....महावीर विश्वकर्मा
तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति शब्दहरु लेखेको छु
मैले कत्ति—कत्ति वाक्यहरु लेखेको छु
र ती सबै सबै लेखिरहँदा
तिमीलाई दोहो¥याई तेहे¥याई सम्झिरहँदा
लेखेका अक्षरहरुभन्दा बढी
सम्झेका सम्झनाहरु भन्दा बढी
मेरा आँशुहरुले मलाई छोडी गएका छन् ।
तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति प्याकहरु रित्याएको छु
मैले कत्ति—कत्ति बोत्तलहरु सिध्याएको छु
र ती सबै सबै पिइरहँदा
तिमीलाई फेरी फेरी सम्झिरहँदा
पिएका घुट्कोहरुभन्दा बढी
ननिख्रिएका प्यालाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् ।
तिमीलाई सम्झिँदा
मैले कत्ति—कत्ति रातहरु अनिँदो बिताएको छु
मैले कत्ति—कत्ति दिनहरु कहाँ कहाँ हिँडेको छु
र यसरी जीन्दगी बाँचिरहँदा
तिमीलाई उसैगरि सम्झिरहँदा
बिसाएका थकाईहरुभन्दा बढी
हिँडेका पाईलाहरुभन्दा बढी
मेरा आँशुहरुले मलाई छोडि गएका छन् ।
प्रिय मान्छे
अब,
खोलाले किनारलाई जसरी होईन
चङ्गाले लट्टाईलाई जसरी होईन
बरु,
झरीले बादललाई जसरी
यात्रीले बाटोलाई जसरी
एकपटक भुल्न मन लागेको छ तिमीलाई
अनि सँधै भुलिरहन मन लागेको छ तिमीलाई
तर मेरो दुखेसो
भुल्नकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
बिर्सिनकै लागि पनि त सम्झिनुपर्दो रहेछ एकफेर
र त, अचेल
तिमीलाई सम्झिरहेछु म
भुल्नकै लागि सम्झिरहेछु
भुलिरहनका लागि सम्झिरहेछु
ओ...अझै प्रिय मान्छे
तिमीलाई लाग्ने बाडुल्की
कुनैदिन सँधै सँधैलाई रोकियो भने
तिमीले देख्ने सपनाहरुबाट
कुनै रात म सँधै सँधैलाई हराएँ भने
भन्ठान्नु, मैले पिउन छोडिदिएको छु
भन्ठान्नु, मैले लेख्न छोडिदिएको छु
अनि सँगै भन्ठान्नु,
मैले बाँच्न पनि छोडिदिएको छु ।
0 comments :
Post a Comment