Wednesday, July 10, 2013

सुन्दरता


महावीर विश्वकर्मा
हाम्रो समाजमा धेरै पहिलेदेखी चलिआएको एउटा उखान छ, “रातो राम्रो गुलियो मिठो ।” हुन त रातो बाहेकको रङ्ग पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो । फेरी पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ । यो भनाई कसरी प्रचलनमा आयो यो भन्ने त थाहा भएन । तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ । तपाईँले पनि ख्याल गर्नुभएको होला हाम्रा साना नानीबाबुहरुलाई रङ्गमा रातो र स्वादमा गुलियो मनपर्छ । अनि यो कुरा हामीमा पनि लागु भएको थियो, सानो छँदा । हामीले पनि रङ्गमा रातो र स्वादमा गुलियो नै रोजेका थियौँ । त्यतिबेलाको छाप अहिलेसम्म पनि हाम्रो मानसपटलमा जरा गाडेर बसिरहेको छ । तर रातो मात्रै राम्रो र गुलियो मात्रै मिठो हुन्छ भन्ने चाहीँ होईन । त्यो त हाम्रो मथिङ्गलमा बसेको छापले सृजना गरेको दृष्टिकोण मात्रै हो । जुन गलत त होईन तर सत्य त्यही मात्रै पनि होईन । ठीक यसरी नै अहिलेका अधिकांश प्रेमहरु शारीरिक सौन्दर्यतालाई केन्द्रविन्दुमा राखेर शुरु हुने गरेका छन् । कोही शारीरिक रुपमा राम्रो अथवा राम्री छ भने धेरै जनालाई मनपर्छ । अनि यसको ठीक विपरीत राम्रो अथवा राम्री छैन भने मन पर्दैन ।

अहिले कलेज पढ्दै गरेका युवाशक्तिले अझ यो कुरालाई बलियो गरि पुष्टि गरिरहेका छन् । सबै युवाशक्तिलाई एउटै घानमा राखेर व्याख्या गर्ने दुस्साहस गर्नु हुँदैन मैले र गर्दिन पनि । तर अधिकांशलाई आधार मान्दा हामीले कलेजमा भोगेको अथवा देखेको एउटा सत्य के हो भने कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको भिडमा को कति राम्रो छ भनेर प्राय कलेजका माथिल्लो कक्षाका पुरुष मित्रहरुको आँखा डुलिरहेको हुन्छ । केहीदिनसम्म त साथीभाईको बीचमा नयाँ विद्यार्थीको चर्चा परिचर्चाले राम्रै स्थान पनि पाउँछ ।  महिला मित्रहरुले पनि यसै गर्छन की , त्यो चाहीँ यसै भन्न सकिनँ मैले । किनकी मैले आफैले कलेज लाईफमा भोगेको र देखेको कुराहरुलाई आधार बनाएर यसो भनिरहेको छु । खैर छाडौँ यो कुरा, यो दृष्टान्त उठाएर मैले भन्न खोजेको कुरा के मात्रै हो भने, अचेल प्रेम भन्ने चिज शारीरिक सुन्दरताको कसीले मापन हुन थाल्यो । त्यसो त पहिले पहिले चाहीँ सुन्दरताको कुनै अर्थ नै हुने थिएन भन्ने पनि होईन । फेरीपनि पछिल्लो समयमा प्रेम सम्पूर्णतया रुपको सौन्दर्यतामा नै केन्द्रित भइरहेको भने अवश्य हो । कसको गर्ल फ्रेन्ड अथवा ब्वाई फ्रेन्ड कति राम्रो भन्ने त होडबाजी नै चलेको देखिन्छ अचेल । साथीहरुसँग भेट हुँदा आ—आफ्नो मान्छेको व्याख्या गरेर पनि धेरै समय बित्न थाल्दैछ हिजोआज ।

सुन्दरता एउटा पुल हो, जसको सहायताले कसैको नजिक भएर उसलाई बुझ्न सकिन्छ । उसको आनीबानी, रुची, व्यवहार सबै अध्ययन गर्न सघाउँछ सुन्दरताले । तर यहाँनेर भइदियो चाहीँ के भने, सुन्दरता नै सर्बेसर्वा जस्तो ठहरिन थाल्यो । सुन्दरता नै प्रेम गर्नका लागि अपरिहार्य योग्यता जस्तो पो भइदियो अहिले त । खाली रुपमा मात्रै निर्भर हुनथाल्यो, अहिले हामीले गरिरहेको प्रेम । उ मेरो लागि कतिको सुहाउँदो छ या उ सँगको सम्बन्ध कति दीर्घकालीन हुनसक्ला भन्ने तर्फ सोँच्ने आवश्यकता नै महसुस गरेनौँ हामीले । जसले गर्दा सम्बन्ध टिकाउ हुन सकेन र युवा जमातमा नैराश्यता, जीवनप्रतिको वितृष्णा, भविष्यप्रतिको गैरजिम्मेवारीपन जस्ता विकराल समस्याहरुले स्थान पाउन थाल्यो । परिणामत केही युवाशक्ति जीवनको महत्व नबुझेर कुलततर्फ पनि अग्रसर भइरहेका छन् । अहिले कुलतमा फसेका युवाको विगत पल्टाउने हो भने अधिकांशको कारण चाहीँ प्रेम भइदिन्छ । प्रेम भनेको त जीवन बाँच्न सिकाउने कला पो हो त । तर यसको भोगाई आलोकाँचो रहँदा हामी प्रेमलाई नै अनेकथरि दोषारोपण गर्न पुगिरहेका छौँ । यतिसम्म की, हामीले अँगालेको गलत बाटोको कारण नै प्रेम हो भन्न समेत पछि परिरहेका छैनौँ हामी । र यी सबै कुराहरुको जड भनेको चाहीँ हाम्रो बुझाई नै हो । र यसो भन्नुको सोझो अर्थ के भने, हामीले प्रेम भनेको नै सुन्दरता हो भनेर जबर्जस्ती बुझ्यौँ । प्रेममा सुन्दरताको अर्थ के त ? भनेर अलिकति सोँच्ने चेष्टा सम्म पनि गरेनौँ । कोही राम्रो अथवा राम्री देखिने बित्तिकै बत्तीमा पुतली होमिए जसरी उ सँग प्रेम गर्न हत्तारियौँ हामी । उ आफ्नो लागि कति ठीक, कत्ति बेठीक भनेर घोरिने फुर्सद सम्म पनि भएन हामीलाई । बरु अरु कसैले पो आफ्नो बनाउला की भनेर जति सक्दो चाँडो सबै सुत्रहरु लगाएर उसलाई आफ्नो बनाउन तल्लीन भयौँ । कालान्तरमा यही कारण नै एक आपसमा अनेकन अनमेलहरु देखिँदै गए र सम्बन्धले स्वतः विघटनको बाटो अँगाल्न पुग्यो ।

मलाई त के लाग्छ भने, सुन्दरता प्रतिको हाम्रो दृष्टिकोण नै गलत छ । हामीले जे लाई अन्तिम सत्य हो भनेर बुझिरहेका छौँ, त्यो आफैमा भ्रमपूर्ण छ । अझ सजिलोसँग भन्नुपर्दा हामीले जे लाई सुन्दर भनिरहेका छौँ वास्तवमा त्यो नै सुन्दर चाहीँ होईन । हामीले अहिले जे लाई राम्री अथवा सुन्दर भनिरहेका छौँ अफ्रिकामा गयो भने त्यो नै राम्री हुँदैन, सुन्दर हुँदैन । उनीहरुको परिभाषामा राम्री हुनका लागि अरु नै कुराहरु चाहिन्छ । त्यसैले पनि रुपको सुन्दरता भन्नु त हाम्रो भ्रम मात्रै त रै छ नि । अनि यो भ्रमलाई नै जानीजानी प्रधानता दिन थालेपछि नतिजा पनि त उस्तै आउने स्वभाविक नै भयो नि । त्यसैले प्रेममा सुन्दरतालाई कुन स्थान दिने भन्ने बारेमा अब हामी प्रष्ट हुनु आवश्यक छ ।

मैले यसअघि पनि धेरैपटक भनिसकेको छु, सुन्दरता बिकाउ हुनसक्ला तर टिकाउ हुन सक्दैन । सुन्दरता टिकाउ हुँदै हुँदैन । उमेर छउन्जेल, वैँश छउन्जेल मात्र हो, सुन्दरता कायम रहने । उमेर घर्किँदै गएपछि सुन्दरता पनि आफै ओरालो लाग्न थाल्छ । सुन्दरता क्षणिक हुन्छ, यो त आउँछ र जान्छ पनि । तर प्रेम गर्न सक्ने क्षमता भने हामीसँग सदैव कायम रहिरहन्छ । र मान्छेलाई प्रेमको आवश्यकता सँधै उसैगरि परिरहन्छ पनि । जवानीमा आवश्यक परेको सुन्दरता बुढ्यौलीमा चाहँदैन मान्छे । तर त्यतिबेला पनि प्रेम भने अनिवार्य आवश्यकता नै भइरहन्छ । प्रेममा सुन्दरताले केही शोभा बढाउन सक्छ तर सुन्दरता बिना प्रेम नै हुन सक्दैन भन्ने चाहीँ होईन । बरु सुन्दरतालाई नै प्राथमिकता दिएर गरिएको प्रेम भने दिगो नहुन सक्छ । उ भन्दा सुन्दर अरु फेला प¥यो भने पनि त्यो प्रेम टुङ्गिन सक्छ अनि उसको सुन्दरतामा गिरावट आयो भने पनि प्रेममा कमी आउन थाल्छ । त्यसैले पनि आजको आवश्यकता भनेको प्रेममा सुन्दरतालाई कति सम्मको स्थान दिने भन्ने हो, सुन्दरता बिना प्रेम हुँदैन भनेर भ्रम पाल्ने होईन । 
Categories:

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget