नाम छैन, जात छैन, थर छैन पिरतीको ।
अरु पनि के के छैन, घर छैन पिरतीको । ।
व्यर्थै किन चिन्ता गर्छौ, भोली कस्ले देखेको छ
जे पनि त हुनसक्छ भर छैन पिरतीको । । ।
(((((((((((((((((
तिमी कस्को हुने होला, म नि कस्को हुने होला
स्वर ः अन्जु पन्त र स्वरुप आचार्य
)))))))))))))))))))))))
खै थाहा छैन भोली के कस्तो हुने हो । कस्ले देखेको छ र, भोली । म त वर्तमानसँग मात्रै परिचित छु । र छु परिचित, वर्तमानमा मैले तिमीलाई गर्ने मायाको परिमाण बारे पनि ।
त्यसो त मायाको परिमाण हुँदैन होला । जोख्न र नाप्न सकिँदैन होला यसलाई । उसोभए भुलवश भएको आफ्नो कमजोरी सच्याउँछु म । र सच्याएर फेरी भन्छु, म तिमीलाई औधी माया गर्छु, मलाई यत्ति थाहा छ । त्यो औधी भनेको चाहीँ कत्ति हो नि ? भनेर नसोध्नु । किनकी बिना तयारी परीक्षा हलमा प्रवेश गरेको परिक्षार्थी जस्तै छु म, जवाफहरुको खडेरीमा ।
मलाई थाहा छैन लैला मजनुको प्रेम कस्तो थियो, न त रोमियो जुलियटको प्रेम बारे नै ज्ञान छ मलाई । त्यसैले पनि म मेरो प्रेमलाई उनीहरुसँग तुलना गर्न सक्दिनँ, त्यसो त तुलना गर्न चाहन्नँ पनि । बस् मलाई यत्ति थाहा छ, म तिमीलाई माया गर्छु ।
तिमी साथमा हुँदा समय बितेको पत्तो पाउँदिन म । जब तिमी छुट्टिएर जान्छौ अनि अर्को भेट कहिले होला भन्ने चिन्ताले पिरोल्छ मलाई । अचेल त झन् एकैछिन् तिम्रो मिसकल नआउँदा मनमा एकतमासको हुटहुटी चल्न थाल्छ । झन् मोबाइल पनि अफ भइदिनुपर्छ, अनि त के चाहियो र । नानाथरिका तर्कनाहरु ठेलमठेल गरेर मनभित्र ओइरिन्छन्, दशैँ नजिकिँदै गर्दा बजारमा मान्छेहरुको भिड बढेजस्तो । हो त्यतिबेला मोबाइलको इनबक्समा गएर तिमीले पठाएकी म्यासेजहरु एक एक अक्षर ध्यान दिएर पढ्छु । बडो आनन्द आउँछ । म्यासेजका शब्दहरु छेउमा बसेर तिमी आफैले मलाई भनेझैँ लाग्छ, कम्ता खुशी लाग्दैन त्यतिबेला । तिमी मेरी हौ र सँधै हुनेछौ भन्ने सोँचिरहेको हुन्छु त्यो बखत । यो मन भन्ने चिज पनि कस्तो हुन्छ भने, सानो कुराले पनि करोडौँको खुशी दिलाउँछ ।
मेरा साथीहरु तिम्रो प्रशंसा गर्छन । तिम्रो रुप, तिम्रो आनीबानी, तिम्रो बोली सब्बै सब्बैको खुब्बै प्रशंसा गर्छन । म छेउमा बसेर एकतमासले सुनिरहन्छु, मन गद्गद् भएर आउँछ, एकखाले खुशीले कता हो कता उडाइदिन्छ मलाई । म पनि उडिरहन्छु चरा जस्तै अनि उडिरहन चाहन्छु सँधै सँधै ।
याद छ, तिमीले एकदिन भनेकी थियौ मलाई, घरमा केही मिठो कुरा पाक्यो भने तिम्रो याद आउँछ भनेर । सँगै बसेर एकअर्कालाई खुवाउन पाइदिए नी हुन्थ्यो भनेर । म यतिबेला लजाई लजाई भन्दैछु, अचेल मलाई पनि त्यस्तै हुन्छ । अस्ति आमाले घरमा सेल पकाउनुभाथ्यो, त्यतिबेला यस्तै सोँचेको थिएँ मैले । तिमीलाई सुनाउँछु भनेर त्यति नै बेला फोन पनि गरेथेँ तर भन्नै लाज लाग्यो । खै किन हो यत्ति धेरै माया लागेको तिम्रो, मलाई नै थाहा छैन ।
थाहा छ, हिजो राती कस्तो नराम्रो सपना देखेँ नी मैले । तिम्रो त अर्कैसँग विहे हुँदो रै छ । अनि म चाहीँ जग्गेको अलि पर खर्सेटोको बोटमा छेल परेर रुँदैरुँदै तिमीलाई हेरिरहँदा रै छु । जब तिमीलाई त्यही बेहुला बनेको मान्छेले लिएर जान लाग्यो अनि त म चिच्याएर रुँदा रै छु । यत्ति नै बेला झल्याँस्स ब्यूँझिएँ म । सपना रै छ भन्ने थाहा पाएँ, यत्ति खुशी भएँ की के भन्ने ।
त्यही सपना देखेपछि मन ठेगानमा छैन मेरो, मनभरि चिन्ताले अड्डा जमाएको छ । खै किन हो, कतै त्यो सपना सुल्टो नै त हुँदैन भन्ने डर मात्रै लागिरहन्छ । अचेल त झन् तिमीलाई नभेटेको पनि कत्ति दिन भइसक्यो । त्यसैले पनि हो की के के कुराहरु मनमा खेलिरहन्छन् ।
जब समयप्रति आश लागेर आउँछ ।
सँगै हुन्छौँ हामी भन्ने विश्वास लागेर आउँछ ।
सपनाहरु पनि जब रुवाएर जान्छन्
छुट्छ की त जोडी ढुकुर त्रास लागेर आउँछ । । ।
((((((((((((((((((((जोडी सुगा मैना जस्तै, लाग्छ छुट्ने छैन जस्तै)))))))))))))))))))))))))
खै थाहा छैन, तिमी कसको हुने हो, अनि म नि कसको हुने हो । तिमी कसको घरमा भित्रिन पुग्ने हो, अनि मैले पनि कसलाई घरमा भित्रयाउन ल्याउने हो । केही थाहा छैन । तर एउटा कुरा के चाहीँ थाहा छ भने, समयले तिमी अर्कैको घरमा भित्रेलाउ अनि मैले अर्कैलाई घरमा भित्राउँला तर पनि हाम्रो मनमा भने अरु कोही भित्रिन सक्ला जस्तो मलाई लाग्दैन । मनको सँघारसम्म त आईपुग्ला कोही तर हामीले एकअर्कालाई जुन स्थानमा राखेका छौँ सायद त्यही स्थानमा चाहीँ अर्को नयाँ मान्छेले ठाउँ पाउँदैन होला । त्यस्तै लाग्छ मलाई ।
देखेको हुँदैन लेखेको चाहिन्छ भन्थे बुढापाकाले । हाम्रो भाग्यमा लेखेको पनि छ की छैन कुन्नी । हामी भने यसरी एकअर्का बिना बाँच्नै सक्दैनौँ की भन्ने भइसक्यो । यो माया भन्ने चिज पनि कस्तो हुने है । आफ्नोभन्दा धेरै, अर्काको माया लाग्ने ।
गुगलको खोजले देखाउँछ मायाको एक अर्ब ३५ करोड नतिजा । हजारौँ पेजले दिएका छन्, मायाको परिभाषा । यहाँ कत्ति किताबहरु छापिए, कति चलचित्रहरु बनाइए, कति कविताहरु लेखिए, अनि कति गीतहरु गाइए, मायाको बारेमा । यदि माया भन्ने विषय नै हुन्थेन भने हामीले गाउने गीतहरु पनि कति नै हुन्थे होला र । फेरी पनि यो माया भन्ने चिजै कस्तो कस्तो, भेउ पाउनै नसकिने ।
इतिहासको एक घडीमा शारजहाँले मुमताजको मायामा ताजमहल बनाए । त्यही ताजमहलमा मायालुको अनुहार अनुभुत गरेर जीवन बिताउने अनगिन्ती शारजहाँहरु अहिले खडा छन् । तर म भने कहिलेकाहीँ सोँच्छु, युद्धमा आफैले मारेको एक सेनाकी श्रीमती मुमताजलाई जबर्जस्ती स्वास्नी बनाएका हुन् शारजहाँले । त्यस्तो पनि प्रेम हुन्छ र ???
त्यसअघि पनि त शारजहाँका अरुपनि श्रीमतीहरु थिए । अनि अचम्मको कुरा मुमताजको मृत्यु भइसकेपछि उन्की वहिनीसँग पनि त विहे गरेकै हुन् नी शारजहाँले । यत्ति कुरा थाहा पाउँदा पाउँदै एउटा ताजमहलमा पैसा लगानी गरेको भरमा म कसरी शारजहाँलाई उत्कृष्ट प्रेमी ठहर गर्न सक्छु र । अहँ कदापी सक्दिनँ । मेरो मन कसैगरि पनि मान्दैन ।
हो म यस्तो चर्चामा आएको तर भित्र अर्र्कै रहस्य लुकेको जस्तो प्रेम गरिरहेको छैन तिमीसँग । र त्यस्तो गर्ने पनि छैन कदापी । जीन्दगी हो, यसै भन्न सकिन्न । हामीले हिँड्दै गरेको बाटो पनि कुनै दोबाटो चौबाटोहरुमा पुगेर अलग्गिन पनि सक्छ । तर पनि विश्वास गर्नु मेरो मनभित्र तिमी जहाँ बसेकी छ्यौ नी, त्यो ठाउँ तिम्रो लागि सँधै सुरक्षित हुनेछ । त्यहाँ तिमी नहोलिउ त्यो बेग्लै कुरो, तिम्रा यादहरु हुन्छन् नी । तिनीहरुलाई पनि असाध्यै जतनसँग सम्हालेर राख्नेछु म ।
के गर्ने जीन्दगी अनिश्चित जो छ । कालिगढले रिट्ठाको फिँजमा टल्काएको गहना जस्तो टर्लक्क कहाँ टल्किन्छ र जीन्दगी ।
छुटेपछि हामी पनि रुने त होला नी ।
जानीजानी सँधै टाढा हुने त होला नी । ।
यस्तो माया लुकाएर बाँच्नुपर्दा के हुने हो
मनको तस्बीर एकान्तमा छुने त होला नी । । ।
((((((((((((((((हेर्दै रुन्छौँ हातको धर्का, कता घुम्ला भाग्य चर्खा)))))))))))))))))))))