Tuesday, August 27, 2013

वहकिने मन 68 : वर्ष 2 अंक 15 (2070-05-10 )



आज मिति 2070-भाद्र-10 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download
             Download : Click Here to Download Episode 68

Thank you  

वहकिने मन (२०७० भदौ १०)



मुटुभित्र राख्छु जसलाई उसैसँग टक्कर हुन्छ । 
मलाई मात्रै किन यस्तो जतासुकै ठक्कर हुन्छ । ।
जति पढ्न खोजेँ यसलाई, उति बुझ्न गाह्रो भयो
जीन्दगी यो के हो कुन्नि, सँधै घनचक्कर हुन्छ । । । 

(((((((((((छोडी गए पाप लाग्ला, रामकृष्ण ढकाल)))))))))))))))))

यो प्रेम भन्ने चिज पनि यस्तै रै छ, भएपनि ननिदाइने, नभएपनि । भएपनि सुख छैन, अनि नभएपनि । भएन, किन भएन भन्ने चिन्ता, भयो, कसैले खोसिदेला की भन्ने त्रास । यो मान्छेको जात क्यै गरि पनि सन्तुष्ट हुन नसक्ने । मलाई अझै याद छन् ती दिनहरु, जुन दिनहरुमा तिमीसँग क्रमशः क्रमशः नजिकिँदै थिएँ म, बजारको खेलौनामा भुराभुरीहरु झ्याम्मिए जस्तो । तिनताका तिमीलाई देखेको एक झल्को घामले मेरो पूरै दिन घमाइलो हुन्थ्यो । जुन दिन देख्दिनथेँ, मेरो भूगोलमा दिनैभरि रात परिरहन्थ्यो । अनि म दियालो सल्काउन कान्ला नाघेर रेग्मीनि बज्यैको घरमा पुग्ने गाउँलेहरु जस्तै आफैबाट बाहिर निस्किन्थेँ, उज्यालोको खोजीमा । 

मान्छे कहिलेकाहीँ हुँदै नभएको कुराको खोजीमा भौतारिन्छ, अनि कहिले चाहीँ भएको कुरा पनि खोज्न जान्दैन । एककिसिमले त्यस्तै अन्यौलग्रस्त चौबाटाहरु मेरो जीवनमा पनि नआएका होईनन् । हामी बीच नै रहेको प्रेमलाई अदृश्य दुनियाँमा खोज्ने दुष्प्रयास गरिरहेँ मैले । त्यसैले पाउन सकिनँ फगत फोकटमा समयको बर्बादी मात्रै भइरह्यो । आफ्नो जीवनको केही आयु यसरी नै बिताएँ मैले, अझ भनौँ त्यो प्रेम भन्ने चिजको खोजी मै बित्यो केही उमेर, यार्सागुम्बा खोज्न हिमाली भेकमा हुलका हुल ओइरिने मान्छेहरु जस्तो । तर जब थाकेर बसेँ अनि त आफै सामु पाएँ त्यो प्रेम । तिमीले लिएर आयौ त्यसलाई, साँझमा खोर सम्झिएर आउने कुखुरोको चल्ला जस्तै । कालान्तरमा तिमी मेरो जीन्दगीको सुनसान करिडरमा चुपचाप ओहोरदोहर गर्न थाल्यौ, अनि त्यति नै बेला मैले दिलको दैलो उघारेर भित्रै आउन तिमीलाई अनुमति दिएँ । 

उबेला तिमीले पठाएकी चिठी म कति व्यग्र भएर पढ्थेँ । कति हडबडाउँदै पढ्थेँ, मानौँ म ट्वाइलेट जाने बाहानामा परीक्षा हलबाट बाहिरएर चिढ घोक्दै गरेको विद्यार्थी हुँ, जसलाई शिक्षकले देख्ला की भन्ने पनि डर हुन्छ अनि चिढ पढेर पनि नबुझिएलाकी भन्ने पनि । र पनि त्यसरी पत्रमा पोखिएको तिम्रो एकसरो मन पढ्नुमा निक्कै आनन्द थियो ।तर के गर्नु, एकदिन तिमीलाई हृदयभरि बोकेर यति टाढा आउनुपर्यो म, केही हाम्रै सपनाका खातिर अनि केही पारिवारिक अवस्थाका कारण । याद छ म टाढाको बिरानो देशमा गएर पैसा कमाएर ल्याउँछु नि ल ! भन्दै तिमीसँग विदा मागेको साँझ भक्कानो छोडेर रोएकी थियौ तिमी, त्यतिबेला तिम्रा आँशुहरुले मलाई 

त्यतिन्जेलसम्म कहिल्यै नदुखेको ठाउँमा दुखाएथ्यो । फेरी पनि सम्हालिएको थिएँ म । 
तिमी र म पनि महाकवि देवकोटा र फुलमार चुरोट जस्तै एकअर्काका पर्याय भएका थियौँ, छौँ र आशा छ रहिरहनेछौँ पनि । तर यो आशामा पछिल्लो समय भने केही तुवाँलोहरु लागिरहेछ । घुरमैलो भइरहेछन् सम्बन्धहरु पनि । पे्रम भन्नु पनि यस्तै रैछ, त्यो एकथोक बनेर आउँछ अनि सबथोक लिएर जान्छ । यतिबेला तिमीसँगको प्रेमले पनि मेरा सबै सपनाहरुको गुन्टो बेबारिसे असरल्ल फिँजाइदिएर जान खोज्दैछ । मलाई त्यस्तो लागेको हो की, भइरहेछ त्यस्तै, मैले बुझ्नै सकिरहेको छैन । मान्छेहरु भन्छन् तिमी बद्लियौ, तिमी भन्छौ मलाई विश्वास गर । म तिमीलाई विश्वास नगर्न पनि सक्दिनँ, अनि हावा नचली पात हल्लियो होला र भन्ने सोँचेर ती मान्छेहरुको हल्लाहरुमा पनि धेरथोर विश्वास गर्नपुग्छु म । आखिर मनै त हो, कहाँ बुझ्छ र यत्तिकै । हुन त भन्नेहरु शंकाले लंका जलाउँछ भन्छन् तर रावणको लंका शंकाले नभई हनुमानको पुच्छरमा आगो लगाउने दुष्प्रयासको परिणाम हो भन्ने बुझेकोले पनि होला, मलाई मेरो शंकाले त्यस्तो अनिष्ट निम्त्याउँछ जस्तो त्यति लाग्दैन । 

म के सोँच्छु, के भइरहेछ ।
कुन्नी किन यति व्यथा सहिरहेछ । ।
रोक्न खोज्छु तर सक्दिन कसैगरि
जीन्दगी एक तमास कतै गइरहेछ । । ।

(((((((((((((((((((परेवीले ल्याएको चिट्ठी (((((((((((((((((((((((((((((((((((((((((

खै पाप र पुण्यको लेखाजोखा त के पो होला र, कलियुगमा । फेरीपनि चलनचल्तीको भाषा उधारो मागेर भन्दैछु, पाप लाग्ला बाबै...त्यो कलिलो विगत त्यसरी निमोठेर नजानु,। 
म यहाँ छु, यति पर..खै कसको हो कसको शहरमा । फेरीपनि तिमी भएतिरै मेरा केही जिप्सी यादहरु छुटेका छन्...यादका भेडाबाख्राहरु धपाउन÷गाईवस्तुहरुलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरुमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु । तिम्रा यादहरु जति नजिक आउँछन् उही पुरानो चिरपरिचित आदिवासी मुस्कान झन्भन् धनात्मक हुँदै अघि बढिरहन्छ । म तिनै मुस्कानहरु सोहोरिरहन्छु मात्रै, एकतमासले । तिमी जतिजति  विस्मृत हुन थाल्छ्यौ, पुराना स्मृतिबाट मेरो मनमस्तिष्कमा किस्ताकिस्तामा चुहिन थाल्छ्यौ । नागरिकता र एस.एल.सि.को सर्टिफिकेट भन्दा बढी जतनसँग राखेको छु मैले तिम्रा यादहरु । यादहरु भनेका ट्रान्कुलाइजर जस्तै रैछन्, सम्झिउन्जेल नशाजस्तै । सम्झिन छाडेपछि छटपटी मात्रै । क्यै गरे नी नहुने । 

सोमालियाका जनताले आकाशमा उडिरहेको हेलिकप्टरबाट चामल र चिउराको आश गरेझैँ म पनि तिमीलाई भेट्ने दिनको आशा गरिरहेछु । तिमीलाई अँगालोमा बेर्ने दिनको पर्खाइमा बसिरहेछु, मलाई नकच्चरो नभने । म त मनको कसार घिउसँग खाइरहेछु, तिमीलाई आफ्नो बनाउने सपनाको सँसार । 
तर एउटा कुरा भनौँ, अचेल मेरा साथीहरु घरबार बिग्रिएको आ आफ्नो कहानी सुनाइरहन्छन् मलाई । ती एउटै कहानी बारम्बार सुनिरहँदा बस्तीमा भुइँचालो आउँदा त्यहाँको बासिन्दा हल्लिए जस्तो मेरो मनमा पनि ढ्याङ्ग्रो बज्न थालेको छ । साथीको देखेर । 

अचेल मेरो आफ्नै हृदयको राज्य पनि क्रमश टुक्रिरहेको छ । मनमा तरह तरहका हल्लाहरु मच्चिन थालेका छन् ।  त्यसो त मन कसैलाई दिइसकेपछि अर्कोलाई दिन सकिँदैन भन्छन्, फेरी पनि डर  लाग्छ, कुनै कुनै कुराहरु त पहिलो पटक नै भइदिन्छन् त्यसैले । तिमीप्रति विश्वास नलागेको होईन, कहिलेकाहीँ तेश्रो पक्ष बढी सबल हुँदा जे पनि त हुनसक्छ । जीवन मेरो औसत रुपमा सरल रेखामा कोरिएको गल्लीमा हिँडिरहेको थियो । तर चलेका हल्लाहरु बेग हानेर मनमा पसेपछि वक्ररेखामा मेरो जीवन कुनै भुस्याहा कुकुरझैँ अस्तित्वका तपसिल गल्लीहरुमा भड्कन थाल्यो । 

ग्याब्रियल गार्सिया मार्खेजको उपन्यास, लभ इन द टाइम अफ कोलेरामा एउटा पात्र छ, फ्लोरिन्टिनो अरिजा । उसले फर्मिना दाजा भन्ने केटीलाई खुब माया गर्छ । दाजाले पनि उसलाई मन पराउँछे । तर उसले पैसा र सुरक्षा रोज्छे । र, विवाह गर्छे, धनाढ्य डाक्टरसँग । अरिजा, फर्मिनाको यादमा सँधै तड्पिरहन्छ । उसको याद भुल्ने कोशिशमा केटीहरुसँग श्रृंखलावद्ध रुपमा सम्बन्ध राख्छ । तैपनि उसले दाजालाई भुल्न भने सक्दैन, दाजालाई आफ्नो बनाउने अनेक प्रयास गरिरहन्छ । बुढो भैसकेपछि अन्तत उसले दाजालाई आफ्नो बनाउन सफल हुन्छ । तर दाजालाई आफ्नो बनाउन अथक प्रयत्न गर्ने अरिजा जस्तो छैन म । त्यति धेरै प्रयत्न गर्नसक्ने प्रवृति पनि छैन मेरो त, सामथ्र्य पनि छैन । त्यसैले पनि हिजोआज निक्कै डराइरहेछु म, मैले सजाएको सपना भत्किन्छ कि भनेर । 

अस्तव्यस्त मनलाई उपचार गर्न जति गीत सुन्यो, त्यति नै मन पोखिएर रित्तिन्छ । रित्तो मनले सँसारै फुस्रो र न्यास्रो लाग्दोरहेछ । आँशु कत्ति जाती, हाँस्दा पनि झरिदिन्छ, रुँदा पनि । मलाई थाहा छ, रोएर चाहेको कुरा पाइने भए सँसार आँशुमा उहिल्यै डुबिसक्थ्यो । 

जीन्दगी अलि छिट्टै घर्किन खोजेछ ।
सम्हाल्दा सम्हाल्दै चर्किन खोजेछ । ।
कुनैदिन त ठाउँ थियो कसैको आँखामा
अचेल त्यही आँखाबाट दर्किन खोजेछ  । । ।

(((((((((((((((पहिलो झुल्को घाम लाग्यो डाँडामा))))))))))))))))))))





Tuesday, August 20, 2013

वहकिने मन 67 : वर्ष 2 अंक 14 (2070-05-03 )


आज मिति 2070-05-03 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download
               Download :Click Here to Download

Thank you

Monday, August 19, 2013

वियोगपछिको बाटो

महावीर विश्वकर्मा

प्रेमले के दिन्छ ? भनेर सोधियो भने कसैले उत्साह भन्लान्, कसैले खुशी भन्लान्, कसैले बाँच्ने प्रेरणा भन्लान् अनि कसैले जीन्दगी भन्लान् । जवाफ धेरै नै आउन सक्ला । तर यी जवाफहरु सँधै सँधै सही साबित भइरहन्छन् भन्ने पनि होईन । कतिपय अवस्थाहरुमा बाटो बिराउनुको कारण पनि प्रेम नै बनिरहेको हुन्छ । प्रेम सम्बन्ध जीवित रहुञ्जेल त सँसार नै आफ्नो काबुमा भएको अनुभव हुन्छ हामीलाई । तर जब त्यही प्रेम सम्बन्धको अन्त्येष्टि हुन्छ अनि त जीन्दगीमा एक्कासी अँध्यारो घोप्टिन आईपुग्छ । र यसो हुनुको कारक पनि त्यही प्रेम सम्बन्ध नै हो । हुन त “प्रेमले कहिल्यै पनि गलत बाटोतर्फ डो¥याउँदैन, प्रेमले त जहिले पनि सकारात्मक भूमिका मात्रै निर्वाह गर्छ, जब प्रेमको अन्त्य हुन्छ त्यसपछि हो मान्छेले गलत बाटो अँगाल्न पुग्ने, त्यसैले यसमा प्रेमलाई दोषारोपण गर्न मिल्दैन” भन्ने विचार पनि उठ्न सक्ला । यो विचारसँग सहमति जनाउँदै म के कुरा अघि सार्न चाहन्छु भने, प्रेम सम्बन्ध विकसित हुँदै जाने क्रममा एकदिन त्यो विकसित रुप ध्वंस भएर वियोगको अवस्थासम्म पनि पुग्नसक्छ । अनि वियोगलाई सहज ढङ्गले स्वीकार्न नसकेर धेरै युवाले बाटो बिराइरहेका छन् । कुलतमा फसिरहेका छन् । त्यही कुलतले बनाएको बाटोबाट कति त आपराधिक क्रियाकलापमा पनि संलग्न भइरहेका छन् । यो अवस्थासम्म कसरी आईपुगियो त भनेर खोज्दै जाने हो भने, मुहान चाहीँ त्यही प्रेम सम्बन्ध नै हो भन्ने निचोड निस्किन्छ । यसर्थमा पनि प्रेम सम्बन्धले त्यस्तो अवस्थासम्म पु¥याइरहेको छ है भन्न खोजेको मात्रै हो मैले । खैर छाडौँ यो वहस, किनकी वियोगपछि कसैले गलत बाटो समाउँछ भने त्यसको कारण प्रेम सम्बन्ध हो भनेर ठहर गर्न पाईन्छ की पाईँदैन भनेर निचोडमा पुग्न यति सहजै सकिँदैन । म यो लेख मार्फत त्यो कुराको छिनोफानो गर्न पनि खोजिरहेको छैन । मौका मिलेछ भने कुनैदिन चर्चा गरौँला यो विषयमा पनि । तर यहाँ चाहीँ म, प्रेम सम्बन्ध टुङ्गिएपछि किन धेरैजनाले (विशेषत पुरुषले) कुलतको बाटो अँगाल्छन् होला भन्ने विषयमा घोत्लिन खोजिरहेको छु ।

जब कसैको प्रेम सम्बन्धको अन्त्य हुन्छ, तब यदि त्यो सम्बन्धमा उ मनै देखीको इमान्दार थियो भने त्यो पिडा भुल्न उसलाई असाध्यै कठिन हुन्छ  । अब कसैगरि पनि उ फेरी आफ्नो जीवनमा फर्केर आउँदैन भन्नेमा निश्चित भइसकेपछि अब एक मात्र विकल्प भनेको उसलाई भुल्नु नै हुन्छ । तर यो मनमा राखेको मान्छेलाई भुल्ने भन्ने काम जति अफ्ठ्यारो काम सायदै कुनै होला सँसारमा । त्यति गाह्रो हुन्छ यो । जति भुलुँ भन्यो झन् उति याद आइरहन्छ । कसैगरि पनि सकिन्न भुल्न । त्यो पिडामा भएको मान्छेले “विभिन्न किसिमका नशालु पदार्थको सेवन गर्नाले केही समयको लागि भएपनि होस्मा भइँदैन र त्यतिञ्जेल मात्रै भएपनि यो तनावबाट मुक्ति मिल्छ” भन्ने चाहीँ बुझेको हुन्छ । अनि यही साँघुरो बुझाईले डो¥याएपछि नशालु पदार्थको सेवन गर्न पुग्छ उ ।

प्रेम सम्बन्ध टुङ्गिएपछि कुलतमा फस्नुको अर्को प्रमुख कारण देखासिकी हो । अझ चलचित्रको प्रभावभन्दा फरक पर्दैन । हामीले हेरेका चलचित्र त्यस्तो छैन जसमा प्रेमी अथवा प्रेमिकाले सम्बन्ध तोडेर गएपछि उसले मलाई किन छोडेर गयो भन्ने विषयमा आत्मसमीक्षा गरेर त्यो पक्ष सुधार गर्न त्यो व्यक्ति लागेको होस् । यदि त्यस्तो कुनै चलचित्रमा देखाएको छ भनेपनि एक त त्यो पक्ष त्यति चर्चामा आउँदैन । अनि अर्को त्यतातिर खासै हाम्रो ध्यान पनि जाँदैन । हामीले हेर्ने चलचित्रहरुले त लगातार एउटै दृश्य देखाइरह्यो हामीलाई । त्यो के भने, प्रेम सम्बन्ध छुट्ने बित्तिकै अत्यधिक पिडामा परेको त्यो हिरो सीधै भट्टीमा जाने अनि सास पनि नफेरीकन लगातार रक्सी खाइरहने । वियोगको पिडा भुलाउन रक्सी नै खानुपर्छ भन्ने कुरा कसले सिकायो होला फिल्म लेख्नेहरुलाई । एउटाले त्यस्तै लेखिदियो अनि अरुले अहिलेसम्म पनि त्यसै गरिरहेका छन् । वर्षौँ अघिदेखी यस्तै दृश्य हेर्दाहेर्दा अब त हामी पनि यति अभ्यस्त भइसक्यौँ की प्रेम सम्बन्ध छुट्ने बित्तिकै सिधै भट्टीमा गएर रक्सी खानुपर्छ भन्ने कुरा हाम्रो माइण्डमा सेट भइसक्यो । अनि  हाम्रो बानी चाहीँ के भने, जब फिल्म हेर्न बसिन्छ र फिल्मको पात्रको अभिनयले मन छुन्छ अनि हामीलाई आफु पनि उ जस्तै लाग्ने । अझ खुलाएरै भन्नुपर्दा त्यही हिरो हुँ म पनि भने जस्तो लाग्ने भन्या, बडो अचम्म छ । देवदास फिल्ममा प्रेमिकासँगको वियोगपछि शाहरुख खानले मज्जाले रक्सी खायो भनेर लहैलहैमा त्यसै गरिटोपल्नेहरु प्रशस्तै छन् यहाँ । हाम्रो स्वभाव कस्तो छ भने, यस्तो “तात्तो न छारो” कुरा सिक्न फेरी कत्तिपनि बेरै लाग्दैन हामीलाई । 

केही मान्छेहरु चाहीँ एउटा बडो अचम्मको कारणले पनि वियोग पछि धुम्रपान, मद्यपानको सेवन गर्न पुगेका हुँदा रहेछन् । त्यो के भने, मैले चुुुरोट, रक्सी खाएर बिग्रिएर हिँडेको थाहा पाएपछि पक्कै पनि उसको मनमा म प्रति दया पलाउनेछ र फर्केर आएर मलाई अपनाउनेछ भन्ने अचम्मको कुरा सोँचेर पनि केही व्यक्तिहरु कुलतमा फसेको मैले भेटेको छु । ब्लेडले आफ्नै हात काटेर रगत निकाल्ने मान्छेहरु भेटेको छु, रक्सी खाएर उसलाई फोन गर्दै आफुले उसलाई भुल्न पिएको कुरा गर्ने मान्छेहरु देखेको छु । विचरा ती सोझा प्राणीहरु देखेर दया लागेर आउँछ मलाई, किनकी उनीहरुले बुझेकै हुँदैनन् उसले कति समय अघिदेखीको तयारी पछि त्यो सम्बन्ध टुङ्ग्याएको छ भन्ने कुरा । उनीहरु त अकस्मात भएको दुर्घटना सम्झिन्छन् त्यसलाई । अनि, न पो उद्धार गर्न आइहाल्छन् की भन्ने भ्रममा हुँदा रहेछन् । शिकारीको गोली लागेर छट्पटाइरहँदा पनि फेरी त्यही शिकारी आएर बचाइहाल्छ की भन्ने आश, कस्तो अचम्म ।

जब प्रेम सम्बन्धमा वियोग आईपर्छ अनि धेरैले यतिबेला रक्सी खान्छन् किनभने त्यो सहजै पाउन सकिन्छ अरु नशालु पदार्थको तुलनामा । अनि कतिले चाहीँ लागु औषध नै प्रयोग गर्न पुग्छन् । वास्तवमा छोडेर जाने मान्छेलाई भुल्नको लागि अपनाइने यो बाटो वाहियात र घात बाटो हो । वाहियात कसरी भने यसरी उसलाई भुल्न सकिँदै सकिँदैन । एकछिनको लागि भुलेजस्तो लाग्ने त किन हो भने त्यतिञ्जेल नशामा लट्ठ भइन्छ र केही थाहा हुँदैन । यहाँनेर बुझ्नपर्ने कुरा के हो भने, यसरी लट्ठ हुँदा त सबै भुलिन्छ नी कहाँ त्यो मान्छे मात्रै हो र । खासमा हामीले भुल्न चाहेको त उसलाई मात्रै होईन र ? अरु त किन भुल्नप¥यो र ? तर यस्ता सामग्रीको सेवनले त सबै भुलिन्छ नी होईन र ? यतिसम्म की आफैलाई पनि भुलिन्छ ? म कहाँ छु, मैले के गर्न हुन्छ, के गर्न हुँदैन, सबै भुलिन्छ । यो त हातको एउटा औँलाको टुप्पामा घाउ लाग्यो भनेर त्यो पिडाबाट मुक्ति पाउन हातै पूरै काटेर फ्याँके जस्तो भै गो नि, पिडा घटाउने उपायले झनै पिडा बढाउँछ मात्रै । अनि घातक चाहीँ कसरी भने यसरी उसलाई भुल्ने वाहानामा अचेत भएर बस्दा एक त त्यसले प्रत्यक्ष आफ्नै स्वास्थ्यलाई असर पु¥याउँछ । अर्को सामाजिक प्रतिष्ठा गुमाउन पुगिन्छ । यसैगरि निक्कै महत्वपूर्ण समय यसै खेर जान्छ, आफ्नै कारण परिवारमा तनावको सृजना हुन्छ, साथीसँगी पनि आफुबाट टाढिन्छन् जसले गर्दा आफु विस्तारै समाजबाट अलग्गिँदै गइन्छ, यही कारण आपराधिक क्रियाकलापतर्फ अघि बढ्न सक्ने सम्भावना प्रवल रहन्छ ।

वहकिने मनको शुरुवाती स्क्रिप्ट (२०७० भाद्र ०३)

अचेल हरेक साँझ पिएर बित्दैछ ।
भट्टीमा दुई चार बोत्तल लिएर बित्दैछ । ।
केही फेरबदल छैन जीन्दगीमा
उही पुरानो मान्छे सम्झिएर बित्दैछ । । ।

((((((((((((((जीन्दगीमा तलतल नभए के जिउनु, एक्लै हुँदा बोत्तल नभए के जिउनु : दिनेश गौतम))))))
 
सानै छँदा पहिलो पटक न्वागीको दिनमा बटुकोमा छ्याङ्ग हालेर स्वाट्टै पारेको मलाई अझै हेक्का छ । खाउञ्जेल त गुलियो गुलियो मिठै पो लागेथ्यो तर सकाएको केहीबेरमै पिँढीमा लडीबुडी खेल्न थालिएछ । उठेर हिँड्न खोज्यो, गोडा लरखराउँदै एक ठाउँमा टेक्न खोज्यो अर्कै ठाउँमा टेक्न पुगिने । हुन त त्यसरी तिरीमिरी झ्याईँ देख्नुको मज्जा पनि बेग्लै थियो । मलाई थाहा थिएन, त्यो सही हो की गलत । त्यो त मात्र एउटा उरण्ठ्याउले रहर थियो । आखिर बालापन भनेकै रहरको बिटो त हो नी कति रहरहरु पूरा हुन्छन्, अनि कति अपुरो नै भएर हुर्किरहन्छन् भित्रभित्रै ।

मेरो गुरु भन्नुहुन्थ्यो, मान्छेले सबैकुरा चाख्नुपर्छ तर कुनैको पनि बानी पार्नु चाहीँ हुँदैन । मैले राम्ररी बुझेको थिएँ यो कुरा, त्यसैले चाखेको मात्रै थिएँ त्यतिबेला, बानी त धेरै पछि परेको । अझ खासमा भन्ने हो भने तिमीले नै बसालेकी हौ त्यो बानी पनि । मैले यसो भनिरहँदा कडा असहमति जनाउन मन लागेको होला तिमीलाई । मैले कहिले सिकाएँ पिउन ? भनेर प्रतिवाद गर्न तम्सिरहेकी हौली तिमी । म इमान्दार भएर भन्छु, तिमीले भनेको सही छ । तर म फेरी पनि दोहो¥याएर भन्छु, म पनि गलत चाहीँ छैन । थाहा छ, महाभारतमा गुरु वशिष्टले धनुष विद्या सिकाउन नमानेपछि एकलव्यले एकान्तमा वशिष्टको मुर्ति बनाएर त्यही मुर्तिलाई गुरु मानेर आफै सिकेका थिए धनुष विद्या । फेरी पनि एकलव्यले आफ्नो गुरु भने वशिष्टलाई नै माने । अझ उन्ले त गुरु दक्षिणा स्वरुप आफ्नो बुढी  औँला नै काटेर चढाए पनि । हो, तिमीले पनि त्यसरी नै सिकायौ मलाई, हर साँझ पिउन । एकलव्यले मुर्ति प्रतिस्थापन गरेर सिके जस्तै मैले तिम्रा यादहरुलाई साक्षी राखेर पिउन सिकेँ । कुनैदिन भेटियौ भने दिउँला तिमीलाई गुरु दक्षिणा, मेरा नीजि आँखाहरुबाट खसेका आँशुका केही थोपाहरु ।
 
कुनैदिन  भेट होला, अझैपनि आश छ ।
त्यही दिनको पर्खाइमा भट्टीको नै बास छ । ।
साथीहरु मलाई अझै सुध्रेनौ भन्छन्
आफ्नो त यस्तै, जीन्दगी विन्दास छ । । ।

यसरी हर साँझ मात्तिन थालेपछि साथीहरु पनि तरह तरहका भेटिन थालेका छन् । परार साल घाँस काट्न जाँदा चट्याङ्ग लागेर श्रीमती बितेपछि विरक्तिएर भट्टीमा खाता खोल्न आईपुगेका सेताम्मे फुलेका एउटा बुढो साथी मलाई उमेरमै यसरी वैराग्गिएर नपिउने सुझाव दिन्थ्यो । भन्थ्यो, तिमीले त्यो मान्छे गुमायौ जस्ले तिमीलाई माया नै नगर्दो रहेछ तर उसले त त्यो मान्छेलाई गुमाई जसले सँसारमै सबैभन्दा बढी माया गथ्र्यो उसलाई । त्यसैले मेरो साथी सम्हाल आफुलाई, नआउ भोलीबाट । थोरै चढेपछि उ यसरी नै मेरो अघिल्तिर आएर गनगन गरिरहन्थ्यो । अनि फेरी छुट्टिने बेलामा भोली फेरी भेट्ने वाचा गर्न भने कहिल्यै भुल्थेन । हो त्यति नै बेला एउटा ज्ञान प्राप्त भएथ्यो मलाई । “आकाशमा  उडिरहेको चराहरु देखेर लियोनार्दो दा भिन्चीले हवाईजहाजको परिकल्पना गरेको, कुकुरले टोकेको बिरामीलाई फलामले डामेर उपचार गरिहेको देखेपछि त्यो दृश्य हेर्न नसकेर भावविह्वल भएको लुइ पास्चरले रेबिज विरुद्धको सुई पत्ता लगाएको, रुखबाट स्याउ खसेको देखेपछि न्यूटनले गुरुत्वाकर्षणको नियम नै प्रतिपादन गरेको अनि पिपलको रुख मुनि ध्यानमा बस्दा राजा सुद्धोधन र रानी मायादेवीको छोरा सिद्दार्थ गौतमलाई वुद्धत्व प्राप्त भएको” यी सब कुराहरु पढेको थिएँ मैले । मैले पनि हरेक साँझ मात्तिन थालेपछि त्यतिबेला सिकेको थिएँ, “सपना भत्किएपछि भट्टी रमाइलो लाग्दोरहेछ मान्छेलाई ।” भन्ने ।  

नदेख्नेहरु त मलाई, अझै अजनवी भन्छन् ।
कोही मुक्तककार भन्छन्, अनि कोही कवि भन्छन् । ।
भट्टीको चोकैमा जब कसैसँग ठोक्किन्छु
आज बढी पिएछ, कस्तो बेमतलबी भन्छन् । । ।

((((((पिएरै भत्काएको हुँ बाटाका डिलहरु))))))))))))))))))))))
जब जीन्दगीको आधारस्तम्भहरु नै एकपछि अर्को गर्दै भटाभट ढल्न थाल्छ अनि त बोत्तलहरु पनि दरिलो साहारा बन्न पुग्दा रहेछन्, बाँकी जीन्दगी गुजार्ने । हुन त जीन्दगी यसै पनि बितिहाल्छ, तर यसले केही सजिलो भने बनाउँदोरहेछ । जीन्दगी बिताउनकै लागि बाँचिरहेको मान्छेलाई पनि सजिलोसँग बाँच्नुपर्ने, कस्तो अचम्म छ मान्छे । सायद जीन्दगी बाँच्ने पनि एउटा सुत्र हुन्थ्यो, अनि त्यो “ए प्लस बी को होल स्क्वाएर इज इक्वेल टु...ए स्क्वाएर प्लस ट्वाइस एबी प्लस बी स्क्वाएर”भनेजस्तो सजिलो हुन्थ्यो भने घोकेरै भएपनि कण्ठस्थ बनाउँथ्यो मान्छेले । अनि त सायद सजिलैसँग बाँच्थ्यो पनि होला ।

मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले किन त्यति धेरै चुरोट पिउँथे भन्ने थाहा छैन । न त स्वरसम्राट नारायण गोपाल किन मदिरा पिएर मात्रै गीत गाउन बस्थे भन्ने नै ज्ञान छ । तर म स्वयम भने हरेक साँझ किन मात्तिन्छु भन्ने चाहीँ अलीअली बुझेको छु मैले ।  हुन त जवाफ ठ्याक्कै नमिल्न पनि सक्छ । तरपनि मलाई लाग्छ, सायद कसैलाई भुल्नको लागि पिउँछु म । सरुभक्तको पागलवस्ती उपन्यासमा एउटा पात्रले झोलाबाट तस्बीर झिकेर अर्काकी स्वास्नीको फोटो भनेर फेरी झोलामै राखेजस्तो तिम्रा यादहरु सँधै मैकहाँ राखिरहन चाहन्नँ म । बरु म त नारायण वाग्लेको पल्पसा क्याफे उपन्यासमा दृश्यले मनका सबै कुराहरु लेखेर पल्पसालाई पठाए जस्तो, तिम्रा यादहरु  तिमीलाई नै पठाउन चाहन्छु । अनि कृष्ण धरावासीको राधा उपन्यासमा कृष्णको प्रेम नपाएपछि विरक्तिएर घर छोडी हिँडेकी राधा जस्तो निक्कै टाढा जान चाहन्छु । कसैले नचिन्ने ठाउँमा, कसैले नसोध्ने ठाउँमा । किनकी, मान्छेहरु किन माया गर्छन भन्ने देखी लिएर माया गर्नेहरु किन छोडेर पनि जान्छन् ? भन्नेसम्मको प्रश्नको जवाफ कसैगरि पनि फेला पार्नुछ मलाई । कसैगरि पनि । अनि सबैलाई सुनाउँदै हिँड्नु छ, बाटो देखाउँदै हिँडनुछ, वुद्धले अहिंसा परम धर्मको महावाणी प्रचार गरेजस्तो । माक्र्सले अगष्टिन थोरेबाट लिएको वर्ग संघर्षको धारणा सर्वहारा वर्गमा फैलाएजस्तो । अनि प्लेटोले उच्च वर्गलाई राज्यको आधार मानेर प्रतिपादन गरेको साम्यवादी व्यवस्था विश्वमा फिजाए जस्तो ।
तिमीले नै हो मलाई पिउने बानी बसालेकी, अथवा तिम्रै कारण पिउन थालेको हुँ मैले, भनेर प्रमाणित गर्न कुनै दसी प्रमाणहरु त जुटाउन नसकुँला म । जीन्दगीमा केही कुराहरु यस्तै हुँदोरहेछन यसलाई त्यसरी नै बुझ्नु । हुन त तिमी अलग्गिएर गएपछि मैले पिउनै पथ्र्यो भन्ने चाहीँ थिएन । सम्हालिएको भएपनि हुन्थ्यो । तर के गर्ने, एउटा अवचेतन बनेको मन त्यति धेरै संयमित बन्न कहाँ सक्दो रहेछ र ।

तिमीलाई ठुलै कुल घराना चाहियाथ्यो ।
सायद इज्जतिलो खजाना चाहियाथ्यो । ।
त्यसैले पनि छोडेर गयौ
मलाई पनि त पिउने वाहाना चाहियाथ्यो । । ।

(((((((((((((((जीवनदेखी हारेर पिएको हुँदै होईन)))))))))))))))))))))))))


Tuesday, August 13, 2013

वहकिने मन 66 : वर्ष 2 अंक 13 (2070-04-28 )



आज मिति 2070-04-28 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।

Listen and Download
               Download :Click Here to Download

Thank you

Monday, August 12, 2013

वहकिने मनको शुरुवाती स्क्रिप्ट


(२०७० श्रावण २८)


घर शुन्य भयो, गाउँ शाखा शुन्य भयो ।
विदाईमा रोएको त्यो आँखा शुन्य भयो । ।
तिमीले हवाईजहाज चढेर गएदेखी
यता गाउँमा हलो चल्ने पाखा शुन्य भयो । । ।

(((((((((((((तिम्रो खरको छानो चुहेर पिँढी मै आहाल छ, स्वरः जीवन शर्मा )))))))))))))))))))))))))))))))))

ए...विदेशिएको मान्छे कस्तो छ तिमीलाई ???? अचेल त खबर पनि आउँदैन तिम्रो । अस्ति चिउरी बोटे काकाको छोरा आ थे क्यारे, खत पठायौ की भन्ने आशाले तिम्री आमैले सोध्न पठाकी थिन् मलाई । खत त पठाएनछौ तर त्यति सञ्चो छैन रे तिम्लाई..दुब्लाका छौ रे भनेर सुनाउँदै थे । त्यो खबर तिम्री आमैलाई चाहीँ सुनाइनँ मैले, झन पिरलोमा पर्लिन की भन्ने डर लाग्यो ।
माया मार्यौ क्यारे मुग्लानी....अचेल त सपनामा पनि आउँदैनौ तिमी । हाम्रो घरको रेडियोले तिम्रो खबर सुनाउँदैन, चुनाव हुन्छ र हुँदैन भन्दै ठुल्ठुला मान्छेहरु बाझेको कुरा मात्रै सुनाउँछ । अनि अचेल त झन को को ठुल्ठुला मान्छेहरु खै क—कस्को पार्टीमा गए रे भन्ने के के जाती कुरा मात्रै सुनाउँछ । कुनैदिन त तिम्रो खबर पनि सुनाउला की भन्दै रेडियोमा कान थापिरहेका हुन्छौँ हामी । बडे बडेमाको लडाइँ पर्छ रे विदेशमा त, कहिलेकाहीँ सुनामी हो की, के थरी आएर सब्बै सखाप पार्छ रे । हाम्रो तिर त भुईँचालो आउँदा पनि एकैछिन मात्रै भुईँ हल्लाउँछ, केही अनिष्ट नभएर हो की किन हो, रमाइलै लाग्छ । तर विदेशमा त कति हो कति मान्छेको, परानै लाने गरि आउँछ रे भुइँचालो पनि । अनि कहिले काहीँ त आगोको ज्वाला नै निस्किन्छ र जमिनबाट । यी सब्बै कुराहरु सम्झिँदा त, हाम्रै गाउँ निको लाग्छ मलाई त । अझ अस्ति मलेसियामा त्यहीँ घर भएका केटाहरुसँग यहाँबाट गएका नेपाली दाजुभाईहरुको निक्कै ठुलो झगडा परेको कुरा सुनेदेखी त तिम्री आमैले राम्ररी भात खान पनि छोडेकी छिन् । “मेरो बाबु झोडी छ, कसैले हेपेको सहँदैन, न त्यसको पनि यस्तै झगडा पो पर्छ की, मान्छे फुच्चे छ, न पो कसैले पाक्क पुक्क पारेर झाडीमा फ्याल्दिन्छन् की” भनेर खुब्बै रुँदै थिइन म सँग । आमाको मन न हो साथी, परदेशको ठाउँ, नचिनेका मान्छे । के भो होला, कसो भो होला, चिन्ता त लाग्छ नै ।
यो पाली वर्खा पनि पोहोर, परार सालभन्दा बेसी नै भयो यतातिर । दार्चुलाको सदरमुकाममा बाढी पसेको खबर त तिमीले पनि सुन्यौ होला । हाम्रै पखेराहरुमा पनि पहिरो खस्यो यसपाली । ओखर साइँलाको एक हल गोरुलाई गोठै सहित लग्यो पहिरोले । डाँडो मुन्तिरको तिम्रो घर जेनतेन अहिलेसम्म उसैगरि उभिएर बसेको छ, भलै खरको छानो ठाउँठाउँमा चुहिएर पिँढिमा आहाल बनेको छ, आँगन भत्केर बिजोग छ । फेरीपनि बा ले दुखजेलो जोडेको खाँबोहरु भने अझै डग्मगाएका छैनन् । अस्ति शनिबार मकै पिन्न घट्ट गएर फर्किँदा तिम्रो घरमा पसेथेँ । आमैले निक्कै गुनासो गर्दैथिन् । तिम्रो न्यास्रो लाग्दा विहेमा माईतीले पठाइदिएको पुरानो ट्यांकाबाट तिम्रो तस्बीर निकालेर अघाउञ्जेल हेर्दा रैछिन् । “अहिले त यो काले पनि कत्रो भइसक्यो होला जेठा” भन्दै थे मलाई । यसपालीको हिउँद नकटाउनु भनेर काजीले ऋण तिर्न ताकेता दिइराका छन् रे । नत्र टारीको गैरी खेत हडप्ने बताएको छ र उसले । “कालेको बा ले पसिना बगाएर जोडेको यै एउटा चिनो पनि साहुको भागमा पर्ने भो जेठा” भनेर बिलानो गर्दैथिन् आमैले । तिमी त ठुलो सपना लिएर मुग्लानी बनेको मान्छे । पैसा कमाएर आउँछु भन्दै घर खेत साहुकोमा बन्धकी राखेर हिँडेको मान्छे । दिन दुई गुना, रात चौगुना साहुको ऋण आकासिएको छ । कसरी निखन्नौला र खै ।
मैले आमैलाई केही भनेर सम्झाउनै सकिन साथी । उन्ले “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” भन्दा, भित्रैदेखी भक्कानिएर आएँ म । अनि तीन कुरुवा पिठो नाङ्गलोमा हालिदिएर मन अमिलो बनाउँदै घर फर्किएँ । आफु त अहिलेसम्म एक्लै बसेको मान्छे, सँधै आफैले ढिँडो ओडालेर खान्थेँ, तर त्यो दिन जाँगरै चलेन । आँखाभरि तिम्रो तस्बीर आइरह्यो अनि कानमा आमैले भनेका कुराहरु एकतमासले ठोक्किरहे रातभरि, “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” ।

साथीसँगी कस्तो छैन खै, सँगत हेरी तर्किनु रे ।
अनेकथरि ख्वाउन खोजे, रिसाएर झर्किनु रे । ।
निखन्नु छ गैरी खेत, बा को चिनो यै हो भन्थिन्
न्यास्रिएछिन् बुढी आमै चाँडै घर फर्किनु रे ।

(((((((((((((((((भाको पेट साँझमा, पटुकी कस्दछिन् )))))))))))))))))))

घर फर्किने मन त तिमीलाई झन बढी होला । घामको एक टुक्रो उछिट्टिएर आङैमा आएर खसेजस्तो भत्भती पोल्ने त्यो मरुभुमिको तातोमा के रमाएको होला र मन । तिम्रो पनि रहर होलान् । केही पुराना तर अझै अधुरा सपनाहरु होलान् । अनि होलान, एैजन एैजनका वाध्यताहरु । सँगैका साथीभाईहरु कति कति कमाउने भएका छन् । कोही पढेर ठुला मान्छे भएका छन् । कोही व्यापार गरेर धनीमनी भएका छन् । सानो छँदा माथ्लाघरे लाहुरे बाजेले ‘ए तोरी लाहुरे हो’ भनेर बोलाउँथे हामीलाई, हामी त त्यो भन्दा ठुलो हुनै सकेनछौँ । यी सब्बै कुराहरुले तिमीलाई पनि त हरेक रात पिरोल्छ होला नी । हैन र ??? दिन, हप्ता र महिना गर्दै कति वर्षहरु बिति गए, भेट हुनेहरु पनि बिस्तार बिस्तार टाढिएर गए, जबर्जस्ती अडिएर बसेको पारिपट्टि डाँडोको खोरिया पनि यो वर्षको पहिरोमा सँगै गयो । तर तिम्रो हाम्रो दुःखका दिन भने कहिल्यै पनि गएन साथी । हाम्रो त कर्मै खोटो छ की जस्तो लाग्छ कहिलेकाहीँ त । भावीले छैठीमा भाग्य लेख्नै बिर्सिका थिए क्यारे हाम्रो त । नत्र सँधै एकनासको दुख त नहुनु पर्ने हो नि । कहिलेकाहीँ त आफ्नै जीन्दगी देखेर विरक्त लागेर आउँछ, अनि जङ्गलबीचको महादेव थानमा गएर एक्लै चिच्याउँछु, हे भगवान दुखीको घरमा मात्रै तेरो बास हुने भए कृपा गरि मलाई अझै दुख थपि दे भन्छु । मेरो पुकार सुने नि नसुनेझैँ गर्छ त्यो ढुङ्गाको भगवान ।

भगवानहरु पनि सालिक भएपछि ।
सालिकहरु नै फेरी मालिक भएपछि । ।
देवताहरु पनि जनमतसंग्रहबाट चुनिन्छन्
भक्तहरु विस्तारै बालिग भएपछि । । ।

धेरै अघि एकरात सपनामा देखेथेँ तिमीलाई ।
कस्तो छ त विदेश भनेर सोधेथेँ मैले ? तिमी भन्दैथ्यौ, विदेश त साह्रै गर्मी हुँदो रहेछ, यहाँको भाषा पनि नबुझिने ।
साथीभाई कस्ता छन् नी भनेर सोधेँ ? सबै म जस्तै छन्, हप्ताभरि ओभर टाइम समेत लिएर काम गर्ने, अनि कहिले शुक्रबार आउला र ज्यानलाई आराम दिउँला भनेर बस्ने । सबैको अनुहारमा एकैखाले चिन्ता देख्छु, साहुको रिन कसरी निखन्ने भन्ने, भन्यौ तिमीले ।
काम कत्तिको गाह्रो छ नी ? भनेर फेरी सोधेँ मैले, ख्याउटे परेको अनुहारमा फिस्स हाँसेझैँ गरि जवाफ फर्कायौ तिमीले, काम को के कुरा गर्नु साथी, विदेशको ठाउँ यस्तै त हो । मुदिरले कहिले काहीँ साहै्रै नै गर्छ, भनेर वाक्य टुङ्गयायौ तिमीले । तिम्रा ठेला उठेका हातहरु देखेपछि त्यो विषयलाई फेरी खोतल्ने चेष्टा गरिनँ मैले पनि । बरु गाउँको याद कत्ति आउँछ नी भनेर अर्को जिज्ञासा राखेँ ।


अनि तिमी एकसुर ले बर्बराउन थाल्यौ,
“विदेशीएको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरुलाई चाहीँ पिरोल्दैन होला सायद । उनीहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोँच्न भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई छ । तर जब विदेश जाने निक्र्यौल गरेको एउटा मान्छे लाईनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ, त्यतिबेला पहिलो पटक चसक्क चस्किँदोरहेछ मन, ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोँचेर । पासपोर्टमा भिस्सा लागेपछि विदेश जान भनेर सबैसँग बिदावारी भएर, रोइरहेका आफन्तहरुलाई नरुनुभन्दै तर आफु चाहीँ रुँदै एकाविहानै घरबाट निस्किँदा दोश्रोपटक कटक्क कुँडिदोरहेछ मन, यत्ति माया गर्ने आफन्तहरुबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोँचेर । अनि जब सिरिङ्ग हुने गरि भुइँ छोड्दै आफुलाई बोकेको हवाईजहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथी उडिरहेको हुन्छ, त्यतिबेला तेश्रोपटक नमज्जाले भक्कानिँदो रहेछ मन, अब कहिले फर्केर आउनेहोला भन्ने सोँच्दै । त्यसपछिका दिनहरुमा चाहीँ हरेक क्षण, हरेक पल त्यही गाउँ सम्झिँरहँदो रहेछ मन,  यतिबेला गाउँमा के भइरहेको होला भनेर । को के गरिहेका होलान् भनेर । यसरी पनि बढिरहँदो रहेछ गाउँघरको माया ।
विदेशमा बस्नेहरुको लागि त चाडबाडहरु पनि रुवाउनको लागि मात्रै आउँछन् । गाउँमा यतिबेला बुवा—आमाहरु, साथीभाईहरु के पो गर्दै होलान् भन्ने सोँच्दै बस्यो, थाहै नपाईकन् आँखामा आँशु टुप्लुक्क आइसक्दो रहेछ । यहाँ त प्रत्येक सासमा विदेश बिझाउँछ साथी, प्रत्येक धडकनमा गाउँको याद बल्झिन्छ ।” हो यसै भन्यौ त्यो सपनामा तिमीले मलाई । 
मन कुँडिएर आएथ्यो परदेशी साथी तिम्रा कुराहरु सुनेर । गाउँमा हुँदा भन्दा धेरै व्यवहारिक भएछौ । तिमीलाई गम्लङ्ग अँगालो हालेर अघाउञ्जेल रुन मन लागेको थियो तर तिमी भने केही बुज्रुक बनेर जीन्दगीमा दुख त जति पनि आईपर्छ नी, खल्लीबल्ली यार भन्दै मलाई पो सम्झाउन खोज्दैथ्यौ ।
त्यति नै बेला करेसामा आएर हाप्सिलो कराउनाले बिउँझिएँ म । तर त्यो सपना भने दोहोरिरह्यो मनभित्र, विपना जस्तै बनेर ।

न्यास्रो बोकेर बसेका छौँ, याद बोकेर बसेका छौँ ।
तिमी आएपछि रुन आँशु रोकेर बसेका छौँ । ।
हुन त त्यस्तो ठुलो के नै छर गाउँघरमा
हामी पनि त हरखबत जीन्दगी जोखेर बसेका छौँ । । ।

(((((((((((((महङ्गी चुलिएर आकाशै छोइसक्यो))))))))))))))


Tuesday, August 6, 2013

वहकिने मन 65 : वर्ष 2 अंक 12 (2070-04-21 )




आज मिति 2070-04-21 सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ८१ एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको दोस्रो श्रृंखलामा उपस्थित भएको छु । आज बहकिने मनमा यहाँहरूकका ६ मुक्तकको साथसाथमा फोनबाट प्रत्यक्षा मुक्तक सुन्नेछैां , बहकिने मन बज्ने एक रेडियोका प्राविधिक सहकर्मीसँग कुरा गर्नेछैां साथसाथै एउटा प्रश्न सोधिने छ र त्यसको उत्तर फोनबाट आउने साथीले भन्नुपर्नेछ । धन्यवाद ।
Listen and Download
                   Download :Click Here to Download

Thank you

Thursday, August 1, 2013

मुक्तक

जो आउँछ, उसैगरि गइरहन्छ ।
याद भने मनभित्र रहिरहन्छ । ।
जीन्दगी पनि यसरी बिग्रियो की
खत्तम मान्छेहरुको मात्रै जमघट भइरहन्छ । । ।

...महावीर विश्वकर्मा

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget