म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे...
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।
प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।
मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम ।
जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।
अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।
जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।
आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।
प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।
हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।
किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म ? तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।
म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।
म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र...प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।
त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।
तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।
ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ ।
चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।
श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् । विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध ।
फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।
हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।
तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
......महावीर विश्वकर्मा.....