अनि त्यहीँबाट बाटो मोडिएको हो ।
केही पाईएको हो, केही छोडिएको हो । ।
मनभरिको थकाई बिसाएपछि त्यतै
तिमीसँगको नाता यसरी जोडिएको हो । । ।
हिँड्दै थिएँ एक्लै एक्लै, बाटो औधी अत्यास लाग्थ्यो ।
कहिले दिक्क लाग्थ्यो अनि कहिले निकै प्यास लाग्थ्यो । ।
अघि पुग्न हिँड्नैपथ्र्यो, र त एकनास हिँडिरहन्थेँ
यस्तै होला जीवन भन्थेँ, त्यही बाँच्ने अभ्यास लाग्थ्यो । । ।
अब केही तिम्रो सुनाउ, के पो गर्दै थियौ प्रिया ?
लेक चढ्दै थियौ कि त, बेसी झर्दै थियौ प्रिया ?
निकै वर गोरेटोमा म त बराल्लिँदै थिएँ
वारी आईसक्याथ्यौ की, जङ्घार तर्दै थियौ प्रिया ?
छिल्लिन्छ यो मन, चकचक गरिरहन्छ ।
केही सही अनि केही गलत गरिरहन्छ । ।
यो साउन हुन्जेल, यो झरी परुन्जेल
सायद बदमासी जस्तो, लगभग गरिरहन्छ । । ।
झरी उस्तो हो की, तिम्रो तन उस्तो हो ।
लाग्न त लाग्छ मलाई, बदन उस्तो हो । ।
नहेरुँ भन्छु एकनास, नसोँचु भन्छु यस्तो
यो आँखा उस्तो हो की मन उस्तो हो । । ।
तिमी रुझ्दा चुपचाप बस्ने ज्ञानी बन्न पाए हुन्थ्यो ।
या त आफै रुझाईदिने खानी बन्न पाए हुन्थ्यो । ।
कहाँ बग्ने, कहाँ सुक्ने नियम लाग्छ मान्छेलाई त
नियम मिचि बर्षिदिने पानी बन्न पाए हुन्थ्यो । । ।
यी मान्छेहरु पनि ताल तालका कुरा गर्छन ।
न तथ्य न तर्क, के खालका कुरा गर्छन । ।
भन्छन् — एक्लो त सतीसाल मात्रै हुन्छ
नपत्याउँदो गरि पनि बबालका कुरा गर्छन । । ।
हिँड्दा हिँड्दैको बाटो हराए जस्तो लाग्छ ।
टाढा बसेर कोही यतै कराए जस्तो लाग्छ । ।
हिँड्न त हिँडेकै हुँ, एक्लै एक्लै यहाँसम्म
अब भने किन यो मन डराए जस्तो लाग्छ । । ।
जीवनबीच कतै वाचा कबुल भएर पो त ।
के गर्ने के नगर्ने, ढुलमुल भएर पो त । ।
त्यसो त यसै कहाँ एक्लो भएको हो र
बोकी हिँडेको केही विचार फजुल भएर पो त । । ।
कहाँ पुग्यो होला मलाई छोडेर गाको मान्छे ।
हुँदाखाँदाको एउटा नाता तोडेर गाको मान्छे । ।
किन सम्झनामा आउँछ, अनि सपनामा आउँछ
वर्षौैंँ पहिले पाईला अन्तै मोडेर गाको मान्छे । । ।
यो प्रेम, यो जीवन होला नहोला ।
म हुँला तर मन होला नहोला । ।
टाढा...धेरै टाढा..पुग्नेछु म पक्कै
यो सँधैको गन्थन होला नहोला । । ।
केही धोका थियो, केही घात थियो ।
उता झकिझकाउ, यता बर्बाद थियो । ।
तिमी खुशी थियौ, सबै खुशी थिए
मात्र म थिइनँ, बाकी ठीकठाक थियो । । ।
धक लागे जस्तो भाछ डर लागे जस्तो भाछ ।
फेरी तिमी तिरै आउने रहर लागे जस्तो भाछ । ।
यस्तो यता मात्रै हो कि, उता पनि हुन्छ
हिक्क बाडुल्की जस्तै, भर्खर लागे जस्तो भाछ । । ।
अहिले नजिकका हामी, भोली टाढिनु छँदैछ ।
हिँड्दा हिँड्दैको बाटोबाट, कतै छाडिनु छँदैछ । ।
तिमी अर्कैकी हुन्छ्यौ, म अर्कैको हुन्छु
सम्झेर आजको दिन फेरी आत्तिनु छँदैछ । । ।
गाउँ सोधेर बसुँला, तिम्रो शहर सोधेर बसुँला ।
अझै चिनेजानेका आए, घर सोधेर बसुँला । ।
आएनछन् भने कोही, या भेटिनछु भने मैले
बतासलाई पनि तिम्रो, खबर सोधेर बसुँला ।
यात्रा उही, पुग्नु उहीँ, बाटो भिन्दै कसोगरि ?
घाउ पनि उस्तै तर खाटो भिन्दै कसोगरि ?
सम्झिएको जस्तो छैन, बिर्सिएको पनि हैन
फेरी हामी बस्ने मनको, पाटो भिन्दै कसोगरि ?
बीचैमा कतै छुटेको साइनोको कुरा गर्नुछ ।
पछि अन्तै जुटेको साइनोको कुरा गर्नुछ । ।
थाहा छ सबै व्यर्थ, व्यर्थै हो सम्झनु पनि
र पनि उहिल्यै टुटेको साइनोको कुरा गर्नुछ । । ।
भित्री मनमा दुखेपछि मान्छे एक्लै हुन्छ ।
अनि आँशु सुकेपछि मान्छे एक्लै हुन्छ । ।
फकाउन भनिदेलान्, सँगै बाँच्छु, मर्छु पनि
उता रहर पुगेपछि, मान्छे एक्लै हुन्छ । । ।
सम्झनाले सँधै सँधै डसिरहने रै छ ।
अनि तलतलमा मन फसिरहने रै छ । ।
दिलमा पनि लाग्छ चोट, मनमा पनि लाग्छ
तर मनमा लाग्ने चाहीँ बसिरहने रै छ । । ।
उही मान्छे बिनासित्ति प्रिय लाग्छ सँधैभरि ।
याद गर्न सिकिसिकि प्रिय लाग्छ सँधैभरि । ।
भेटिएको एउटा मान्छे, छुटिएको धेरै भयो
तर किन यतिविधि प्रिय लाग्छ सँधैभरि । । ।
यो मायाको गणित यस्तै हुँदो रै छ ।
के ठीक के बेठीक यस्तै हुँदो रै छ । ।
प्रेम दर्तै हुन्न, झन्झट हटि गयो
न गाविस न सचिव यस्तै हुँदो रै छ । । ।
खुशी खरिद बिक्रि हुने त्यस्तो कुनै दोकान छैन ।
भए पनि यतिबेला दोकान भित्र सामान छैन । ।
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कसले देखेको छ
कहाँ पुगी मरिने हो, जीन्दगीको ठेगान छैन । । ।
चिठी पत्रको कुरा उत्तानो भइसकेछ ।
ती हुलाकी दाई, त्यो हुलाक बिरानो भइसकेछ । ।
हामीले बाँचेको जुग त कहाँ बाँकी रह्यो र
मोबाइल भित्रिएसँगै सँसार सानो भइसकेछ । । ।
केही सुन्नु छ तपाईँको, केही सुनाउनु पनि छ ।
एकैछिनमा धे....रै माया लगाउनु पनि छ । ।
के छ र जीन्दगी, बाँचुञ्जेल न हो
बहकिनु छ, सँगै बहकाउनु पनि छ । । ।
प्रेम गर्ने त्यो मन बदलिन्छ कसरी होला ।
त्यति धेरै माया पनि सकिन्छ कसरी होला । ।
यस्ता धेरै प्रश्न आउँछन् र हराउँछन् पनि
छुटेको मान्छे चाहीँ फेरी, बल्झिन्छ कसरी होला । । ।
हैन यी केटाकेटी किन यस्तो गर्छन ?
शिखर चढ्छन् अनि फेरी झट्टै फेदी झर्छन । ।
नदिए त आफु बीचमा प्रेम नभए झैँ गरि
फेसबुकको पासवर्ड माग्न लम्पसार नै पर्छन । । ।
पासवर्ड लिन सक्छन्, पासवर्ड दिन सक्छन् ।
यसैलाई साँचो माया सम्झिन सक्छन् । ।
सम्बन्ध त सानो धागोले जोडिएको हुन्छ साथी
क्षणमै चुँडिन सक्छन, पलमै फुत्किन सक्छन । । ।
साँच्चै जीवन अर्कै हुन्थ्यो, तिमी आएदेखी ।
खुशीको त लर्कै हुन्थ्यो, तिमी आएदेखी । ।
उराठ भएँ, उजाड भएँ, यस्तै लाग्न थाल्यो
र त मनमा हर्कै हुन्थ्यो, तिमी आएदेखी । । ।
यो साउनले वर्षेनि झरी लिएर आउँछ ।
अनि सम्झना अनेकौँ मनभरि लिएर आउँछ । ।
न कहिल्यै आउँछ एक्लै, न जान्छ नरुझाई
केही यादहरु साथमा यसैगरि लिएर आउँछ । । ।
के के गर्न खोज्छ यो मन, के के बन्न खोज्छ ।
चुपचाप बस्न खोज्छ कहिले, सबै भन्न खोज्छ । ।
रुझेकालाई परैबाट हेरे मात्रै हुन्थ्यो
केशबाट खस्ने पानी थोपा गन्न खोज्छ । । ।
गल्छीहरु हुँदै कति मोडहरु हुँदै ।
अघि बढिरह्यो जीवन जोडहरु हुँदै । ।
वाधा अनेक पन्छाउँदै सँगै हिँडिएछ
केही मिलन अनि केही विछोडहरु हुँदै । । ।
व्यक्ति फरक भएसँगै, फरक आफ्नोपन हुन्छ ।
आफ्नो जीन्दगीको फेरी आफ्नै भोग चलन हुन्छ । ।
मौका मिल्नु नमिल्नु त फरक कुरा हो नि साथी
तर हरेकसँग एउटा बहकिने मन हुन्छ । । ।
यो मन, यी आँखा गलिरहन्छन् भन्छन् ।
जब मनकै मान्छेले पनि छलिरहन्छ भन्छन् ।
बाटामा भेटिने कतिपय बाटैमा छुटिन्छन्
र पनि जीन्दगी त चलिरहन्छ भन्छन् । । ।