....महावीर विश्वकर्मा
व्यस्त शहर लगभग
निदाई सक्दा म भने अझै जागा थिएँ । छेउमै बसेको मोवाइलले रातको ११
बजाइरहँदा त्यसैमा एउटा पुरानो हिन्दी गीत पनि बजिरहेको थियो – “कभी कभी
मेरे दिलमे खयाल आता है...........” आफ्नै कोठा मात्रै ढाक्ने गरी यो गीत
गुञ्जिरहँदा मेरा मन भने कसोकसो कोठा वाहिर निस्किएर निकै पछाडिको
जीन्दगीका पाटाहरुमा घोत्लिन पुगेछ ।
एउटा मीठो फल्यास ब्याकमा रम्दै गर्दा
के सुर चलेर हो झोला खोतल्दै धेरै भित्र राखिएको एउटा पुरानो एल्बम(फोटो
एल्बम) निकालेँ । जसै एल्बमका पत्ताहरु पल्टिंदै गए तव धेरै अघि छुटेका
धमिला यादहरु एक्कासी आखैमा ठोक्किन आइपुगे । अनि सम्झिएँ, रेडियोकर्मी
अजित देबकोटाको एउटा मुक्तक –
समय हिंडेर टाढा गएछ ।
याद मात्रै पो बाँकी रहेछ ।।
हिजै जस्तो लाग्थ्यो सँगै हिडेको
कति छिट्टै वर्षौं भएछ ।।।
समय कहिल्यै पनि हाम्रो बशमा हुँदो रहेनछ, हामी पो समय
को बशमा हुँदा
रहेछौँ । नाडीमा महङ्गो घडी बाँध्नुको अर्थ समय किन्नु होइन, समय सूचक
मात्रै किन्नु हो । धेरै अघि पढेको एउटा उहाहरण संझिएँ – विहान ७ बजेको
बसमा हामीलाई काठमाण्डौं जानु छ तर हामी साढे ७ बजे पुग्यौँ र बस भेटेनौं
भने हामी केही नसोँची भनिदिन्छौँ — बस छुट्यो । तर मित्र, यथार्थमा बस
छुटेकै होइन, हामी पो छुटेका छौं । बस त नियमित समयमा नै गुडेको हो नि ।
यही उदाहरण जस्तै हामी समयलाई साथ लिन सक्दैनौँ अनि भन्छौं समयले साथ दिएन
। आखिर तर्क जति सुकै गरिए पनि समयसँगै अघि बढ्न नसकेको केही अपूरा
सम्वन्धहरु सुषुप्त रुपमै भए पनि मनको कुनै कुनामा ओझेल परेर बसेका हुँदा
रहेछन् । जव स्वयम् मनहरु विचलित हुन थाल्छन् । अभि नमेटिएका यादहरुको
जुलुस निकाल्दा रहेछन् ।
स्कुल पढ्दैदेखी धेरै साथीहरुको लागि
प्रेमपत्र लेखिदिन थालेँ मैले, प्लस टु पढ्दासम्म पनि यस्ले निरन्तरता
पाइरहेथ्यो । त्यसैले पनि धेरै साथीहरुको प्रेम सम्बन्धी समस्या समाधान
गर्ने मामलामा विशेष सल्लाहकार भइ टोपल्थेँ म । कलेजकै दिनहरुमा एउटा
साथीले सोध्यो—“उस्लाई कसरी बिर्सिने ?” यो पहिलो र अन्तिम प्रश्न थियो,
जसको म सँग जवाफ थिएन । वर्षौँपछि आजपनि कहिलेकाहीँ त्यही प्रश्न उसैगरि
तेर्सिन्छ मेरो अघिल्तिर तर अझैपनि जवाफ भने फेला पार्न सक्दिन म, सायद
लगभग असम्भव भएर पनि हुनसक्छ ।
एउटा पुरानो एल्बमले बल्झाएको
पुरानो यादहरु एल्बम बन्द गरेर थन्क्याउन खोजेँ तर घडीको सुई रोकिदिँदैमा
समय कहाँ अडिन्थ्यो र । यादहरु आउन जान्छन्, तर फर्किन जान्दैनन् । फर्किन
जान्नेलाई त झझल्को मात्रै भनिन्छ क्यारे ।
त्यो पुरानो एल्बम भित्रका फोटो
खिचिने क्यामेरा र दृश्य कैद गर्ने रिलका आविष्कारक जर्ज इस्टम्यानले विहे
नगरिकनै जीन्दगी बिताइदिए । सायद उनीसँग पनि यस्तै पुरानो एल्बम थियो की,
यादहरु बल्झाईदिने । किनकी यादहरु पनि त साहारा हुन् जीन्दगी गुजार्ने ।
यदि होइन भने विगतका यादले वर्तमान विथोल्न सक्ने सामथ्र्य किन राख्थ्यो र ।
रामायण, महाभारत, विष्णुपुराण जस्ता देवीदेवता सम्बन्धी अनगिन्ती
टेलिफिल्महरु भारतले नै बनाउँछ । त्यसैले पनि ती टेलिफिल्मका भगवानरुपी
कलाकारहरु हिन्दी भाषा बोल्छन् । अनि दिनहुँ यस्तै टेलिफिल्महरु हेरेर
अभ्यस्त भइरहेका हाम्रा नानीबाबुहरुको मगजमा यस्तो छाप परिसकेको छ की
उनीहरु साथीसाथी मिलेर भगवान बनी खेल्दा हिन्दी भाषा नै बोल्छन् । किनकी
उनीहरुले सिकेको नै भगवानहरुले हिन्दी बोल्छन् भन्ने हो ।
ठीक यस्तै खाले
भ्रमको भारी छ हामीसँग पनि, जीन्दगीको बारेमा । कतिपय यादहरुलाई भुलेर जीवन
जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने
विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु
हुँदैन हामीले ।
केही दिन अघि एकजना मित्रले फेसबुकको स्टाटस्मा
“ग्लोबमा भारत भन्दा नेपाल माथी छ, त्यसैले हामी नै ठुलो हौँ” भनेर
लेख्नुभए जस्तो हुन्छ त्यो त । जीन्दगीको मानचित्रमा यादहरुले ओगट्ने
क्षेत्रफल कम या बढी हुनसक्छ तर नहुने भन्ने हुँदैन ।
त्यसैले पनि होला
त्यो पुरानो एल्बमले मलाई डोर्याउँदै धेरै पहिलेका दिनहरुमा लगेर छाडिदियो ।
म पनि स्वच्छन्द रुपमा विचरण गरिरहेँ । यतिबेला छेउमा बसेको मोबाइलले
रातको साढे १२ बजाइरहेको थियो । अनि त्यसैमा बजिरहेको थियो दिप श्रेष्ठको
आवाज—
म पत्थरको देवता होईन, तोडिएर जोडिने ।
न म त्यो देव हुँ, सँधै बाँचिरहने.....