Wednesday, May 15, 2013

भगवान र प्रेम

साहित्यकार एवम् राजनीतिज्ञ मोदनाद प्रश्रितले लेख्नुभएको छ—“आधुनिक भूगोल, खगोल र असंख्य आकाश—गंगायुक्त विश्वको खोजी नहुँदासम्म काल्पनिक ईश्वरले पृथ्वीमा एकछत्र राज गर्यो । तर्कका प्रमाणबाट ईश्वर नमान्ने चार्वाक्, कपिल, वुद्ध आदिका भनाईलाई उसले निर्मम बनेर कुल्चँदै गयो । यसरी प्राचीन युगदेखि मध्ययुगको पछिल्लो चरणसम्म उसको हैकम डग्मगाएन । कोपरनिकस र ब्रुनोहरुले सूर्यकेन्द्रित विश्वको कुरा गर्दा ईश्वर केही झस्क्यो । न्यूटनले गुरुत्वाकर्षणबाट सौर्यमण्डल लगायत तारागण आ—आफ्नो मर्यादामा घुम्ने कुरा गर्दा ईश्वरको जादुमा प्वाल प¥यो । तर पनि ती वैज्ञानिकहरु ईश्वर मान्दै थिए । डार्विनले जीव विकासको नयाँ सिद्दान्त प्रमाण सहित अघि सारेपछि ईश्वर थला पर्यो । मानवनिर्मित उपग्रहहरुले सौर्यमण्डलको परिक्रमा गर्न थालेपछि र मानिसले अर्बौँ प्रकाश वर्ष टाढाका आकाश—गंगाका दृश्यहरु देख्न थालेपछि सौर्यमण्डलभित्र सीमित पुराण, बाइबल र धर्मशास्त्रहरुले कल्पित रुपले जन्माएर हुर्काएको ईश्वर खुत्रुक्कै मर्यो र सदाका लागि शून्यमा विलायो ।” तरपनि आज ईश्वर छ र छैन भन्ने प्रश्नले उसैगरि रिङ्ग्याइरहेको छ मान्छेलाई । संख्यात्मक तवरले पनि अत्यधिक मान्छेका झुण्डहरु ईश्वरको अस्तित्व स्वीकारिरहेछन् अझै । यसरी हेर्दा मान्छेको जीवनमा कुनै न कुनै किसिमले धर्मको प्रादुर्भाव परिरहेकै छ । फेरी आपत विपतमा ‘हे भगवान’ भनेर ईश्वर पुकार्ने त हाम्रो पुरानै बानी पनि त छ । हामी विज्ञानले ईश्वर मान्दैन भनेर बुझ्छौँ । तर अचम्म लाग्दो कुरा चाहीँ के छ भने अधिकांश अस्पतालहरुमा ठाउँ—ठाउँमा हिन्दू धर्मका देवीदेवताका तस्बीर टाँसिएका हुन्छन् । अझ कतिपय अस्पतालहरुको त छेवैमा मन्दिर पनि बनाइएको हुन्छ । अनि अर्को रोचक कुरो के भने, कुनै गम्भीर बिरामीको शल्यक्रिया गर्नुपूर्व उसको आफन्तलाई सान्त्वना दिने क्रममा चिकित्सकले भन्छन्—“हामी पूर्ण प्रयास गर्नेछौँ, बाँकी भगवानको हातमा छ ।” ए बाबा, अध्यात्मवादमा विल्कुल विश्वास नगर्ने त्यही चिकित्सिा विज्ञान पढेर आएको डाक्टर त भगवानको अस्तित्व स्वीकार्छन् भने अरु साधारण नागरिकले स्वीकार्दैनन् त ? यी नै आधारहरुमा टेकेर हामी भन्न सक्छौँ—“भगवानप्रतिको आस्था मान्छेको जीवनसँग जोडिएको छ ।”

 कुनै युवक आफुले मन पराएको युवतीलाई प्रेम प्रस्ताव राख्नुपूर्व निश्चय नै भगवानलाई सम्झिन्छ । मनमनै भएपनि भनेकै हुन्छ—“हे भगवान, उसले मेरो प्रस्ताव स्वीकारोस्” । यदि स्वीकृत भयो भने “Thank God” भन्छ, अस्वीकृत भयो भने “हे भगवान, के गर्ने होला...”भन्छ । यो त प्रेम प्रारम्भको कुरा भयो । प्रेम सम्बन्ध शुरु भइसकेपछि त झन भगवानप्रतिको आस्था झन्झन् बलियो बन्दै जान्छ । दुबैजना भिन्दाभिन्दै धर्म मान्ने भएपनि प्रेम कै खातिर कुनै एकले आफुपनि उसले मानेकै धर्म मान्न थाल्छ । अनि हरदिन प्रार्थना गर्छ—“हे भगवान, हाम्रो प्रेम सफल बनाइदेउ” भनेर । दुईमध्ये कुनै एकको विहेको कुरा चल्नुपर्छ, अनि त झनै त्यो जोडीको बलियो साहारा नै अदृश्य भगवान भइदिन्छ । कतिले त भाकलै गर्छन, प्रेम सफल बनाइदेउ भनेर । कुनै प्रेमीप्रेमिका कहिले काहीँ मन्दिरमा पुगे भने एकछिन मुर्तिको अगाडी दुबै हात जोडेर आँखा चिम्म गरेर बस्छन्, निक्कै इमान्दार भक्त झैँ । अनि एकछिनपछि फर्किँदा प्राय केटाले सोध्छ, तिमीले भगवानसँग के माग्यौ ? केटी जवाफ दिन्छे—“मागेको कुरा पनि भन्छन् त, भन्यो भने त पूरा नै हुँदैन नी । बरु आफै बुझन ।” अनि केटो पनि केही बुझे झैँ गरि मुसुक्क हाँस्छ । त्यतिबेला ती दुईले भनेपनि, नभनेपनि उनीहरुले माग्ने बर भनेको शतप्रतिशत “मेरो विवाह उसैसँग होस्” भन्ने नै हुन्छ । यसरी प्रेमका विभिन्न बाटाहरुमा भगवानप्रतिको आस्था टाँसिएर बसिरहन्छ ।

 फ्रायडले भनेका छन्—“धर्म एक सुखद् दिग्भ्रम हो । यसका अतिरिक्त सामुदायिक रुपले मानव जातीलाई अभिभूत पार्ने मनोरोग पनि हो धर्म ।” धर्म अथवा भगवानप्रतिको आस्था कसरी दिग्भ्रम हो त भनेर मैले तर्क अघि सार्न थालेँ भने सायद यो लेख धेरै लामो होला, त्यसैले पनि अरु कुनै दिन त्यो विषयमा चर्चा गरौँला । बरु अहिले चाहीँ म यो दिग्भ्रमले कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने विषयमा केही कुरा अघि सार्छु । हिन्दी फिल्म 'थ्रि इडियट'को एउटा दृश्यबाट साभार गरेर भन्दैछु म—एउटा गाउँमा गाउँलेहरुले चोर डाँकाबाट सुरक्षित रहनका लागि भनेर विशेष गरि रातको समयमा हेरचाह गर्न गाउँमा एकजना पाले राखेका रहेछन् । उसले राती गाउँलेहरुले सुन्ने गरि All is Well अर्थात ‘सबै ठीकठाक छ’ भनेपछि गाउँलेहरु ढुक्क भएर सुत्दारहेछन् । तर गाउँलेहरु त्यसरी नै पालेको आवाज सुनेपछि ढुक्क भएर सुतेको एकरात त्यो गाउँमा चोरी भएछ । अनि भोलीपल्ट कुरो बुझ्दै जाँदा पो थाहा भएछ, त्यो पालेले त रातमा आँखा नै देख्दैन रहेछ भन्ने कुरो । तरपनि त्यो रातसम्म गाउँलेहरु भ्रममा थिए, वास्तवमै पालेले गाउँको रक्षा गरिरहेको छ भनेर, सुखद भ्रममा । हो यस्तै प्रभाव हुन्छ प्रेममा पनि, भगवानप्रतिको आस्थाले ।

 भगवान छ, छैन त्यो अर्कै विषय हो । आज चाहीँ म यति भन्छु की, भगवानप्रतिको आस्थाले प्रेममा सँधै सकारात्मक प्रभाव पारिरहन्छ । त्यो कसरी भने, भगवान पुकारिरहँदा वास्तवमै हाम्रो प्रेममा भगवानको साथ रहेको छ भन्ने भान हुन्छ, जसले गर्दा एउटा छुट्टै उर्जा प्राप्त भइरहेको हुन्छ । त्यही उर्जाकै कारण आँट बढिरहेको हुन्छ हृदयमा । यदि भगवानलाई मन्जुर छ भने हामी जसरी पनि एक हुनेछौँ भनेर अगाडी आएका उल्झनहरु पन्छाउन तम्सिरहेका हुन्छन् दुबैजना ।


Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget