Tuesday, February 18, 2014

चरीको कथा...


......महावीर विश्वकर्मा
 (2070/11/05)

म आज तपार्इंलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको
सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।

आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा...त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर भर्खर जोडी बनेका ती सुन्दर चरा र चरीको कथा...।

त्यो घना जंगलको बीचमा एउटा रुख थियो । जहाँ बस्नका लागी सुन्दर गुँड थियो...घुम्नका लागी खुल्ला आकाश थियो । कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गगर खोस्रिएर अघाउँथे । खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु । त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे खुशी हुन्थे उनीहरु ।

चरोको एउटा बानी थियो । जब आहारा भेट्थ्यो अनि भुर्रर उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले मुख आँ गर्थिन् अनि चरोले उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले खाइदिन्थ्यो । त्यतिबेला चरीले रिसाएझैँ गरेर उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर मुन्टो फर्काएर ठुस्किन्थिन् । तब त्यो चरो उनलाई जिस्काउँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी, तिमी किन सँधै यसैगरि सताउँछौ मलाई । चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी, होला खुब्बै भन्दै आहारा खोस्थी, अनि दुवैजना हाँसीहाँसी खान थाल्थे । यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु ।

तर एकरात बेस्सरी हुरी चलिरहेको थियो । दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए । एक्कासी ठुलो आवाज आयो । आफु हुत्तिएर भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर छेउमा चरोलाई हेरि, देखिन ।

अलि परपट्टी आफुहरुको गुँड देखी, सकी नसकी दौडिँदै त्यहाँ पुगी, भत्किएको थियो त्यो । भित्र चरो छ की भनेर हेरि, अहँ देखिन । हुरी चलिरहेकै थियो, पानीको छिटा पनि शुरु हुन आँटेको थियो । एकैछिनमा दर्किएर पानी प¥यो । बिजुली चम्किन थाल्यो । बिजुली चम्किएकै उज्यालोमा रुझ्दै रुझ्दै चरोलाई खोजीरही उसले । तर फेला पार्न भने सकिन ।

खोज्दा खोज्दै थाकी तर भेटिन उसले अनि छेवैको रुखको चरा मुन्तिरको खाल्डोमा ओत लागेर बसि । रात अझै उघ्रिएको थिएन । मनमा अनेकन कुराहरु खेल्न थाले । कतै केही पो भयो की चरोलाई भन्ने सोँच्दा जीउ ढक्क फुलेर आउँथ्यो उसको । न उ पनि रुझ्दै रुझ्दै मलाई नै खोजिरहेको पो छ की भन्ने सोँचाई मनमा आउँदा एकफेर त्यो ओतबाट बाहिर निस्किएर हेर्थी । बाँकी रातभरि यही क्रम चलि नै रह्यो ।

विस्तारै रात भाग्यो, उज्यालो भयो । अनि उ पनि बाहिर निस्किएर चातैतिर खोज्न थाली चरोलाई । खोज्दै अलि पर के पुगेकी थिई, एउटा ढुङ्गाको कापमा पछारिएर प्राण उडिसकेको चरोलाई भेट्टाई उसले ।

हत्तारिएर नजिक पुगी, मुखबाट केही रगत बगेको थियो । पानीले भिजेर पखेँटा एकै डल्लो परेका थिए । आँखा बन्द थियो, छेउमा केही प्वाँखहरु खसेका थिए, ती पनि भिजेर भुइँमै टाँसिएका थिए ।

त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे पानी दर्कियो । तर त्यो पानी बाहिरबाट हाईन, चरीको आँखाबाट दर्कियो । जसले एकपटक फेरी लुछ्रुप्पै भिजायो, भुइँमा लम्पसार परेको चरोलाई ।

एकादेशमा जंगल थियो त्यहीँ बस्थे चराचरी ।
सँसार भन्नु खुल्ला आकाश, उडिरहन्थे घरीघरी । ।
एकदिन ठुलो हुरी आयो, हाँगा भाँच्यो, चरो मरे
अनि कठै ती चरी त एक्ली भइन् सँधैभरि । ।

रोएरै बसिरही चरी, मृत चरोको छेवैमा । केहीबेरमा घाम लाग्यो, दिन भयो । उ भने बेप्रवाह आँखाबाट आँशुको बलेसी बगाउँदै थच्चिरही त्यहीँ । जब उसको प्रिय चरोलाई कमिलाका ताँतीहरुले घेरिरहेको उसका टिलपिल भरिएका आँखाले देखे । अनि रुँदै रुँदै पानीले भिजेको कमलो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले खोस्रिँदै सानो खाल्डो जस्तो बनाई ।

अनि चरोलाई चुच्चाले च्यापेर घिसाद्रै त्यो खाल्डोमा हालेर पुरिदिई । एकछिन त्यही सानो खाल्डोमाथी आँशु चुहाई । अनि खै के सोँचेर हो, एकपल्ट पनि पछि फर्किएर नहेरिकन बेग हानेर बत्तिइ ।

पहिले यसैगरि बेग हानेर आकाशमा बत्तिँदा चरो कहिले उ भन्दा अघि हुन्थ्यो, अनि कहिले पछि । तर यतिबेला भने उ एक्लै अघि भइरहेकी थिइ । सायद अब सँधै यसैगरि उ मात्रै अघि भइरहँदी हो । किनकी छिनछिनमा उसलाई उछिनेर अघि जाने उसको प्रिय चरोलाई निक्कै पर छोडिसकेकी थिई उसले । उसले छोडेकी थिइन । उ आफै छुटेको थियो । अझ भनौँ नियतिले छुटाएको थियो उसलाई ।

रुँदैरुँदै उडेकी चरी निक्कै डाँडा काटेर टा..ढा.... पुगी । बस्ने ठेगान नै खोसिएकोलाई के छ र । जहाँ रात पर्यो त्यहीँ बास् । अनि जहाँ बास् बस्यो, त्यहीँ घर । त्यो रात त्यहीँको एउटा रुखमा ओत लागेर बिताई उसले ।

हिजोको निरन्तरको उडाईले होकी, मनमा पिर भएर हो, विहान भएपछि फेरी उड्नै सकिन उ, उड्ने जाँगर पनि आएन । यसैगरी केही दिन त्यहीँ बिताई । जब उडेर अन्तै जाउँ की भन्ने सोँची, अनि मनमा लाग्यो, आखिर जानु पनि कहाँ । कसलाई पो भेट्नु छ र । को नै पो छ र आफ्नो भन्ने । यस्तै सोँची, अनि जहिलेसम्म हुन्छ त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरि ।

विस्तारै केही दिनहरु बिते । रातहरु दिनसँगै बित्ने नै भए । एक विहान जब उ ब्यूँझिएर गुँडबाट बाहिर निस्की । तब केही परको रुखमा बसेको एउटा चरो उसैलाई हेरिरहेको पाई । चरो भुर्रर उडेर नजिक आयो । अनि आफुले चरिलाई धेरै दिनदेखी हेरिरहेको बताउँदै साध्यो-

'तिमी किन कहिल्यै पनि उडेर बाहिर जाँदैनौ ?'

चरीले भनी, 'यसै' ।

'तिमीलाई यो नयाँ ठाउँमा रमाइलो लागेन हो ?' त्यो अपरिचित चरोको प्रश्न

'खै थाहा छैन' चरीको जवाफ ।

'किन थाहा नभएको नी ?' प्रश्न माथीको प्रश्न ।

'त्यो पनि थाहा छैन ।' फेरी उस्तै जवाफ ।

'तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र ?'

'मन ?????'

एक्कासी झस्किइ चरी, त्यो मन भनेको सुनेर । अनि आफु पनि प्रिय चरोसँग कहिले अघि र कहिले पछि वेग हानेर उडिरहेको दिनहरु र त्यही प्रिय चरोलाई चुच्चोले घिसारेर खाल्डोमा पुरेको दिन एक्कैपटक सम्झी उसले । अनि, ठुलो अन्यौलमा परि, त्यो नयाँ चराले सोधेको जस्तो उसको मन आफैसँग छ की छैन भनेर । कति प्रयत्न गरि तर पत्ता लगाउन सकिन ।

उ केही बोलिन, यसै निरुत्तर बसिरही । त्यो नयाँ चरा भुर्रर उडेर गयो । अनि एकैछिनमा फेरी उसैगरि टुप्लुक्क आईपुग्यो । अनि चुच्चाले च्यापेर ल्याएको आहारा चरीलाई दियो । उसले एकछिनमा खान्छु भनेर गुँडमा राखी ।
क्रमश : यसैगरि नजिक भए उनीहरु ।

चरा चरीसँग नजिक हुन थाल्यो । विस्तारै गुँडबाट केही परसम्म उडाएर लैजान थाल्यो । त्यसरी उड्दा त्यो चरा कहिले अघि त कहिले पछि हुन्थ्यो । हो यति नै बेला बेस्सरी सम्झिन्थी चरी, आफ्ने प्रिय चरोलाई । सायद रुँदी पनि हो त्यतिबेला । उसैलाई सम्झिएर ।

यसैगरि बित्दैथे दिनहरु । बिस्तारै चरीको मनमा बसिरहेको थियो नयाँ चरा । एकदिन त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो -

'अब सँगै एउटै गुँडमा बसौँ' भन्ने प्रस्ताव ।

उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले बेस्सरी मुक्का हाने झैँ भयो । केही बोलिन् । चरा भुर्रर उडेर गयो । अलिबेरमा आयो । अनि ल्याएको आहारा खान चरीलाई मुख आँ गर्नु भन्यो, चरीले पनि त्यसै गरि ।

तर उसले चरीलाई नदिई आफैले पो खायो, त्यो आहारा ।

अनि चरीलाई जिस्काउँदै हाँसिदियो ।

उसको यो व्यवहारले आफ्नो प्रिय चरोको याद दिलायो चरीलाई ।

उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै गरेको सम्झिइ ।

अनि गहभरि आँशु पारि । त्यो देखेर त्यो चराले, 'ल ..किन रोएको ? जिस्काएको पो त' भन्दै अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो ।

अनि त झनै भक्कानिएर रोई चरी । चराले त त्यो कुरा बुझेन बरु 'तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है !' भन्दै भुर्र उड्यो ।

उडेको मात्रै के थियो, परबाट कसैले हानेको गुलेलीको मट्याङ्ग्रोले छातीमै लागेर खुत्रुकै भुईँमा खस्यो ।

सायद आईया !!!! पनि भन्न नपाएर ठहरै भयो उ ।

एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत जस्तै भई चरी । सायद उ पनि चराको 'एउटै गुँडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थी', तर त्यो सुनाउन नपाउँदै फेरी एक्लै भई चरी ।

पहिले जस्तै फेरी उसको, मन टुट्यो सँधै भरलाई ।
जेनतेन हाँस्न खोज्दा खोज्दै खुशी लुट्यो सँधैभरलाई । ।
विचरीलाई आँशु मात्रै दैवको त्यो लेखा कस्तो
जोड्न जोड्न खोजिएको साथ छुट्यो सँधै भरलाई । । ।
Categories:

1 comment :

  1. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com






    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com



    L
    Mrs: comfort

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget