Wednesday, May 15, 2013

विछोडको परिभाषा



प्रेमको परिभाषा गर्न जति जटिल छ, त्यति नै जटिल छ विछोडलाई परिभाषित गर्न पनि । सतही परिभाषा गर्न कै लागि त शब्दहरु बटुलेर अनेकथरी भन्न सकौँला हामी । तर ती परिभाषाहरु आफैभित्र मात्रै खुम्चिन्छन् की सर्वमान्य पनि हुन्छ भन्ने चाहीँ प्रधान विषय हो । हाम्रा दृष्टिहरु, भोगाईहरु, सोँचाईहरु बिल्कुल व्यक्तिगत हुन् । त्यसैले पनि अधिकांश अवस्थामा आफ्नो व्यक्तिगत प्रष्ट्याईले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसो त आ—आफ्नो बुझाईको कुरा हो, परिभाषा सर्वमान्य हुनैपर्छ भन्ने पनि होईन । अर्थशास्त्रका पिता भनेर चिनिने आडम स्मिथले गरेको अर्थशास्त्रको परिभाषा त पछि रबिन्सले आलोचना गरे । अरु पनि थुप्रै थुप्रै उदाहरण छन् जुन युग अनुरुप परिस्कृत र परिमार्जित हुँदै अघि बढिरहेका छन् । यही आधारमा पनि विछोडको परिभाषा पनि एउटा मात्रै हुन्छ वा हुनुपर्छ भन्ने पनि हुँदैन । अहिले हामीले सहज रुपमा बुझिरहेको चाहीँ के हो भने, “विछोड भनेको प्रेमको अन्त्य हो ।” हामी अधिकांशले यही बुझिरहेका छौँ । अझ हामीलाई समयले यही बुझायो भनौँ क्यारे । प्रेमी अथवा प्रेमिकासँगको सम्बन्ध यथावत ढङ्गले अगाडी बढ्न सकेन भने हामी त्यसलाई विछोड भन्छौँ । त्यसलाई विछोड भनिरहँदा हामी एउटा अर्को कुरा पनि भनिरहेका हुन्छौँ । त्यो के भने, मेरो प्रेमको अन्त्य भयो अथवा मेरो प्रेम टुङ्गियो भनिरहेका हुन्छौँ हामी । तर अलि गहिराईमा जाने हो भने विछोड भनेको प्रेमको अन्त्य हो की होईन त ? के साँच्चै विछोड हुने बित्तिकै प्रेम पनि सकिने हो त ? भन्ने जस्ता कुराहरुमा गम्भीर भएर सोँच्नु आवश्यक छ ।

म त भन्छु, विछोड भनेको समुल रुपमा प्रेमको अन्त्य होईन । अहँ हुँदै होईन । बरु प्रेमको रुप परिवर्तन हुनसक्ला त्यो । तर प्रेमको अन्त्य नै चाहीँ होईन । प्रेमको अन्त्य हुनु भन्नुको अर्थ त साथ छुटेको त्यो मान्छेको याद अब फेरी नआउनु भन्ने होईन र ? उ प्रतिको माया बाँकी नरहनु अथवा उसको बारेमा सोँच्दा मन भित्र प्रेम भन्ने चिज जागृत नहुनु भन्ने होईन र ? यदि हो भने, के विछोड पछि हामीले उसलाई चटक्कै भुल्न सकिरहेका छौँ त ? उसको याद त्यसपछि आजसम्म आएकै छैन त हामीलाई ? कहिलेकाहीँ फेरी उ सँग एकान्तमा भेटेर केही समय मनभरीका धेरै कुराहरु गर्न पाए हुन्थ्यो भन्ने लागेको छैन र हामीलाई ? यदि यस्तै अनुभवहरु हुन्छन् भने फेरी हामी कसरी ठोकुवा गर्न विछोड भनेको प्रेमको अन्त्य नै हो भनेर ।
विछोड भनेको प्रेमको अन्त्य होईन बरु चलिरहेको सम्बन्धको अन्त्य चाहीँ हो । किनकी अब फेरी उही मान्छेसँग उस्तै किसिमको सम्बन्ध नरहन पनि सक्छ । तर सम्बन्ध नरहने भन्दैमा प्रेम नै रहँदैन भन्ने चाहीँ होईन । किनकी सम्बन्ध र प्रेम भनेका सुन्दा उस्तै लागेपनि बुझ्दा अलि भिन्दाभिन्दै शब्दहरु हुन् । सबै प्रेम एक प्रकारको सम्बन्ध हुन् तर सबै सम्बन्ध प्रेम होईनन् । सम्बन्ध जति प्रकारको पनि हुनसक्ने भो तर प्रेम चाहीँ त्यही सम्बन्धको अनेकन प्रकारमध्येको एउटा हो । त्यसैले विछोडले प्रेम नामको सम्बन्धबाट मान्छेलाई टाढा पु¥याउन त सक्ला तर प्रेमबाटै टाढा पुर्याउन भने सक्दैन । म कसरी यो भनिरहेको छु भने, प्रेम नामको सम्बन्ध र प्रेम भन्ने कुरा पनि धेरै फरक हुन् । अझ यसलाई प्रष्ट पारौँ, तपार्ईँ कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भन्नुको अर्थ अर्को कोही व्यक्ति पनि तपाईँसँग प्रेम गर्छ भन्ने हो । यो अवस्थामा तपाईँ एक्लै हुनुहुन्न प्रेम गर्ने भन्ने बुझिन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, सम्बन्ध हुनका लागि अर्को पक्षको आवश्यकता पर्छ । आफु एक्लैले सम्बन्धको स्थापना हुन सक्दैन । तर प्रेम चाहीँ एउटा व्यक्तिबाटै जागृत हुने हो, शुरुवात हुने हो । हरेक प्रेमले प्रेमको सम्बन्धको रुपमा झाँगिने मौका पाउँछन् भन्ने पनि होईन । कतिपय प्रेम त आफुमा मात्रै सिमित भइरहेका पनि हुन्छन् । तिनीहरुले सम्बन्धसम्म पुग्नै पाएका हुँदैनन् । सरुभक्तको पागलबस्ती उपन्यासमा एक ठाउँमा यसो भनिएको छ— “पहिले त एउटाले नै हो प्रेम गर्ने अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो ।” यही वाक्यमा आधारित रहने हो भनेपनि प्रेम भन्ने तत्वको सृजना हुनको लागि चाहीँ आफु एक्लै पनि सक्षम हुँदोरहेछ भन्न सकिन्छ । तर प्रेम सम्बन्ध हुनको लागि चाहीँ अर्को पक्षको आवश्यकता अपरिहार्य छ ।

विछोड हुनु भन्नुको अर्थ भइरहेको प्रेम सम्बन्ध अब त्यही रुपमा अघि बढ्न सक्दैन भन्नु हो । अनि यो भनेको चाहीँ, तिम्रो र मेरो प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो । याद गर्नोस् है, प्रेम सम्बन्ध आजदेखी सकियो भनेको हो, प्रेम नै सकियो भनेको होईन । किनकी प्रेम त कहिले पनि सकिने चिज नै होईन । मलाई त अझ के लाग्छ भने, प्रेम सम्बन्धको अन्त्य पछि झनै त्यो मान्छेलाई आफु अनुकुल प्रेम गर्न स्वतन्त्र हुन्छ मान्छे । अब यहाँनेर प्रेमको प्रतिफलको आशा गरिन्न । एकोहोरो एकतमासले प्रेम गरिरहिन्छ मात्रै । उसले प्रेम नगरे नि नगरोस् तर म भने उसलाई प्रेम गरिरहन्छु भन्न छुट हुन्छ  । प्रेम सम्बन्धमा धेरैपटक धेरै थरिका सम्झौताहरु गर्नु परेको हुनसक्छ । कत्तिपटक आफ्नो इच्छा अनुसारको प्रेम गर्न नपाएको हुनसक्छ, आफ्नो मौलिकता भन्दा पनि उसको चाहना अनुुसार आफुलाई र आफ्नो प्रेमलाई परिवर्तन गर्नुपरेको हुनसक्छ । तर त्यो सम्बन्धको अन्त्य पछि भने झनै स्वतन्त्र हुन्छ मान्छे, आफ्नो हिसाबको प्रेम गर्न । यसो सुन्दा यी कुराहरु धेरै काल्पनिक जस्तो मात्रै पनि लाग्न सक्छ । तर पनि मलाई चाहीँ यस्तै लाग्छ फेरी ।

एउटा मान्छे, जो कुनैबेला कसैसँगको प्रेम सम्बन्धमा थियो तर आज उसको त्यो सम्बन्धको अन्त्य भएको वर्षौँ भइसकेको छ, फेरीपनि उ आजसम्म त्यो मान्छेलाई सम्झिरहेको हुन्छ । उसले सुख पाएको सुन्दा खुशी लाग्छ, दुःख पाएको सुन्दा अलि नरमाईलो लाग्छ । उसको नानीबाबु देख्दा आफैलाई थाहा नहुने गरि उनीहरुप्रति अचम्मको माया लागेर आउँछ । कहिलेकाहीँ उसँग अकस्मात जम्काभेट भइदियो भने, के गर्ने के गर्ने अन्यौलमा परेर हत्तारिन्छ । तर त्यहाँबाट फर्किएपछि चाहीँ फेरी एकपटक भेट भइदिएपनि हुने, केही कुरा गर्न पाईदिए पनि हुने भन्ने जस्ता कुराहरु सोँच्न थाल्छ । आफु पनि घर गृहस्थीमा परिसकेको भएपनि कहिलेकाहीँ आफ्नो जीवनदेखी आफै वैरागिएको बेला पत्तै नपाईकन उसैलाई सोँच्न पुगेको हुन्छ हाम्रो मन । अनि कहिलेकाहीँ साथीहरुसँग बसेर जीन्दगीका पुराना दिनहरु सम्झिँदै गर्दा जब उ सँगको प्रेम सम्बन्धका दिनहरु सम्झिन पुगिन्छ अनि त स्वतः भावुक भइन्छ । सायद कताकता वहकिन पुगिन्छ त्यतिबेला । यही त हो नि प्रेम भनेकै । त्यसैले त भनेको नी, विछोड हुँदैमा प्रेमको अन्त्य हुन सक्दैन भनेर । प्रेम त झनै झाँगिन सक्छ । फरक यत्ति होला की, अहिले झाँगिएको प्रेम आफुमा मात्रै सिमित हुन्छ । तर प्रेमको अन्त्य नै त हुँदैन नी त । हैन र ?
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget