यो शरीर पनि त, एकदिन जलेर जान्छ ।
जसरी उज्यालो दिन, रातमा ढलेर जान्छ । ।
त्यो एकदिन कुरेर, किन बस्नु र मैले
जब प्रेमले आफ्नो रुप बदलेर जान्छ । । ।
((((((((((((((((((म मर्न जाँदैछु तिम्रो नै नाउँमा : प्रकाश तिमल्सिना)))))))))))
फूल फूल्छ र झरेर जान्छ । हिमाल पग्लिन्छ र नदी बन्दै बगेर जान्छ । अनि मान्छे जन्मन्छ र मरेर जान्छ । यही हो नियम, सृष्टिको । आउनेहरु जान्छन् तर जानेहरु आउँदैनन् । यही हो, जीन्दगीको नियम पनि ।
जीन्दगीमा धेरै कुराहरु शुरु हुन्छ । यात्रा शुरु हुन्छ, पढाई शुरु हुन्छ, काम शुरु हुन्छ, सम्बन्ध शुरु हुन्छ । अनि शुरु हुन्छ, अरु पनि के—के, के—के । सब्बैभन्दा घतलाग्दो कुरा त, जीन्दगी पनि शुरु हुन्छ, कहीँबाट, कतैबाट । शुरु, सँधै शुरु मात्रै भएर बस्दैन । त्यो बिस्तारै मध्य हुन्छ, अनि अन्त्य पनि । शुरु भयो भन्नुको अर्थ एकदिन अन्त्य हुनेछ भन्ने पनि हो ।
जसरी पात पलायो भन्नुको अर्थ एकदिन झरेर जान्छ भन्ने पनि हो, कोही जन्मियो भन्नुको अर्थ एकदिन त्यो मरेर जान्छ भन्ने पनि हो, ठीक त्यसरी नै, जीन्दगी शुरु भयो भन्नुको अर्थ एकदिन त्यो टुङ्गिन्छ भन्ने पनि हो । यो सत्य भुलेरै बाँचिरहन्छ मान्छे । कोही भुलेर बाँचिरहन्छन्, कोही भुले जसरी बाँचिरहन्छन् । तर यो सत्यले भने पाईला पाईलामा छायाँ बनेर पछ्याइरहेको हुन्छ मान्छेलाई । जीन्दगीको समापन समारोह, उद्घाटन भन्दा बिल्कुल फरक हुन्छ । जब झ्याप्प निभ्छ, जीन्दगीको दियो । तब सबै अन्धकार लाग्छ ।
मलाई थाहा छ, जीवनको स्वभाविक अन्त्य भन्दा आकस्मिक अन्त्य निक्कै नै पिडादायी बनिदिन्छ, आफन्तहरुका लागि पनि, सुन्नेहरुका लागि पनि । अझ माया गर्नेहरुका लागि त झनै छाती मै तिर हाने जस्तो भइदिन्छ । मर्ने त मरेर जान्छन्, तर उसको याद मनमा गाँठो पारेर बस्नेहरुको जीन्दगी कहिल्यै निको हुँदैन । मनमा लागेको त्यो खत, हरबखत बल्झिरहन्छ मात्रै । यी सबै सबै बुझेर पनि म अलग्गिँदैछु, मेरा लागि प्रेम निख्रिएको यो बिरानो सँसारबाट । जताततै तिम्रा यादहरु मात्रै आउने यो दुनियाँमा म अब एकैछिन पनि थामिन चाहन्नँ । अहँ कत्तिपनि चाहन्नँ अब यहाँ थामिन । मलाई जानु छ टाढा, तिम्रो जीन्दगीबाट टाढा...तिम्रा यादहरुबाट टाढा ।
जीन्दगी अप्रत्याशित घटनाहरुको योग नै होला सायद । अनि हामी चाहीँ ति नै अप्रत्याशित घटनाहरुको अनेकन पात्रहरु । जीन्दगीले यो मोडमा पनि ल्याइपु¥याउला..अहँ सोँचेकै थिइनँ मैले त्यस्तो । बरु सोँचेको थिएँ, अरु अरु थुप्रै कुराहरु । सजाएको थिएँ, अरु अरु थुप्रै सपनाहरु ।
हामी सानो छँदा हजुरआमाले सुनाउने कथामा, एकादेशको राजकुमारीले प्रेम गर्न थालेपछि त्यही राज्यमा घोँडाको स्याहार गरेर बस्ने केटोले अनेकन सपना देखे जस्तै मैले पनि देखेँ, बग्रेल्ती सपना । दुई जना भागेर टाढाको गाउँमा जाने अनि सानो सँसार रचेर बस्ने सपना । तर हजुरआमाले सुनाउने कथामा एकदिन राजकुमारीलाई अर्को देशको राजकुमारसँग विहे गरेर पठाइदिएपछि भिरबाट फाल हानेर जीवन त्याग्ने त्यो केटोकै जस्तो त भइदियो मेरो जीन्दगी पनि ।
जे नहुनुथ्यो भइसक्यो, हाँसेर बाँच्नु अब ।
नयाँ घरमा नयाँ नाता, गाँसेर बाँच्नु अब । ।
यो छातीमा तिम्रो मात्रै तस्बीर राख्छु भन्थ्यौ
अब त्यहाँ अर्कैै तस्बीर, टाँसेर बाँच्नु अब । । ।
(((((((((((((((((((जुनी काट्ने अर्कै रोज्यौ, भैगो मलाई बिर्सिदिनु))))))))))))))))
हो, जाँदैछु म, धेरै टाढा जाँदैछु । अब कहिले नी तिमीलाई सताउन नआउने गरि जाँदैछु । कहिले तिमीलाई घुक्र्याउन नफर्किने गरि जाँदैछु । म गएको झट्ट सुन्दा केही चिसो पस्ला तिम्रो मनमा, हिजो आफैले गरेको माया सम्झेर । एकैछिन त भाउन्न छुटला पनि, त्यतिबेला मैले गरेको निसन्देह प्रेम याद आएर । फेरी बिस्तारै सम्हालिएलाउ तिमी । क्रमशः सामान्य भइजाला सबै । किनकी, तिमीसँग त सिङ्गो सँसार छ बाँच्नलाई । अनेकन वाहानाहरु छन् बाँच्नलाई । तिम्रा आफन्तहरु धेरै छन्, तिमीलाई आफ्नो भन्नेहरु धेरै छन् ।
सँसार साँघुरो त मेरो पो भइदियो । बाँच्ने वाहानाहरु त मेरो पो सकिगए । बगरमा असरल्ल फिँजारिएको ढुङ्गो झैँ भएँ म त, न कोही मेरो भयो, न म कसैको भएँ । नदी बनेर आएकी थियौ तिमी, केही समय आफुसँगै लुकाएर राख्यौ अनि फेरी छाल बनेर पाखैमा हुत्याइदियौ मलाई । अनि मेरो नियति फेरी फर्किएर आयो, बगरको ढुङ्गो, बगरै बनेर ।
समय निक्कै नै कम छ म सँग । हिजो समय टन्नै हुँदा के गरेर बिताइयो थाहा छैन । आज समय नै नहुँदा, यति थोरै समयलाई के—के मा खर्च गरौँ भन्ने पनि थाहा छैन । साँच्चै भन्नुपर्दा थाहै नभइकन बितेछ जीन्दगी । जब जीन्दगी थोरै मात्रै बाँकी छ भन्ने लाग्छ नी, तब गर्न बाँकी धेरै धेरै कुराहरु हुँदा रहेछन् । यो पनि अधुरै रह्यो, त्यो पनि अधुरै रह्यो भने जस्तो लागिरहँदोरहेछ मनमा ।
केही सुन्नु थियो तिम्रो, केही सुनाउनु थियो तिमीलाई । त्यतिविध्न माया गर्ने मान्छे, एक्कासी किन फेरिएकी हौली भनेर सुन्नुथियो । तिमीलाई आज पनि उस्तै माया गर्छु भनेर सुनाउनु थियो । विश्वास लाग्थेन होला तिमीलाई तर पनि सुनाउनु थियो मैले । मेरा ईच्छा ती नै त थिए । त्यो भन्दा बढी त के नै पो थियो र तर यी सबैका लागि समय नै कहाँ रह्यो र म सँग । यहीँसम्मको लागि रै छ क्यारे, मेरो जीन्दगीको अध्याय ।
म गइसकेपछि चोक चोकमा अनगिन्ती कुराहरु काटिएलान् । मान्छेहरु भन्लान् की, कायर रै छ, जीन्दगी देखी काँपेर गयो । आखिर कसलाई के थाहा, मेरो व्यथा । तिमीलाई सम्झिएर रुँदा रुँदा थाकेपछि फेरी रोइरहेर कति दिन काटेको कस्लाई के थाहा । सबैले बन डढेको पो देख्छन् त, मन डढेको त कस्ले पो देख्छ र । ती फजुल हल्ला चलाउनेहरुको मुख थुन्न सकिन्नँ तर सक्यौ भने, मलाई अन्तिम उपहार स्वरुप तिम्रा दुई थोपा आँशु मनैदेखी चुहाइदिनु मलाई । याद राखे, ती आँशु साँच्चिकै मनैदेखीको होस्, साँच्चिकै मेरै मान्छेको होस् ।
कतै टा..ढा.. पुग्न, म लम्किरहेको हुनेछु ।
अञ्जुली आँशुले भरेर, छम्किरहेको हुनेछु । ।
कुनै दिन याद आए मा...थी... आकाशमा हेर्नु
ताराहरुको भिडमा म चम्किरहेको हुनेछु । । ।
(((((((पत्थर जस्तो मुटु तिम्रो, एकैछिनलाई पग्लिदिनु)))))))))))))