Saturday, March 29, 2014

आफै मरेको सपना

कहिलेकाहीँ 
देखिँदो रहेछ
आफै मरेको सपना
आफ्नै लासको अघि उभिएर
आफै रोएको सपना
आफ्नै मलामी बनेर फेरी
आफै हिँडिरहेको सपना । ।

बल्छी थापेर समयहरुले
छिनछिनमा अल्झाको बेला
मान्छे हुन नसकेर मान्छेहरु
बीचैमा बिलाएको बेला
अनि हिँडेका, दौडेका बटुवाहरुले
बाटो भुलेको बेला
आफ्नै अठोटसँग हारेर आफै
घुँडा टेकेको बेला
देखिँदोरहेछ
हो, देखिँदोरहेछ कहिलेकाहीँ
आफ्नै चित्ताको छेवैमा बसेर
आफै मुर्छा परेको सपना
आफ्नै मृत्युको शोकमा आफै
भक्कानिएको सपना । ।

बाकटे हानेर आँशुको आहालमा
कहाँ पुग्ला र मान्छे
काखीमा च्यापेर पुरानो तस्बीर
कसलाई पाउला र मान्छे
झझल्को बनेर पुरानो अतीत
जब बल्झन्छ एकतमासले
संग्रहालयमा यादहरु
जब बढ्दछ एकतमासले
देखिँदोरहेछ
हो, देखिँदोरहेछ
आफ्नै क्रियापुत्रीहरुलाई रुँग्न
आफै बसेको सपना
कुन्नी के बनेर आफैले
आफैलाई तर्साएको सपना । ।

कोही बाँचेर पनि मर्छन्
कोही मरेर पनि बाँच्छन्
जब जीवन जस्तो लाग्दैन जीवन
जब आफै जस्तो लाग्दैन आफु
रुँदा रहेछन् 'आँशुहरु' पनि
थाक्दा रहेछन् 'थकाइहरु' पनि
अनि देखिँदोरहेछ कहिलेकाहीँ
आफ्नै किरियाको पहेँलो टीका
आफैले लाएको सपना
टपरी स्याहारेर आफ्नै काट्टो
आफैले हसुरेको सपना । ।

देखिँदो रहेछ,
हो, देखिँदोरहेछ कहिलेकाहीँ
आफै मरिरहेको छेउमा
आफै बाँचिरहेको सपना
अनि, आफै बाँचिरहेको छेउमा
आफै मरिरहेको सपना । ।



Categories:

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget