एउटा चिठी हेरेँ आज अनि रोएँ धेरै ।
याद आयो, एल्बम झिकेँ, तस्बीर छोएँ धेरै । ।
चिठी बनी तिमी बोल्यौ, उस्तै माया गर्दै
बरबर्ती आँशुले ती अक्षर धोएँ धेरै । । ।
((((((((((((कहीँ फूल छ, कहीँ पत्थर))))))))))))))))))))
जीन्दगी भनेकै यादहरुको भारी बोकेर लरखराउँदै लरखराउँदै हिँड्ने एउटा अभ्यास न हो । बाँकी अरु के नै हो र ? जीन्दगी यस्तो होस् भन्यो, उस्तो होस् भन्यो, यसो ग¥यो, उसो ग¥यो । अन्ततः सबै प्रयासहरु निरर्थक भइदिन्छन् । पाखामा आउँछु भनेर कुवाबाट मच्चिएर उफ्रिने भ्यागुतो फेरी कुवामै पछारिए जस्तो मात्रै भइरहँदोरहेछ जीन्दगीमा कहिलेकाहीँ ।
मैले पढेको छु, बिजुली बत्तीको आविष्कारक थोमस अल्बा एडिसन, रेबिज विरुद्धको सुई बनाउने लुइ पास्चर, अमेरिका पत्ता लगाउने कोलम्बस्, तर यो प्रेम भन्ने चिज शुरु गर्ने चाहीँ को होला ? खै कसले शुरु गर्यो प्रेम गर्न । सबैभन्दा पहिले यो सँसारमा प्रेम कसले कसलाई ग¥यो होला । जुन आज झाँगिएर यसरी फैलिएको छ ।
प्रेम यस्तो चिज हो, जुन गर्छु भनेर हुँदैन । तर गर्न मन चाहीँ लागिरहन्छ फेरी । सानोमा पनि कोही राम्री देख्ने बित्तिकै मन कस्तो कस्तो भएर आउँथ्यो । घरको टि.भि.मा हिरोले हिरोइनलाई पहिलोपटक देखेर हेरेको हे¥यै हुने बित्तिकै आफै मिठो धुन बज्न थाल्थ्यो । अनि एकैछिनमा त्यो हिरो गीत गाइरहेको हुन्थ्यो । तर मैले त जतिलाई देखेर हेरेको हे¥यै भएपनि कहिल्यै कतैबाट धुन बजेन । सायद त्यसैले गीत पनि गाइएन । टि.भि.मा देखिने दृश्यलाई नै प्रेम भनेर बुझेको मेरो मनले त्यस्तो दृश्य हुबहु जीन्दगीमा त्यतिबेला फेला पारेन । र त प्रेम पनि भएन भनौँ ।
तर समय सँधै एकनास कहाँ हुँदो रहेछ र । बिस्तारै मन फेरिँदो रहेछ । सोँचाईहरु बदलिन थाल्दा रहेछन् । हिजो गाउँमा बरफ बेच्न ल्याउँदा हामी गाउँभरिका भुराहरु त्यसैको पछिपछि दगु¥थ्यौँ । एक रुपैयाँको ४ वटा बरफ आउँथ्यो, तर त्यो बरफ किन्ने पैसा कहाँ पाउनु । अनि मनमनै सोँच्थेँ, भोली पैसा कमाएपछि कति धेरै बरफ किनेर खान्छु भनेर । आज त्यो बरफ किन्न पुग्ने पैसा गोजीमा हुन्छ तर हिजो जस्तै बरफ खान मन लाग्दैन आज । म यो सब किन भनिरहेको छु भने, मन भन्ने चिज समय सँगै परिवर्तन भइदिँदोरहेछ । हिजोको आफु र आजको आफु बीचमा पनि फरक छुट्याउँदा कति धेरै बुँदाहरु सजिलै भेट्टाइँदो रहेछ । हिजो जे सबैभन्दा ठुलो लाग्थ्यो आज त्यस्तो नलाग्दो रहेछ । आज अरु नै चिजमा मन बस्न पुग्दोरहेछ । तर मैले बुझ्नै नसकेको कुरा चाहीँ, हिजो जो मान्छेलाई मनमा राखिएको थियो नी, उ छुटेर गएपछि यतिवर्ष पछि पनि आज किन उसैको याद आइरहन्छ होला ? किन उसलाई उसैगरि माया गर्न मन लागिरहन्छ होला ? मन अन्तै फर्काउँ भनेपनि किन आफैलाई झुक्याएर उसैतिर गइहाल्छ होला ? किन हुन्छ होला यस्तो ? मैले कहिल्यै भेउ पाउनै सकिनँ ।
केही कुराहरु छन् लुकेर बसेका ।
वर्षौँदेखी मन दुखेर बसेका । ।
तिमी यी आँखामा कत्ला परेको देख्छौ
यी त आँशुहरु हुन्, सुकेर बसेका । । ।
(((((((((((((((((((चुपचाप छु, मौन छु, मनले हेर्छु, आँखाले बोल्छु)))))))))))))))))))))))
हो, मेरो पनि कोही थियो, कुनै एक जमानामा । मलाई यसो भन्नुमा कुनै आपत्ति छैन, की म पनि कसैसँग प्रेम गर्थेँ । अहँ कुनै आपत्ति छैन । यहाँ प्रेम नगर्ने त को नै पो छन् र । हरेकसँग आ आफ्नै विगत हुन्छ । आ आफ्नै भोगाई हुन्छ । भोगाईहरुले जीन्दगीप्रतिको दृष्टिकोण बदलिदिन्छन् । त्यतिबेला सबै दार्शनिकहरुको विचारभन्दा फरक लाग्छ आफुले भोग्दै गरेको जीवन ।
अल्बर्ट आइन्स्टाइनले कुनै समय भनेका थिए, जीन्दगी भनेको साईकल चलाउनु जस्तै हो, यदि सन्तुलन राख्न सकियो भने धेरै अघिसम्म जान सकिन्छ नत्र छिन मै पल्टिदिन्छ । पहिलोपटक पढ्दैमा मलाई निक्कै घत परेको थियो, उनको यो विचार । मैले सोँचेँ, जीवन सन्तुलन राख्नका लागि प्रेमको भूमिका कस्तो हुन्छ होला ? अझ प्रेमले जीवनलाई कसरी सन्तुलन राख्न सक्छ होला ? यस्तै यस्तै सोँचेँ मैले । तर नातीकाजीको शब्दमा तारादेवीले गाउनुभए जस्तै भयो, जीवन त ।
सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन ।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । ।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । । ।
जब हात समाएर सँगै हिँडेको मान्छे पलभरमै छुट्टिएर जान्छ नी, तब जीन्दगीदेखी नै दिक्क लागेर आउँदो रहेछ । सबै भएर पनि कोही नभए जस्तो लाग्दोरहेछ । कुनै कुनै बेला त म बाँच्नुको अर्थ नै के छ र भन्ने जस्तो अनावश्यक कुरा पनि आउँदो रहेछ मनभित्र ।
म सानो छँदा यस्तै वर्षाको बेला काकाहरु गोठमा तास खेलेको हेर्न जान्थेँ, उहाँहरु गोलखाडी खेलिरहनुहुन्थ्यो । एक्का सबभन्दा ठुलो भन्ने मैले बुझेको थिएँ । उसले सबैलाई जित्छ भन्ने मैले सिकिसकेको थिएँ । हुकुमको एक्का आफुलाई आउँदा काका एकलठ दाँत खिसिक्क देखाएर हाँस्थे, सासै गन्हाउने गरि । तर मलाई भने त्यो एक्का फिटिक्कै मन पर्थेन । किनकी त्यहाँ हेर्दै डरलाग्दो बाघको चित्र हुन्थ्यो । मलाई त बरु पानको एक्का चाहीँ निक्कै मनपथ्र्यो, स्कुलमा साथीहरुले एक अर्काको कापीमा फलानो प्लस फलानो लेख्दा पानको चित्र बनाएको मैले देखेको थिएँ । त्यसैले पनि पान भनेको चाहीँ प्रेम हो भन्ने थाहा थियो । एकदिन तासको खालमा काकाले हानि पठाएको पानको एक्कालाई मोक्तान बा ले तुरुप लगाएर खाइदिए । मलाई नरमाइलो लाग्यो । सोँचेँ, यो प्रेम निख्रिनेहरुले कति सजिलै प्रेमको मुना निमोठ्न सक्दा रहेछन् । अनि प्रेम गर्नेहरुलाई कहिलेकाहीँ परिस्थितिले नै कमजोर बनाउँदो रहेछ ।
विगतको वैशाखी हालेर वर्तमानको पाईला चालिरहेका हुन्छौँ हामी अधिकांश मान्छे । पाईला चाल्छौँ पनि यसरी की, त्यो विगत बल्झिदिए पूरै वर्तमान ध्वस्त हुने गरि । मैले फेसबुकमै पढेको हो, एकदिन सुनले फलामलाई सोधेछ, पिट्न त मलाई पनि फलामले नै पिट्छ । तर तिमी चाहीँ किन म भन्दा बढी चिच्याउँछौ ? तब फलामले जवाफ दिएछ, अर्काले दिएको चोट भन्दा आफ्नैले दिएको चोट सहन गाह्रो हुन्छ नी त । कस्तो मन छुने जवाफ । सायद यस्तै भइदियो मेरो जीन्दगीमा पनि । जसलाई आफ्नो सम्झिएँ, पछि उसैले ....... । खैर छाडौँ यो कुरा ।
अरजापेको जीवन, अरजापेरै चल्छ ।
ऋण माथी ऋण झन् खापेरै चल्छ । ।
मान्छेहरु सोध्छन्, किन एक्लै हिँड्छस् ?
म भन्छु, जीन्दगी त, याद छापेरै चल्छ । । ।
(((((((((((((((हुँदैन भन्थे पानी, जलेर कहिले खरानी))))))))))))))))))))))))))