महावीर विश्वकर्मा
उबेला
यस्तै झरीमा
छेउमा छाता समाउने तिमी हुन्थ्यौ
एक पाखो भिजेको बाहाना गर्दै
झन्झन् नजिकिने म हुन्थेँ
तिमी सर्माएझैँ गथ्र्यौ
म अझै भिजे झैँ गर्थेँ
तिमी बदमास भन्थ्यौ
म त्यै त भनिदिन्थेँ
तिमी कुहिनाले हान्थ्यौ
म अन्तै हेरेर फिस्स हाँसिदिन्थेँ
तिमी रिसाएझैँ चिमोटिदिन्थ्यौ
म घुक्र्याए झैँ छाता बाहिर निस्किदिन्थेँ
मलाई रुझ्न नदिन
तिमी छाता भित्र तान्थ्यौ
म लाडे पल्टिन्थेँ
अनि झरि परिरहुन्जेल
यही दोहोरिरहन्थ्यो
आज
उस्तै झरि परिरहँदा
म तिमीलाई सम्झिन्छु
त्यो छातालाई सम्झिन्छु
सम्झिन्छु, म मात्तिएको पनि
अनि तिमी ठुस्किएकी पनि
तिमी कुहिनाले उसैगरि घुस्सा हान्छ्यौ, यादहरुमा
म त्यही सम्झेर फिस्स हाँसिदिन्छु, यथार्थमा
तिमी चिमोटिदिन्छौ, त्यो पनि सम्झनामा
म कोठा बाहिर निस्किन्छु, छाताबाट जस्तै
एकछिन रुझ्छु
रुझिरहन्छु
मान्छेहरुले देख्छन्
म रुझिरहन्छु
कोठाभित्र बोलाउने कोही हुँदैन
हो यही बेला
खुब्बै सम्झिन्छु तिमीलाई
देख्नेहरु सोँच्छन्, झरीमा रुझेछ
यसरी मेरा आँशुहरु पनि
अचेल, झरी भनेर चिनिन्छन् ।