Sunday, February 12, 2017

'कमरेडलाई तनाव छ'

-महावीर विश्वकर्मा
कमरेडलाई
रातो रङ्ग खुब मनपर्छ
रातो भनेको क्रान्ति
रातो भनेको विद्रोह
...
शीरमा रातै फेटा बाँधेर लडेका हुन् जनयुद्ध
रातै किल्ला घोषणा गरेर चलाएका हुन् जन सरकार
रातै झण्डा बोकेर
बगाएका हुन् रातै रगत
...
अहिले,
कमरेडको रातो स्कारपियोमा
रातै नम्बर प्लेट छ
रातो टाई छेउको गोजीमा
रातै कलम छ
...
त्यो बेला कमरेडलाई मनपरेको किताब
एंगेल्सको “परिवार, नीजि स्वामित्व र राज्यको उत्पत्ति”
तर अचेल
लालपूर्जा असाध्यै मनपर्छ
सूर्य रेडको बिन्दास सर्को
युवतीको ओँठको रातो लिपिस्टिक
INGO ले ओछ्याएको रेड कार्पेट
ठेकेदारले टक्रयाएको रेड लेभल
सोनागाछीको रेड लाइट एरिया
सबै सबै
औधी मनपर्छ कमरेडलाई
...
किनकी,
कमरेडलाई
रातो रङ्ग खुब मनपर्छ
रातो भनेको क्रान्ति
रातो भनेको विद्रोह
...
केही दिन भयो
अचेल कमरेडलाई तनाव छ
यो फेसबुकको रङ्ग किन रातो छैन ?
छोराले अमेरिकाबाट पठाइदिएको आइफोन किन रातो छैन ?
बैँकले छपाएको चेक किन रातो छैन ?
शेयर बजारको नेप्से परिसूचक बढ्दा
किन रातो देखिँदैन ?
हो, तनाव छ कमरेडलाई
...
किनकी,
कमरेडलाई
रातो रङ्ग खुब मनपर्छ
रातो भनेको क्रान्ति
रातो भनेको विद्रोह ।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget