Tuesday, May 6, 2014

वहकिने मन (२०७१ वैशाख २२)

हिँड्दा हिँड्दै यात्राबाट पाईला पछि सर्यो भने ।
जग्गेभित्र तिमी हुँदा, आँशु मेरो झर्यो भने । ।
खबर ल्याउलान छिमेकीले, भन के चाहीँ गर्छौ तिमी
जन्ती र मलामीको बाटो एउटै पर्यो भने । । ।

(((((((((((((म मरेको पल तिमी डोली चढ्नु)))))))))))))))

समय गतिशिल छ । जीवन पनि परिवर्तनशील । यहाँ कोही अजर अमर छैन । हाम्रो जीवनको सबैभन्दा ठुलो सत्य नै यही हो की, जन्मिएपछि एकदिन मर्नैपर्छ । ढिलो चाँडो न हो, पालो सबैको आउँछ । हुन त ओशो भन्छन् मान्छेको मृत्यु कहिल्यै हुँदैन । मात्र रुप फेरिने हो । हिजोको बाल्यकाल युवा अवस्थामा फेरियो । त्यो युवा अवस्था पनि पछि अधवैँशे र प्रौढ हुँदै वृद्धा अवस्थामा फेरियो । 

आज न हिजोको बाल्यकाल छ, न त युवा, अधवैंशे र प्रौढ अवस्था । उसो भए के त्यो हिजोको वाल्यकाल, युवा, अधवैंशे र प्रौढ अवस्था सबै मरेर तिमी आजको वृद्धा अवस्थामा आईपुगेका हौ त ? भनेर प्रश्न गर्छन उनी । जसरी वाल्यकाल युवाअवस्थामा, युवा अवस्था अधवैंशेमा, अधवैंशे अवस्था प्रौढमा र प्रौढ अवस्था वृद्धअवस्थामा परिवर्तन हुँदै अघि बढ्यो त्यसरी नै मृत्यु पनि रुप फेरिएको अर्को अवस्था हो भन्ने तर्क छ उनको । खैर यो तर्कमा हामी कति सहमत बनौँला कति असहमत । तर एउटा सत्य चाहीँ के हो भने, मृत्यु शब्द सबैका लागि भयानक पिडादायक बनेको छ ।

सुविन भट्टराईको समर लभ उपन्यासमा एक ठाउँ लेखिएको छ, ‘प्रेम एकथोक बनेर आउँछ अनि सबथोक लिएर जान्छ ।’ यतिबेला म पनि त, त्यस्तै सबथोक रित्तिए झैँ महसुस गरिरहेछु । प्रेमले ल्याएको एकथोक राम्ररी अनुभव पनि गर्न नपाई त्यसले सबथोक लिएर गएझैँ अनुभुत भइरहेछ मलाई ।

जीन्दगीमा धेरै मान्छेहरु भेटिन्छन् । कहिले धेरैसँग पटक—पटक प्रेम गरिन्छ । अनि कहिले एउटैसँग धेरैपटक प्रेम गरिन्छ । यो प्रेम भन्ने चिज बिल्कुल अजीवको छ । यो नभए पनि हुँदैन । भएर पनि कहिल्यै मन बुझ्दैन । खान पाए भोक मेटिन्छ, प्यास लाग्दा पानी पिउन पाए तिर्खा हराउँछ, निदाउन पाए निन्द्रा पुग्छ । तर यो प्रेम चाहीँ जति भए नि पुग्दैन । कतिपयलाई त अपुग छँदैमा मनमा तलतल बसाएरै अलप भइदिन्छ प्रेम । यो आएको भेउ नपाउँदै गएको भेउ पाइन्छ । सायद त्यसैले पनि हरेकलाई यसैको अभाव छ । र यो अभाव जीन्दगीभर नै यसैगरि खट्किरहन्छ पनि ।

हिन्दूधर्म अनुसार अघि सत्ययुगमा देवता र दानव मिली समुन्द्र मन्थन गर्दा समुन्द्रबाट श्रीलक्ष्मी, कौस्तुम मणी, ऐरावत आदि १४ रत्नको साथै कालकुट विष र अमृत पनि क्रमश निस्किएका थिए रे । अमृत प्राप्तीका लागि समुन्द्र मन्थन गर्दा कालकुट विषको सामना गर्नुपरे जस्तै प्रेम पाउनका लागि अघि बढाइएको सम्बन्धहरुले पनि सँधै सँधै वियोग मात्रै थमाइरहँदोरहेछ । मेरो नितान्त व्यक्तिगत अनुभवले यस्तै सिकायो मलाई । र त विश्वासिलो सम्बन्ध माथी नै विश्वासको संकट पैदा भइरह्यो ।

न इमान भेटिन्छन्, न जमान भेटिन्छन् ।
न त हराएको सामान भेटिन्छन् । । 
हिँड्दाहिँड्दै बाटोमा मन साँटेर के भो
जति भेटिन्छन् मान्छेहरु, वेइमान भेटिन्छन् ।

मैले गणितमा ए प्लस बी को होल स्क्वायर इज इक्वेल टु, ए स्क्वायर प्लस ट्वाइस ए बी प्लस बी स्क्वायर भनेर पढेँ । तर त्यस्तै सजिलो हुँदै भएन सम्बन्धको जटिलता हल गर्ने कुरो । विज्ञानमा न्युटनको चाल सम्बन्धी पहिलो नियम अन्तर्गत “कुनै चालमा रहेको बस्तुलाई बाहिरी बल प्रयोग गरिएन भने चालमा नै रहिरहन्छ” भनेर पढेँ । तर बा त्यस्तो पनि भएन सम्बन्ध । यदि त्यसो हुन्थ्यो भने त, बाहिरी प्रभाव नपरेपछि यथावत अघि बढिरहनुपर्ने थियो हाम्रो सम्बन्ध तर त्यस्तो कहाँ भयो र । त्यसो त मैले अर्थशास्त्रमा “जति बढी जोखिम, उति नै बढी लाभ” भनेर पनि पढेँ । तर त्यति धेरै जोखिम हुँदाहुँदै पनि हाम्रो सम्बन्ध भने सँधै धराशायी मात्रै भइरह्यो र अन्तत ‘खोइ खोला सुक्यो’ भने जस्तै हराएर गयो पनि । 

वैशाखको आधाआधी सकिसक्दा पनि पानी नपरेर खडेरी परिरहेको बेला हिजो दिउँसो दर्किएको पानीले राहत महसुस गरे जस्तै भएको थियो, मेरो जीवनमा तिम्रो आगमनको प्रभाव । तर त्यो स्थायी हुन भने सकेन । दशैँमा कमेरो र रातोमाटोले पोतिएको घरको भित्तालाई असार साउनको बाछिटाले पखालिदिए जस्तै पखालियो मेरो मन । सायद रुपबाट बिरुप पनि भइदियो त्यो । जीन्दगीको बलेसी मनको कुलेसो हुँदै बग्न थालेपछि सम्बन्धका आलीहरु बलजफती भत्काउँदै अघि बढ्दो रहेछ क्यारे । त्यस्तै त भयो, मसँग पनि ।

तिमीसँग छुट्टिएपछिको जीन्दगी, खै कुन्नी किन हो, जीन्दगी जस्तो नै लागिरहेको छैन मलाई । त्यसो त म हिजोकै जस्तै र हिजो जत्तिकै आशक्त छैन तिमी प्रति । समयले विस्तारै सबै सहज बनाउँदै छ । जसरी प्रेम स्थायी हुँदैन, त्यसरी नै वियोगको पिडा पनि सँधै स्थायी हुँदैन रहेछ भन्ने बुझदैछु म । विस्तारै ती पिडाहरु पनि हराउँदै जाँदोरहेछ र जीन्दगी त्यसबाट मुक्त बन्दोरहेछ भन्ने पनि सिकिरहेछु ।

हिजो तिमीले यात्राबाट मलाई अलग्याएकीबेला खुबै गाली गरेँ हुँला मैले, सरापेँ हुँला पनि तिमीलाई । तर म आज कसम खाएर भन्दैछु, त्यही हिजोकै जस्तो आवेशात्मक अवस्थामा छैन म अहिले । त्यो एउटा परालको आगो जस्तो थियो, ह्वार्रर बल्यो अनि निभिदियो पनि त्यति नै बेला । हो, धेरै बुझ्ने भएको छु म अहिले । समयले मान्छेलाई आफै परिपक्व बनाउँदै लैजाँदोरहेछ सायद । यी सबै कुराहरु जीन्दगीको अन्तिम अन्तिम दिनहरुमा तिमीलाई भेटेरै सुनाउनेछु म । सायद त्यतिबेला हामी दुवैलाई आफ्नो विगतप्रति एकखाले पश्चाताप र ग्लानी चाहीँ पक्कै हुनेछ ।

यतिबेला यत्तिभन्छु की, म हिजो जस्तै आजपनि आक्रोशित छैन तिमीप्रति । अहँ पटक्कै छैन । तर एउटा बेग्लै खाले अनुभव भने हुन थालेको छ मलाई अचेल । आफैभित्र आफैसँग चर्को मतभेद बढेर आएजस्तो मात्रै लाग्छ ।

म चाहन्छु एउटा यायावर जीन्दगी । फिरन्ते बनेर एक्लै डाँडाकाँडा घुमी हिँड्ने जिन्दगी । यात्रा अनिश्चित होस्, हिँडिरहनु मात्रै उद्देश्य होस् । पुग्नैपर्ने कुनै ठाउँ नहोस्, हिँड्नैपर्ने कुनै बाटो नहोस् । कहिले आफ्नै परिचय भुलेर पर्यटक बनुँ, कहिले वातावरणसँग अभ्यस्त भएर रैथाने बनुँ । 

साँच्चै भनौँ भने कृष्ण धरावासीको राधा उपन्यासको राधा जस्तै एकतमास हिँडिरहुँ, कहाँ हो कहाँको ठाउँमा, घाम उदाएको आधारमा दिशा पत्ता लगाउन बाहेक अरु केही पनि थाहै नहोस् । दिन, महिना, गते केही याद नहोस् । याद गर्नुपर्ने आवश्यकता पनि नहोस अझ ।

कतै बाटोमा संयोगले भेटिउन मन मिल्ने मान्छेहरु, अनि छुटिउन पनि उसैगरि । मात्र सम्झना बोकेर अघि बढिरहुँ म, मन मिलेको मान्छेलाई मनमा बोकेर । कसैले, ‘तिम्रो घर कहाँ हो नी ?’ भनेर सोध्दा, ‘कर्णाली ब्लुज’ उपन्यासको सद्दामले जस्तै जवाफ फर्काउन सकुँ, “म त चरा जस्तै हुँ, भुर्र..भुर्र..भन्नोस् त, चराको पनि कहीँ घर हुन्छ ?? हो, एउटा त्यस्तै जीवनको चाह छ मनमा । त्यो एक्लो जीवन, अनि म एउटा मान्छे ।

साधु राम्रो लाग्छ अनि सन्यासी राम्रो लाग्छ ।
गम्भीर देखिने उनीहरुको उदासी राम्रो लाग्छ । ।
भन्न त मान्छेहरु, बहुलायो पनि भन्लान
तर मलाई मेरै बदमासी राम्रो लाग्छ । । ।

2 comments :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget