शारजहाँहरु अहिले खडा छन् । तर म भने कहिलेकाहीँ सोँच्छु, युद्धमा आफैले मारेको एक सेनाकी श्रीमती मुमताजलाई जबर्जस्ती स्वास्नी बनाएका हुन् शारजहाँले । त्यस्तो पनि प्रेम हुन्छ र ???

 त्यसअघि पनि त शारजहाँका अरुपनि श्रीमतीहरु थिए । अनि अचम्मको कुरा मुमताजको मृत्यु भइसकेपछि उन्की वहिनीसँग पनि त विहे गरेकै हुन् नी शारजहाँले । यत्ति कुरा थाहा पाउँदा पाउँदै एउटा ताजमहलमा पैसा लगानी गरेको भरमा म कसरी शारजहाँलाई उत्कृष्ट प्रेमी ठहर गर्न सक्छु र । अहँ कदापी सक्दिनँ । मेरो मन कसैगरि पनि मान्दैन । 

हो म यस्तो चर्चामा आएको तर भित्र अर्र्कै रहस्य लुकेको जस्तो प्रेम गरिरहेको छैन तिमीसँग । र त्यस्तो गर्ने पनि छैन कदापी । जीन्दगी हो, यसै भन्न सकिन्न । हामीले हिँड्दै गरेको बाटो पनि कुनै दोबाटो चौबाटोहरुमा पुगेर अलग्गिन पनि सक्छ । तर पनि विश्वास गर्नु मेरो मनभित्र तिमी जहाँ बसेकी छ्यौ नी, त्यो ठाउँ तिम्रो लागि सँधै सुरक्षित हुनेछ । त्यहाँ तिमी नहोलिउ त्यो बेग्लै कुरो, तिम्रा यादहरु हुन्छन् नी । तिनीहरुलाई पनि असाध्यै जतनसँग सम्हालेर राख्नेछु म । 

के गर्ने जीन्दगी अनिश्चित जो छ । कालिगढले रिट्ठाको फिँजमा टल्काएको गहना जस्तो टर्लक्क कहाँ टल्किन्छ र जीन्दगी । 

छुटेपछि हामी पनि रुने त होला नी ।
जानीजानी सँधै टाढा हुने त होला नी । ।
यस्तो माया लुकाएर बाँच्नुपर्दा के हुने हो
मनको तस्बीर एकान्तमा छुने त होला नी । । ।

((((((((((((((((हेर्दै रुन्छौँ हातको धर्का, कता घुम्ला भाग्य चर्खा)))))))))))))))))))))

Tuesday, September 24, 2013

वहकिने मन 72 : वर्ष 2 अंक 19 (2070-06-07)










मिति 2070-असोज-07 सोमबार,

 नमस्कार ! 
म महावीर विश्वकर्मा
प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मीय मित्र भोजराज विश्वकर्मा

रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क (सि.आई.एन.) को सहकार्यमा सि.आई.एन.को स्टुडियो काठमाण्डौंबाट हरेक सोमबार बेलुकी ९:१५ बजे प्रसारण हुने यो रेडियो कार्यक्रम वहकिने मन देशभरका ९० भन्दा बढी सामुदायिक रेडियोहरुबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ । 


प्रेम विषयमा आधारित यो कार्यक्रममा हामी साहित्यको मुक्तक विधामा पनि केन्द्रित रहन्छौँ । 


कार्यक्रमको आजको श्रृंखलामा वरिष्ठ रेडियोकर्मी नवराज लम्साल(रेडियो नेपाल)को विचार समेटिएको छ ।

कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहोला है !


www.facebook.com/bahakineman
www.facebook.com/mahabir.bishwakarma
धन्यवाद ।
Listen and Download
                Download :Click Here to Download

Tuesday, September 17, 2013

वहकिने मन 71 : वर्ष 2 अंक 18 (2070-05-31)










आज मिति 2070-भाद्र-31 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन उपस्थित भएको छु । आजको वहकिने मनमा फस्ट लभ किताबका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम सम्बन्धी कुराकानी अनि प्रेम सम्बन्धी छलफल विशेष रहेको छ सुनेर कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला । धन्यवाद ।
Listen and Download
                 Download :Click Here to Download

Thank you 

वहकिने मनको शुरुवाती स्क्रिप्ट (२०७० भदौ ३१)


अचेल समयसँग मेरो युद्ध जारी छ ।
र त छिन्छिन्मै गोलाबारी छ । ।
न म जित्छु, न उ हार्छ
फगत फाइदा लिने बन्दुक व्यापारी छ । । ।

(((((((((((समयसँग सम्झौता होईन, संघर्ष गर संघर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष / 
स्वर : जीवन शर्मा)))))))))))))))))))

उस्ले सोध्यो, जीवन के का लागि ? मैले भनिदिएँ, सार्थक बाँच्नका लागि ।
फेरी सोध्यो, उसो भए बाँच्ने चाहीँ के का लागि ?, भनिदिएँ, मरेर पनि नमर्नका लागि ।
उस्को धारिलो प्रश्न , अनि नमर्ने चाहीँ के का लागी ? ÷ मेरो जवाफ, समयलाई चुनौती दिनका लागि
उस्ले अन्तिम पटक सोध्यो, समय चाहीँ के का लागि त ?, मैले बडो जोशका साथ भनिदिएँ, समय संघर्ष गर्नका लागि ।

हो, समय संघर्ष गर्नका लागि, न की सम्झौता गर्नका लागि अनि सहमति गर्नका लागि । समय त केवल संघर्ष गर्नका लागि । मात्र संघर्ष गर्नका लागि ।

म भौतिकवादमा विश्वास गर्ने मान्छे । मानव जातीको उत्पत्ति कुनै अदृश्य शक्तिले ‘फु..उ..उ..उ’ गरेको भरमा एक निमेष मै गरिदिए भन्ने प्रचलित कहावतहरुमा रत्तिभर विश्वास लाग्दैन मलाई । म त चाल्र्स डार्बिनले प्रमाणित गरिदिएको, मानव जातीको सृष्टि जीव विकासको क्रममा लाखौँ वर्षको समयावधिभित्र बाँदरको कुनै एक पूर्खा विकसित भएर आएको हो भन्ने तथ्यगत सिद्दान्तमा विश्वास गर्ने मान्छे । 

डार्बिनले जीव विकास सम्बन्धी प्रतिपादन गरेको सिद्धान्त ‘थेउरी अफ इभोलुसन’ मा ‘स्ट्रगल फर एक्जिस्टेन्स’ अर्थात अस्तित्वका लागी संघर्ष अनिवार्य छ भनी उल्लेख गरेका छन् । उनका अनुसार सँसारका प्रत्येक प्राणी संघर्षका कारण नै आजसम्म अस्तित्वमा रहेका र आफ्नो विशिष्ट गुण सहित विकसित हुन सम्भव भएको हो । जसले अस्तित्वका लागि संघर्ष गर्न सकेनन्, उनीहरु विभिन्न कालखण्डमा लोप भए । जसले पौरखी यात्रा तय गरे उनीहरु नै प्रभावशाली र विकसित भए । 

यी सब तथ्यहरुलाई मनन गरिरहँदा जीवनको ध्येय नै संघर्ष हुनुपर्नेमा दुई मत रहँदैन । फेरी पनि यात्रामा अनेकौँ मान्छेहरु भेटिन्छन्, कोही संघर्षरत मान्छेहरु भेटिन्छन्, अनि कोही हरेस खाइसकेकाहरु भेटिन्छन् । हरेक मान्छेसँग स्वभाविक किसिमका केही व्यवहारहरु हुँदारहेछन् । जसमध्ये असफलताबाट निराशहुने स्वभाव चाहीँ अधिकांशसँग भइदिँदो रहेछ ।

जुध्नेले सँधै हार्दैन झुक्याएर पनि जीत्छ, हार्दाहार्दैको अनुभवले जिताउँछ उसलाई । तर मान्छेले जुध्न भने छाड्नु हुँदैन । जुधिरहनुपर्छ समयसँग एकनाशले, एकतमासले । संघर्ष गर्नेहरु नै समयद्वारा पुरस्कृत पनि हुन्छन् ।  

जीवनको परीक्षामा को कहाँ कसरी खरो उत्रन्छ भन्ने कुरा प्रमुख हो । जीवनमा सानातिना लडाईँ हारिन्छ, हार्नु पनि पर्छ, किनकी त्यसले हार सहन सक्ने सामथ्र्य बढाउँछ, अनि किन हार्नु हुँदैन भन्ने पाठ बडो घत लाग्दो पारामा सिकाउँछ । लडाईँ हारेर केही हुन्न, युद्ध जित्नुपर्छ सब ठीक हुन्छ । भारतीय लेखक शिव खेडा पनि त्यस्तै भन्छन् ।

वैज्ञानिक थोमस एल्बा एडिसन कुनै समय सडकमा साग र पत्रिका बेच्थे, अमेरिकी १६ औँ राष्ट्रपति अब्राहम लिंकन दाउरा बेच्थे, विश्व चर्चित हाँस्य अभिनेता चार्ली च्याप्लिन कुनै समय मागेर खान्थे । हिटलर आफुले बनाएको चित्र बेच्थे । रजनीकान्त कुल्ली काम गर्थे । नेपालकै कुरा गर्ने हो भनेपनि, गायक रामकृष्ण ढकाल कुनै समय सडक सडकमा गीत गाएर हिँड्थे, विल्सन विक्रम राई अर्थात तक्मे बुढो काम गर्न मलेसिया पुगेका थिए । तिनै व्यक्तिहरु पछि यसरी चम्किए की, अरुका लागि पनि उदाहरण बनिरहेका छन् ।

दुःख पछि सुख आउँछ ढुक्क भए हुन्छ ।
एकदिन खुशी आफै धाउँछ, ढुक्क भए हुन्छ । ।
मात्र तिमी संघर्षलाई सँगसँगै अघि बढाउ
जीवन आफै मगमगाउँछ, ढुक्क भए हुन्छ । । ।

((((((((((((((सुख र दुखको द्वन्द्वले जीवनको बाटो खन्दछ, हजारौँ चोट सहेर पत्थर त्यो मुर्ति बन्दछ ))))))))))))))))

बाटोमा मिल्किएको एउटा ढुङ्गो धेरैले कुल्चिएर हिँड्छन् । तर त्यही ढुङ्गो पनि एउटा दक्ष कालिगढको पटक पटकको प्रहारले मुर्ति बनेपछि त्यो मन्दिरमा राखिन्छ र मान्छेहरु त्यसैलाई देवता ठान्न पुग्छन् । यही हो, संघर्षको कथा । तपाईँको पनि अनि मेरो पनि । समयका पटक पटकका प्रहार सहन सकियो भने भोलीको सुनौलो दिन निश्चित छ ।

मैले कतै पढेको थेँ, सम्पूर्णतया भरिनका लागि सम्पूर्णतया रित्तिनु आवश्यक छ । यही नै नियम हो, भरिनुको । कतिकति बेला यसै भनेर पनि मन बुझाउनुपर्ने हुन्छ । सम्पूर्णतया भरिँदैछु, सायद त्यसैले पनि यतिबेला क्रमशः रित्तिँदैछु भनेर । 

स्कुल पढ्दा एकदिन मेरो गुरु सानुबाबु बर्तौलाले भन्नुभएको कुरा अझैपनि याद छ मलाई, उहाँले भन्नुभाथ्यो, मान्छेले विकास गर्ने क्रममा आफुभन्दा अगाडीकोलाई र चित्त बुझाउनु क्रममा आफुभन्दा पछाडीको लागि हेर्नुपर्छ । 

शिक्षकले कक्षामा सिकाएका किताबी ज्ञानहरु अन्तिम परीक्षापछि क्रमश भुलिँदै गइँदोरहेछ तर यस्ता जीवन उपयोगी कुराहरु भने जीवन बाँचिदै गर्दा पटक पटक याद आइराख्दो रै छ । अनि त्यही शिक्षक उसैगरि चक डस्टर बोकेर कालोपाटी अघिल्तिर उभिएर धारा प्रवाह रुपमा बोलेको दृश्य जीवन भरि नै बल्झिरहँदो रहेछ ।  हामी धेरैले विकास गर्ने क्रममा आफुभन्दा अगाडीकोलाई हेर्न सम्झिएपनि, कुनै बेला असफल हुँदा भने आफुभन्दा पछाडीकोलाई हेरेर चित्त बुझाउन सिकिरहेका हुँदैनौँ । यही त त्रुटी छ हाम्रो ।

हामी अहिले यस्तो कालखण्डमा आइपुगेका छौँ, जहाँ नोबल शान्ति पुरस्कार विजेता बाराक ओबामा सिरियामाथी बम खसाल्ने तयारीमा लागेका छन् । उनको युद्ध अर्थशास्त्रका समिकरणहरु बढ्ता हिंस्रक बन्दै गइरहेछन् । एन्टोनियो ग्राम्स्की र वाल्टर बेन्जामिनका तस्बीर जति नै हेरेपनि हामी अहिले यस्तो अवस्थाको महसुस गरिरहेका छौँ की जहाँ भारतीय मध्यम वर्ग नरेन्द्र मोदीको प्रशंसामा गीत गाइरहेको छ । यही बेला भारतमा डरलाग्दो आर्थिक संकटको लक्षणहरु देखा पर्दैछन् । 

हामी पुतली झैँ तुर्लुङ्ग झुण्डिएको रातो हँसिया हथौडा यस्तो बेलामा हेरि बसेका छौँ की, जुन बेला नेपालका वामपन्थी नेताहरुको काल्पनिकीबाट समान वितरणको मुद्दा हराउँदैछ । यसैबेला यस्तो प्रतीत हुन्छ हाम्रा व्यापारीहरु पनि नेपाली नरेन्द्र मोदीको खोजी गरिरहेछन् । तिनै मोदी जसलाई दुई हजार मुस्लिमहरुको सफाया गरेको आरोप छ । तिनै मोदी जो एकोहोरो विकासको गफ गर्छन र वितरणको टन्टा उठाउन चाहँदैनन् । बडा बडा विद्वान भनिएकाहरु गरिबलाई अल्छी र पहिचान खोजिरहेका सिमान्तका जनतालाई जातीवादीको पगरी गुथाएर पन्छाउन खोजिरहेछन् । यस्तै लेखेका छन् उज्जवल प्रसाईँले ‘आक्रोशले उमालेको कफी’ शीर्षक दिएर, कान्तिपुरको कोशेलीमा ।

म यी सब कुराहरु किन पनि भनिरहेको छु भने, संघर्ष जहाँतहीँ छ । सबैकुराले पुगिसरि कोही पनि छैन । सबैकुरामा सफल पनि कोही छैन । तर सबैजना संघर्षरत भने छन्, सफल बन्नका लागि । त्यही भिडमा तपाईँ पनि हुनुहुन्छ अनि म पनि छु । 

कसैले भनेको जीन्दगी एउटा खेल हो भन्ने तर्कमा सहमती जनाउने हो भने, हो हामीलाई यसमा जीत्नु छ, तर जीत्नु मात्रै चाहीँ छैन । बरु खेल्नु पनि छ । के चाहीँ महत्वपूणै छ भने, हामीले खेल्दा खेल्दै जीत्नुपर्छ भन्ने सत्यलाई भुल्नु हुँदैन । अनि जीत्ने प्रयत्नमा खेल्ने रहरलाई पनि मार्नु हुँदैन । नत्र जीन्दगी यान्त्रिक भइदिन्छ, हामी जीवनरुपी प्रयोगशालामा दौडिरहेका हुनेछौँ ।

घाम भएपनि, पानी भएपनि ।
सबको आ आफ्नै कहानी भएपनि । ।
पाइलैपिच्छे भेट्टिन्छन्, धारिला काँडाहरु
गिन्तीमा एउटा जीन्दगानी भएपनि । । ।

((((((((((((((आकाशमा उड्छ बादलु चट्याङ्ग बोकी विचित्र, जति महान छ जीवन यात्रा, त्यति नै वाधा त्यहीँ भित्र))))))))))))))))))


Monday, September 9, 2013

वहकिने मन 70 : वर्ष 2 अंक 17 (2070-05-24) अन्तवार्ता विशेष श्रृंखला





आज मिति 2070-भाद्र-17 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन उपस्थित भएको छु । आजको वहकिने मनमा फस्ट लभ किताबका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम सम्बन्धी कुराकानी अनि प्रेम सम्बन्धी छलफल विशेष रहेको छ सुनेर कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला । धन्यवाद ।
Listen and Download
                     Download :Click Here to Download

Thank you


Tuesday, September 3, 2013

वहकिने मन 69 : वर्ष 2 अंक 16 (2070-05-17 )



आज मिति 2070-भाद्र-17 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download
             Download :Click Here to Download Episode 69

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget