हाँसो पनि किनबेच हुन्छ, अजीवको छ दुनियाँ यो ।
बजार भाउ आफै चुन्छ, अजीवको छ दुनियाँ यो । ।
घरतिर कुनै भिक्षु आउँदै गर्या देख्यो भने,
परैबाट दैलो थुन्छ, अजीवको छ, दुनियाँ यो । । ।
(((((((((((((((((मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो, स्वर : शिव परियार )))))))))))
युग फेरियो, मान्छे फेरिए । समय बदलियो, मान्छे बदलिए । तर यही समयसँगै अघि बढिरहेको एउटा मान्छे म भने यो दुनियाँभन्दा सँधै फरक भएर बाँच्न चाहिरहेँ । अरु हिँडेको बाटो पछ्याउनु भन्दा आफ्नै बाटो बनाउन चाहिरहेँ । आफ्नो जीन्दगीको रथ आफ्नै तरिकाले हाँक्न चाहिरहेँ । आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ । मैले वरिपरिका जति पनि मान्छेहरु देखेँ, ती कसैले पनि आफ्नो जीन्दगी आफ्नै रुची अनुसार बाँचेको देखिनँ । कसैले आमा बुबाको रुची अनुसार बाँचेको देखेँ, कसैले छोराछोरीको रुची अनुसार बाँचेको देखेँ । कसैले श्रीमान श्रीमतीको रुची अनुसार अनि कसैले प्रेमी प्रेमिकाको रुची अनुसार बाँचेको देखेँ ।
मैले बुवाआमाले भने जसरी नै बाँच्नुपर्छ, मैले छोराछोरीले चाहेको मात्रै गर्नुपर्छ, मेरो जीवन साथीको इच्छा अनुसार म चल्नुपर्छ, उसको खुशीको लागि पनि मैले उसको रुची अनुसार अघि बढ्नैपर्छ....यस्तै भन्दाभन्दै धेरैले आफ्नो जीन्दगी अरुको ईशारामा बाँचिरहेको देखेँ मैले । अनि मलाई ती सबैको जीन्दगी बेतुकको लाग्यो । बेफ्वाँकको लाग्यो । यो शरीर कति दिन यो दुनियाँमा थामिन्छ भन्ने थाहा छैन । फेरी यति अमूल्य समय आफ्नो लागि चाहीँ खै त ? यही प्रश्नले हरबखत लघारिरह्यो मलाई । अनि आफ्नो जीन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ मैले । यहीकारण त म बिल्कुल फरक भएँ यो दुनियाँभन्दा । अपवाद भएँ, यहाँका मान्छेहरुभन्दा ।
सबै तरकारी मिसाउन मिल्ने आलुमा सिस्नु चाहीँ मिसाएर पकाउन नमिले जस्तै भइरहेँ म । मलाई थाहा छैन, म लगभग धेरैसँग मिलिदिने आलु भएँ की, कसैसँग नमिल्ने सिस्नु भएँ । अहँ थाहा छैन मलाई । त्यसो त मैले त्यो थाहा पाउने प्रयत्न पनि गरिनँ भन्दा हुन्छ । किनभने त्यो मेरो चासोको कुरा नै थिएन । म त बस्, आफ्नो जीन्दगी आफ्नै ढङ्गले बाँच्न चाहन्थेँ मात्रै । तर सायद निक्कै नै अडमिल्दो भएँ म यो समाजभन्दा । यहाँका मान्छेहरुभन्दा । त्यसैले त मेरा भावनाहरु यहाँ कसैले बुझेनन् । तँ कति खुशी छस् ? भनेर मलाई कसैले सोधेनन । सोधे त, कति कमाउँछस् तैँले ? भनेर सोधे । के के जोडिस् त सम्पत्ति ? भनेर सोधे । मलाई थाहा छ, यो दुनियाँ जति नै अभ्यास गरे पनि मेरो खुशीको मूल्य निर्धारण गर्न सक्दैन । तर उ सोध्न चाहीँ सोधिरहन्छ जीन्दगी कै नापतौल गर्ने उसका बकम्फुसे प्रश्नहरु ?
मलाई हिसाब किताबको जीन्दगी चाहिँदैन ।
साँच्चै पश्चातापको जीन्दगी चाहिँदैन । ।
चरा जस्तै गरि उडिरहन पाउँ
डेबिट क्रेडिट, वासलातको जीन्दगी चाहिँदैन । । ।
(((((((((((((((((((भावनालाई चाहनालाई किन हो तराजुमा जोखिन्छ)))))))))))))
जीन्दगी खरिद विक्रीको नियमभन्दा, नाफा नोक्सानको नियम भन्दा धेरै पर भइदिए हुन्थ्यो जस्तो लाग्छ । फाइदा बेफाइदाको जोड घटाउ भन्दा कोशौँ टाढा रहिदिएहुन्थ्यो जस्तो लाग्छ । म सँग तिमीलाई म माया गर्छु भन्नेले, मलाई पनि तिमीले माया गर्नुपर्छ भनेर शर्त अघि नसारोस् भन्ने लाग्छ । म त्यस्ता सम्बन्धहरुमा गाँसिन चाहन्छु, जसले बेफिकर, बेप्रवाह एकोहोरोपन देखाइरहोस् मात्रै । बदलामा सो सरह वा सो भन्दा बढीको प्रतिफलको आशा नगरोस् । यस्तै चाहन्छु म । तर मेरा चाहनाहरु बालुवामा पानी हाले जसरी बेअर्थको भइदिन्छ ।
समग्रमा म त्यस्तो जीन्दगी चाहन्छु, जुन नदी जस्तै बगिरहोस् समुन्द्र भेट्नका लागि, ताल बनेर एकैठाउँमा जम्मा नभइदियोस्, लेउ लाग्ने गरि । त्यस्तै जीन्दगी चाहन्छु म । तर बिडम्बना म त त्यस्तो अजीव खालको किताब भएछु, जसलाई सबैले सजिलै पढेपनि बुझ्न भने कसैले नसक्दा रहेछन् ।
साँच्चै भन्नुपर्दा, यो साँसारिक दुनियाँभन्दा अलि प...र..को दुनियाँमा आफैलाई लैजान चाहिरहेँ मैले । अरुहरुले बाँचिरहेको साँघुरो जीन्दगीभन्दा अलि फराकिलो जीन्दगी बाँच्न चाहेँ । तर यो दुनियाँले भने सँधै साँसारिक लगाम लगाउन खोजिरह्यो मात्रै । अंकुश लगाउन खोजिरह्यो मात्रै ।
मैले यस्ता धेरै मान्छेहरु देखेको छु, जो धान्याचल महायज्ञमा थुप्रै पैसा दिन्छु भन्ने घोषणा गरेर दुनियाँको अगाडी फूल माला पहिरिँदै ईज्जत बढाउँछन् अनि पछि पैसा दिने भाका सार्दा सार्दै आफै बेपत्ता भइदिन्छन् ।
अनि यस्ता धेरै मान्छेहरु देखेको छु, जो राती अँध्यारोमा त्यही ठाउँमा शौच गरिदिन्छन्, जहाँ उनीहरु दिनमा भने गर्न सक्दैनन् । फोहोर हुन्छ भन्ने चिन्ताले हैन, मान्छेले देख्यो भने ईज्जत जाने डरले मात्रै उनीहरु दिउँसो त्यहाँ शौच गर्दैनन् । वातावरण फोहोर हुने चिन्ता हुँदो हो त राती किन शौच गर्थे त्यहाँ । अरुलाई देखाउनका लागि कति धेरै सभ्य बनिटोपल्छ मान्छे ।
यो यस्तै यस्तै मान्छेहरुले एकअर्काको खराबीलाई तैँ चुप मै चुप भन्दै बस्ती बसाएको दुनियाँ न हो । कसको पोल कसले खोल्ने । उनीहरु त सबै एउटा दौडमा छन्, जीन्दगीको । यहाँका मान्छेहरुको हानथाप, लुछाचुँडी त्यही दौडको नियम उल्लंघन न हो । त्यो भन्दा फरक अरु त के नै पो हो र ।
म यी र यस्ताखाले जीन्दगी भन्दा अलग रहन चाहन्छु, जुन न म अरुलाई बुझाउन सक्छु, न त उनीहरु नै बुझिदिन्छन् । यो टोपी टाल्दा टाल्दै बित्ने जीन्दगी भन्दा अर्कैखाले जीन्दगी बाँच्न चाहन्छु म ।
सबैभन्दा ठुलो धन हराएपछि ।
मान्छेको के अर्थ मन हराएपछि । ।
फरक भइदियोस् जीवन, औषतभन्दा धेरै
बाँच्नुको सार हुन्न, जीवन हराएपछि । । ।
((((((((((((((((((((मनैबाट मानिसले मानवता नै मेटेछ))))))))))))))))))))))