Tuesday, July 30, 2013

वहकिने मन 64 : वर्ष 2 अंक 11 (2070-04-14 )

 
आज मिति 2070-04-14 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download

Download: Click here to Download

खट्किएको कुरा

.....महावीर विश्वकर्मा

अचेल जो कोही प्रेममा छ, विपरीत लिङ्गीसँगको प्रेममा । यदि कोही अपवाद छ, अर्थात अहिलेसम्म प्रेम विषयबाट केही परै छ भनेपनि उ सँग पनि एउटा सपना चाहीँ छ, प्रेमको सपना, कोही आफ्नो भन्ने मनको मान्छे आफुसँगै भएको दिनको सपना । यो स्वभाविक पनि हो । हामीलाई बाँच्नका लागि हावा, पानी र खाना चाहिन्छ भनेजस्तै अर्को एउटा निक्कै नै महत्वपूर्ण कुरा पनि चाहिन्छ । त्यो हो – प्रेम । हो, बाँच्नका लागि प्रेम अपरिहार्य छ । खासमा धनसम्बन्धी अध्ययन गर्ने शास्त्र भनेर चिनिने अर्थशास्त्रले पनि मान्छेका अत्यावश्यक आवश्यकतामा प्रेम पनि पर्छ भनेको छ । हामीकहाँ त के भइदियो भने, प्रेम भन्ने विषय नै अवैध जस्तो भइदियो । गैरकानुनी जस्तो भइदियो । कसैले प्रेम सम्बन्धी कुरा ग¥यो भने समाजको नजरमा त्यो अल्लारे भयो, उरन्ठ्याउलो भयो । कस्तो समाजको विकास गरेछौँ हामीले, एउटा व्यक्तिले आफ्नो युवावस्थामा जति जनासँग प्रेम सम्बन्ध राखेको किन नहोस्, लगभग ३५ वर्ष पार गरिसकेपछि चाहीँ उस्ले प्रेम सम्बन्धी कुरा गर्नै नहुने रे । किनकी उ त अब व्यवहारिक भइसक्यो रे । अनि प्रेमसम्बन्धी कुरा गर्ने चाहीँ केटाकेटीले मात्रै हो रे । हाम्रो समाजले यही रुढ मान्यताको विकास जबरजस्ती गरेको छ ।

हामी सबैजना प्रेम भन्ने गज्जबको अनुभुतिसँग आफु पनि घुलमिल भयौँ तर जब त्यो प्रेम भन्ने चिज अरु व्यक्तिको विषयमा गाँसिएर आयो अनि हामीले त्यसलाई सहज ढङ्गले स्वीकार्न सक्दै सकेनौँ । हामी आफैले प्रेम गर्दा चाहीँ त्यतिबेला आफु त कुनै चलचित्रको नायक–नायिका हो जस्तो लाग्ने, तर जब आफ्नै वहिनी अथवा छोराछोरीले प्रेम गरेको चाल पाउँछौ अनि त्यो चाहीँ हामी सहनै नसक्ने । उनीहरुले गरेको प्रेम चाहीँ हाम्रो परिभाषामा प्रेम नै नहुने, त्यो त कुलघरानको इज्जत माटोमा मिलाउने काम हुने अनि परिवारको नाक काट्ने कुचेष्टा मात्रै हुने । कस्तो अचम्म । प्रेमलाई स्वीकार्नै नसक्ने कस्तो परिपाटीको विकास भइरहेको छ हामीमाझ । अनि कसरी विकास भइरहेको छ यो सँस्कृति ।

मलाई कहिलेकाहीँ यसो सोँच्दा बडो अचम्म लागेर आउँछ, हामीकहाँ धेरै रेडियो, टेलिभिजन र पत्रपत्रिका छन् । ती सबैको प्राथमिकतामा राजनीति पर्छ । रेडियो र टेलिभिजनहरुमा छिनछिनमै राजनीतिका चर्का चर्का वहसहरु हुन्छन् । तर प्रेम सम्बन्धी घटनाहरु, विचारहरु छलफलको विषय बन्दैन । प्रेमि अथवा प्रेमिकासँगको फोन वार्ता छोट्याएर कुनै नेतासँग राजनीतिक वहस गर्न स्टुडियोमा छिर्न हत्तारिने एउटा रेडियोकर्मी÷टेलिभिजनकर्मी आफुले महसुस गरिरहे जस्तै हरेक व्यक्तिले प्रेमको महसुस गरिरहेकै छन् भन्ने सोँचेर कुनै दिन प्रेम सम्बन्धी छलफल गर्न किन तयार हुँदैन ? के ले रोक्छ उसलाई ? यदि व्यवस्थापनले रोक्छ भने व्यवस्थापनलाई किन बुझाउन सक्दैन उ ? टेलिभिजनमा कुनै सेलिब्रेटीको प्रेम प्रसङ्गको कुरा गर्ने अथवा रेडियोमा लभ म्यासेजहरु पढ्ने कार्यक्रम त टन्नै होलान् । तर मैले भन्न खोजेको यति हल्का परिधिमा प्रेम विषयलाई सिमित राखिनु हुँदैन । गहन ढङ्गको वहस र छलफल गरिनुपर्छ, प्रेम सम्बन्धले निम्त्याउने अवस्थाहरुको बारेमा, प्रेममा आईपर्ने चुनौतीहरुको बारेमा । प्रत्येक घण्टाको समाचारमा राजनीतिक कुरो चाहीँ प्रमुख समाचार बनाएर जोडजोडले चिच्याउँदै पढ्न हुने, विहान बेलुकै राजनीतिक विषयमा निक्कै चर्काचर्की वहस गर्नुहुने तर प्रेमको विषयमा चाहीँ वौद्धिक र प्राज्ञिक वहस हुनै नहुने ? खै यतातिर ध्यान पुगेको । तपाईँ भन्नुहोला, “सबै नीतिहरुको माउ नीति नै राजनीति हो, देश चलाउने नै राजनीतिले भएपछि त्यो विषयलाई प्राथमिकता त दिनैप¥यो नि ।” तपाईँको यो विचारसँग मेरो पनि सहमति । मैले राजनीतिलाई प्राथमिकता दिनु हुँदैन भन्न खोजेको कहाँ हो र ! मैले त राजनीति गर्नेहरुलाई पनि निर्देशित गर्नसक्ने शक्ति अर्थात प्रेमलाई पनि वहसको विषय बनाउँ पो भन्न खोजेको त । हाम्रो मान्यता त के भइदियो भने, प्रेम सम्बन्धी छलफल गर्न चाहीँ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस नै आउनुपर्छ । नत्र वहसको विषय बन्दैन त्यो । त्यसो त त्यो दिनपनि वहसको विषय त कहाँ बन्छ र । भलै एकाध सञ्चारमाध्यमले ‘प्रेममा देखिएको विकृति’ भनेर यसो रिपोर्टसम्म बनाइ टोपल्लान् तर त्यति ठुलो वहसको विषय चाहीँ बन्दैन प्रेम । सबैले राजनीतिमा चासो नराखे पनि त्यो विषय चाहीँ पहिलो प्राथमिकतामा पर्छ सञ्चारमाध्यमको तर हामी पलपलमा जे सँग बाँधिएर बसेका छौँ त्यो विषय चाहीँ किन वहसको विषय बन्दैन होला । जीवनयापनको क्रममा कहिल्यै कामै नलाग्ने गणितका विभिन्न सुत्रहरुचाहीँ जबरजस्ती घोकेर कण्ठ बनाउनुपर्ने तर बाँच्नका लागि आवश्यक पर्ने प्रेम जस्तो विषयको बारेमा चाहीँ पाठ्यपुस्तिका नै नबन्ने । स्कुल र कलेज लेभलमा पढ्ने अधिकांश विद्यार्थी प्रेम सम्बन्धमा आईपर्ने अनेकन उल्झनलाई सहज ढङ्गले स्वीकार्न नसकेकै कारण गलत बाटोतर्फ हिँड्न पुग्छन् तरपनि ती विद्यार्थीका लागि यो शिक्षा आवश्यक छ भन्ने महसुस कतै कसैमा छैन ।

अब एउटा अर्को विषयमा घोरिन वाध्य बनाउँछु तपाईँलाई । हामी सबैले विहान उठेदेखी बेलुकी ननिदाउन्जेलसम्म कति धेरै गीतहरु सुन्छौँ, कति धेरै गीतहरु मनमनै भएपनि गुन्गुनाउँछौँ, कतिले त स्वर मिलाएरै पनि गाउलान् । यसो याद गर्नोस् त तपाईँले दिनहुँ सुन्ने र गाउने ती गीतहरु मध्ये कति गीत त्यस्ता होलान् जसले प्रेम विषयलाई नछोएको होस् । याद गर्न सक्नुहुन्छ ? सायद निक्कै नै गाह्रो पर्छ तपाईँलाई । त्यो किनभने यहाँ जति पनि गीतहरु लेखिएका छन्, गाइएका छन् ती पनि त प्रेमकै पेरीफेरीमा केन्द्रित भएर बनेका छन् नी । एकछिन सोँचौँ त, यदि प्रेमको विषयमा गीत नै नबन्ने, बरु राजनीति, आर्थिक, साँस्कृति, धार्मिक आदि बारे मात्रै गीतहरु बन्ने भए कस्तो हुन्थ्यो होला । सायद गीत सँगीतको क्षेत्र नै रङ्गहरुको संयोजन नमिलेको चित्र जस्तो हुन्थ्यो होला, के नमिलेको, के नमिलेको जस्तो । चलचित्रहरु प्रेम विषयमा आधारित नभइदिने भए कस्तो हुन्थ्यो होला त्यो । केही समय त नयाँ स्वाद जस्तै लाग्थ्यो होला तर अलि पछि त तलतल नै लागिहाल्छ नि, अमेरिका पुगेको नेपालीले दाल– भात–तरकारी सम्झिए जस्तो । आखिर जे सुकै भएपनि तिर्खा मेट्नका लागि त पानी नै पिउनुपर्छ नी दूधले कहाँ प्यास मेटिन्छ र, हैन त ? 

भकुण्डोलाई जति बल लगाएर तलतिर दबाउन खोज्यो त्यो झन त्यति नै माथि उफ्रिरहेको हुन्छ । प्रेम पनि त्यस्तै भइरहेको छ हाम्रो समाजमा । नबुझेर हो या बुझ पचाएर प्रेमलाई स्वतन्त्र छाड्न तयार नै छैन हाम्रो समाज । त्यसैले प्रेम विषय अब वहसको विषय बन्नुपर्छ, बनाउनुपर्छ । नेपालमा हिजो न्यूज च्यानल भनेर टेलिभिजन खुल्दा हामीलाई कस्तो अनौठो लागेको थियो, समाचार मात्रै भन्ने च्यानल पनि कस्ले हेर्लान र भन्ने त हामीले सोँचेकै हो नी । तर आज हेर्नोस त, न्यूज च्यानलहरु नै चर्चित भइरहेका छन् । हामीलाई बानी पनि तिनीहरुकै परिसकेको छ । त्यसैले मलाई लाग्छ, आज हामीले प्रेम विषयलाई छलफलको विषय बनायौँ भने शुरुमा त त्यो विषय बकम्फुसे पनि लाग्ला कसै–कसैलाई, चोकचोकमा मान्छेहरु हाँस्लान् पनि । तर विस्तारै त्यो झाँगिँदै जानेछ । मैले रेडियो र टेलिभिजनमा मात्रै वहसको विषय बनाउन शुरु गरौँ भन्न खोजेको होईन, व्यक्ति व्यक्तिमा शुरु हुन सकोस्, यो विषयको वहस । आज साथीसँग “त्यसले मलाई मन पराउँछ की पराउँदैन होला यार ?” भनेर सोध्ने व्यक्तिले अब “प्रेम स्वीकार्य हुनका लागि के के कुराहरुले भूमिका खेलेको हुन्छ होला ?” भनेर छलफल गर्न थालोस् । केही विद्यार्थीले बेन्चमा टाउको लुकाएर मुसुमुसु हाँसेपनि शिक्षकले प्रजनन स्वास्थ्य पढाइरहे जस्तै प्रेम विषयमा पनि विद्यार्थीको जिज्ञासाको समाधान दिन सकुन् । हुन त मैले यतिबेलाभन्दा म आफै पनि हाँसोको पात्र बन्न सक्छु । फेरीपनि मलाई लागेको कुरा चाहीँ के हो भने, प्रेमलाई सहज तवरले अङ्गीकार गर्न नसक्दा यहाँ कैयौँ घटना भइरहेका छन्, कतिले जीवन बर्बाद गरिरहेका छन्, कत्तिको पढाई बिग्रिरहेको छ, कति त कुलतमा फसेका छन् । समग्रमा प्रेममा आईपर्ने उल्झनहरुलाई सहज ढङ्गले ग्रहण गर्न नसकेकै कारण देशको कति धेरै युवाशक्ति मानसिक तनावले पिल्सिएर बाटो बिराइरहेका छन् । यदि प्रेम सम्बन्धकै कारण लाखौँको संख्यामा युवाशक्तिले बाटो बिराईरहेका छन् भने यो विषय हेर्ने छुट्टै निकायको स्थापना किन नगर्ने ? यस सम्बन्धी परामर्श केन्द्रहरुको स्थापना किन नगर्ने ? सुन्दा केहीलाई यी तर्कहरु हावादारी पनि लाग्न सक्लान् तर यी जटिल विषय हुन् । यसको समाधानको लागि सबैभन्दा पहिला त समाजले यसलाई सहजै स्वीकार्ने वातावरण तयार बन्नुपर्दछ । त्यसपछि साझा छलफलको विषय बन्नुपर्छ प्रेम । हुन त काठमाण्डौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापितले राजधानीमा लभ पार्क बनाउँछु भन्दा हाँसेर खिल्ली उडाउने मान्छेहरु मिलेर बनेको समाज हो हाम्रो, त्यसैले पनि यी कुराहरु बुझाउन समय त लाग्ला नै । तर यतिबेला म भने गोपालप्रसाद रिमालको कविताले
“आमा त्यो आउँछ र
हो बा, त्यो आउँछ
त्यो विहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ”
भनेजस्तै प्रेम विषय प्राज्ञिक वहस र छलफलको विषय बन्ने दिन पक्कै आउँछ भन्नेमा आशावादी छु । अनि धेरथोर विश्वस्त पनि ।




वहकिने मन (२०७० श्रावण १४ )

 सपनाहरु धाइरहन्छन् ।
खबर उनको बताइरहन्छन् । ।
साथ छुटेको वर्षौँ भएछ
यादहरु अझै आईरहन्छन् ।
(((((((((((((((हाँसेर दुई पल बाँच्न पाए हुन्थ्यो, शिव परियार))))))))))))))))))
मान्छे सपना देखेर कहिल्यै अघाउँदो रहेनछ, कहिल्यै थाक्दो रहेनछ पनि । बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर घोत्लिँदो रहेछ एकैछिन । वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभुतिहरुसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे । अनि फेरी केही रहरहरु आविष्कार गर्न पुग्दो रहेछ, आफुभित्रै । कुनैदिन हाँसोहरुको, खुशीहरुको भारी बोकेर दुगुर्ने बानी परेको मान्छे कुनैदिन एक मुट्ठी खुशीहरुको लागि पनि मरिमेट्दो रहेछ । एक घुट्को हाँसोहरुको लागि पनि लगातार पैँठेजोरी खेलिरहँदो रहेछ, समयका प्रहारहरुसँग । फेरीपनि समय त्यति कमजोर कहाँ हुँदोरहेछ र ।   
खुशीहरु बिजुली चम्किएसरि एकपटक झिलिक्क गर्छन् अनि फेरी हराउँछन् कताकता । म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिनँ बरु त्यतिबेलाको गाडाङगुडुङबाट भयभित भएर अर्कोपटक त्यो खुशी नदोहोरियोस् भन्ने कामना गरिरहन्छु । कारण, त्यो उज्यालोको एक चिम्टी खुशीले मेरो मनमा गाडाङगुडुङको भयानक धर्साहरु कोरेर जान्छन्, जसलाई काखी च्यापेर रमाउन सक्दिनँ म ।
धेरैपटक सयमसँग जुधेको अनुभव छ मसँग । हरेक पटक मैले समयलाई छिर्किनी हानेर लडाउन खोजेँ, बाकटे हानेर पछार्न खोजेँ तर उल्टै उसैले मलाई गलहत्याएर गयो, घचेटेर गयो । म बबुरो के नै पो गर्न सक्थेँ र । निर्लज्ज भएर उठेँ अनि टक्टक्याएँ जीउको धुलो, फुङ्ग भएर उड्यो त्यो, अनि हावाको झोकासँगै बतासिएर हरायो एकैछिनमा । म पहिलेजस्तै सकुशल देखिएँ, तर बाहिरबाट मात्रै । भित्र त निक्कै नै दख्खल परेको थियो मलाई । किनकी भकुर्नुसम्म भकुरेको थियो, त्यो बलिष्ट समयले । यति नै बेला प्रकट पंगेनी शिवको गजलको एक शेर सम्झिएँ मैले
हेरिराख समयलाई मैले किन्छु एकदिन ।
जे छिनेथ्यो त्यस्ले मेरो त्यही छिन्छु एकदिन । ।

तिम्रा यादहरु हर रात विथोल्न आउँछन् मलाई, चिथोर्न आउँछन् अनि चिमोट्न आउँछन् । म रहरले हो या वाध्यताले ती नै यादहरुसँग लुटपुटिँदै तिमीलाई भुल्ने चेष्टा गर्छु, हिमालमा बसेर तातोको अनुभव गर्न तम्सिए जस्तो । र त मेरा चेष्टाहरु फिक्का भइदिन्छन् । अनि म एकपटक फेरी पराजीत हुन्छु, तिम्रा यादहरुसँग । यो पराजय स्वीकार्न त्यति मुस्किल पर्दैन मलाई, जति तिमीले बाटो बदल्दा मुस्किल परेको थियो । म त हार्ने बानी परेको मान्छे । कहिले तिम्रो खुशीको लागि हारेँ, कहिले आफ्नो इच्छाको लागि हारेँ । कहिले नजानेर हारेँ अनि कहिले जानीजानी हारेँ । फगत एकतमासले हारिरहेँ...हारिरहेँ । मलाई लाग्थ्यो एकदिन मेरा हारहरुको समीक्षा हुनेछ । मलाई चिन्नेहरुले, मलाई जान्नेहरुले...मलाई हराइएकोमा, मैले हारेकोमा दुख मनाउ गर्नेछन् । एकथान सहानुभुति दर्शाउनेछन् । तर मेरो सपनाको त्यो दिन, अहँ...अझै आएन ।
मन कहिलेकाहीँ चैते हुरी झैँ बेग हानेर उठ्छ । आफैभित्रको उकुसमुकसता छरपस्ट बनाउँछ अनि निक्कै अघि छुटेको एउटा विगत सम्झिएर खुब्बै दुखेसो गर्छ । म जति सम्झाउन खोजुँ यो मनलाई, अहँ फिटिक्कै मान्दैन...मान्दै मान्दैन । म बगेर गइसकेको खोलो कहाँ फेरी फर्किन्छ र भन्छु । उ, त्यो पानी बाफ बनेर माथी आकाशमा उड्छ, बादलको ढिक्का बनेर पहाडमा ठोक्किन्छ र फेरी पानी नै बनेर दर्किन्छ भन्दै छुट्टिएको मनको मान्छे फेरी फर्केर आउने आशाहरु जीवितै राख्छ । म समय घर्किसकेको अवगत गराउँदै, आत्मसमर्पणकारी तमसुकमा उसलाई ल्याप्चे लगाउन अह्राउँछु । तर उ मनोगत चिन्तनहरु अघि सार्दै मनको नाता सदैव जीवित रहने दलिल पेश गरिरहन्छ । यसरी मन र मस्तिष्कबीचको तर्क वितर्कसँगै अघि बढ्दैछ जीन्दगी । अघि बढ्दैछ भन्नु भन्दा पनि चल्दैछ भनौँ क्यारे, किनकी अघि बढेको भए त कतै न कतै त पुगिहाल्थ्यो नि, घडीको पेण्डुलम जस्तो एकै ठाउँमा कहाँ बसिरहन्थ्यो होला र । त्यसैले जीन्दगी चल्दैछ मात्रै भनौँ की जस्तो लाग्छ ।  
बाँच्नैपर्ने एउटा जीन्दगी छ ।
जहाँ हाँसोहरु नै बन्धकी छ । ।
नजिक आएर नियाल्नु मलाई
आँखामा कर्णाली गण्डकी छ । । ।

(((((((((((((((((((तोड्दैमा नाता कहाँ तोडिन्छ र)))))))))))))))))))))



हो..मिल्ने भए त तोडिएको नाता एकफेर गाँस्न पाए पनि हुन्थ्यो । उध्रिएको ठाउँहरुमा सिउन पाए पनि हुन्थ्यो । अनि भत्किएका भित्ताहरुमा लिपपोत गर्न पाए पनि हुन्थ्यो । समग्रमा केही भुलहरु सुधार गर्न पाए हुन्थ्यो, केही सत्यहरु उदाङ्गो बनाएर प्रष्ट्याउन पाए हुन्थ्यो । आखिर त्रुटी कहीँ न कहीँ, कसै न कसैबाट भएकै हो । दोषी तिमी पनि छौ र म पनि । हामी दुवैबाट केही न केही भुलहरु भएका छन् । तर बिडम्बना हामीले आफ्ना गल्तीहरु स्वीकार्ने तत्परता देखाएनौँ । आफु निश्कलंक बन्ने प्रयत्न मात्रै ग¥यौँ र दोष जति अर्कोको थाप्लोमा थोपर्ने अहमता मात्रै ग¥यौँ । हुनसक्छ, त्यति नै बेला हामीले सबैभन्दा ठुलो गल्ती फेरी ग¥यौँ, आफ्नो अहमताहरुको संरक्षण गरेर, आफ्ना घमण्डहरुको जगेर्ना गरेर । जसको परिणाम आज भोग्दैछु म, सायद तिमी पनि । 
केही चोटहरु छन् नदेखिने गरि गढेका । मनभित्र लपक्क टाँसिएर बसेका । बेलाबखत ती नै चोटहरु व्यक्तिगत होडबाजीमा बल्झिन्छन्, असाध्यै दुख्ने गरि चरक् चरक् चर्किन्छन् । म छट्पटिन्छु, आलसतालस हुन्छु । पिलो जस्तो निचोरेर फ्याँक्न पनि नमिल्ने, मुखले फु...फु...गर्दै सुस्तरी सुम्सुम्याउन पनि नसकिने, साँच्चै अजीव छ मनभित्रको चोट, अजीव छ । मेरो एक मनले सोँच्छ, चोट पाउनेले जसरी फत्रयाक् फत्रयाक् हुँदै छटपटाएर जीन्दगी बडो पिडापूर्ण तवरले बाँचेको हुन्छ, त्यसको हेक्का हुन्छ होला त चोट दिएर जानेलाई । के कुनैदिन उसलाई आफ्नो पुरानो हर्कतले पोल्छ होला त ? साँच्चै मैले गलत गरेँ भन्ने महसुस हुन्छ होला त उसलाई ? के खाएर हुन्थ्यो । यदि हुँदो हो त प्रायश्चितकै लागि भएपनि एकफेर सहानुभुतिका शब्दहरु त खर्चिन्थ्यो होला नी उसले । फेरी अर्को मनले सोँच्छ, हरेक मान्छे आफुलाई दूधै दूधले नुहाएको पवित्र ठानि टोपल्छ । गल्ती स्वीकार्ने बानी हुँदैन मान्छेको । बरु कसैगरि पनि सही साबित गराउन लागिपर्छ । सायद त्यसैले पनि आफ्नो नजरको निर्दोष भइरहन्छ मान्छे । अरुको नजरको के मतलब उसलाई ।
तिमीसँग अलग्गिएपछि मलाई सानो परिधि मनपर्न थाल्यो । साँघुरो घेराभित्र बाँच्न मनपर्न थाल्यो मलाई । जहाँ तिम्रा यादहरु होउन्, अनि मेरा आँशुहरु होउन् । यादहरु पठाउने तिमी अन्तै भएपनि, आँशुहरु रोइदिने म अन्तै भएपनि एउटा चुँडिएको सम्बन्धको भुल्नै नसकिने छापहरुको साहारामा अर्को मक्किएको जीन्दगी बाँचिरहेका छौँ हामी । हो, मक्किएको जीन्दगी । कहिले ध्वस्त हुने हो केही ठेगान नै छैन । तिमी स्वीकार या नस्वीकार, हामी दुबैको जीन्दगी निक्कै नै धरापमा चलिरहेछ । थाहा छैन कुनदिन हामीबीचको एउटा सत्य उदाङ्गिनेछ र भताभुङ्ग बनाउनेछ हुँदाखाँदाको जीन्दगी । हामीले बडो जतनसँग लुकाएर राखेको हाम्रो सम्बन्धको गहिराई सतहमा आएर प्रष्टिएको दिन पक्कै पनि तिम्रो जीवनमा भुइँचालो आउनेछ । डगमगाउनेछ तिम्रो सँसार र सँगै मेरो पनि । आखिर खास्टोले ढाकेर बिरालो कहाँ लुक्छ र म्याउँ गरिहाल्छ नि ।

म तिमीलाई भेट्न लम्किरहेछु ।
थाहा छैन, बिलाएँ की चम्किरहेछु । ।
यादहरु मेटिएर कहाँ मेटिन्छन् र
हिजो जस्तै आज पनि सम्झिरहेछु । ।

(((((((((((((((((((((मेट्दैमा याद कहाँ मेटिन्छ र)))))))))))))))))

Tuesday, July 23, 2013

वहकिने मन ६३ : वर्ष २ अंक १० (२०७० -०४-०७ )












आज मिति २०७० -०४-०७ सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download
                         Download :Click Here to Download

Thank you

Thursday, July 18, 2013

मुक्तक

मेहेन्दी लगाउनेहरु देख्छु, चुरा लगाउनेहरु देख्छु ।
चुरा लगाएको पनि कुरा लगाउनेहरु देख्छु । ।
चुरा दिने र लिनेहरुलाई जब नजिकबाट नियाल्छु
मनमा बसी मनभित्रै छुरा लगाउनेहरु देख्छु । । ।

Tuesday, July 16, 2013

मोहन बिहानीका ६ मुक्तकहरु

मोहन बिहानी
मुक्तक
****************
तिमी उता मस्किए पछी ढले
ब्यथा झन् चस्किए पछी ढले
शेयर बजार झै तिम्रो माया
अझ बढि खस्किए पछी ढले ।
२०७०-०३-२४ सोमबार

मुक्तक
************
जानेर हो या हो तिम्रो नादानी /
छरपस्ट पर्यौ तिमीले जवानी //
मातेको किन बैंशको उन्मादमा /
कागजी फुल भयो जिन्दगानी //

2070-04-01
********************* 

मुक्तक
*****************
यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको संसार सजाउन सकिएन//

२०७०-०३-२० बिहिबार १.१५बजे

**************************
  मुक्तक

पहिले चलेको ब्यापार देखायो /
शहरको राम्रो घरबार देखायो //
लुटेर सर्वस्व रित्यो बनाई ,
आखिरमा उस्ले तरबार देखायो//

 २०७०-०३-१७
*************************

मुक्तक
*****************
बर्षौ पछीको आज त्यो झरी याद आयो।
सङ्गै रुझेको पल घरी घरी याद आयो।।
तप्प तप्प थोपाले निथ्रुक्क भिजेको बदनमा,
कसेको त्यो अङ्गालो सधै भरी याद आयो।।

मुक्तक
**************************
लेखाईमा अलिकति दम हुनु पर्छ,
सकेसम्म उसृङ्खलता कम हुनु पर्छ।
यस्तो लेख तारिफ सबैको पाउन,
प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
 


वहकिने मन ६२ : वर्ष २ अंक 9 (२०७० -०३-३१ )


 

आज मिति २०७० -०३-३१ सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद । 
Listen and Download
                              Download :Click Here to Download

Thank you

Monday, July 15, 2013

मुक्तक

सपनाहरु धाइरहन्छन् ।
खबर उन्को पठाइरहन्छन् । ।
साथ छुटेको वर्षौँ भएछ
यादहरु अझै आइरहन्छन् । । ।


मुक्तक

उमेर दिनदिनै ढलिराकै छ ।
आज पनि समयले छलिराकै छ । ।
सोध्नेहरुलाई खै के सुनाउँ नयाँ
जसोतसो जीन्दगी चलिराकै छ । । ।

Sunday, July 14, 2013

राम शरण श्रेष्ठका ५ मुक्तकहरु (30-03-2070)

1.मुक्तक 
कोहि कोहि यादमा आइरहन्छ ।।
झन मुटुको माझमा आइरहन्छ ।।
अति दुर दुर भएर पनि झन झन
आभाष मन्द बतासमा आइरहन्छ ।। 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

2.मुक्तक
बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा 
बढिरहेको पागल पन के गरुँ म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

3.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।। 
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन 
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

4.मुक्तक
तिम्ले मायाँ गर्ने कुरा सावित हुन बाँकिनैछ ।।
यता भने तिमी प्रति प्रित हुन बाँकिनैछ ।।
हामी दुई असल साथी, त्यो भन्दा माथी गई
मुटु सँग मुटु विच मित हुन बाँकिनैछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

5.मुक्तक
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Source :www.chisapaninepal.blogspot.com

Saturday, July 13, 2013

मुक्तक

खुशीहरु अन्तै बन्धकी जस्तो ।
जीन्दगी पनि छैन जीन्दगी जस्तो  । ।
स्वार्थी दुनियाँ यो के के गर्दैछ 
मनको व्यापारमा पनि ठगी जस्तो । । ।

एउटा सफल पुस्तक “नेपाली मिडियामा दलित” : आहुति


महावीर विश्वकर्मा
काठमाण्डौँ, २९ आषाढ ।
मिडिया अनुसन्धाता जे.बि.विश्वकर्माको पुस्तक “नेपाली मिडियामा दलित” दलितहरुको मिडियामा सहभागिता कस्तो छ त ? भनेर प्रतिबिम्ब देखाउन सफल रहेको एकीकृत नेकपा माओवादीका नेता एवम् साहित्यकार आहुतिले बताउनुभएको छ । वि.सं.२००३ सालमा घोषणा अभ्यास नामको पर्चादेखी वि.सं. २०६७ सालसम्म के—के छापिए भन्ने कुरा एउटा फेहरिस्तमा राखेर कम्तीमा दलित आन्दोलनले पनि सानै स्वरुपमा भएपनि प्राज्ञिक काम पहिलेदेखी नै शुरु गरेको हो भन्ने कुराको चित्र पुस्तकले प्रस्तुत गरेर एउटा इतिहास पनि निर्माण गरिदिएको उहाँले बताउनुभयो ।


सो पुस्तकको प्रकाशक मार्टिन चौतारीले आयोजना गरेको पुस्तक सम्बन्धी छलफल कार्यक्रममा पुस्तकको समीक्षा गर्दै आहुतिले पुस्तकहरु दार्शनिक आधारमा नै उभिने दाबी गर्दै यो पुस्तक पूरै पढिसक्दा पनि जे.बि.विश्वकर्मले कुन दार्शनिक जगमा टेकेर पुस्तक तयार गर्नुभयो भन्ने चाहीँ आफुले पाउन नसकेको तर्क गर्नुभयो । “दलित सहभागितालाई वृद्धि गर्नको लागि समाधान कसरी गर्ने त ? भन्ने सन्दर्भमा पुस्तकको अन्त्यमा नेपाली समाज वहुलवादी समाज छ, राज्यको संरचना पनि वहुलवादी ढङ्गले हुनुपर्छ र मिडियाको संरचना पनि वहुलवादी ढङ्गले हुनुपर्छ भनेर लेखकले एउटा मान्यता अघि सार्नुभएको छ ।” आहुतिले अघि भन्नुभयो,—“नेपाली समाजमा विविधता छ, वहुलता छ तर यो वहुलवादी चाहीँ छैन । नेपाली समाज नै मुलभुत रुपमा वहुलवादी छ भन्नु चाहीँ सत्य होईन । त्यसैले यो विषयमा लेखक अलि सचेत हुनुपर्छ ।”

राष्ट्रिय स्तरका मिडिया हाउसहरुमा केन्द्रित भएर कम से कम २०६७ सालसम्मका तथ्य तथ्यांकहरु अगाडी सारिनु किताबको सबल पक्ष भएको भन्दै यो पुस्तकले दलित विषयलाई प्राज्ञिकस्तरमा लैजान थप सहयोग गर्ने उहाँको भनाई थियो । दलित समुदाय भित्रबाट प्राज्ञिक काम गर्नसक्ने मानिसहरुको जुन किसिमको जत्था चाहिन्थ्यो त्यो नभएपनि त्यो निर्माणको क्रममा जे.बि.विश्वकर्मा एउटा प्रतिनिधि पात्रको रुपमा जन्मिएको भन्दै लेखकलाई उहाँले वधाई समेत दिनुभयो ।

पुस्तकप्रतिको जिज्ञासा मेटाउने क्रममा लेखक विश्वकर्माले पुस्तक दर्शनमा आधारित हुनुपर्नेमा सहमती जनाउँदै आफ्नो पुस्तक निश्चित दर्शनमा आधारित छ भन्न नसकेपनि परिवर्तन र रुपान्तरण नै यो पुस्तकको दर्शन हो भन्ने रुपमा आफुले लिएको बताउनुभयो । नेपालको सिङ्गो समाजको पुनर्संरचना नहुँदासम्म मिडियाको मात्रै पुनर्संरचना हुन नसक्ने उहाँको जिकिर थियो ।

यसैगरि आहुतिको प्रश्नको समाधान दिने क्रममा उहाँले पुस्तकमा वहुलवाद सिद्धान्तलाई आफुले आत्मसाथ गरेँ भन्न खोजेको नभई नेपालको विविधतामा बढी जोड दिन खोजेको प्रष्ट पार्नुभयो । वहुलवादलाई आधार मानेर त्यो सैद्धान्तिक फ्रेम भित्र लेखिएको किताब चाहीँ यो होईन भनेर पनि उहाँले बताउनुभयो । साथै दलितको विषयलाई प्राज्ञिक ढङ्गले अगाडी बढाउन आफ्नो पुस्तक सहयोगी भएकोमा आफुलाई गर्व लागेको बताउनुभयो ।

विश्वकर्माको सो पुस्तकसँगै मार्टिन चौतारीले प्रकाशन गरेको अन्य २ पुस्तकहरु Eloquent Hills र Discources of Awarness को बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।

Wednesday, July 10, 2013

मुक्तक

म त धेरै पहिला साथी हराएको मान्छे ।
र त जीन्दगीसँग सँधै डराएको मान्छे । ।
म वास्तवमा को हुँ ? अनभिज्ञ छ दुनियाँ
सँधै एक्लो यात्रा मन पराएको मान्छे । । ।

महावीर विश्वकर्मा

मुक्तक

धुम्म हुनेछ त्यो दिन, हराएको घाम हुनेछ ।
मलामीहरुको ताँती, मुखमा सबैको रामराम हुनेछ । ।
सनाखत भएपछि पोष्टमार्टम नि गर्लान
नियालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ । । ।

........महावीर विश्वकर्मा

मुक्तक

यस्तो हुनेछ हाम्रो प्रेम, दुनियाँ हेरेर चकित हुनेछ ।
समय टक्क अडिन्छ सायद, घडीको सुई नै थकित हुनेछ । ।
लैला-मजनु र रोमियो-जुलियट इतिहासमा थन्किनेछन्
लौन कसरी यस्तो भयो ? दुनियाँ सशंकित हुनेछ । । ।

......महावीर विश्वकर्मा

मुक्तक

अचेल मान्छेहरु घाती भइरहेछन् ।
घातीहरु नै मेरा साथी भइरहेछन् । ।
लाखौँ प्रयत्न गरेँ, बुझ्नै सकिनँ अझै
किन यति धेरै पक्षपाती भइरहेछन् । । ।

....महावीर विश्वकर्मा

मुक्तक

म रातो गुलाब झैँ सर्वत्र भएछु ।
बसेछु मनमा यत्रतत्र भएछु । ।
सिउरिन्छु भनेरै, लिएकी थियौ
सुँघेर फाल्दियौ अलपत्र भएछु । । ।

महावीर विश्वकर्मा

मुक्तक

म त जानी नजानी हाँस्छु भनेको मान्छे ।
पटक पटक आफ्नै मन भाँच्छु भनेको मान्छे । ।
कसरी तिम्रो सिउँदो भर्न सकुँला र
सँधै सँधै एक्लै बाँच्छु भनेको मान्छे । । ।

......महावीर विश्वकर्मा

मुक्तक

अचेल मान्छेहरु घाती भइरहेछन् ।
घातीहरु नै मेरा साथी भइरहेछन् । ।
लाखौँ प्रयत्न गरेँ, बुझ्नै सकिनँ अझै
किन यति धेरै पक्षपाती भइरहेछन् । । ।

....महावीर विश्वकर्मा

मुक्तक

जब ऋण नलागेको घर हुँदैन ।
वाध्यता विदेश बन्छ, रहर हुँदैन । ।
मुग्लान छिरेका मदनहरु भन्दैछन्
अचेलकी मुनाको भर हुँदैन । । ।

....महावीर विश्वकर्मा

मुक्तक

नदी बनायो कसले, अनि डुङ्गा कसले बनायो ?
डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ?
अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सँधै
म त मान्छे नै पो थिएँ, मलाई ढुङ्गा कसले बनायो ?

....महावीर विश्वकर्मा

मुक्तक

धेरैपछि आज उस्तै झरी परेको छ ।
सम्झाउन तिम्लाई घरीघरी परेको छ । ।
एउटै छाता ओढी हिँड्या हिजै जस्तो लाग्छ
आँखाबाट आँशु बराबरी परेको छ । । ।

......महावीर विश्वकर्मा

मुक्तक

न वार छ, न पार छ ।
अलि पर एउटा जङ्घार छ । ।
अचेल जीन्दगी दुख्नुको कारण
चारैतिरबाट प्रहार छ । । ।

...महावीर विश्वकर्मा

मुक्तक

म क-कसलाई सुनाउँ, जीन्दगी दुखेको कुरा ।
आफ्नै भन्ने मान्छे टाढा पुगेको कुरा । ।
विश्वास लाग्न पनि सक्छ, र नलाग्न पनि
रुँदारुँदै आँखामा आँशु सुकेको कुरा । । ।

.....महावीर विश्वकर्मा

मुक्तक

जसलाई मैले फूल सम्झेँ, उही पछि काँडा भयो ।
काँडा पनि अँगाल्दै थेँ तर आफै टाढा भयो । ।
भेटेपछि छुटिहाल्यो, छुटेपछि भेटिएन
तर पनि किन किन माया भने गाढा भयो । । ।

......महावीर विश्वकर्मा

मुक्तक

उसले छोडेपछि सराबी भएको हुँ ।
सराबी भएर नै खराबी भएको हुँ । ।

भेटिए बाटोमा सुनाईदिनु उसलाई
पहिले ठीकै थिएँ, अहिले जथाभावी भएको हुँ । । ।

....महावीर विश्वकर्मा

मुक्तक

हाँस्नैपर्ने दबाब आफैसँग हुन्छ ।
कत्ति प्रश्नको जवाफ आफैसँग हुन्छ । ।
साथी भन्नेहरु जति भएपनि
आ-आफ्नो तनाव आफैसँग हुन्छ । । ।

.....महावीर विश्वकर्मा

मुक्तक

बाँच्नु पनि करार हुन्छ पैसा नहुँदा ।
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । ।
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
ओँठको हाँसो फरार हुन्छ पैसा नहुँदा । । ।

...महावीर विश्वकर्मा

मुक्तक

बाँच्नैपर्ने एउटा जीन्दगी छ ।
जहाँ हाँसोहरु नै बन्धकी छ । ।
नजिक आएर नियाल्नु मलाई
आँखामा कर्णाली गण्डकी छ । । ।

...महावीर विश्वकर्मा

सुन्दरता


महावीर विश्वकर्मा
हाम्रो समाजमा धेरै पहिलेदेखी चलिआएको एउटा उखान छ, “रातो राम्रो गुलियो मिठो ।” हुन त रातो बाहेकको रङ्ग पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो । फेरी पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ । यो भनाई कसरी प्रचलनमा आयो यो भन्ने त थाहा भएन । तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ । तपाईँले पनि ख्याल गर्नुभएको होला हाम्रा साना नानीबाबुहरुलाई रङ्गमा रातो र स्वादमा गुलियो मनपर्छ । अनि यो कुरा हामीमा पनि लागु भएको थियो, सानो छँदा । हामीले पनि रङ्गमा रातो र स्वादमा गुलियो नै रोजेका थियौँ । त्यतिबेलाको छाप अहिलेसम्म पनि हाम्रो मानसपटलमा जरा गाडेर बसिरहेको छ । तर रातो मात्रै राम्रो र गुलियो मात्रै मिठो हुन्छ भन्ने चाहीँ होईन । त्यो त हाम्रो मथिङ्गलमा बसेको छापले सृजना गरेको दृष्टिकोण मात्रै हो । जुन गलत त होईन तर सत्य त्यही मात्रै पनि होईन । ठीक यसरी नै अहिलेका अधिकांश प्रेमहरु शारीरिक सौन्दर्यतालाई केन्द्रविन्दुमा राखेर शुरु हुने गरेका छन् । कोही शारीरिक रुपमा राम्रो अथवा राम्री छ भने धेरै जनालाई मनपर्छ । अनि यसको ठीक विपरीत राम्रो अथवा राम्री छैन भने मन पर्दैन ।

अहिले कलेज पढ्दै गरेका युवाशक्तिले अझ यो कुरालाई बलियो गरि पुष्टि गरिरहेका छन् । सबै युवाशक्तिलाई एउटै घानमा राखेर व्याख्या गर्ने दुस्साहस गर्नु हुँदैन मैले र गर्दिन पनि । तर अधिकांशलाई आधार मान्दा हामीले कलेजमा भोगेको अथवा देखेको एउटा सत्य के हो भने कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको भिडमा को कति राम्रो छ भनेर प्राय कलेजका माथिल्लो कक्षाका पुरुष मित्रहरुको आँखा डुलिरहेको हुन्छ । केहीदिनसम्म त साथीभाईको बीचमा नयाँ विद्यार्थीको चर्चा परिचर्चाले राम्रै स्थान पनि पाउँछ ।  महिला मित्रहरुले पनि यसै गर्छन की , त्यो चाहीँ यसै भन्न सकिनँ मैले । किनकी मैले आफैले कलेज लाईफमा भोगेको र देखेको कुराहरुलाई आधार बनाएर यसो भनिरहेको छु । खैर छाडौँ यो कुरा, यो दृष्टान्त उठाएर मैले भन्न खोजेको कुरा के मात्रै हो भने, अचेल प्रेम भन्ने चिज शारीरिक सुन्दरताको कसीले मापन हुन थाल्यो । त्यसो त पहिले पहिले चाहीँ सुन्दरताको कुनै अर्थ नै हुने थिएन भन्ने पनि होईन । फेरीपनि पछिल्लो समयमा प्रेम सम्पूर्णतया रुपको सौन्दर्यतामा नै केन्द्रित भइरहेको भने अवश्य हो । कसको गर्ल फ्रेन्ड अथवा ब्वाई फ्रेन्ड कति राम्रो भन्ने त होडबाजी नै चलेको देखिन्छ अचेल । साथीहरुसँग भेट हुँदा आ—आफ्नो मान्छेको व्याख्या गरेर पनि धेरै समय बित्न थाल्दैछ हिजोआज ।

सुन्दरता एउटा पुल हो, जसको सहायताले कसैको नजिक भएर उसलाई बुझ्न सकिन्छ । उसको आनीबानी, रुची, व्यवहार सबै अध्ययन गर्न सघाउँछ सुन्दरताले । तर यहाँनेर भइदियो चाहीँ के भने, सुन्दरता नै सर्बेसर्वा जस्तो ठहरिन थाल्यो । सुन्दरता नै प्रेम गर्नका लागि अपरिहार्य योग्यता जस्तो पो भइदियो अहिले त । खाली रुपमा मात्रै निर्भर हुनथाल्यो, अहिले हामीले गरिरहेको प्रेम । उ मेरो लागि कतिको सुहाउँदो छ या उ सँगको सम्बन्ध कति दीर्घकालीन हुनसक्ला भन्ने तर्फ सोँच्ने आवश्यकता नै महसुस गरेनौँ हामीले । जसले गर्दा सम्बन्ध टिकाउ हुन सकेन र युवा जमातमा नैराश्यता, जीवनप्रतिको वितृष्णा, भविष्यप्रतिको गैरजिम्मेवारीपन जस्ता विकराल समस्याहरुले स्थान पाउन थाल्यो । परिणामत केही युवाशक्ति जीवनको महत्व नबुझेर कुलततर्फ पनि अग्रसर भइरहेका छन् । अहिले कुलतमा फसेका युवाको विगत पल्टाउने हो भने अधिकांशको कारण चाहीँ प्रेम भइदिन्छ । प्रेम भनेको त जीवन बाँच्न सिकाउने कला पो हो त । तर यसको भोगाई आलोकाँचो रहँदा हामी प्रेमलाई नै अनेकथरि दोषारोपण गर्न पुगिरहेका छौँ । यतिसम्म की, हामीले अँगालेको गलत बाटोको कारण नै प्रेम हो भन्न समेत पछि परिरहेका छैनौँ हामी । र यी सबै कुराहरुको जड भनेको चाहीँ हाम्रो बुझाई नै हो । र यसो भन्नुको सोझो अर्थ के भने, हामीले प्रेम भनेको नै सुन्दरता हो भनेर जबर्जस्ती बुझ्यौँ । प्रेममा सुन्दरताको अर्थ के त ? भनेर अलिकति सोँच्ने चेष्टा सम्म पनि गरेनौँ । कोही राम्रो अथवा राम्री देखिने बित्तिकै बत्तीमा पुतली होमिए जसरी उ सँग प्रेम गर्न हत्तारियौँ हामी । उ आफ्नो लागि कति ठीक, कत्ति बेठीक भनेर घोरिने फुर्सद सम्म पनि भएन हामीलाई । बरु अरु कसैले पो आफ्नो बनाउला की भनेर जति सक्दो चाँडो सबै सुत्रहरु लगाएर उसलाई आफ्नो बनाउन तल्लीन भयौँ । कालान्तरमा यही कारण नै एक आपसमा अनेकन अनमेलहरु देखिँदै गए र सम्बन्धले स्वतः विघटनको बाटो अँगाल्न पुग्यो ।

मलाई त के लाग्छ भने, सुन्दरता प्रतिको हाम्रो दृष्टिकोण नै गलत छ । हामीले जे लाई अन्तिम सत्य हो भनेर बुझिरहेका छौँ, त्यो आफैमा भ्रमपूर्ण छ । अझ सजिलोसँग भन्नुपर्दा हामीले जे लाई सुन्दर भनिरहेका छौँ वास्तवमा त्यो नै सुन्दर चाहीँ होईन । हामीले अहिले जे लाई राम्री अथवा सुन्दर भनिरहेका छौँ अफ्रिकामा गयो भने त्यो नै राम्री हुँदैन, सुन्दर हुँदैन । उनीहरुको परिभाषामा राम्री हुनका लागि अरु नै कुराहरु चाहिन्छ । त्यसैले पनि रुपको सुन्दरता भन्नु त हाम्रो भ्रम मात्रै त रै छ नि । अनि यो भ्रमलाई नै जानीजानी प्रधानता दिन थालेपछि नतिजा पनि त उस्तै आउने स्वभाविक नै भयो नि । त्यसैले प्रेममा सुन्दरतालाई कुन स्थान दिने भन्ने बारेमा अब हामी प्रष्ट हुनु आवश्यक छ ।

मैले यसअघि पनि धेरैपटक भनिसकेको छु, सुन्दरता बिकाउ हुनसक्ला तर टिकाउ हुन सक्दैन । सुन्दरता टिकाउ हुँदै हुँदैन । उमेर छउन्जेल, वैँश छउन्जेल मात्र हो, सुन्दरता कायम रहने । उमेर घर्किँदै गएपछि सुन्दरता पनि आफै ओरालो लाग्न थाल्छ । सुन्दरता क्षणिक हुन्छ, यो त आउँछ र जान्छ पनि । तर प्रेम गर्न सक्ने क्षमता भने हामीसँग सदैव कायम रहिरहन्छ । र मान्छेलाई प्रेमको आवश्यकता सँधै उसैगरि परिरहन्छ पनि । जवानीमा आवश्यक परेको सुन्दरता बुढ्यौलीमा चाहँदैन मान्छे । तर त्यतिबेला पनि प्रेम भने अनिवार्य आवश्यकता नै भइरहन्छ । प्रेममा सुन्दरताले केही शोभा बढाउन सक्छ तर सुन्दरता बिना प्रेम नै हुन सक्दैन भन्ने चाहीँ होईन । बरु सुन्दरतालाई नै प्राथमिकता दिएर गरिएको प्रेम भने दिगो नहुन सक्छ । उ भन्दा सुन्दर अरु फेला प¥यो भने पनि त्यो प्रेम टुङ्गिन सक्छ अनि उसको सुन्दरतामा गिरावट आयो भने पनि प्रेममा कमी आउन थाल्छ । त्यसैले पनि आजको आवश्यकता भनेको प्रेममा सुन्दरतालाई कति सम्मको स्थान दिने भन्ने हो, सुन्दरता बिना प्रेम हुँदैन भनेर भ्रम पाल्ने होईन । 

सम्झिने वाहना


महावीर विश्वकर्मा

मान्छे हरबखत विभिन्न खाले वाहाना खोजेर बसिरहेको हुन्छ । उसलाई हाँस्नको लागि वाहाना चाहिन्छ, रुनका लागि वाहाना चाहिन्छ । खुशी हुनका लागि पनि वाहना चाहिन्छ अनि दुखी हुनका लागि पनि वाहना चाहिन्छ । साँच्चै भनौँ भने किसानलाई असारमा धान रोप्ने चटारो जस्तै मान्छेलाई वाहानाको खेती गर्ने चटारो हुन्छ, जुनसुकै बेला, जुनसुकै समय । कुनैपनि मान्छे यत्तिकै न हाँस्छ न रुन्छ । बिनाकारण त मान्छे खुशी हुन पनि सक्दैन, दुखी पनि बन्दैन । यसर्थमा पनि हामी भन्न सक्छौँ जीन्दगी बाँच्न पनि मान्छेलाई वाहना चाहिन्छ । कोही पनि म बाँच्नुपर्छ भनेर जीन्दगी बाँचिरहेको हुँदैन । बरु म अर्को कक्षामा पुग्नुपर्छ भनेर १ वर्ष बाँचिरहेको हुन्छ । म भिसा सकिएपछि  स्वदेश फर्किनुपर्छ भनेर विदेशमा कष्टप्रद ढङ्गले औषतमा २ वर्ष बाँचिरहेको हुन्छ । उ सँग विहे गर्न लायक बन्नुपर्छ भनेर ३—४ वर्ष बाँचिरहेको हुन्छ । विहे गरेर नानीबाबु जन्माउँला भनेर थप केही वर्ष बाँचिरहेको हुन्छ । नानीबाबु भएपछि यिनीहरुको कमाई खाने दिन कहिले आउला भनेर २०—२५ वर्ष बाँचिरहेको हुन्छ । अनि पछि कहिले उनीहरुको विहे भएको दिन हेर्न, कहिले नाती नातिना खेलाउने दिन पर्खेर धेरै धेरै बाँचिरहेको हुन्छ मान्छे । यसरी नै हाम्रो जीन्दगी हामीबाट भागेर टाढा गइरहेको हुन्छ । हामीले यसरी छोटकरीमा जीन्दगी बाँचिरहेका छौँ । तर जब नतिजा हाम्रो अगाडी आउँछ अनि त्यही छोटकरीमा बितेका समयहरुको टुक्राटाक्री जोडेर हेर्दा हामीले लामो जीन्दगी बाँचिसकेका हुन्छौँ । जतिबेला हामीलाई आफ्नो जीन्दगी बारे सोँच्ने फुर्सद मिल्नेछ, त्यतिबेला जीन्दगी टाढा पुगिसकेको हुनेछ हामीबाट । आखिर वाहाना न हो जीन्दगी , बाँच्ने पनि वाहाना अनि कति त मर्ने पनि वाहाना । यस्तै वाहानाहरुले गर्दा याद आउँछ कहिलेकाहीँ, कोही कसैको ।

जीन्दगी अनुभवहरुको श्रृंखला हो । हामी बाँचुञ्जेल अनेकन अनुभवहरु सँगालिरहेका हुन्छौँ । ती नै अनुभवहरु सँगाल्दा सँगाल्दै कत्तिपटक जीन्दगी भ्रम जस्तो बनिदिन्छ । एउटा यस्तो भ्रम जसलाई सँच्चिकै सोँचेर रमाइरहेका हुन्छौँ हामी । गर्मी महिनामा मध्य दिउँसो चर्को घाम लागिरहँदा पिच सडकमा हेर्ने हो भने निक्कै पर पानीको पोखरी जस्तो देखिन्छ । तर त्यसलाई भेट्न भनेर जति नजिक गयो त्यो झनझन पर भाग्छ हामीबाट । विज्ञानको भाषामा त त्यसलाई मिराज भन्छन् क्यारे । तर नाम जे सुकै भएपनि त्यो एक किसिमको भ्रम नै हो, पानीको पोखरीको भ्रम । यथार्थमा त्यो पोखरी होईन र पनि त्यस्तै देखिन्छ । जीवनमा यस्ता भ्रमहरु अनेकौँ हुन्छन् । यस्तै भ्रमहरुको भुलभुलैयामा जीन्दगी कत्तिपटक जीन्दगी जस्तो बन्दैन, मसानघाट जस्तो बन्छ । उराठ लाग्दो, उदेक लाग्दो । फेरी पनि हामी आशाका जिजिविषाहरु सिला खोजेर बाँच्ने प्रयत्न भने लगातार गरिरहन्छौँ ।

हिजोआज अधिकांश प्रेमी—प्रमिकाहरु हावा चल्न थाल्ने बित्तिकै, पानी पर्न थाल्ने बित्तिकै, अझ आकाशमा गाडाङ—गुडुङ गर्न थाल्ने बित्तिकै हत्त न पत्त आफ्नो मान्छेलाई मिसकल गर्छन्, चित्त बुझ्दैन अनि म्यासेज गर्छन, केहीबेर म्यासेजको दोहोरी चलेपनि मन थाम्न सक्दैनन् अनि “एकपटक बोली सुन्न मन लाग्यो के” भनेर फोन गर्छन् । यो प्रेम गर्नेहरुको स्वभाव नै हो । यसलाई ननिको मान्नु नै पर्दैन । मान्छेलाई हरेक कुराका लागि वाहाना चाहिन्छ भनेजस्तै, हुनसक्छ आफ्नो मान्छेलाई सम्झिनको लागि पनि वाहाना चाहिन्छ । फेरी मैले यसो भन्दै गर्दा तपाईँलाई लाग्ला की, “कहाँ हुनु आफ्नो मान्छेलाई सम्झिनको लागि पनि वाहाना चाहिन्छ त ? जतिबेला पनि सम्झिरहेकै त हुन्छ नी ।” हो, यसो पनि भन्न सक्नुहोला तपाईँ । मैले तपाईँलाई गलत ठह¥याउन खोजेको पनि होईन । बरु मैले त के चाहीँ भन्न खोजेको हो भने, हामी चारैतिरबाट वाहानाले जेलिएका छौँ । तपाईँ उसलाई हरबखत सम्झिनुहुन्छ किनकी तपाईँ उसँग प्रेम गर्नुहुन्छ । यहाँनेर तपाईँलाई उसको सम्झना आइरहनुको कारण चाहीँ तपाईँले प्रेम गरेको भएर हो । यदि तपाईँ उसँग प्रेम गर्नुहुन्थेन भने तपाईँलाई सम्झना नै आउँथेन नी । त्यसैले सम्झना आउनुको एउटा बाहना प्रेम गर्नु हो । किनकी प्रेम गरेकै कारण हरबखत सम्झनाले सताउँछ ।

म अहिले पनि सम्झिन्छु, कक्षा १० मा स्वास्थ्य तथा जनसंख्या शिक्षा पढाउने गुरुलाई मान्छे प्राकृतिक हो की कृत्रिम हो भन्ने प्रश्न सोधेर हैरान बनाएको । त्यो प्रश्नको चित्त बुझ्दो जवाफ नपाएपछि पनि अरु धेरै प्रश्नहरुसँग जम्काभेट भइसक्यो मेरो जुन प्रश्नहरुको पनि चित्त बुझ्दो जवाफ फेला पार्न सकेको छैन । कहिलेकाहीँ यसो सम्झिँदा दिक्क लागेर आउँछ । हाम्रो जीन्दगी भनेको त एउटा दबाब रै छ । हरेक क्षण किसिम किसिमका दबाबहरु झेलेर बाँच्नुपर्ने । अझ भनौँ भने बाँच्नुपर्ने पनि दबाब हुँदो रहेछ हामीसँग । हामीसँग त आफ्नो भन्ने केही नहुँदो रै छ । आफ्नै जीन्दगी पनि नहुँदो रै छ । यदि हुन्थ्यो भने यसलाई त्याग्नका लागि किन लुकिरहनुपथ्र्यो होला र । खुल्लमखुल्ला आह्वान गरेर आजबाट म मेरो जीन्दगी त्याग्छु भन्न पाइहालिन्थ्यो होला नी । यस्तै दबाबहरु थेग्दै अघि बढ्दा, थाहै नपाईकन कहिले काहीँ कसैसँग प्रेम गर्नुपर्ने दबाबमा पुग्दा रहेछौँ हामी । मनको दबाब । अरु वाहिरी दबाबभन्दा ज्यादै कठोर र अनिवार्य दबाब । यही दबाबको पालना गरिरहँदा केही सम्बन्धहरु चुँडिदा रहेछन् पनि । चङ्गा चेट गर्दा डोरी चुँडिए जस्तो । तर चङ्गा चुँडिएर गएपनि लट्टाई भने हातमै हुँदो रहेछ । सम्झना बनेर बस्दो रहेछ त्यो । त्यही सम्झना कहिलेकाहीँ खुलस्त बनाउन मन लाग्दोरहेछ हामीलाई । अनि त्यो सुनिदिने कोही मान्छेको पनि आवश्यकता बोध हुँदोरहेछ त्यतिबेला ।

कुनै सम्बन्धहरु यस्ता हुन्छन् जुन टाढा भएर पनि टाढा हुँदैनन् । सूर्य जस्तै, अनि चन्द्रमा जस्तै । भन्नेहरु त तिनीहरुलाई पनि टाढा नै भन्लान् तर महसुस गर्नेहरु भने कहिल्यै त्यस्तो भन्दैनन् । छेउमै भएको अनुभुति गरिरहन्छन् सँधै । जीन्दगीको यात्रामा कुनै सम्बन्ध निक्कै नै प्रिय लाग्दोरहेछ हामीलाई । किनकिन विस्तारै विस्तारै मनको निक्कै नै नजिक बनिसकेको हुँदोरहेछ त्यो । त्यतिबेला सपनाहरु पनि बग्रेल्ती नै देख्न पुग्दा रहेछौँ हामी । बाख्राको बडकौँला जस्तै छरपस्ट हुँदा रहेछन् सपनाहरु । घरजम गर्ने सपना, नानीबाबु जन्माउने सपना, सँधै खुशी भएर बाँच्ने सपना ...अरु पनि यस्तै यस्तै । तर मान्छेले देखेका सपनाहरु कहाँ सबै पूरा हुन्छन् र । यदि त्यस्तो हुन्थ्यो भने त मान्छेले आँशु भनेको के हो भन्ने पनि थाहा पाउँथेन होला नी । मलाई त के लाग्छ भने, कतिपय सपनाहरु त टुट्न कै लागि जन्मिँदा रहेछन् । जति बचाउन खोजेपनि मरिगए नसकिने । यसरी टुटेका सपनाहरु, सम्बन्धहरु मनको भित्तामा टाँसिएर बस्दोरहेछ क्यारे, कहिल्यै नउप्किने गरि । जसले बेलाबखत झक्झक्याउँछ हामीलाई । अनि आफ्नो पुरानो कथा सुनाउन मन लाग्छ कसैसँग ।

सँसारको जुनसुकै कुनाकाप्चामा पनि हावा पुगेको हुन्छ भनेजस्तै हरेक व्यक्तिले जीवनमा एक न एक पटक प्रेमको अनुभव गरेको हुन्छ । कतिले यो सत्यलाई लुकाउलान् अनि कतिले बुझ्नै नसकेर हो की होईन भन्ने पनि निक्र्यौल गर्न नसक्लान । तर यथार्थ यही हो । प्रेमबाट कोही पनि टाढा रहन सक्दैन । अहँ सक्दै सक्दैन । यदि कोही टाढा रहने कोशिश गर्छ भने त्यो हुटिट्याउँले आकाश थाम्छु भने जस्तै मुर्खता शिवाय केही हुँदैन । विवाह अघि प्रेमको अनुभव नगर्ने मान्छेले पनि विवाह पछि आफ्नै श्रीमान श्रीमतीसँग प्रेमको अनुभव गरेको हुन्छ । विवाह पूर्वका धेरै प्रेमहरु विवाहमा परिणत हुनै नपाईकन टुङ्गिन्छन् । सरसर्ती हेर्दा त्यस्ता प्रेमहरु  त्यहीँ अस्ताएको, त्यहीँ बिलाएको अझ भनौँ त्यहीँ सकिएको देखौँला हामी । तर त्यस्तो भने बिल्कुल होईन । ती प्रेमहरु त झनै मनभित्र गढेर बसेका हुन्छन् । पहाडको ढिस्को जस्तो अडिग भएर बसेका हुन्छन् । केही समयसम्म त हामी आफैलाई ढाँटेर भएपनि त्यो सम्बन्ध बिर्सिएको वाहना गर्छौँ । कसैले सोधिहाल्यो भनेपनि, त्यो पुरानो कुरा के उप्काउनु मैले त भुलिसकेँ भन्ने गछौँ । तर यथार्थ अर्कै हुन्छ । त्यही यथार्थ कहिलेकाहीँ उर्लिएर आउँछ, बर्षे भेल सरि । मान्छे त्यतिबेला वास्तविकताभन्दा केही पर पुग्छ । हरेक कुरामा वास्ता गर्ने समाजको प्रवाहभन्दा धेरै माथी उठ्छ । अनि उकुसमुकुस भएको पुराना सम्झनाहरु कहाँ पोखुँ, कसलाई सुनाउँ भन्ने तहमा पुगिदिन्छ । हो त्यति नै बेला औधी वहकिने गर्छ मान्छे ।

हामी कहिलेकाहीँ कतै हराइरहेका हुन्छौँ । यस्तो लाग्छ की त्यतिबेला हामी आफैबाट पनि टाढा हुन्छौँ । आफ्नै मन पनि आफैसँग नभएको जस्तो लाग्छ त्यतिबेला । जब एक्कासी केही आवाज त्यहाँनेर आउँछ अथवा कसैले छेउमै आएर बोलाउँछ अनि झस्किन्छौँ हामी । हो त्यतिबेला निश्चय नै साँसारिक कृत्रिमताभन्दा पर पुगेर केही प्राकृतिकपनमा रमाइरहेका हुन्छौँ हामी । जहाँ बनावटी भन्दा बढी सहजता खोजिरहेका हुन्छौँ । अनि यहीँनेर थपिहालौँ, प्रेम भनेको प्राकृतिकपन हो । अझ यसरी भनौँ की, प्रेम बनावटी हुन सक्दैन । केहीदिन त्यो बनावटीपन प्रेम जस्तै भएर भ्रम छर्न त सफल होला तर त्यसले आफुलाई प्रेम नै साबित गराउन भने सक्दैन । हामी यसअर्थमा यसो पनि भन्न सक्छौँ की, प्रेममा प्राकृतिकपन हुने भएकोले यसले प्राकृतिसँग गहिरो सम्बन्ध राख्छ । जबजब आकाश गडगडाएर पानी पर्छ अनि प्रेम एकपटक झनै जागरुक बन्छ । जब कालो बादलले आकाश ढाकेर बतास चल्छ, जतिबेला हरिया डाँडामाथी पुगिन्छ, छङछङ बग्ने झरनाको अगाडी पुगिन्छ, हो त्यतित्यतिबेला एक्कासी याद आउँछ आफ्नो मान्छेको । याद गर्दिन भन्दा पनि याद आउँछ । अनि गोजीबाट मोबाइल झिकेर फोन गर्न आत्तुर हुन्छौँ हामी । सोँच्नोस् त, त्यतिबेला मोबाईलमा नेटवर्क देखाएन भने रिसले कति भुत्भुत्तिन्छौँ हामी ? सायद मैले भन्न खोजेको केही बुझ्नुभयो होला । चुम्बकमा फलामलाई आफुतिर तान्न सक्ने गुण हुन्छ, काठको छेउमा राखुञ्जेल चुम्बकको त्यो गुण थाहा पाउन सकिन्न । यो त्यतिबेलासम्म सक्रिय हुँदैन जतिबेलासम्म त्यसलाई फलामको छेउमा लगिन्न । तर जब फलामको छेउमा लगिन्छ अनि यो भित्रको गुण एक्कासी सक्रिय भइहाल्छ । प्रेम पनि त्यस्तै हो, प्राकृतिकतासँग नजिकिएको बेला सामान्य अवस्थामाभन्दा बढी याद आफै आईहाल्छ ।

Tuesday, July 9, 2013

वहकिने मन ६१ : वर्ष २ अंक ८ (२०७०।०३।२४)









आज मिति २०७० असार २४ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
            Download :Click Here to Download Episode 61

Thank you

Tuesday, July 2, 2013

वहकिने मन ६० : वर्ष २ अंक ७ (२०७०।०३।१७)









आज मिति २०७० असार १७ गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।  
Listen and Download
                               Download : Click Here to Download Episode 60

thank yo

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget