Wednesday, May 15, 2013

सुन्दरता

हाम्रो समाजमा धेरै पहिलेदेखी चलिआएको एउटा उखान छ, “रातो राम्रो गुलियो मिठो ।” हुन त रातो बाहेकको रङ्ग पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो । फेरी पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ । यो भनाई कसरी प्रचलनमा आयो यो भन्ने त थाहा भएन । तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ । तपाईँले पनि ख्याल गर्नुभएको होला हाम्रा साना नानीबाबुहरुलाई रङ्गमा रातो र स्वादमा गुलियो मनपर्छ । अनि यो कुरा हामीमा पनि लागु भएको थियो, सानो छँदा । हामीले पनि रङ्गमा रातो र स्वादमा गुलियो नै रोजेका थियौँ । त्यतिबेलाको छाप अहिलेसम्म पनि हाम्रो मानसपटलमा जरा गाडेर बसिरहेको छ । तर रातो मात्रै राम्रो र गुलियो मात्रै मिठो हुन्छ भन्ने चाहीँ होईन । त्यो त हाम्रो मथिङ्गलमा बसेको छापले सृजना गरेको दृष्टिकोण मात्रै हो । जुन गलत त होईन तर सत्य त्यही मात्रै पनि होईन । ठीक यसरी नै अहिलेका अधिकांश प्रेमहरु शारीरिक सौन्दर्यतालाई केन्द्रविन्दुमा राखेर शुरु हुने गरेका छन् । कोही शारीरिक रुपमा राम्रो अथवा राम्री छ भने धेरै जनालाई मनपर्छ । अनि यसको ठीक विपरीत राम्रो अथवा राम्री छैन भने मन पर्दैन । अहिले कलेज पढ्दै गरेका युवाशक्तिले अझ यो कुरालाई बलियो गरि पुष्टि गरिरहेका छन् । सबै युवाशक्तिलाई एउटै घानमा राखेर व्याख्या गर्ने दुस्साहस गर्नु हुँदैन मैले र गर्दिन पनि । तर अधिकांशलाई आधार मान्दा हामीले कलेजमा भोगेको अथवा देखेको एउटा सत्य के हो भने कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको भिडमा को कति राम्रो छ भनेर प्राय कलेजका माथिल्लो कक्षाका पुरुष मित्रहरुको आँखा डुलिरहेको हुन्छ । केहीदिनसम्म त साथीभाईको बीचमा नयाँ विद्यार्थीको चर्चा परिचर्चाले राम्रै स्थान पनि पाउँछ ।  महिला मित्रहरुले पनि यसै गर्छन की , त्यो चाहीँ यसै भन्न सकिनँ मैले । किनकी मैले आफैले कलेज लाईफमा भोगेको र देखेको कुराहरुलाई आधार बनाएर यसो भनिरहेको छु । खैर छाडौँ यो कुरा, यो दृष्टान्त उठाएर मैले भन्न खोजेको कुरा के मात्रै हो भने, अचेल प्रेम भन्ने चिज शारीरिक सुन्दरताको कसीले मापन हुन थाल्यो । त्यसो त पहिले पहिले चाहीँ सुन्दरताको कुनै अर्थ नै हुने थिएन भन्ने पनि होईन । फेरीपनि पछिल्लो समयमा प्रेम सम्पूर्णतया रुपको सौन्दर्यतामा नै केन्द्रित भइरहेको भने अवश्य हो । कसको गर्ल फ्रेन्ड अथवा ब्वाई फ्रेन्ड कति राम्रो भन्ने त होडबाजी नै चलेको देखिन्छ अचेल । साथीहरुसँग भेट हुँदा आ—आफ्नो मान्छेको व्याख्या गरेर पनि धेरै समय बित्न थाल्दैछ हिजोआज ।
सुन्दरता एउटा पुल हो, जसको सहायताले कसैको नजिक भएर उसलाई बुझ्न सकिन्छ । उसको आनीबानी, रुची, व्यवहार सबै अध्ययन गर्न सघाउँछ सुन्दरताले । तर यहाँनेर भइदियो चाहीँ के भने, सुन्दरता नै सर्बेसर्वा जस्तो ठहरिन थाल्यो । सुन्दरता नै प्रेम गर्नका लागि अपरिहार्य योग्यता जस्तो पो भइदियो अहिले त । खाली रुपमा मात्रै निर्भर हुनथाल्यो, अहिले हामीले गरिरहेको प्रेम । उ मेरो लागि कतिको सुहाउँदो छ या उ सँगको सम्बन्ध कति दीर्घकालीन हुनसक्ला भन्ने तर्फ सोँच्ने आवश्यकता नै महसुस गरेनौँ हामीले । जसले गर्दा सम्बन्ध टिकाउ हुन सकेन र युवा जमातमा नैराश्यता, जीवनप्रतिको वितृष्णा, भविष्यप्रतिको गैरजिम्मेवारीपन जस्ता विकराल समस्याहरुले स्थान पाउन थाल्यो । परिणामत केही युवाशक्ति जीवनको महत्व नबुझेर कुलततर्फ पनि अग्रसर भइरहेका छन् । अहिले कुलतमा फसेका युवाको विगत पल्टाउने हो भने अधिकांशको कारण चाहीँ प्रेम भइदिन्छ । प्रेम भनेको त जीवन बाँच्न सिकाउने कला पो हो त । तर यसको भोगाई आलोकाँचो रहँदा हामी प्रेमलाई नै अनेकथरि दोषारोपण गर्न पुगिरहेका छौँ । यतिसम्म की, हामीले अँगालेको गलत बाटोको कारण नै प्रेम हो भन्न समेत पछि परिरहेका छैनौँ हामी । र यी सबै कुराहरुको जड भनेको चाहीँ हाम्रो बुझाई नै हो । र यसो भन्नुको सोझो अर्थ के भने, हामीले प्रेम भनेको नै सुन्दरता हो भनेर जबर्जस्ती बुझ्यौँ । प्रेममा सुन्दरताको अर्थ के त ? भनेर अलिकति सोँच्ने चेष्टा सम्म पनि गरेनौँ । कोही राम्रो अथवा राम्री देखिने बित्तिकै बत्तीमा पुतली होमिए जसरी उ सँग प्रेम गर्न हत्तारियौँ हामी । उ आफ्नो लागि कति ठीक, कत्ति बेठीक भनेर घोरिने फुर्सद सम्म पनि भएन हामीलाई । बरु अरु कसैले पो आफ्नो बनाउला की भनेर जति सक्दो चाँडो सबै सुत्रहरु लगाएर उसलाई आफ्नो बनाउन तल्लीन भयौँ । कालान्तरमा यही कारण नै एक आपसमा अनेकन अनमेलहरु देखिँदै गए र सम्बन्धले स्वतः विघटनको बाटो अँगाल्न पुग्यो ।
मलाई त के लाग्छ भने, सुन्दरता प्रतिको हाम्रो दृष्टिकोण नै गलत छ । हामीले जे लाई अन्तिम सत्य हो भनेर बुझिरहेका छौँ, त्यो आफैमा भ्रमपूर्ण छ । अझ सजिलोसँग भन्नुपर्दा हामीले जे लाई सुन्दर भनिरहेका छौँ वास्तवमा त्यो नै सुन्दर चाहीँ होईन । हामीले अहिले जे लाई राम्री अथवा सुन्दर भनिरहेका छौँ अफ्रिकामा गयो भने त्यो नै राम्री हुँदैन, सुन्दर हुँदैन । उनीहरुको परिभाषामा राम्री हुनका लागि अरु नै कुराहरु चाहिन्छ । त्यसैले पनि रुपको सुन्दरता भन्नु त हाम्रो भ्रम मात्रै त रै छ नि । अनि यो भ्रमलाई नै जानीजानी प्रधानता दिन थालेपछि नतिजा पनि त उस्तै आउने स्वभाविक नै भयो नि । त्यसैले प्रेममा सुन्दरतालाई कुन स्थान दिने भन्ने बारेमा अब हामी प्रष्ट हुनु आवश्यक छ ।
मैले यसअघि पनि धेरैपटक भनिसकेको छु, सुन्दरता बिकाउ हुनसक्ला तर टिकाउ हुन सक्दैन । सुन्दरता टिकाउ हुँदै हुँदैन । उमेर छउन्जेल, वैँश छउन्जेल मात्र हो, सुन्दरता कायम रहने । उमेर घर्किँदै गएपछि सुन्दरता पनि आफै ओरालो लाग्न थाल्छ । सुन्दरता क्षणिक हुन्छ, यो त आउँछ र जान्छ पनि । तर प्रेम गर्न सक्ने क्षमता भने हामीसँग सदैव कायम रहिरहन्छ । र मान्छेलाई प्रेमको आवश्यकता सँधै उसैगरि परिरहन्छ पनि । जवानीमा आवश्यक परेको सुन्दरता बुढ्यौलीमा चाहँदैन मान्छे । तर त्यतिबेला पनि प्रेम भने अनिवार्य आवश्यकता नै भइरहन्छ । प्रेममा सुन्दरताले केही शोभा बढाउन सक्छ तर सुन्दरता बिना प्रेम नै हुन सक्दैन भन्ने चाहीँ होईन । बरु सुन्दरतालाई नै प्राथमिकता दिएर गरिएको प्रेम भने दिगो नहुन सक्छ । उ भन्दा सुन्दर अरु फेला प¥यो भने पनि त्यो प्रेम टुङ्गिन सक्छ अनि उसको सुन्दरतामा गिरावट आयो भने पनि प्रेममा कमी आउन थाल्छ । त्यसैले पनि आजको आवश्यकता भनेको प्रेममा सुन्दरतालाई कति सम्मको स्थान दिने भन्ने हो, सुन्दरता बिना प्रेम हुँदैन भनेर भ्रम पाल्ने होईन । 
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget