Tuesday, April 1, 2014

वहकिने मन (२०७० कार्तिक २५)

नाता टुट्ला जस्तो हुन्छ, साईनो टुट्ला जस्तो हुन्छ ।
अनि हिँड्दा हिँड्दै पनि आँशु छुट्ला जस्तो हुन्छ । ।
अचेल हल्लाहरु यसरी चल्दैछन् की
मन फुट्ला जस्तो हुन्छ, मुटु फुट्ला जस्तो हुन्छ । । ।

((((((((((((((((((सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे )))))))))))))))))))

केही मान्छेहरु जीन्दगीमा हावा बनेर आउँछन्, विस्तारै हुरी बन्छन् अनि अन्तत आँधी बनेर सबै उडाउँदै उडाउँदै लैजान्छन् । देखेका सपनाहरु उडाउँछन्, सजाइएका सँसारहरु उडाउँछन्...अनि उडाउँछन् अनगिन्ती वैँशालु रहरहरु पनि । ती नै रहरहरु उडेपछि हो, मान्छे उमेरभन्दा अगाडी नै बुढो बन्ने, जवानी मै बुढो बन्ने । 

अझ यसलाई परिपक्व बन्ने भनौँ क्यारे ।  जब हुँदाखाँदाको एकथान जीन्दगीमा चट्याङ्ग परे सरि ठाउँको ठाउँ खुशीहरु मेटिन्छन्, तब जीन्दगीप्रति नै वितृष्णा जागेर आउँछ । 

बाँच्ने रहरहरु एकपछि अर्को गर्दै लगातार अल्पमतमा खुम्चिन पुग्छन् । हो, त्यतिबेला प्रतिपक्षीको खुच्चिङले झनै लाजको भारी थोपरिरहन्छ निरन्तर । आफैपट्टी औँला तेस्र्याएर कसैले कुरीकुरी गरे झैँ लज्जाबोध भइरहन्छ ।

तिमीले छाडेर गएपछि अचेल सोँच्दैछु, प्रेम त्यस्तो अजीव चिज रहेछ, जुन आउँदाखेरीभन्दा जाँदाखेरी यसको महत्व बल्ल थाहा पाइँदो रहेछ । आउँदा केही दिएजस्तो गरि आउने, अनि जाँदा सबथोक रित्याएर लैजाने, एक एक चोइटा खुशीहरु निखनेर लैजाने । 

कस्तो वेइमानी रै छ यो प्रेम भन्ने चिज । सामान्य जीन्दगी बाँचिरहेको एउटा मान्छे प्रेम पाएर दोब्बर तेब्बर खुशी थपिएको महसुस गर्छ तर जब त्यो प्रेम जान्छ नी एकदिन, तब खुशी नामको कुनै चरोको छायाँ समेत बाँकी हुन्न जीन्दगीमा । खै कुन्नी कस्तो सामथ्र्य छ त्यो प्रेम भन्ने तत्वमा ।

सम्बन्धमा नै साँध लागिसकेपछि फेरी पनि डिल पारीको भूभागमा मन अल्झाइराख्नु हुँदैनथ्यो मैले । तर पनि भुलवश वा जानीजानी त्यसै गरिरहेँ । हुनसक्छ, त्यसो गर्नुमा नै आनन्द मिल्यो मलाई । जुन पछि आदत बन्यो र अहिले बयरको काँडाले जसरी मन कोतार्न थालेको छ । हो, यसरी नै पटकपटक बल्झिरहेको छ, मेरो खिल पल्टिसकेको मन ।

तिम्ले जस्तै मैले पनि सहज जीन्दगी बाँच्न नखोजेको कहाँ हो र, तर सक्दै सकिनँ, अहँ सक्दै सकिनँ । केही मान्छेहरु तिमीजस्तै बनेर ठोक्किन आएकै हुन् जीन्दगीमा । तर तिमीजस्तै बनेर जालान् पनि भन्ने सोँचेर प्रवेश निषेध गरिदिएँ, मनभित्र । 

बार लगाएर राखेँ वरिपरि, जुन मनमा तिमी बसेकी थियौ । कहिलेकाहीँ त यस्तो लाग्छ की, यो मन पनि कुनैदिन एकखाले संग्रहालयमा संग्रहित हुनेछ । अनि मान्छेहरुले तिमी बसेकी भू भाग अवलोकन गर्नेछन् । अनि त्यतिबेला सायद भन्नेछन्, यो मनमा त्यसपछि अरु कोही पनि बस्नै पाएनन् रे भनेर । यस्तै उरन्ठ्याउले कुरा पनि आउँछ कहिलेकाहीँ मनमा ।

तिमीले अन्तै नाता जोडेर गएपछि ।
मलाई बीच बाटोमै छोडेर गएपछि । ।
म त्यही जीन्दगी बिताउँदैछु जसोतसो
मनको मान्छेले मन, तोडेर गएपछि । । ।

((((((((((((((((((((बाटो मोडेर गयौ))))))))))))))))

गाह्रो हुँदो रैछ, यादहरुको वैशाखी टेकेर जीन्दगी गुजार्न । हो साह्रै गाह्रो हुँदो रैछ । यो जीन्दगीको समिकरण किन यति विधि जटिल भइदिन्छ होला । कसले बनाउँछ होला यो समिकरण ? अनि कसरी जटिल बन्छ होला यो ? प्रश्नै प्रश्नको चौतर्फी घेराभित्र कैद छ जीन्दगी ।

तिमी ओझेल परेपछि, जीन्दगी सँधै अव्यवस्थित मात्रै भइरह्यो, बन्दको प्रभावले अस्तव्यस्त बनेको दैनिकी जस्तो । अनि अनिश्चित भविष्यको लेखाजोखामा सँधै दुविधा मात्रै थुप्रिरह्यो, जीत हारको बेठेगान यात्रामा घरदैलो अभियानमा जुटिरहेको नेता जस्तो । आखिर जीन्दगी पनि चुनावी परिणाम जस्तै अनिश्चित त छ नि । के थाहा कस्को पोल्टोमा पर्छ खुशी । 

हुलका हुल कार्यकर्ता झण्डा फहराउँदै जिन्दावादको नारामा झुम्मिए जस्तो, अनि युवाहरुको जमातले मोटरसाइकलको लावा लस्करमा भोट के मा भन्दै चिच्याए जस्तो, जीन्दगीमा पनि यस्तै रङ्गहरु आईरहन्छन् कहिलेकाहीँ । हो, आईरहन्छन्, तर सँधै टिक्दैनन् ती खुशीहरु । टिकाउन जान्दैनौँ पनि हामी । त्यति पारङ्गत पनि हुन सकेका छैनौँ हामी ।

कहिलेकाहीँ मन यसै बल्झिएर आउँछ । अहिले नै तिमीलाई भेटुँ, गम्लंग अँगालो हालुँ अनि अघाउञ्जेल माया गरिरहुँ । यस्तै लाग्छ कहिलेकाहीँ । तर अब त त्यो कहाँ सम्भव छ र । (लामो सास फेर्दै.....)व्यर्थ छ जीन्दगी, व्यर्थ छ सँसार । अचेल त्यस्तै लाग्न थालेको छ । विरक्त लागेर आउँछ आफ्नै जीन्दगीदेखी पनि ।

क्हिलेकाहीँ सपनीमा तिमी आउँछ्यौ, उसैगरि माया गरेझैँ गर्छौ मलाई । म पनि उसैगरि लाडिन्छु तिमीसँग । सपनामै देखेर चित्त बुझाउनुपर्ने त भयो नी जीन्दगी पनि ।

एउटा अनुरोध गर्छु तिमीसँग, तिमीसँगै जीन्दगी बाँच्ने सपनाहरु सजाएको थिएँ मैले । ती सपनाहरु त तिमीले आफुसँगै लगिगयौ, अब यी सपना देख्ने मेरा पुराना बानीहरु पनि लैजाउ । नासो स्वरुप हो की भुलेर हो तिमीले छाडेकी केही सपनाका अंशहरु अझैपनि टिपनटापन गरेर सँगाल्दैछु म । 

कुनैदिन भेट्नेछु तिमीलाई, अनि बुझाउनेछु तालाचाबी भनेर मनको सन्दुकमा थुनेर राखेको छु केही सम्झनाहरुलाई, अनि केही कल्पनाहरुलाई ।

कहिलेकाहीँ सपनाहरु जबर्जस्ती आँखामा घुस्रिन आईपुग्छन् । लुटुपुटु लागिरहन्छन्, सानो काखे वालक जस्तै । त्यतिबेला यो मन पनि बेफिकर टालाटुली बाटुली खेलेर रमाइदिन्छ ।


भन्नैपर्ने पनि त्यस्तो कुरा नहुन सक्छ ।
कत्ति कुरा भनेपछि अधुरा नहुन सक्छ । ।
हामी सपना त जति पनि देख्छौँ
सपना, सपनै हुन्छ, त्यो पूरा नहुन सक्छ । । ।  


1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget