यो एक्लो यात्राको भर नहुने भो ।
आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो । ।
थकाई लाग्दा, सुस्ताउँदा, मनको मान्छे खोज्छ यो मन
अब फकिर भई हिँड्ने रहर नहुने भो । । ।
((((((((((((((((((((बाटो हिँड्ने बटुवालाई : शिव परियार)))))))))))))))))
मैले यहाँसम्मको जीन्दगी एक्लै बाँची हेरेँ । लामा लामा बाटाहरु एक्लै हिँडी हेरेँ । अनेकौँ अनकन्टार कोप्चेरोहरुबाट एक्लै एक्लै पारी पुगेको अनुभव सँगाली हेरेँ । यहाँसम्मको यात्रामा मैले बाटाहरुमा अनेकौँ मान्छेहरु भेटेँ । कति भेटिएर छुटिगए, कति छुटिएर भेटिएनन् । परिणामत : जीन्दगी शेष रहित भाग भइदियो, जसको अभ्यास हामी ४—५ कक्षातिर गथ्यौँ । आउनेहरु उसैगरि गइरहेको हेरिरहँदा मलाई लाग्यो, ती सबै सबै बाटो कटाउने मेसो मात्रै त रहेछन् । केही छिन बोली मिसाए जस्तो, केही दिन मन बिसाए जस्तो । सायद रीत नै रहेछ क्यारे जीन्दगीको, दोबाटोमा भेटिएकाहरु चौबाटोमा छुटिजाने ।
खोल्साहरु गाभिएर बनेको खोलो पुच्छार तिर पुगेर सुके जस्तै जीन्दगीमा पनि केही सम्बन्धहरु आफै सुकिजाँदा रहेछन् । अनि कुखुरी काँ भने शुरु भएको लोक कविता, खोइ खोलो सुक्यो भनेर, अन्त्य भए जस्तो । कुन्नी कहाँ कहाँबाट यात्रामा सामेल हुन आईपुगेका थे, केही मान्छेहरु । मैले राम्ररी भेउ नै पाइनँ । केही मान्छेहरु त आएको जस्तो मात्रै लाग्दा लाग्दै, फर्किएर पर पुगिसकेका हुन्थे । उनीहरुसँग न बात मारियो, न त चिनारी नै साँटियो । हावाको झोका जस्तै गरि आए, अनि गए पनि उसैगरि । मैले त्यही हावाको झोकामा मनको चङ्गा उडाउने चेष्टा गर्नु उपयुक्त ठानिनँ ।
यसै यसै गरि अघि बढेछ जीन्दगीको यात्रा । हत्तारिँदा हत्तारिँदै जीन्दगीको भाग दौड, चोर पुलिस खेले जस्तै भइदिएछ सँधै । म जुन खुशीहरु पाउन खोज्छु, ती खुशीहरु सँधै मबाट भागिरहे मात्रै । हिँड्दा हिँड्दै भौतारिरहँदा, घिस्रिँदा घिस्रिँदै थाकिरहँदा यतिबेला भने म यस्तो थुम्कोमा आईपुगेँ की, यहाँबाट मुन्तिर टाउको फर्काएर आफु यसअघि हिँडेका बाटोहरु पनि हेरिरहेछु, अनि अब पुग्नुपर्ने टाकुरो पनि । जीन्दगीको यो थुम्कोसम्मको यात्रा जति कष्टप्रद रह्यो, त्यो भन्दा पनि अगाडी टाकुरोसम्मको बाटो झनै जटिल लागिरहेछ मलाई ।
मैले धेरै धर्मग्रन्थहरु पल्टाएर हेरेँ, ती सबै सबैले एउटै कुरामा जोड दिइरहे की, मान्छे एक्लै बाँच्नु सहज छैन । कोही न कोही जीवन साथी त हुनैपर्छ, जसले जीवनभर साथ देओस् । प्राय मान्छे जुनसुकै कुराहरुको पनि आफु अनुुकुल अर्थ लगाइदिँदो रहेछ । हुनसक्छ मैले पनि त्यसै गरेँ । मैले जीन्दगीसँग धेरैपटक एकोहोरो साउती मारेको छु । र अब तिमीसँगको सहयात्राले जीन्दगी नामको शब्दमा आवाज भर्न चाहन्छु म । अझ सजिलोसँग भन्दा, तिम्रो स्वीकृतिमा जीन्दगीको यो यात्रा सँगै अघि बढाउन चाहन्छु म ।
यी ढुङ्गा यी माटो, हामी पनि बाँची हेरौँ ।
सँगै हिँड्न मिल्ने बाटो, हामी पनि बाँची हेरौँ । ।
एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रैछ
जीन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ । । ।
(((((((((((((((((((((सँगै सँगै घाम तापौँ जुठेल्नोमा विहान खस्दा)))))))))))))))))))
प्रेमले प्रेम बाहेक केही माग्दैन भने पनि समय क्रमसँगै त्यसले अरु पनि थुप्रै थुप्रै कुराहरुको माग गर्दो रहेछ । आखिर जीन्दगी भनेकै सम्झौताको अर्को एक अध्याय न हो । जति जति जीन्दगीका पानाहरु पल्टिँदै जान्छन्, उती उती नयाँ नयाँ जटिलताहरु देखिँदै जान्छन् । अनि ती नै जटिलताहरुको हल गर्दागर्दै जीन्दगीको डाँडाँ माथीको घाम भइसक्दो रहेछ ।
जीवन साथी भनेको जवानीको आवश्यकता र बुढेसकालको अनिवार्यता हो भनेर, खै कुन्नी कहाँ पढेँ मैले । यो वाक्य मनमा यसरी बिझ्यो की, जीन्दगी बाँच्ने मेरो धारणालाई यसले एकैपटक १८० डिग्रीको फन्कोमा घुमाइदियो । अनि त वल्लो छेउको म, एक्कासी पल्लो छेउमा पो पुगेँ । तब न शुरु भयो, सपना देख्ने मेरो सिलसिला । जब सपना देख्न थालिन्छ नि, तब पो मज्जा आउँदो रहेछ, जीन्दगी बाँच्न । सपना विहिन मान्छे त, बीच सडकमा उभ्याइएको सालिक जस्तो मात्रै पो हुँदोरहेछ । हेर्दा मान्छे जस्तै तर सजीवताको अंश बिल्कुल शुन्य ।
हुन त कहिलेकाहीँ सालिक पनि मान्छे जस्तै लागिदिन्छ । विजयकुमार को खुशी पुस्तकमा एक ठाउँ लेखिए अनुसार, पति स्वरसम्राट नारायण गोपाल बितेको केही समयपछि पत्नी पेमलालाई, विजयकुमारले सोधेका थिए रे, भाउजु दाईको सालिक भएको चोकबाट हिँडिरहँदा तपाईँलाई कस्तो लाग्छ ? अनि पेमलाले भन्नुभएको थियो रे, “थाहा छ, त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, उ होइन । तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ ।” उहाँले भने जस्तै अनेक तर्कनाहरुले कहिले काहीँ सालिकहरुमा पनि सजिवताको महसुस गराइदिन्छन्, तर पनि सत्य कहाँ त्यस्तो छ र ।
मैले अचेल सिकेको छु, सपनाको बस्ती बसाल्न । जब रहरका झुप्रोहरु एकपछि अर्को गर्दै उभिन थाल्छन् नी, तब सपनाको बस्ती आफै बस्दो रहेछ । म जब जब तिमीसँग बिताएका भोलीका दिनहरुको कल्पनामा हराउँछु, तबतब बेग्लै उन्मादले मन भरिएर आउँछ । एउटा सम्बन्धको धर्सा कोर्नुले पनि कति फरक पारिदिन्छ जीन्दगीमा । हामीले कोर्ने सम्बन्धको धर्साले पनि यो एकलकाटे जीन्दगीलाई टपक्क टिपेर अर्कै जीन्दगीको पोल्टोमा खुसुक्क हालिदिन्छ भन्नेमा म पूर्ण आशावादी छु ।
सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन ।
भएपनि यतिबेला दोकान भित्र सामान छैन । ।
बाँचुञ्जेल त गरौँ प्रेम, भोली कस्ले देखेको छ
कहाँ पुगि मरिने हो, जीन्दगीको ठेगान छैन । । ।
(((((((((((((((((((((अम्खोरामा पानी सारी झर्के थालमा भात खाउँला)))))))))))))))))))