Tuesday, September 17, 2013

वहकिने मनको शुरुवाती स्क्रिप्ट (२०७० भदौ ३१)


अचेल समयसँग मेरो युद्ध जारी छ ।
र त छिन्छिन्मै गोलाबारी छ । ।
न म जित्छु, न उ हार्छ
फगत फाइदा लिने बन्दुक व्यापारी छ । । ।

(((((((((((समयसँग सम्झौता होईन, संघर्ष गर संघर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष / 
स्वर : जीवन शर्मा)))))))))))))))))))

उस्ले सोध्यो, जीवन के का लागि ? मैले भनिदिएँ, सार्थक बाँच्नका लागि ।
फेरी सोध्यो, उसो भए बाँच्ने चाहीँ के का लागि ?, भनिदिएँ, मरेर पनि नमर्नका लागि ।
उस्को धारिलो प्रश्न , अनि नमर्ने चाहीँ के का लागी ? ÷ मेरो जवाफ, समयलाई चुनौती दिनका लागि
उस्ले अन्तिम पटक सोध्यो, समय चाहीँ के का लागि त ?, मैले बडो जोशका साथ भनिदिएँ, समय संघर्ष गर्नका लागि ।

हो, समय संघर्ष गर्नका लागि, न की सम्झौता गर्नका लागि अनि सहमति गर्नका लागि । समय त केवल संघर्ष गर्नका लागि । मात्र संघर्ष गर्नका लागि ।

म भौतिकवादमा विश्वास गर्ने मान्छे । मानव जातीको उत्पत्ति कुनै अदृश्य शक्तिले ‘फु..उ..उ..उ’ गरेको भरमा एक निमेष मै गरिदिए भन्ने प्रचलित कहावतहरुमा रत्तिभर विश्वास लाग्दैन मलाई । म त चाल्र्स डार्बिनले प्रमाणित गरिदिएको, मानव जातीको सृष्टि जीव विकासको क्रममा लाखौँ वर्षको समयावधिभित्र बाँदरको कुनै एक पूर्खा विकसित भएर आएको हो भन्ने तथ्यगत सिद्दान्तमा विश्वास गर्ने मान्छे । 

डार्बिनले जीव विकास सम्बन्धी प्रतिपादन गरेको सिद्धान्त ‘थेउरी अफ इभोलुसन’ मा ‘स्ट्रगल फर एक्जिस्टेन्स’ अर्थात अस्तित्वका लागी संघर्ष अनिवार्य छ भनी उल्लेख गरेका छन् । उनका अनुसार सँसारका प्रत्येक प्राणी संघर्षका कारण नै आजसम्म अस्तित्वमा रहेका र आफ्नो विशिष्ट गुण सहित विकसित हुन सम्भव भएको हो । जसले अस्तित्वका लागि संघर्ष गर्न सकेनन्, उनीहरु विभिन्न कालखण्डमा लोप भए । जसले पौरखी यात्रा तय गरे उनीहरु नै प्रभावशाली र विकसित भए । 

यी सब तथ्यहरुलाई मनन गरिरहँदा जीवनको ध्येय नै संघर्ष हुनुपर्नेमा दुई मत रहँदैन । फेरी पनि यात्रामा अनेकौँ मान्छेहरु भेटिन्छन्, कोही संघर्षरत मान्छेहरु भेटिन्छन्, अनि कोही हरेस खाइसकेकाहरु भेटिन्छन् । हरेक मान्छेसँग स्वभाविक किसिमका केही व्यवहारहरु हुँदारहेछन् । जसमध्ये असफलताबाट निराशहुने स्वभाव चाहीँ अधिकांशसँग भइदिँदो रहेछ ।

जुध्नेले सँधै हार्दैन झुक्याएर पनि जीत्छ, हार्दाहार्दैको अनुभवले जिताउँछ उसलाई । तर मान्छेले जुध्न भने छाड्नु हुँदैन । जुधिरहनुपर्छ समयसँग एकनाशले, एकतमासले । संघर्ष गर्नेहरु नै समयद्वारा पुरस्कृत पनि हुन्छन् ।  

जीवनको परीक्षामा को कहाँ कसरी खरो उत्रन्छ भन्ने कुरा प्रमुख हो । जीवनमा सानातिना लडाईँ हारिन्छ, हार्नु पनि पर्छ, किनकी त्यसले हार सहन सक्ने सामथ्र्य बढाउँछ, अनि किन हार्नु हुँदैन भन्ने पाठ बडो घत लाग्दो पारामा सिकाउँछ । लडाईँ हारेर केही हुन्न, युद्ध जित्नुपर्छ सब ठीक हुन्छ । भारतीय लेखक शिव खेडा पनि त्यस्तै भन्छन् ।

वैज्ञानिक थोमस एल्बा एडिसन कुनै समय सडकमा साग र पत्रिका बेच्थे, अमेरिकी १६ औँ राष्ट्रपति अब्राहम लिंकन दाउरा बेच्थे, विश्व चर्चित हाँस्य अभिनेता चार्ली च्याप्लिन कुनै समय मागेर खान्थे । हिटलर आफुले बनाएको चित्र बेच्थे । रजनीकान्त कुल्ली काम गर्थे । नेपालकै कुरा गर्ने हो भनेपनि, गायक रामकृष्ण ढकाल कुनै समय सडक सडकमा गीत गाएर हिँड्थे, विल्सन विक्रम राई अर्थात तक्मे बुढो काम गर्न मलेसिया पुगेका थिए । तिनै व्यक्तिहरु पछि यसरी चम्किए की, अरुका लागि पनि उदाहरण बनिरहेका छन् ।

दुःख पछि सुख आउँछ ढुक्क भए हुन्छ ।
एकदिन खुशी आफै धाउँछ, ढुक्क भए हुन्छ । ।
मात्र तिमी संघर्षलाई सँगसँगै अघि बढाउ
जीवन आफै मगमगाउँछ, ढुक्क भए हुन्छ । । ।

((((((((((((((सुख र दुखको द्वन्द्वले जीवनको बाटो खन्दछ, हजारौँ चोट सहेर पत्थर त्यो मुर्ति बन्दछ ))))))))))))))))

बाटोमा मिल्किएको एउटा ढुङ्गो धेरैले कुल्चिएर हिँड्छन् । तर त्यही ढुङ्गो पनि एउटा दक्ष कालिगढको पटक पटकको प्रहारले मुर्ति बनेपछि त्यो मन्दिरमा राखिन्छ र मान्छेहरु त्यसैलाई देवता ठान्न पुग्छन् । यही हो, संघर्षको कथा । तपाईँको पनि अनि मेरो पनि । समयका पटक पटकका प्रहार सहन सकियो भने भोलीको सुनौलो दिन निश्चित छ ।

मैले कतै पढेको थेँ, सम्पूर्णतया भरिनका लागि सम्पूर्णतया रित्तिनु आवश्यक छ । यही नै नियम हो, भरिनुको । कतिकति बेला यसै भनेर पनि मन बुझाउनुपर्ने हुन्छ । सम्पूर्णतया भरिँदैछु, सायद त्यसैले पनि यतिबेला क्रमशः रित्तिँदैछु भनेर । 

स्कुल पढ्दा एकदिन मेरो गुरु सानुबाबु बर्तौलाले भन्नुभएको कुरा अझैपनि याद छ मलाई, उहाँले भन्नुभाथ्यो, मान्छेले विकास गर्ने क्रममा आफुभन्दा अगाडीकोलाई र चित्त बुझाउनु क्रममा आफुभन्दा पछाडीको लागि हेर्नुपर्छ । 

शिक्षकले कक्षामा सिकाएका किताबी ज्ञानहरु अन्तिम परीक्षापछि क्रमश भुलिँदै गइँदोरहेछ तर यस्ता जीवन उपयोगी कुराहरु भने जीवन बाँचिदै गर्दा पटक पटक याद आइराख्दो रै छ । अनि त्यही शिक्षक उसैगरि चक डस्टर बोकेर कालोपाटी अघिल्तिर उभिएर धारा प्रवाह रुपमा बोलेको दृश्य जीवन भरि नै बल्झिरहँदो रहेछ ।  हामी धेरैले विकास गर्ने क्रममा आफुभन्दा अगाडीकोलाई हेर्न सम्झिएपनि, कुनै बेला असफल हुँदा भने आफुभन्दा पछाडीकोलाई हेरेर चित्त बुझाउन सिकिरहेका हुँदैनौँ । यही त त्रुटी छ हाम्रो ।

हामी अहिले यस्तो कालखण्डमा आइपुगेका छौँ, जहाँ नोबल शान्ति पुरस्कार विजेता बाराक ओबामा सिरियामाथी बम खसाल्ने तयारीमा लागेका छन् । उनको युद्ध अर्थशास्त्रका समिकरणहरु बढ्ता हिंस्रक बन्दै गइरहेछन् । एन्टोनियो ग्राम्स्की र वाल्टर बेन्जामिनका तस्बीर जति नै हेरेपनि हामी अहिले यस्तो अवस्थाको महसुस गरिरहेका छौँ की जहाँ भारतीय मध्यम वर्ग नरेन्द्र मोदीको प्रशंसामा गीत गाइरहेको छ । यही बेला भारतमा डरलाग्दो आर्थिक संकटको लक्षणहरु देखा पर्दैछन् । 

हामी पुतली झैँ तुर्लुङ्ग झुण्डिएको रातो हँसिया हथौडा यस्तो बेलामा हेरि बसेका छौँ की, जुन बेला नेपालका वामपन्थी नेताहरुको काल्पनिकीबाट समान वितरणको मुद्दा हराउँदैछ । यसैबेला यस्तो प्रतीत हुन्छ हाम्रा व्यापारीहरु पनि नेपाली नरेन्द्र मोदीको खोजी गरिरहेछन् । तिनै मोदी जसलाई दुई हजार मुस्लिमहरुको सफाया गरेको आरोप छ । तिनै मोदी जो एकोहोरो विकासको गफ गर्छन र वितरणको टन्टा उठाउन चाहँदैनन् । बडा बडा विद्वान भनिएकाहरु गरिबलाई अल्छी र पहिचान खोजिरहेका सिमान्तका जनतालाई जातीवादीको पगरी गुथाएर पन्छाउन खोजिरहेछन् । यस्तै लेखेका छन् उज्जवल प्रसाईँले ‘आक्रोशले उमालेको कफी’ शीर्षक दिएर, कान्तिपुरको कोशेलीमा ।

म यी सब कुराहरु किन पनि भनिरहेको छु भने, संघर्ष जहाँतहीँ छ । सबैकुराले पुगिसरि कोही पनि छैन । सबैकुरामा सफल पनि कोही छैन । तर सबैजना संघर्षरत भने छन्, सफल बन्नका लागि । त्यही भिडमा तपाईँ पनि हुनुहुन्छ अनि म पनि छु । 

कसैले भनेको जीन्दगी एउटा खेल हो भन्ने तर्कमा सहमती जनाउने हो भने, हो हामीलाई यसमा जीत्नु छ, तर जीत्नु मात्रै चाहीँ छैन । बरु खेल्नु पनि छ । के चाहीँ महत्वपूणै छ भने, हामीले खेल्दा खेल्दै जीत्नुपर्छ भन्ने सत्यलाई भुल्नु हुँदैन । अनि जीत्ने प्रयत्नमा खेल्ने रहरलाई पनि मार्नु हुँदैन । नत्र जीन्दगी यान्त्रिक भइदिन्छ, हामी जीवनरुपी प्रयोगशालामा दौडिरहेका हुनेछौँ ।

घाम भएपनि, पानी भएपनि ।
सबको आ आफ्नै कहानी भएपनि । ।
पाइलैपिच्छे भेट्टिन्छन्, धारिला काँडाहरु
गिन्तीमा एउटा जीन्दगानी भएपनि । । ।

((((((((((((((आकाशमा उड्छ बादलु चट्याङ्ग बोकी विचित्र, जति महान छ जीवन यात्रा, त्यति नै वाधा त्यहीँ भित्र))))))))))))))))))


2 comments :

  1. धेरै नै राम्रो लाग्यो । यो संसारमा आफ्नो अस्तित्व जोगाउनु छ भने संघर्ष गर्न जान्नुपर्दछ । र सक्ने हिम्मत आँट पनि चाहिन्छ ।
    त्यसैले तपाईकै शब्द सापटी लिदैं भन्नुपर्छ,

    दुःख पछि सुख आउँछ ढुक्क भए हुन्छ ।
    एकदिन खुशी आफै धाउँछ, ढुक्क भए हुन्छ । ।
    मात्र तिमी संघर्षलाई सँगसँगै अघि बढाउ
    जीवन आफै मगमगाउँछ, ढुक्क भए हुन्छ । । ।

    ReplyDelete
  2. मलाई यो गजल एकदमै राम्रो लाग्यो । किनभने मेरो जीवन सँग मेल खाने भएकोले ।

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget