Tuesday, July 30, 2013

वहकिने मन (२०७० श्रावण १४ )

 सपनाहरु धाइरहन्छन् ।
खबर उनको बताइरहन्छन् । ।
साथ छुटेको वर्षौँ भएछ
यादहरु अझै आईरहन्छन् ।
(((((((((((((((हाँसेर दुई पल बाँच्न पाए हुन्थ्यो, शिव परियार))))))))))))))))))
मान्छे सपना देखेर कहिल्यै अघाउँदो रहेनछ, कहिल्यै थाक्दो रहेनछ पनि । बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर घोत्लिँदो रहेछ एकैछिन । वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभुतिहरुसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे । अनि फेरी केही रहरहरु आविष्कार गर्न पुग्दो रहेछ, आफुभित्रै । कुनैदिन हाँसोहरुको, खुशीहरुको भारी बोकेर दुगुर्ने बानी परेको मान्छे कुनैदिन एक मुट्ठी खुशीहरुको लागि पनि मरिमेट्दो रहेछ । एक घुट्को हाँसोहरुको लागि पनि लगातार पैँठेजोरी खेलिरहँदो रहेछ, समयका प्रहारहरुसँग । फेरीपनि समय त्यति कमजोर कहाँ हुँदोरहेछ र ।   
खुशीहरु बिजुली चम्किएसरि एकपटक झिलिक्क गर्छन् अनि फेरी हराउँछन् कताकता । म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिनँ बरु त्यतिबेलाको गाडाङगुडुङबाट भयभित भएर अर्कोपटक त्यो खुशी नदोहोरियोस् भन्ने कामना गरिरहन्छु । कारण, त्यो उज्यालोको एक चिम्टी खुशीले मेरो मनमा गाडाङगुडुङको भयानक धर्साहरु कोरेर जान्छन्, जसलाई काखी च्यापेर रमाउन सक्दिनँ म ।
धेरैपटक सयमसँग जुधेको अनुभव छ मसँग । हरेक पटक मैले समयलाई छिर्किनी हानेर लडाउन खोजेँ, बाकटे हानेर पछार्न खोजेँ तर उल्टै उसैले मलाई गलहत्याएर गयो, घचेटेर गयो । म बबुरो के नै पो गर्न सक्थेँ र । निर्लज्ज भएर उठेँ अनि टक्टक्याएँ जीउको धुलो, फुङ्ग भएर उड्यो त्यो, अनि हावाको झोकासँगै बतासिएर हरायो एकैछिनमा । म पहिलेजस्तै सकुशल देखिएँ, तर बाहिरबाट मात्रै । भित्र त निक्कै नै दख्खल परेको थियो मलाई । किनकी भकुर्नुसम्म भकुरेको थियो, त्यो बलिष्ट समयले । यति नै बेला प्रकट पंगेनी शिवको गजलको एक शेर सम्झिएँ मैले
हेरिराख समयलाई मैले किन्छु एकदिन ।
जे छिनेथ्यो त्यस्ले मेरो त्यही छिन्छु एकदिन । ।

तिम्रा यादहरु हर रात विथोल्न आउँछन् मलाई, चिथोर्न आउँछन् अनि चिमोट्न आउँछन् । म रहरले हो या वाध्यताले ती नै यादहरुसँग लुटपुटिँदै तिमीलाई भुल्ने चेष्टा गर्छु, हिमालमा बसेर तातोको अनुभव गर्न तम्सिए जस्तो । र त मेरा चेष्टाहरु फिक्का भइदिन्छन् । अनि म एकपटक फेरी पराजीत हुन्छु, तिम्रा यादहरुसँग । यो पराजय स्वीकार्न त्यति मुस्किल पर्दैन मलाई, जति तिमीले बाटो बदल्दा मुस्किल परेको थियो । म त हार्ने बानी परेको मान्छे । कहिले तिम्रो खुशीको लागि हारेँ, कहिले आफ्नो इच्छाको लागि हारेँ । कहिले नजानेर हारेँ अनि कहिले जानीजानी हारेँ । फगत एकतमासले हारिरहेँ...हारिरहेँ । मलाई लाग्थ्यो एकदिन मेरा हारहरुको समीक्षा हुनेछ । मलाई चिन्नेहरुले, मलाई जान्नेहरुले...मलाई हराइएकोमा, मैले हारेकोमा दुख मनाउ गर्नेछन् । एकथान सहानुभुति दर्शाउनेछन् । तर मेरो सपनाको त्यो दिन, अहँ...अझै आएन ।
मन कहिलेकाहीँ चैते हुरी झैँ बेग हानेर उठ्छ । आफैभित्रको उकुसमुकसता छरपस्ट बनाउँछ अनि निक्कै अघि छुटेको एउटा विगत सम्झिएर खुब्बै दुखेसो गर्छ । म जति सम्झाउन खोजुँ यो मनलाई, अहँ फिटिक्कै मान्दैन...मान्दै मान्दैन । म बगेर गइसकेको खोलो कहाँ फेरी फर्किन्छ र भन्छु । उ, त्यो पानी बाफ बनेर माथी आकाशमा उड्छ, बादलको ढिक्का बनेर पहाडमा ठोक्किन्छ र फेरी पानी नै बनेर दर्किन्छ भन्दै छुट्टिएको मनको मान्छे फेरी फर्केर आउने आशाहरु जीवितै राख्छ । म समय घर्किसकेको अवगत गराउँदै, आत्मसमर्पणकारी तमसुकमा उसलाई ल्याप्चे लगाउन अह्राउँछु । तर उ मनोगत चिन्तनहरु अघि सार्दै मनको नाता सदैव जीवित रहने दलिल पेश गरिरहन्छ । यसरी मन र मस्तिष्कबीचको तर्क वितर्कसँगै अघि बढ्दैछ जीन्दगी । अघि बढ्दैछ भन्नु भन्दा पनि चल्दैछ भनौँ क्यारे, किनकी अघि बढेको भए त कतै न कतै त पुगिहाल्थ्यो नि, घडीको पेण्डुलम जस्तो एकै ठाउँमा कहाँ बसिरहन्थ्यो होला र । त्यसैले जीन्दगी चल्दैछ मात्रै भनौँ की जस्तो लाग्छ ।  
बाँच्नैपर्ने एउटा जीन्दगी छ ।
जहाँ हाँसोहरु नै बन्धकी छ । ।
नजिक आएर नियाल्नु मलाई
आँखामा कर्णाली गण्डकी छ । । ।

(((((((((((((((((((तोड्दैमा नाता कहाँ तोडिन्छ र)))))))))))))))))))))



हो..मिल्ने भए त तोडिएको नाता एकफेर गाँस्न पाए पनि हुन्थ्यो । उध्रिएको ठाउँहरुमा सिउन पाए पनि हुन्थ्यो । अनि भत्किएका भित्ताहरुमा लिपपोत गर्न पाए पनि हुन्थ्यो । समग्रमा केही भुलहरु सुधार गर्न पाए हुन्थ्यो, केही सत्यहरु उदाङ्गो बनाएर प्रष्ट्याउन पाए हुन्थ्यो । आखिर त्रुटी कहीँ न कहीँ, कसै न कसैबाट भएकै हो । दोषी तिमी पनि छौ र म पनि । हामी दुवैबाट केही न केही भुलहरु भएका छन् । तर बिडम्बना हामीले आफ्ना गल्तीहरु स्वीकार्ने तत्परता देखाएनौँ । आफु निश्कलंक बन्ने प्रयत्न मात्रै ग¥यौँ र दोष जति अर्कोको थाप्लोमा थोपर्ने अहमता मात्रै ग¥यौँ । हुनसक्छ, त्यति नै बेला हामीले सबैभन्दा ठुलो गल्ती फेरी ग¥यौँ, आफ्नो अहमताहरुको संरक्षण गरेर, आफ्ना घमण्डहरुको जगेर्ना गरेर । जसको परिणाम आज भोग्दैछु म, सायद तिमी पनि । 
केही चोटहरु छन् नदेखिने गरि गढेका । मनभित्र लपक्क टाँसिएर बसेका । बेलाबखत ती नै चोटहरु व्यक्तिगत होडबाजीमा बल्झिन्छन्, असाध्यै दुख्ने गरि चरक् चरक् चर्किन्छन् । म छट्पटिन्छु, आलसतालस हुन्छु । पिलो जस्तो निचोरेर फ्याँक्न पनि नमिल्ने, मुखले फु...फु...गर्दै सुस्तरी सुम्सुम्याउन पनि नसकिने, साँच्चै अजीव छ मनभित्रको चोट, अजीव छ । मेरो एक मनले सोँच्छ, चोट पाउनेले जसरी फत्रयाक् फत्रयाक् हुँदै छटपटाएर जीन्दगी बडो पिडापूर्ण तवरले बाँचेको हुन्छ, त्यसको हेक्का हुन्छ होला त चोट दिएर जानेलाई । के कुनैदिन उसलाई आफ्नो पुरानो हर्कतले पोल्छ होला त ? साँच्चै मैले गलत गरेँ भन्ने महसुस हुन्छ होला त उसलाई ? के खाएर हुन्थ्यो । यदि हुँदो हो त प्रायश्चितकै लागि भएपनि एकफेर सहानुभुतिका शब्दहरु त खर्चिन्थ्यो होला नी उसले । फेरी अर्को मनले सोँच्छ, हरेक मान्छे आफुलाई दूधै दूधले नुहाएको पवित्र ठानि टोपल्छ । गल्ती स्वीकार्ने बानी हुँदैन मान्छेको । बरु कसैगरि पनि सही साबित गराउन लागिपर्छ । सायद त्यसैले पनि आफ्नो नजरको निर्दोष भइरहन्छ मान्छे । अरुको नजरको के मतलब उसलाई ।
तिमीसँग अलग्गिएपछि मलाई सानो परिधि मनपर्न थाल्यो । साँघुरो घेराभित्र बाँच्न मनपर्न थाल्यो मलाई । जहाँ तिम्रा यादहरु होउन्, अनि मेरा आँशुहरु होउन् । यादहरु पठाउने तिमी अन्तै भएपनि, आँशुहरु रोइदिने म अन्तै भएपनि एउटा चुँडिएको सम्बन्धको भुल्नै नसकिने छापहरुको साहारामा अर्को मक्किएको जीन्दगी बाँचिरहेका छौँ हामी । हो, मक्किएको जीन्दगी । कहिले ध्वस्त हुने हो केही ठेगान नै छैन । तिमी स्वीकार या नस्वीकार, हामी दुबैको जीन्दगी निक्कै नै धरापमा चलिरहेछ । थाहा छैन कुनदिन हामीबीचको एउटा सत्य उदाङ्गिनेछ र भताभुङ्ग बनाउनेछ हुँदाखाँदाको जीन्दगी । हामीले बडो जतनसँग लुकाएर राखेको हाम्रो सम्बन्धको गहिराई सतहमा आएर प्रष्टिएको दिन पक्कै पनि तिम्रो जीवनमा भुइँचालो आउनेछ । डगमगाउनेछ तिम्रो सँसार र सँगै मेरो पनि । आखिर खास्टोले ढाकेर बिरालो कहाँ लुक्छ र म्याउँ गरिहाल्छ नि ।

म तिमीलाई भेट्न लम्किरहेछु ।
थाहा छैन, बिलाएँ की चम्किरहेछु । ।
यादहरु मेटिएर कहाँ मेटिन्छन् र
हिजो जस्तै आज पनि सम्झिरहेछु । ।

(((((((((((((((((((((मेट्दैमा याद कहाँ मेटिन्छ र)))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget