कतै छलफलहरु सुन्छु, कतै सल्लाहहरु सुन्छु ।
तिमी अर्कैकी हुन्छ्यौ भन्ने केही हल्लाहरु सुन्छु । ।
खै के हुन्छ कुन्नी, मुटु भट्किए जस्तो
जब टोलैपिच्छै हल्लाखल्लाहरु सुन्छु । । ।
तिमी अर्कैकी हुन्छ्यौ भन्ने केही हल्लाहरु सुन्छु । ।
खै के हुन्छ कुन्नी, मुटु भट्किए जस्तो
जब टोलैपिच्छै हल्लाखल्लाहरु सुन्छु । । ।
(((((((((((((((आज तिम्रो कुरा चल्यो, स्वर : उदय सोताङ्ग))))))))))))))))))
खुशी कहिल्यै पनि स्थायी हुँदो रहेनछ । टुप्लुक्क आइपुगे झैँ गरि, फरक्क फर्किहाल्दो रहेछ यो, आगो लिन आइपुगे जस्तै । आउनुमा भन्दा फर्किनुमा चटारो पर्दो रहेछ यसलाई ।
यदि खुशी भन्ने चिज पनि लोक सेवा आयोगको परीक्षा पास गरेर पाइने जागीर जस्तै भइदिएको भए सायद यसबाट निवृत्त हुनका लागि २०-२० वर्षसम्म पर्खनुपर्ने थिएन होला मान्छेलाई । आफु नमान्दा नमान्दै पनि उसैले सेवा निवृत्त भएको भन्दै अवकाश पत्र थमाइदिन्थ्यो होला हातमा, त्यो पनि आजीवन पेन्सन नदिने गरि, अनि एकमुष्ट पनि नदिने गरि ।
हो, यस्तै रहेछ यो खुशी भन्ने जिनिस । आएको खुशी मनाउन नपाउँदै त्यो हराई सक्दो रहेछ । जसरी सुनको भाउ घटेकोमा, आमा, दिदी र भाउजुहरुले खुशी मनाउन नपाउँदै त्यो बढिसक्छ । अलिअलि यस्तै पनि हुँदो रहेछ यो खुशी भन्ने तत्व । पलभरको लागि जिस्क्याउने गरि किन आउँछ होला खुशी जीन्दगीमा । बरु नआएकै जाती हुन्थ्यो नी । भए सय शोक, नभए एकै शोक ।
दुखी नै भएर जीवन बाँच्दै गर्दा, तिमी ठोक्किन आइपुग्यौ जीन्दगीमा । सँगै हिँडौँ भन्यौ, मैले केही बोलिनँ । मेरो मौनतालाई तिमीले “हुँदैनौ त भनेनौ नी” भनेर बुझ्यौ, मैले चाहीँ हुन्छ पनि भनेको थिइनँ ।
तर म इमान्दार भएर भन्छु, तिमी आएपछिका दिनहरु खै किन हो, निक्कै रमाइलो लाग्न थाल्यो मलाई । एउटा बेग्लै खालको खुशी लाग्न थाल्यो मनमा । आफु पूर्ण भए जस्तै लाग्न थाल्यो बिस्तारै बिस्तारै ।
त्यसपछिका रातमा मैले देख्ने सपनाका श्रृंखलाहरुमा म कतै खोलाको बगरमा हुँदा तिमी पनि सँगै भएको देख्न थालेँ, कतै लामो बाटोमा हिँडिरहँदा छेउमा तिमी पनि हिँडिरहेकी देख्न थालेँ । सायद यसरी नै सँगै हुने बानी पा¥यौ तिमीले मलाई । सपनामा पनि अनि कहिलेकाहीँ विपनामा पनि । म कहिले सपनाका अवशेषहरुमा रमाइरहेँ अनि कहिले विपनाका भोगाइहरुमा अल्झिरहेँ ।
म यतिविधि डुबेछु कि तिमीमा, मेरो घर बालुवाको हो भन्ने पनि भेउ पाउन सकिनँ मैले । जब यतिबेला तिम्रो घरमा लगातार लमीहरुको भिड बढ्न थाल्दैछ नि, अनि बल्ल महसुस हुँदैछ मलाई, मैले आकाशको जुन टिपेर आफ्नै छाप्रोमा भित्रयाउने दुस्साहस गरेको रहेछु भन्ने । हो, अब बल्ल हामी बीचका अनेकन असमानताका धर्साहरु क्रमशः प्रष्टैसँग देख्दैछु म ।
हरबखत जीन्दगीले छलिरहन्छ भन्छन् ।
फूल रोपे पनि काँडा फलिरहन्छ भन्छन् । ।
आउनेहरु आउँछन्, अनि जानेहरु जान्छन्
फेरी पनि जीन्दगी यो चलिरहन्छ भन्छन् । । ।
((((((((((((((( रमितेको घुइँचो थियो )))))))))))))))))))))
हो, अचेल म सम्म आईपुगेको तिम्रो विवाहको खबरले नराम्ररी गिजोलेको छ मलाई । कतिपय वहुमुल्य वस्तुहरु पाएर गुमाउनुभन्दा नपाउनुमा नै वेश हुँदोरहेछ क्यारे । कम्तीमा अनगिन्ती सपना त सजाएका हुँदैनौँ नी ।
पाएपछि त कति हो कति सपनाहरु देखिँदो रहेछ, भयंकर रहरका खातहरु विच्छ्याएर बुर्कुसी मार्दै दौडिरहँदो रहेछ मन । कहिलेकाहीँ सपनामा धेरै पैसा पाएर रमाइरहँदा एक्कासी ब्यूँझिन पुग्दा छेउमा त्यो पैसा नदेखेर खल्लो लागेको जस्तै हुँदोरहेछ, कोही नजिक आएर टाढा जान खोज्दा ।
जतिबेला एक्लै थिएँ नि जीन्दगीमा, त्यतिबेला पनि दुखी नै थिएँ म । मान्छेहरु जीन्दगीलाई तरह तरहले परिभाषित गर्थे । कोही तर प्रकृतिको अलौकिक बहार हो भन्थे, कोही सृष्टिको सुन्दर उपहार हो भन्थे । तर मलाई भने जहिले सुकै जीन्दगी भनेको उदासी बगरमा बसालिएको वेदनाहरुको सुकुम्बासी बस्ती जस्तो मात्रै लाग्थ्यो ।
कारण हरेक साँझ कसैले बस्ती उठाउने पो हो की भन्ने त्रास लिएर निदाउनुपर्ने अनि विहान कसैले नउठाएको सत्य बुझेर फिस्स हाँस्नुपर्ने । अनि यसैगरि पूरै उमेर कुन चाहीँ नेताले लालपूर्जा दिलाइदिन्छ भनेर आश गरेर बसिरहनुपर्ने । हो त्यस्तै लाग्थ्यो मलाई जीन्दगी, किनकी भरे खुशीको सिरान हालेर झकाए पनि भोली चिसो भुइँमा लम्पसार परिरहेको हुन्छ जीउ ।
यो खुशी भन्ने चिज किन जिस्क्याउन मात्रै आउँछ होला जीन्दगीमा । एउटा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान नहुँदा पनि नेपालले टि ट्वान्टी क्रिकेटको विश्वकपमा भाग लिन पाए जस्तो अत्यधिक ठुलो छलाङ पनि कहाँ मार्छ र खुशीहरुले । बरु खुशीहरु त घरेलु मैदानमै खुम्चिरहन्छन् मात्रै ।
म साँच्ची भन्दैछु, तिम्रो बानी परिसकेछ मलाई । तिमी बिना के नपुगेको के नपुगेको जस्तो हुने भइसकेछ अब त । जसरी क्याल्कुलेटरमा हिसाब गर्ने बानी परेको पसले दाई, मुखैले गर्न सक्ने हिसाबमा पनि क्याल्कुलेटर प्रयोग गर्छन, त्यस्तै भइसकेछु म पनि, तिमी बिना अधुरो जस्तो, अपुरो जस्तो । तर यति नै बेला केही हल्लाहरु सुन्दैछु, म बसेको तिम्रो मनमा तिम्रा आफन्तहरुले जबर्जस्ती एक अपरिचित पात्रलाई हुल्न खोज्दैछन् रे भन्ने गाइँगुईँ सुन्दैछु । र त बेस्सरी दुख्दैछ मन, भत्भती पोल्दैछ मन ।
तिमीभित्र आफुलाई लुकाएँ मैले, अनि आफु एक्लो आफु मात्रै नभएर तिमी सहितको हामी भएर चिनिन चाहेँ । सायद त्यसैले पनि अहिले यो पिडा सहन निक्कै गाह्रो भइरहेको छ मलाई । सानोमा नयाँ डटपेन स्कुलमा हराएर आएपछि बेलुकी आमालाई भन्न गाह्रो भए जस्तो ।
हरायो पिडा भन्छु, लुकेर आउँछ फेरी ।
नआए हुन्थ्यो भन्यो, नुँगेर आउँछ फेरी । ।
परेसि दुखहरु सम्हाल्नुपर्छ भन्छन्
सम्झाउन खोज्छु मन, दुखेर आउँछ फेरी । । ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete