.......महावीर विश्वकर्मा
फेसबुकमा मलाई एउटा भूमिगत साथीको प्रश्न : तपाईँले सँधै वहकिने मनमा तिमी भनेर सम्बोधन गर्ने पात्र को हो ?
लौ कस्तो फसाद ! कस्तो बिलखवन्द । सँसारमा यति जटिल प्रश्न पनि हुँदा रहेछन् ।
यो प्रश्नले मलाई केही नोष्टाल्जिक बनाइदियो । कलेजका पुराना दिनहरुमा एक्कासी फर्काइदियो । मेरा कलेजका समकालीन कुनै पनि साथीहरुलाई मैले कहिल्यै थाहा नदिएको कुरा हो यो, जुन आज म लेखिरहेछु । शब्दहरुमा पोखिनुको मज्जा जो बेग्लै छ । सायद त्यसैले पनि असरल्ल पोखिन खोजिरहेको छु म । अनि फेरी म त शब्दहरुसँग प्रित गाँस्न खोज्ने मान्छे । सायद त्यसैले पनि लेख्दैछु ।
त्यतिबेला म सायद ११ कक्षामा पढ्थेँ । विहानी कक्षामा । विद्यार्थी थोरै भएकोले हाम्रो अन्तिम घण्टीमा दिवा कक्षाका विद्यार्थीहरु पनि मिसिन्थे, अर्थशास्त्र पढ्न । एउटै घण्टीमा दुवै कक्षाको काम तमाम हुन्थ्यो ।
त्यो अन्तिम घण्टीको पर्खाइ मलाई यसकारण पनि हुन्थ्यो की, त्यसमा दिवा कक्षाको ‘उनी’ पनि मिसिन्थिन् । त्यो अन्तिम घण्टी, म अलि व्यस्त पनि हुन्थेँ । अरु घण्टीमा नोट सार्ने काम मात्रै हुन्थ्यो । तर त्यो घण्टीमा छिटो छिटो नोट सारेर खुसुक्क उनलाई हेर्नु पनि पथ्र्यो मैले ।
सरले लेखाउने नोटको हरेक वाक्यमा पूर्णविराम दिएपछि मात्रै त्यसले पूर्णता पाउँथ्यो । तर म भने एकपटक सुटुक्क उनलाई हेरेपछि मात्रै त्यो वाक्यले पूर्णता पाएको महसुस गर्थेँ । कलमले कापीमा पूर्णविराम दिन खोज्दा नखोज्दै मेरो आँखा, विपरीत लाईनको त्यही अघिल्लो वेन्चमा पुग्थ्यो, जहाँ उनी अझै नोटमा पूर्णविराम दिन व्यस्त हुन्थिन् ।
उनले ढिलो सारेको होईन, बरु मैले चाहीँ छिटो सारेको हुन्थेँ । मलाई त वाक्य पूरा गरेर उनलाई हेर्नु थियो, जुन दौडधुप उनलाई थिएन । मलाई कहिल्यै पनि लागेन की, ‘उनले पनि मलाई वास्ता गर्छिन ।’ अहँ लागेन त्यस्तो । एक त म त्यस्तो आकर्षक पनि थिइनँ, जसलाई कुनै युवतीले वास्ता गरुन् । अर्को, मैले त्यसरी फलो गरेको उनलाई पत्तो पनि थिएन ।
म छेउका साथीहरुको आँखा छल्दै अलि अघिल्लो बेन्चमा बसेकी उनलाई छिन्छिन् मै हेरिरहन्थेँ । तर एउटै बेन्चमा बस्ने मेरा साथीहरुले त्यो कुरा कहिल्यै थाहा पाएनन् । सायद म आफै होशियार थिएँ, उनीहरुले थाहा नपाउन् भनेर । जुन कुरामा म सफल नै भएँ ।
उनी साधारण थिइन्, तै पनि विशेष लाग्थिन् मलाई । उनको मुहारमा म त्यो गाम्भीर्यता पाउँथे, जुन अक्सर नारीहरुमा म खोजिरहेको हुन्थेँ । यतिबेला यो लेखिरहँदा पनि उनको त्यही आकृति झल्किरहेछ म भित्र । म सम्झिरहेछु उनलाई । सायद बाडुल्की पो लागिरहेको छ की उनीलाई ।
मलाई ती दिनहरु निक्कै नै रमाइला लाग्थे । एकोहोरो पछि लाग्नुमा जो मज्जा छ, त्यो सायदै दोहोरो प्रेममा होला । कहिलेकाहीँ त उनले अरुलाई हेर्दा पनि आफैलाई हेरे झैँ ठानेर बेफ्वाँकमा खुशी हुन्थेँ म । त्यो ताल न बेतालको खुशी धेरै टिक्थेन । जब म भन्दा पछिको साथीले मेरो छेवैबाट उनलाई ‘हाई !’ भनेर चिच्याउँथ्यो, अनि लज्जावती झार जस्तै खुम्चिन्थेँ म । प्लाष्टिकमा आगो लगाए जस्तै चुमुर्किन्थेँ ।
फेरी पनि अन्तिम घण्टीमा उनलाई हेर्न कहाँ छाड्थेँ र म । हेरिरहन्थेँ सँधै । त्यो एकोहोरो हेराहेरको श्रृंखला निक्कै समय चल्यो । तर त्यसमा अरु नयाँपन भने केही थपिएन । सँधै पुरानै खाले एकोहोरो हेराहेर मात्रै । तै पनि हरेक दिन नयाँ जस्तो लाग्थ्यो मलाई ।
म त स्कुले बेलैदेखी गम्भीर स्वभावको मान्छे । अझ भनौँ, कवि हृदयको मान्छे । अलि पछि एउटा कविता लेखेँ मैले । उनकै बारेमा । अनि बडो हिम्मत जुटाएर उनलाई दिएँ पनि, “मैले तिम्रो बारेमा लेखेको कविता” भनेर । मलाई त्यो कविता अहिले याद त छैन । किनकी त्यसको खेस्रा नै जिम्मा लगाएको थिएँ मैले उनीलाई ।
मलाई अझै पनि लाज लाग्छ, त्यतिबेलाको त्यो दृश्य सम्झिएर । त्यो अन्तिम घण्टी सकिएपछि प्राय सबै बाहिरिए । उनी चाहीँ अरु घण्टी पनि पढ्ने भएकोले त्यहीँ बसिन्, साथीहरुसँगै । म झोलामा नोट कपी राख्ने बाहानामा साथीहरुभन्दा जानीजानी ढिलो भइदिएँ, बाहिर निस्किन ।
अनि बढ्न थाल्यो मेरो मुटुको धडकन । सायद १ मिनेटमा १०० चोटीभन्दा पनि बढी धड्कियो होला त्यो । म एकै सासमा उनको अगाडी पुगेँ । छेउमा दुई साथी, बीचमा उनी । उठेर बसेकी थिइन्, बेन्चमा अडेस लगाएर । “मैले तिम्रो बारेमा लेखेको कविता” अगाडी नोट कपीबाट च्यातिएको एउटा पाना तेसार्दै मैले भनेँ । उनले त्यो समातिन्, तर निक्कै अफ्ठ्यारो महसुस गरिन् । दिक्क माने झैँ गरिन् । उनको अनुहार बिग्रिएकोबाट पत्तो पाएँ मैले ।
मेरा कान ताता भए । गर्मी भए झैँ लाग्यो । सानो छँदा ढाडमा घमौरा चर्किए झैँ चिरिक चिरिक भयो । उनका दुई साथीहरु अवाक् भएर हेरिरहे । शहरको बीचमा खुट्टा चिप्लिएर पछारिँदा सबै हाँसिदिए जस्तै लज्जित भएँ म । अनि एकोहोरो भुँइतिर मात्रै हेरेर कुलेलम ठोकेँ ।
त्यो कविताको प्रतिक्रिया मैले कहिल्यै पाईनँ । बरु त्यसपछि उनको अघिल्तिर पर्ने दुस्साहस नै गरिनँ मैले । त्यो भन्दा पछि हाम्रो बोली कहिले नि मिसिएन जस्तो लाग्छ मलाई । हुन त त्यो भन्दा अघि पनि कहिले पो बोलचाल गरेका थियौँ र हामीले ।
त्यो प्रेम नै थियो की अरु केही । अझसम्म प्रष्ट हुन सकेको छैन म । बरु मैले कतै उनको मनमा ठेस् त पुर्याइनँ ? भन्ने चाहीँ लागिरह्यो । सम्झिएको बेला अझै लागिरहन्छ पनि ।
खोजेपछि भेट्टाइन्छ भनेझैँ मैले पनि भेट्टाएँ एउटा सत्य, उनको बारेमा । उनी अरु नै कसैसँग प्रेम गर्छिन रे भन्ने सत्य । कुनै कुनै सत्यहरुले यति धेरै पोल्दा रहेछन् भन्ने त्यति नै बेला जानेँ मैले ।
त्यो अवस्थाबाट खै कसरी हो, बाहिरिएँ म । त्यसको प्रभाव त्यति गहिरो पनि परेन मलाई । यात्रामा कहीँ अल्झिन खोज्यो मन, फेरी अल्झिन पाएन । वस् त्यति हो । यसै टुङ्गियो, एउटा नलेखिएको अध्याय । अझ भनौँ, लेखिन नपाएको अध्याय ।
त्यसपछि पनि कतिलाई समर्पण गरेर कविता लेखेँ मैले, गजल लेखेँ, मुक्तक लेखेँ । तर त्यसपछि चाहीँ कसैलाई पनि भनिनँ, “मैले तिम्रो बारेमा लेखेको” भनेर ।
हुनसक्छ, 'वहकिने मन' पनि त्यस्तै श्रृंखलाको एउटा अंश हो । हुनसक्छ त्यस्तो । अनि त्यस्तो नहुन पनि सक्छ । अहिले यत्ति भन्छु, वहकिने मनमा सम्बोधित हुने 'तिमी' मात्र उनी चाहीँ होईन । म कसम खाएर भन्छु, अहँ हुँदै होईन । किनकी त्यो घटनालाई त्यति गम्भीर ढङ्गले लिइनँ मैले । तर पछिसम्म पनि कहिलेकाहीँ उनीलाई देख्दा कस्तो कस्तो भने हुन्थ्यो मनमा ।
उसो भए वहकिने मनमा सम्बोधित हुने त्यो “तिमी” पात्र को हो त ?
यो प्रश्नको जवाफ चाहीँ सायद दिन सक्दिनँ म । अहिले दिन सक्दिनँ की कहिल्यै दिन सक्दिनँ, अहँ त्यो पनि थाहा छैन मलाई ।